राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं,१४ बैशाख ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन्।
सत्तारूढ गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच डा. भट्टलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएपछि भट्टले कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा कामु गभर्नर ढुंगानाले स्वीकृत गरेकी थिईनन् ।
आइतबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले ढुंगानालाई डा. भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका हुन्।
डा. भट्टको राजिनामा स्वीकृत गर्न अटेर गर्दै आएकी ढुंगानाले मन्त्री पौडेलको निर्देशनपछि सोमवार राजीनामा स्वीकृत गर्ने बताईएको छ।
स्रोतका अनुसार शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो।
शुक्रवारको भेटमा प्रधानमन्त्री ओली र देउवाबीच भएको सहमती अनुसार एकसाता भित्र भट्ट गभर्नरमा नियुक्त हुने अनुमान गरिएको छ ।
भेटवार्तामा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी थिए । सोही भेटवार्तामा भएको छलफल अनुसार अर्थमन्त्री पौडेलले डा. भट्टलाई गभर्नर बनाउने प्रकृयालाई अघि बढाउन कामु गभर्नर ढुंगानालाई राजिनामा स्वीकृत गर्न निर्देशन दिएका हुन् ।
राजिनामा स्वीकृत गर्न अटेर गरे ढुंगानालाई काम गभर्नर पदबाट हटाउन समेत काँग्रेस नेतृत्वले प्रधानमन्त्री ओलीलाई दवाव दिने रणनीति बनाएको थियो ।