नेपालमा एक दशकमा ८३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

द एभरेष्ट पोष्ट
१२ वैशाख २०८२ ११:३९
नेपालमा एक दशकमा ८३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

कैलाली: नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प गएको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि हालसम्म साना, ठूला गरी यी भूकम्प गएका हुन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार यी भूकम्पबाट सबैभन्दा बढी काठमाडौं आसपासका जिल्ला प्रभावित भएका छन् । त्यसपछि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुरा प्रभावित भएका छन् ।

यो अवधिमा सबैभन्दा बढी भूकम्प जाने जिल्ला दोलखा रहेको छ, जहाँ १० वर्षमा साना, ठूला परकम्प गरी १ सय ९१ पटक भूकम्प गएको छ । त्यसैगरी सिन्धुपाल्चोकमा १०३ पटक, धादिङमा ५५, बझाङमा ५१, गोर्खामा ४०, नुवाकोटमा ३८, बाजुरामा ३०, रसुवामा २९ र ताप्लेजुङमा २० पटक भूकम्प गएको छ ।

 

उच्च जोखिममा पश्चिम नेपाल

भारतीय र तिब्बतीयन प्लेटबीचको घर्षणका कारण नेपाल भूकम्पको उच्च जोखिममा छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेत शाखाका भूकम्पविद् चिन्तन तिमिल्सिना नेपालमै पनि पश्चिम नेपाल बढी जोखिममा रहेको बताउँछन् । उनका अनुसार सुदूर तराईकाभन्दा पनि पहाडी जिल्लाहरू भूकम्पको उच्च जोखिममा रहेका छन् । पश्चिम नेपालको भूगोलमुनि ठूलो भूकम्पीय शक्ति जम्मा भएको पाँच सय वर्ष बितिसकेकाले जतिखेर पनि भूकम्प जान सक्ने उनको दाबी छ ।

विगत केही वर्षयता पश्चिम नेपालमा साना तथा मझौला भूकम्पले निरन्तर धक्का गइरहेको छ । गत वर्ष जाजरकोटमा गएको ६।४ म्याग्निच्युडको मझौला भूकम्पले ठूलो जनधनको क्षति गराएको थियो । त्यसअघि र पछि पनि सुदूरका बझाङ, बाजुरा, डोटीलगायतका स्थानमा बारम्बार भूकम्प जाने र जनधनको क्षति गराउने गरिरहेको छ ।

०७९ माघ १० गते बाजुराको बिछ्या केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस भूकम्पपछि ४ म्याग्निच्युडमाथिका सात वटा परकम्प गएका थिए । यस्तै, ०८० साल वैशाख १४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । ०७९ कात्तिक २२ गते डोटीको डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पले ६ जनाको मृत्यु भएको थियो भने अन्य ५ जना घाइते भएका थिए ।

भूकम्पविद् चिन्तन तिमिल्सिना भूकम्पको जोखिम कम गर्न नसके पनि भूकम्प प्रतिरोधी संरचना बनाएर क्षति कम गर्न सकिने बताउँछन् । पश्चिम नेपालमा जुनसुकै बेला पनि भूकम्प जान सक्ने भएकाले विपत् पूर्वतयारी भएर बस्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस