इलोन मस्कले पद छोडे भने ट्रम्प सरकारलाई पर्न सक्ने अप्ठ्यारो

द एभरेष्ट पोष्ट
१४ वैशाख २०८२ ७:५९
इलोन मस्कले पद छोडे भने ट्रम्प सरकारलाई पर्न सक्ने अप्ठ्यारो

टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थापना गरेको खर्च कटौतीसम्बन्धी निकायको जिम्मेवारीबाट आफूले राजीनामा दिने बताएका छन्।

राष्ट्रपति ट्रम्पसहित ह्वाइट हाउसका अधिकारीहरूले पनि मस्कले छिट्टै उक्त जिम्मेवारी छोड्ने धेरै अघिदेखिको योजना रहेको बताएका छन्। तर यो समाचार त्यस बेला मात्रै सार्वजनिक भयो जतिबेला यी अर्बपति उद्योगपतिको कार व्यवसायको आय व्यापक घट्न पुग्यो।

मस्कको घोषणाले कैयौँ अनुत्तरित प्रश्नहरू जन्माएको छ – उनले साँच्चिकै कहिले ट्रम्प प्रशासन छोड्छन्? त्यसपछि डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी (डीओजीई) के हुन्छ?

यसबारे बीबीसीले बुधवार राष्ट्रपति ट्रम्पलाई सोधेको थियो। उत्तर दिँदै उनले मस्कलाई बिदाइ गर्ने तयारी प्रशासनले गरिरहेको बताए।

“कुनै बिन्दुमा हामीले उनलाई जान दिनुपर्छ। हामीले अलि समयदेखि नै यो अपेक्षा गरेका थियौँ। म यस विषयमा इलोनसँग कुरा गर्छु,” ट्रम्पले ह्वाइट हाउसमा भने।

कम्पनीका प्रमुख काममा फर्किएपछि टेस्लाको “हेरविचार हुने” राष्ट्रपति ट्रम्पले बताएका छन्। मस्कलाई “केही जनताले अनुचित व्यवहार गरेको” ट्रम्पको गुनासो थियो।

“उनी देशभक्त हुन्। अनि उनीमाथि कहिल्यै पनि [त्यस्तो] हुनु हुँदैन,” ट्रम्पले थपे।

ट्रम्पले डीओजीईलाई केही दिन मात्र दिन भ्याए भने सरकारी नियमानुसार उनको सरकारी कार्यकाल लम्बिन सक्छ।

मस्कले पालना गर्नुपर्ने सर्त

मस्कलाई “सरकारको विशेष कर्मचारी”को दर्जा दिइएको थियो। उक्त पदको कर्मचारीका हैसियतमा उनले तलबी वा बेतलबी रूपमा प्रत्येक वर्ष १३० दिन सरकारी काम गर्न पाउँछन्।

सन् २००७ मा अमेरिकी न्याय मन्त्रालयको एक परिपत्र सन् २०२४ को सरकारी संहिता कार्यालयको मार्गनिर्देशक दस्तावेजमा उल्लेख छ। त्यसअनुसार सरकारको विशेष कर्मचारीले जुनसुकै काम गरे पनि त्यस दिन पूरा काम गरेको मानिने उल्लेख छ।

मस्कले डीओजीईका लागि एक सातामा पाँच दिन काम गरेको मान्ने हो भने ज्यानुअरी २० मा ट्रम्पको पदभार ग्रहण भएको दिनबाट हिसाब १३० दिनको सेवावधि मे महिनाको अन्त्यमा सकिन्छ। मस्कले आफूले सप्ताहान्तमा पनि काम गर्ने दाबी गर्दै आएका छन्।

अहिले अहिले बिदा लिए भने उनको कार्यकाल अझै लम्बिन सक्छ। वर्षमा १३० दिन काम गर्नुपर्ने समयसीमा ज्यानुअरी २०२६ बाट फेरि सुरु हुन्छ।

मस्कले आफूले ट्रम्प प्रशासन छोड्ने समयसीमाबारे केही पनि बताएका छैनन्।

टेस्लाको नाफा ७१ प्रतिशतले घटेसँगै आर्थिक समस्या भएको विवरण आएसँगै मस्कले मङ्गलवार डीओजीईबाट बाहिरिने घोषणा गरेका थिए।

सरकारी पदका कारण टेस्ला समस्यामा

इलोन मस्कको डीओजीईविरुद्ध प्रदर्शन

तस्बिर स्रोत,Reuters

मस्कले ट्रम्प प्रशासनमा गरेका कामलाई लिएर विश्वभरि नै टेस्लाका कार बहिष्कार गर्ने अभियान र विरोधप्रदर्शन सुरु भएपछि टेस्लाको नाफामा ठूलो गिरावट आएको थियो। आयोजकहरूले अधिकांश प्रदर्शन शान्तिपूर्ण भएको दाबी गरे पनि केही स्थानमा टेस्लाका शोरूम र चार्जिङ स्टेशनमा आगजनी पनि गरिएको थियो।

कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई अझै लामो समयसम्म नाफामा देखिएको गिरावट जारी रहन सक्ने भन्दै सचेत गराएको छ।

मस्कले पनि आफ्ना लगानीकर्ताहरूलाई आफूले डीओजीईमा दिएको समय उल्लेख्य मात्रामा घटाउने र टेस्लाका लागि धेरै समय दिने बताएका छन्।

उनको यस्तो प्रतिक्रियापछि टेस्लाको घट्दो शेअर मूल्य केही बढेको थियो।

अर्को कुरा चाहिँ मस्कले ट्रम्प प्रशासनका लागि अहिलेसम्म कति दिन काम गरे भन्ने स्पष्ट छैन। त्यस्तै सरकारले उनको कामको हिसाब कसरी राखेको छ र १३० दिनको समयसीमा कसरी लागु हुन्छ भन्नेमा स्पष्टता छैन।

यसअघि पनि मस्कलाई अभूतपूर्व जिम्मेवारी दिने क्रममा ट्रम्प प्रशासनले नियम उल्लङ्घन गरेको भन्दै आलोचना भएको थियो। त्यससँगै उनले उक्त जिम्मेवारीमा पालना गर्नुपर्ने समयसीमा पनि पालना नगर्ने चिन्ता व्यक्त भएका छन्।

किनभने सरकारको विशेष कर्मचारी बन्न मस्कले आचारसंहिताको तालिम लिनुपर्थ्यो, आफ्नो सम्पत्तिको गोप्य विवरण सरकारलाई उपलब्ध गराउनुपर्थ्यो र स्वार्थ बाझिने खालका कामबाट अलग रहनुपर्थ्यो।

मस्कले गर्न पाउँदैनन् राजनीति

इलोन मस्क ह्वाइट हाउसमा

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

मस्कको व्यवसायिक साम्राज्य निकै ठूलो छ र त्यसमध्ये धेरैले अमेरिकी सरकार र विदेशी सरकारसँग पनि व्यापारिक साझेदारी गरेका छन्।

उदाहरणका लागि, मस्कको स्पेसएक्सका प्रमुख कार्यकारीका अनुसार उक्त कम्पनीले अमेरिकी सरकारसँग २२ अर्ब अमेरिकी डलरको करार गरेको छ।

सरकारी नियमानुसार मस्कजस्तो विशेष कर्मचारीले राजनीतिक गतिविधिमा सहभागी हुन पाउँदैनन्।

कार्यालयमा रहेका समयमा वा काममा रहेका समयमा राजनीतिक नारा भएका कपडा लगाउन पनि बन्देज छ।

तर मस्कले ओभल अफिसमा “मेक अमेरिका ग्रेट अगेन” लेखिएको टोपी लगाएको तस्बिर सार्वजनिक भएको थियो।

फेब्रुअरीमा ह्वाइट हाउसका एक अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएअनुसार मस्कले आफ्नो सम्पत्ति विवरण बुझाउने बताएका थिए।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले मस्कलाई आचारसंहिताबारे जानकारी पनि गराइएको बताएका थिए।

त्यसको अर्को महिना ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बीबीसीसँग भनिन्, “इलोन मस्कले विशेष सरकारी कर्मचारीको रूपमा राष्ट्रपति ट्रम्पको प्रशासनलाई निःस्वार्थ सहयोग गरिरहेका छन् र उनले आफ्नो हकमा लागु हुने सबै सङ्घीय कानुनको पालना गरेका छन्।”

अहिले मस्कले राष्ट्रपति ट्रम्पका लागि काम गरिरहेका कारण उनको कामको निगरानी गर्ने ट्रम्प आफूबाहेक कोही पनि छैन।

अरू कर्मचारीको पद के हुन्छ

इलोन मस्क, जेडी भान्स र डोनल्ड ट्रम्प

तस्बिर स्रोत,Reuters

‘पब्लिक सिटिजन’ नामक प्रगतिशील थिङ्क ट्याङ्कले गत साता सार्वजनिक गरेको एउटा प्रतिवेदनले ह्वाइट हाउसले विशेष सरकारी कर्मचारीको नियम “व्यापक मात्रामा दुरुपयोग गरेको” भन्दै ट्रम्प प्रशासनको आलोचना गरेको छ।

“अहिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगर्ने मस्कजस्ता विशेष सरकारी कर्मचारीले जनताको हितभन्दा आफ्नो स्वार्थमा केन्द्रित भएका छन् वा छैनन् भनेर निगरानी गर्ने संयन्त्र छैन,” प्रतिवेदनका लेखक जोन गोलिङ्गरले भने।

बीबीसीले मस्क र कर्मचारी व्यवस्थापन कार्यालयलाई डीओजीईका कर्मचारीबारे प्रतिक्रियाका लागि सम्पर्क गरेको थियो।

मस्क बाहिरिए पनि डीओजीईका झन्डै १०० कर्मचारीहरू सरकारका विभिन्न निकायमा रहने विवरण ‘वाल स्ट्रीट जर्नल’ले बिहीवार प्रकाशित गरेको छ।

मस्क र ट्रम्पले डीओजीईको काम सक्ने समयसीमा निर्धारण गरेका छन्। त्यो समयसीमा अमेरिकी स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको सेरोफेरोमा हुने ठानिएको छ।

ट्रम्पको पदबहालीका क्रममा कार्यकारी आदेशबाट डीओजीईको स्थापना गर्दा उल्लेख भएअनुसार यसको अन्तिम कार्यकाल सन् २०२६ को जुलाई ४ सम्म छ।

गत डिसेम्बरमा सामाजिक सञ्जाल ‘एक्स’को एउटा पोस्टको जबाफ दिने क्रममा मस्कले डीओजीईले निर्धारित समयमै आफ्नो काम सक्ने बताएका थिए।

“डीओजीईको अन्तिम काम भनेको यसको अन्त्य हो,” उनले भनेका छन्।

वीवीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस