भारतीय विद्युतमन्त्री काठमाडौमा, लम्की-बरेली प्रसारण लाइनको सम्झौता हुने

काठमाडौं । भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मंगलबार विहान ९ बजे काठमाडौँ आइपुगेका हुन ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत स्वागत गरेका थिए ।
दुईदिने नेपाल भ्रमणका लागि नेपाल आएका मन्त्री खट्टर आजै दिउँसो भारतले संखुवासभाको अरुण नदीमा निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
उनी आज साँझ काठमाडौँमा हुन लागेको दुई देशको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनको सम्झौतापत्र हस्ताक्षर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
भारतका विद्युतमन्त्री खट्टरले भोलि विहान मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ भने मुक्तिनाथबाट काठमाडौँ फर्केलगत्तै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।
पशुपति दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँ भोलि साँझ नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।