काठमाण्डौंका आँखा र सुदूरका ‘सुईना’

१० वैशाख २०८२ ६:४४
काठमाण्डौंका आँखा र सुदूरका ‘सुईना’

मूलधारका भनिने नेपाली मिडियाले गभर्नरको चर्चा गरिरहदा पुछारमा पनि नअटाएका डा. गुणाकर भट्ट गभर्नर हुने निश्चितप्रायः भएपछि केही मिडिया र स्वार्थ समूहको निन्द्रा उडेको छ । नहोस पनि किन देशमा ठूला नियुक्तिको चर्चा हुदा सुदूर पश्चिमका मान्छेलाई काठमाण्डौंको चश्माले योग्य देख्दैन । डा. भट्ट उनीहरुका लागि अपवाद हुने कुरै भएन ।

सुदूर डोटीको कफल्लेकी गाउँको सामुदायीक विद्यालयबाट एसएलसी गरेर उच्च शिक्षा अध्ययनका लागि धनगढी झरेका भट्ट, जसले निजी विद्यालयको शिक्षकको जागीर खाएर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकको पढाई पुरा गरे ।

त्यसपछि त्रिभुवन विश्वविद्यालयमा एमबीएमा गोल्ड मेडल हात पारे । यो उपलब्धी उनका लागि मात्र नभएर सुदूरको सुदूर गाउँबाट काठमाण्डौं पस्ने जो कोहीका लागि सपना जस्तै हुन्थ्यो । उनको सपनाको उडान त्यतिमै रोकिएन, अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरे ।

सायद उनलाई माटोको माया हुदैनथ्यो भने, उनी त्यहीबेला विश्व बैंक वा संसारकै कुनै ख्यातिप्राप्त संस्थाको उच्च ओहोदामा जागीर हुन्थे । आफूले हासिल गरेको डिग्री, अनुभव, अन्तर्राष्ट्रिय ज्ञानलाई देशका आर्थिक उन्नयनमा समर्पित गर्ने सोचले उनी सबै सुखसुबिधा र अवसरहरु त्यागेर स्वदेश फर्किए । यसको अर्थ उनी यसरी फर्किने एक्लो हुन् भन्ने होईनन् ।

अढाई दशकदेखि नेपाली राष्ट्र बैंकको विभिन्न जिम्मेवारीमा रहेर आफ्नो क्षमता प्रदर्शन गरिसकेका भट्ट कुनै पनि भूमिकामा चुकेनन् । हरेक भूमिका र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । कहिले विवादमा परेनन् । राजनैतिक दलको फेर समातेर कुनै सिढी उक्लेनन् । फेर समातेका भए उहिल्यै डेपुटी गभर्नर भईसक्थे । भट्टले आफ्नै मिहिनेत र बलबूतामा यो मुकाम हासिल गरेका हुन् ।

यद्दपि काठमाण्डौंका मिडियाले शुरुवाती चरणमा भट्टको चर्चा गर्न नै जरुरी नै ठानेनन् । काठमाण्डौंका आँखाले ‘सुदूरका सुईना’ (सपना) कहिले देखेन । न त यहाँका संभावना देख्यो । न सुदूरका मान्छेमा उसले क्षमता देख्यो । सजिलो र आँखा अगाडिको कुरालाई उसले समाचार बनायो । तर सुदूर उसको नजरमा कहिल्यै परेन ।

यो देशका मिडियाले डा. सन्दुक रुईतको चर्चा गर्छ तर डा. विद्या प्रसाद पन्तको चर्चा गर्न जरुरी ठान्दैन । ईथियोपियाको राजधानीमा सन्दुक रुईतले चलाएको आँखा शिविर देख्ने मिडियाले त्यही समयमा ताञ्जनियाको ग्रामिण ईलाकामा आँखाको शिविर चलाईरहेका पन्तलाई देखेन । त्यसको अर्थ यो होईन कि रुईत चर्चा गर्न योग्य छैनन् । तर संसारमै सबैभन्दा बढि (अढाई लाख) मान्छेको आँखाको शल्यक्रिया गरेका डा. पन्त, जसले एकदिनमा सबैभन्दा बढि (३१२ जना) मान्छेको आँखाको शल्यक्रिया गरेका छन्, उनको चर्चा गर्न जरुरी नै ठान्दैन् ।

सुदूर पहाडका जनताका लागि भगवान सरह रहेका डा. मन्दीप पाठक काठमाण्डौंका मिडियामा अटाउदैनन् । उनीहरुलाई डा.भगवान कोईरालाईको भने चर्चा गर्न भ्याईनभ्याई छ । यद्दपि कोईरालाको योगदान प्रशंनीय छ । यसमा कुनै शंका छैन् ।

काठमाण्डौंका मिडिया पक्षपाती छन् , पूर्वाग्रही पनि । उनीहरुले यो देशको बिबिधता अझै स्वीकार गर्नै सकेका छैनन् ।

अनलाईन खवरका प्रधान सम्पादक शिव गाउँले  नेपाली मूलधारका मिडियाले नेपालको सांस्कृतिक र भौगोलिक बिबिधता विविधतालाइ अनुभुत गर्न नसकेको स्वीकार गर्छन।

मिडियाको बिबिधतामा हेर्ने दृष्टिकोणमा समस्या छ । त्यही कारण बिबिधताले पाउनु पर्ने स्पेश पाएन, पत्रकार गाउँले भन्छन्, त्यसको असर काठमाण्डौंबाट तुलनात्मक रुपमा टाढा रहेको सुदूर पश्चिममा पनि प¥यो ।

गभर्नर नियुक्ति प्रकृयामा पनि यही दृष्टिकोण हावी भएको उनी ठान्छन् ।

गभर्नर नियुक्ति प्रकृयामा व्यक्तिको बीज्ञतामाथि छलफल नै भएन । गभर्नर कसको भागमा पर्छ भन्ने मात्र छलफल भयो । र, समाचारहरु पनि त्यसैगरी आए, वरिष्ठ पत्रकार गाउँले थप्छन्, १० जनाको रोष्टर बनाएर छलफल बनाएर छलफल गराएको भए भट्टका विषयमा पनि चर्चा हुन्थ्यो होला । त्यहाँ त एमाले र काँग्रेस कसको भागमा पर्ने भन्ने सैद्धान्तिक लफडा भयो ।

पत्रकार आरती चटौतका मनमा पनि यो प्रश्न खट्कीरहन्छ । काठमाण्डौंले सुदूरपश्चिमलाई किन वास्ता गर्दैन ? किन दिदैन महत्व ? चटौत भन्छिन्, गभर्नरको विषय हाईप्रोफाईल भयो । साना साना कुरामा वेवास्ता गर्ने मूलधारका मिडिया र काठमाण्डौंले यो मुद्दामा त नजरअन्दाज गर्ने नै भयो ।

काठमाण्डौंले सुदूरपश्चिमलाई वेवास्ता गरेको यो कुनै नयाँ घट्ना होईन,वरिष्ठ पत्रकार कुन्द दीक्षित भन्छन्, मूलधारका मिडिया पनि काठमाण्डौं केन्द्रित छन् । उनीहरुको नजरमा सुदूरपश्चिम अहिलेसम्म परेको छैन् ।

सुदूरपश्चिमलाई हेर्ने काठमाण्डौंको दृष्टिकोणमै समस्या रहेको पत्रकार दीक्षित बताउछन् । भन्छन्, त्यही दृष्टिकोण उसको व्यवहारमा देखिने गरेको छ ।

काठमाण्डौंका कतिपय साथीहरु भन्छन्, तिमी सुदूरपश्चिमेलीहरु भेगीय भावना राख्छौ ।

म उनीहरुलाई भन्छु, हामी देशलाई केन्द्रमा राखेर सोच्छौ । र, त्यो देशको केन्द्रमा पुग्ने क्षमता राख्ने सुदूरपश्चिमेलीहरुलाई रोक्न काठमाण्डौंले गर्ने षडयन्त्र र बहानाबाजीका बिरुद्ध भने हामी पार्टी र भूगोल नभनेर एक ठाउँमा उभिन्छौ ।

भन त, साथी सुदूरलाई अलग राखेर देश कसरी बलियो बन्छ ? सुदूरलाई अयोग्य देखेर देश कसरी योग्य हुन्छ ।

डा. वीएस बोहराहरुले चर्चामा नआएरै अवकाश पाए, जसले पुरै जीवन सुदूरपश्चिमका जनताको स्वास्थ्योपचारमा बिताए । दीर्घसिंह बम, अनुप उपाध्याय र चेतराज पन्तहरु यही माटोले जन्माएका हुन् । सुदूरमा जन्मिने र यो माटोमा सेवा गर्नेहरुको क्षमता र योग्यतामाथि काठमाण्डौंले सधै शंका गरिरह्यो । सधै अविश्वास गरिह्यो ।

पदक, तक्मा र नियुक्तिका लागि योग्यता, क्षमता, योगदान र निष्ठाको मूल्यांकन हुने दिन कहिले आउला ?

सुदूरपश्चिम भूगोल मात्र होईन । यो भावना पनि हो । संघीयतामा मुलुक जादा,जसको एक अंश पनि राज्य सञ्चालकहरुले अलग गर्न सकेन । यही हो, सुदूर पश्चिमको तागत । जसका अगाडि सत्ता सञ्चालकहरु झुक्न बाध्य भए ।

केआईसिंहपछि अर्को प्रधानमन्त्री कुर्न सुदूरपश्चिमले तीन दशक कुर्नु प¥यो । लोकेन्द्र बहादुर चन्दपछि शेर बहादुर देउवा सुदूरपश्चिमबाट प्रधानमन्त्री भए । अर्को शेर बहादुर जन्मिन अव युग कुर्नुपर्नेछ ।

बानेश्वरमा सुदूर पश्चिमेलीहरु भेटिन्छन् कि भनेर खोज्ने ५० को दशकका ती दिनहरु सम्झिनेहरुलाई थाह छ, त्यही काठमाण्डौंमा रहेको सिंहदरवार उनीहरुका लागि टाढा थियो । धेरै टाढा । अझ काठमाण्डौंमा सुदूरपश्चिमेली हूँ भन्न हिच्किचाउने दिनहरुको अन्त्य भएको धेरै भएको छैन ।

आफ्नै बलबूता र क्षमतामा मात्र यस्ता नियुक्ति र उपलब्धी हासिल गर्नु असंभव छ, त्यसका लागि राजनैतिक नेतृत्वको सदाशयता र विश्वास आवश्यक रहेको मुलुकमा देउवाकोपछि सुदूरपश्चिमेलीहरुले त्यो तहमा नियुक्त हुने संभावना विरलै हुनेछ । यो सत्य  हो ।

सत्ता गठबन्धनको प्रमुख दलको सभापतिसंग प्रधानमन्त्रीले गरेको सहमती कार्यान्वयन हुन त यति अलमल हुन्छ भने, के राजनैतिक नेतृत्वसंग पहूँच नै नभएको व्यक्ति यो देशमा क्षमता र योग्यता हुदैमा नियुक्त हुने अवस्था रहला र ?

सुदूरमा घन्किने देउडा टुडिखेलमा खेलिनुअघिका धेरै वर्ष काठमाण्डौंमा दविएको थियो । हाम्रो जीवन पद्धति बनेको गौरा र देउडालाई सगर्व हाम्रो संस्कृति हो भनेर भन्न सक्ने अवस्था धेरैपछि मात्र काठमाण्डौंमा बनेको हो । आज जसरी टुडिखेलमा देउडामा पैताला मिलाउन गौरा कुरिरहनु पर्दैन ।

सत्ताको सधै केन्द्रमा रहेका देउवासंग सुदूरपश्चिम समृद बनाउने धेरै अवसरहरु थिए । ती सबै अवसरहरु उनले के कति कारणले गुमाए वा पुरा गर्न सकेनन्, त्यो उनलै जानुन । तर यस पटक देउवासंग सुदूरले सधैभरीका लागि सम्झिने एउटा ठूलो अवसर छ, त्यो हो डा. भट्टलाई गभर्नर बनाउने ।

देउवा बोलीको पक्का मानिन्छन् । कम बोल्ने र आफ्नो अडानमा कायम रहने देउवाको त्यो स्वभावले उनका धेरै अवगुणहरु मानिसहरु सहजै बिर्सिन्छन् । सुदूर पश्चिम, जुन माटोमा उनी जन्मिए, हुर्किए, र जुन भूगोलले उनलाई देशकै सर्वोच्च पदमा पटक पटक पुग्ने अवसर प्रदान गरिरह्यो, यस पटक त्यो माटोलाई गुन लगाउने अवसर उनले गुमाउने छैनन भन्ने विश्वास छ ।

नेपाली मूलधारका मिडियालाई राम्रोसंग थाह छ, भट्ट लप्पन छप्पन जान्दैनन् । उनी आफ्नो कर्ममा विश्वास गर्छन् । र, आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छन् । र, अधिकारको दुरुपयोग गर्दैनन् । उनी कसैको स्वार्थमा काम गर्दैनन् । सायद भट्टको कमजोरी नै यही हो ।

राजनैतिक नेतृत्वबीच भट्टलाई गभर्नर बनाउने सहमती भएको कुरा बाहिर आयो । तर न सिफारिस समितिले भट्टलाई गभर्नरमा सिफारिस गरेको छ । न त भट्ट गभर्नर नियुक्त भएका छन् । तर अनुमानका भरमा अदालतमा रीट दायर हुन्छ । अदालतले पनि त्यस्तो रीट दर्ता गरिदिन्छ ।

गभर्नर प्रकृयालाई गिजोल्न र भट्टलाई नभएको बिवादमा पारेर अमूक समूहको स्वार्थमा अर्कै व्यक्तिलाई गभर्नर बनाउने नियतबाट यस्ता हर्कतहरु भईरहेका हुन् भन्ने बुझ्न गाह्रो हुदैन् ।

हरेक राजनैतिक दलको सदस्यता खल्तीमा राखेर उनले हिड्न जानेका छैनन् । मिडिया, विचौलिया र नेतालाई मिलाउन नजान्नु उनको कमजोरी ठानिन सक्छ ।

नभएका कमजोरी खोजेर उनलाई गभर्नर बन्नबाट रोक्न षडयन्त्र हुनु, त्यही कमजोरीको उपज हो भन्दा अन्यथा हुदैन् ।

मिडियाले समेत नपत्याएका भट्ट पहिले नै गभर्नरका रुपमा चर्चामा आएको भए, यो देशको पुरै शक्ति उनलाई त्यतिबेलै सक्थ्यो । उनी सबैभन्दा पछि चर्चामा आएका कारण सबैभन्दा कम निशानामा परे । ढिलो चर्चामा आउनु उनका लागि फाईदाजनक भयो । यद्दपि आफ्नो नाफाघाटा हरेर नियुक्ति प्रकृयामा हावी हुने स्वार्थ समूहहरु अर्काको नोक्सान गरेर रमाउनु कुनै नयाँ कुरा होईन् । अहिले भट्टका विरुद्ध जे भईरहेको छ, यो त्यही सोचको उपज हो ।

अझ कतिपय स्वार्थ समूहले नियुक्त हुनुअघि नै प्रतिबद्धता खोज्ने गरेको बिगतका घट्नाक्रमले देखाएको छ । त्यस्तो प्रतिबद्धता खोज्ने समूहहरुमा को पर्छन, को पर्दैनन, जगजाहेर छ ।

भट्टलाई गभर्नर बन्नबाट रोक्न सकिदैन भनेर राम्रैसंग बुझेकाहरुले जे जति बाधा, व्यवधान र विवादहरु सृजना गरिरहेका छन्, त्यसको पछाडिको कारण यत्ति हो ।

सुदूर पश्चिमले आरक्षण मागेको होईन । दया मागेको होईन । सदाशयता र कृपा चाहेको होईन । बाँकी भूगोलसंग प्रतिस्पर्धा गरेर आफ्नै क्षमतामा गभर्नर बन्न खोजिरहेका भट्टहरुले कहिल्यैसम्म योग्यताको परीक्षा दिईरहनु पर्ने हो ?

यो पनि होईन कि उनी गभर्नर नभए देशकै अर्थतन्त्र बिग्रिन्छ । र, यो पनि होईन कि, उनी गभर्नर भए देशको अर्थतन्त्र रातारात सुध्रिन्छ । तर एउटा कुरा पक्का हो, उनी गभर्नर भए, देशको अर्थतन्त्र सुधार गर्न उनले ईमान्दारीपूर्वक कोशिस गर्नेछन् । आफ्नो विवेक, सामथ्र्य,अध्ययन, अनुभवको भरपुर प्रयोग गर्नेछन् । यसमा दुबिधा छैन् । उनलाई गभर्नर बनाउनु पर्ने कारण पनि यही हो ।

आशा छ, बिलम्व नगरी भट्ट नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त हुनेछ ।

4 thoughts on “काठमाण्डौंका आँखा र सुदूरका ‘सुईना’

  1. मध्य राती सुतेको अव्स्थामा पन्त डा.लाई विउझाएर द्वन्दको समयमा उपेन्द्र विनाडिको उपचार मैले नि गराएको यादगार पल विर्सिन सक्दिन।

  2. My gratitude to the writer for shedding light on Dr. Gunakar Bhatt’s remarkable journey and the struggles faced by individuals from remote regions like Sudurpashchim in Nepal. The article aptly highlights the challenges posed by the Kathmandu-centric perspective in Nepalese media and the systemic bias against talented individuals from rural areas. Dr. Bhatt’s path from a small village in Doti to becoming a potential candidate for the position of Governor of Nepal Rastra Bank is truly inspirational. His dedication, hard work, and commitment to serving his country are evident in his achievements. The writer’s recognition of these struggles and the acknowledgment of Dr. Bhatt’s capabilities, despite the media’s initial oversight, is both necessary and empowering. Thank you for giving voice to such crucial issues and for presenting Dr. Bhatt’s exceptional story of perseverance.
    – G Malla, PhD, Prof. University of Cincinnati, USA

Leave a Reply to ऋिषी राज विनाडि Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस