कश्मीर हमलामा आफन्तहरूसँग घुम्न गएका एक नेपाली पर्यटकको पनि मृत्यु भएको पुष्टि

द एभरेष्ट पोष्ट
१० वैशाख २०८२ १४:४३
कश्मीर हमलामा आफन्तहरूसँग घुम्न गएका एक नेपाली पर्यटकको पनि मृत्यु भएको पुष्टि

भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको मृत्यु भएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

कश्मीरको पहलगामनजिकै भएको उक्त घटनामा परेका नेपाली नागरिक रूपन्देहीका बासिन्दा भएको र उनी आफ्नी आमासहित कश्मीर घुम्न गएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। मृतकमध्ये अर्को एक जना यूएईका नागरिक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

‘भारतको स्विट्जरल्यान्ड’ भनेर चिनिने कश्मीरस्थित लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मङ्गलवार त्यहाँ घुम्न गएका पर्यटकहरूलाई निसाना बनाएर आक्रमण गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई “आतङ्कवादी हमला” भनेका छन् र त्यसमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने उद्घोष गरेका छन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आक्रमणको निन्दा गर्दै “आतङ्कवादविरुद्धको लडाइँमा” भारतसँगै उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली सङ्घकी प्रमुख उर्जुला फोन देर लेयनसहितका विश्वनेताहरूले उक्त घटनाको भर्त्सना गरेका छन्।

कश्मीरमा गोली प्रहार भएपछि प्रतिकार्यमा खटेका भारतीय सैनिकहरू

तस्बिर स्रोत,PTI

घटनामा परेका नेपालीबारे के थाहा छ

नेपाली राजदूतावासका अनुसार बुटवल घर भएको एउटा परिवार कश्मीर घुम्न भएको थियो। मृतक धरानमा अध्ययरत सुदीप न्यौपाने भएको उनका आफन्तहरूले पुष्टि गरेका छन्।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाका अनुसार आफन्तहरूसँग घुम्न गएका बुटवलका नेपाली युवकको गोली प्रहारबाट मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन्।

“उहाँकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको रहेछ तर अवस्था सामान्य छ,” थापाले भने। दूतावासका अनुसार उनीसँगै उनकी आमा, बहिनी र ज्वाइँ पनि थिए।

बुटवल-४ का वडाध्यक्ष दधिराम न्यौपालेले मृतक आफ्ना भतिज रहेको बीबीसीसँग बताए। उनका अनुसार सुदीप न्यौपाने र अरू आफन्त शनिवार नेपालबाट हिँडेका थिए।

“सुदीप आफ्नी आमा अनि पोखरा बस्ने बहिनी र ज्वाइँलाई समेत लिएर गएका थिए। बाँकी तीन जना सकुशल छन् भन्ने आएको छ,” उनले टेलिफोनमा भने।

वडाध्यक्ष न्यौपानेका अनुसार सञ्चारमाध्यममा कश्मीर घटनामा मृत्यु भएका व्यक्तिको नाम सार्वजनिक भएपछि मृतक सुदीप आफ्नै भतिज भएको आशङ्कामा उनले सोधखोज सुरु गरेका थिए।

बुधवार बिहान सुदीपका ज्वाइँले सुदीपको मृत्युको पुष्टि गरेको उनले बताए। “बिहान ज्वाइँले भोइस मेसिज पठाएर ‘दाजुलाई बचाउन सकिएन’ भन्नुभयो,” उनले बीबीसीसँग भने।

मृतकका बुवा भने बुटवलमै छन्।

सुदीप न्यौपाने स्नातक तहमा पढ्दै गरेको र अविवाहित रहेको बुझिएको छ।

भारतीय सञ्चारमाध्यमले नेपाली नागरिकको मृत्यु भएको विवरण प्रकाशित गरेपछि नेपाली अधिकारीहरूले त्यसबारे खोजी गरेका थिए।

थापाका अनुसार मृतकको परिवार नेपाली अधिकारीहरूको सम्पर्कमा आइसकेको छ।

उक्त क्षेत्रमा घुम्न र मौसमी कामदारका रूपमा पनि नेपालीहरू जाने गरेको नेपाली दूतावासले जनाएको छ।

प्रधानमन्त्री ओलीले के भने

कश्मीरमा गोली प्रहार भएपछि पहरा दिँदै सुरक्षाकर्मी

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

बुधवार बिहान नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहलगाममा भएको घटनामा नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूबारे बुझ्ने प्रयास भइरहेको बताएका थिए।

“पीडितमध्ये नेपाली नागरिक पनि रहेको भन्ने विवरणको पुष्टि गर्न र आवश्यक सहायता उपलब्ध गराउन नजिकबाट समन्वय भइरहेको छ,” ओलीले एक्समा लेखेका थिए।

आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री ओलीले आतङ्कवादविरुद्धको लडाइँमा भारतसँगै उभिने प्रतिबद्धता जनाएका छन्।

“नेपाल आतङ्कवादका कुनै पनि गतिविधिको निन्दा गर्छ र बलियो गरी भारतसँगै उभिन्छ,” ओलीले भनेका छन्।

घटनापछि साउदी अरबको भ्रमण छोट्याएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा हमलाको कडा शब्दमा निन्दा गरेका छन्।

“आतङ्कवादविरुद्ध हाम्रो अठोट डगमगाउँदैन र यो अझै बलियो हुन्छ,” उनले लेखेका छन्।

गृहमन्त्री अमित शाह मङ्गलवार नै कश्मीरको सबैभन्दा ठूलो सहर श्रीनगरको भ्रमण गरेर  सुरक्षा अवस्थाको बारेमा आपत्कालीन बैठक राखेका थिए।

खासै नाम नसुनिएको एउटा इस्लामिक समूहले घटनाको जिम्मेवारी लिएको छ।

घटनास्थलमा सेना र प्रहरी परिचालन

जम्मू कश्मीरमा आक्रमणमा परेकाहरूको उपचार हुँदै

तस्बिर स्रोत,EPA

आक्रमणमा धेरै जना घाइते भएको विवरणहरू आएका छन्। प्रहरीले गोली लागेका कैयौँ पर्यटकलाई अस्पताल लगिएको बताएको छ।

राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले उक्त घटनालाई “पछिल्ला वर्षहरूमा सर्वसाधारणप्रति लक्षित सबैभन्दा ठूलो आक्रमण” भनेका छन्। यो क्षेत्रका उपराज्यपाल मनोज सिन्हाले घटनास्थलमा सेना र प्रहरी परिचालन भएको बताए।

घटनापछि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ र सुरक्षाकर्मीहरूले त्यस क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनहरूलाई जाँच गरिरहेका छन्।

आक्रमणमा संलग्न भएकाहरूको खोजीका लागि भारतीय सेना र प्रहरीको संयुक्त टोली खटिएका छन्।

मुस्लिम समुदायको बाहुल्य भएको यो क्षेत्रमा सन् १९८९ देखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षहरूमा आक्रमणका घटनाहरूमा कमी आएका थिए।

यो क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकहरूमाथि यस्तो ठूलो स्तरमा विरलै आक्रमण भएको थियो।

आक्रमण भएको स्थान पहलगामदेखि पाँच किलोमिटर टाढाको बैसरन घाँसे मैदान हो। यो मनोरम स्थान पहाडको टुप्पोमा अवस्थित छ। पर्यटकहरूमाझ लोकप्रिय यो स्थान अहिले वर्षको सबैभन्दा धेरै पर्यटकहरू आउने समय हो।

जम्मू कश्मीरका प्रहरी प्रमुख विधिकुमार विर्दीले गोली प्रहार भएको स्थानमा सवारीसाधनहरू नपुग्ने बताएका छन्।

आक्रमणमा परेको समूहमा रहेका गुजरातका एक पर्यटकले “अचानक गोली प्रहार सुरु भएपछि अवस्था तनावपूर्ण भएको र मानिसहरू भाग्न, रुन र चिच्याउन थालेको” बताए।

भारतीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका भिडिओहरूमा भारतीय सैनिकहरू आक्रमण भएको स्थानतर्फ दौडिँदै गरेको देखिन्छ।

कतिपय अन्य भिडिओहरूमा पीडितहरूले बन्धुकधारीले “गैरमुस्लिमलाई मात्रै निसाना बनाइएको” बताइरहेको सुनिन्छ।

सामाजिक सञ्जालमा फैलिएका र बीबीसीले पुष्टि गर्न बाँकी रहेका भिडिओहरूमा शवहरू घाँसे मैदानमा छरिएका र मानिसहरू रुँदै सहयोगका लागि चिच्याइरहेका देखिन्छ।

दशौँ हजारको ज्यान लिएको कश्मीर द्वन्द्व

कश्मीरमा प्रहरी तथा सेना परिचालन भएपछिको दृश्य

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथक्तावादी सशस्त्र विद्रोह सुरु भएयता यो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारण समेत गरी दशौँ हजारको ज्यान गइसकेको छ।

ब्रिटेनबाट भारत स्वतन्त्र भएसँगै सन् १९४७ मा भारत र पाकिस्तान विभाजनका क्रममा यो हिमाली क्षेत्र पनि विभाजित भएको थियो। त्यसपछि भारत र पाकिस्तानबीच यो क्षेत्रका लागि दुइटा युद्ध र अन्य कैयौँ द्वन्द्वका घटना पनि भए।

भारतले यो क्षेत्रमा करिब पाँच लाख सैनिकहरू स्थायी रूपमै परिचालन गरेको छ।

भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ। यद्यपि यहाँ बेलाबखत हिंसाका घटना हुँदै आएका छन्।

पछिल्लो पटक सन् २०२४ को जुनमा सर्वसाधारण लक्ष्यित आक्रमण भएको थियो। हिन्दू धर्मावलम्बीहरू चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ३३ जना घाइते भएका थिए।

त्यसअघि सन् २०१९ मा भारत प्रशासित कश्मीरमा भएको आत्मघाती आक्रमणमा ४६ जना सैनिक मारिएका थिए। त्यसपछि भारतले पाकिस्तानमा विद्रोहीहरू लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो।

भारतले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय रहेका पहलगामसहितका क्षेत्रको प्रवर्धन गरिरहेको छ।

गत वर्ष मात्रै कश्मीरमा ३५ लाख पर्यटक पुगेका सरकारी तथ्याङ्कहरूले देखाएका छन्।

वीवीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस