जम्मू-कश्मीरको पहलगाममा चरमपन्थी हमला – २० भन्दा बढी पर्यटकको मृत्यु

जम्मू-कश्मीर
मंगलबार, जम्मू-कश्मीरको पहलगाममा पर्यटकहरूलाई लक्षित गर्दै भएको चरमपन्थी हमलामा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाएका छन्, जसमा कम्तिमा २६ व्यक्तिको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। आक्रमणमा नेपाली नागरिक सन्दिप न्यौपाने सहित कम्तिमा २६ जना मारिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाको कडा निन्दा गर्दै यसलाई आतङ्ककारी हमला बताएका छन् र दोषीहरूलाई उन्मुक्ति नदिइने बताएका छन्।
गृह मन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै जिम्मेवारहरूलाई कडा जवाफ दिने बताए। उनले यस सन्दर्भमा श्रीनगर पुगेर आपतकालीन सुरक्षा बैठकमा भाग लिने बताएका छन्।
जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनास्थल सुरक्षा बलले घेराबन्दी गरी कारबाही भइरहेको जानकारी दिएका छन्।
पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले यो हमला पछिल्ला वर्षहरूमा नागरिकहरूलाई लक्षित गरी गरिएको सबैभन्दा ठूलो हमला भएको बताएका छन्।
स्वास्थ्य मन्त्री सकीना इटूका अनुसार केही घाइतेहरूलाई अनन्तनाग मेडिकल कलेजमा भर्ना गरिएको छ। तीन जनाको अवस्था सामान्य छ भने एक जना गम्भीर छन्। एक जना घाइतेलाई श्रीनगर लगिएको छ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन। हमला पर्यटन सिजनको उच्च बिन्दुमा भएको हो।
घटना पहलगामबाट करिब ५ किलोमिटर टाढा भएको हो, जहाँ हरेक वर्ष हजारौं पर्यटक घुम्न जान्छन्। प्रत्यक्षदर्शीहरूका अनुसार, पर्यटकहरूलाई विशेष रूपमा निशाना बनाइएको थियो।
पीडीपी प्रमुख महबूबा मुफ्ती र कांग्रेस नेता राहुल गान्धीले कायराना र निन्दनीय हमला भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी वेंसले पनि यो विध्वंसकारी घटनाप्रति श्रद्धाञ्जली दिँदै आफू र आफ्नी पत्नी उषाको तर्फबाट गहिरो शोक व्यक्त गरेका छन्।
सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए ।
भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ । यो भन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।