पाकिस्तानमा साम्प्रदायिक झडपः ३७ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

पेशावर– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रवार जानकारी दिएका छन् । झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।
कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताएअनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बावजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ ।
उनले भने, ‘भूमि विवादको रूपमा शुरू भएको घटना पूर्ण साम्प्रदायिक झडपमा परिणत भएको छ । जसमा स्वचालित र अर्ध–स्वचालित हतियारका साथै मोर्टारको प्रयोग पनि भएको छ।’
उनका अनुसार ३७ जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् । प्रान्तीय राजधानी पेशावरमा तैनाथ सुरक्षा अधिकारीले झडपका क्रममा २८ घरमा क्षति पुगेको बताए ।
पाकिस्तानमा आदिवासी र पारिवारिक कलहका घटनामा हरेक वर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।
तथापि, खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रमा जातीय द्वन्द्व विशेषगरी लामो र हिंस्रक हुने गर्छन् । यहाँ समुदायहरूले परम्परागत आदिवासीका स्थानीय नियम र कानूनलाई पालना गर्छन्।
सुन्नी मुस्लिम बहुल देश पाकिस्तानमा आफूहरूले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको शिया समुदायले बताउने गरेका छन् ।