संस्कृति जोगाउन पहल गर्छु : मन्त्री पाण्डे

द एभरेष्ट पोष्ट
११ असोज २०८१ १६:१८
संस्कृति जोगाउन पहल गर्छु : मन्त्री पाण्डे

 

संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल बहुजाति, बहुभाषी र संस्कृतिलगायतमा धनी भएकाले तिनको संरक्षण र प्रवर्द्धनमा सक्दो पहल गर्ने बताएका छन्।

विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा सांस्कृतिक मञ्च नेपालको आयोजनामा शुक्रबार काठमाडौंको नाचघरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालका सबैजसो क्षेत्रमा हाम्रा मौलिक परम्परा, रहनसहन, वेशभूषामा विविधता रहेको बताउँदै उनले लोपोन्मुख अवस्थामा पुगेका त्यस्ता रैथाने सांस्कृतिक कुराहरूलाई जोगाउन सबैजना लाग्नुपर्ने बताए । उनले त्यसका लागि आगामी दिनमा मन्त्रालयले यथेष्ट बजेटको व्यवस्था गर्नेसमेत बताए ।

बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सबै प्रदेशमा लुकेर रहेका र लोप हुने अवस्थामा पुगेका संस्कृतिको जगेर्ना गर्न सबै प्रदेश सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा देशभरका सातै प्रदेशबाट आएका सहभागीले लोपोन्मुख, रैथाने, स्थानीय मौलिक संस्कृतिको प्रदर्शन गरेका थिए । सांस्कृतिक मञ्च नेपालका नन्द देवकोटाले पर्यटन नै देश विकासको आधार बन्न सक्ने कुरालाई जोड्न सकिने आधार भएकाले यो कार्यक्रम आयोजना गरिएको बताए ।

उनले, संस्कृतिविना कुनै पनि कुराको विकास सम्भव नहुने भएकाले पनि यस्ताखाले कार्यक्रमले एकातिर रैथाने कुराको संरक्षण हुने र अर्कोतिर त्यसलाई जीविकोपार्जनसँग जोडेर पर्यटन विकासलाई अगाडि बढाउन सकिने सम्भावनाका लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा बझाङ र दार्चुलामा प्रचलित हुड्केउली छलिया नाच र भारीखेल, सोलुखुम्बु जिल्लामा नाचिने सुलिङ सामा राइलो तोशी नाच, जाजरकोटको चर्चित खाँडोनाच, जनकपुरमा देखाइने पमरिया र झरीझरी नाच, रुकुम पश्चिमको सिंगारू नाच, म्याग्दीको पुन समुदायमा चर्चित सोरठी नाच, धादिङको पुन समुदायमा प्रचलित म्हेन्दोमाया नाच, रोल्पा जिल्लाको एकदमै चर्चित पैंसेरी नाच, मधेश प्रदेशमा प्रचलित होली नाचको प्रस्तुति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस