ओलम्पियन विष्ट सुदूरपश्चिम रोयल्सका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं – नेपाल सुपर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
विष्ट र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बिहीबार सम्झौता पत्रमा हस्ताक्षरमा गरे । सुदूरपश्चिम मात्र नभइ देशका शान तेक्वान्दोका सफल खेलाडी विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउनु खुसीको बिषय भएको सुदूरपश्चिम रोयल्सका मालिक शाहले बताएका छन् ।
उनले भने, ’उहाँ खेलकुदको रोलमोडल हो । आफ्नो समयमा खेलेर योगदान गर्नुभयो । अहिले नयाँ पुस्ताका खेलाडीलाई हौसला बढाउँदै आउनुभएको छ। उहाँ हामीसँग जोडिनु सुदूरपश्चिम रोयल्सका लागि गर्वको विषय हो।
दक्षिण एसियाली खेलकुद (साग) का ४ पटकका स्वर्ण पदक विजेता विष्टले एसियाली खेलकुदमा दुई पटक कास्य पदक जित्नुभएको थियो। छनोट चरण पार गरेर उनले बेइजिङ ओलम्पिक २००८ खेलेका थिए ।
नेपाल ओलम्पियन संघको अध्यक्ष समेत रहेका विष्टले सुदूरपश्चिम रोयल्सलाई धन्यवाद दिँदै सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको र एनपिएलको आयोजनाले व्यवसायिक क्रिकेटलाई उचाईमा पुर्याउने सम्भावना रहेको बताए ।

उनले भने, ’यो उद्देश्यमा साथ दिन सुदूरपश्चिम रोयल्समा जोडिन पाउँदा खुसी लागेको छ। एनपिएलको आयोजनाले अन्ततः नेपाली क्रिकेट कै विकास हुने आशा छ।’ विष्ट कैलालीको धनगढीका स्थायी बासिन्दा हुन्। सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमटा हुन्।