अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री

बैंकक(थाईल्याण्ड),८ बैशाख ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छिन्।
बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को ८१औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति सहरीकरण पनि एक रहेको उल्लेख गरिन्।
‘एसिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो सहरी विकास’ विषयक सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. राणाले भनिन्, ‘सहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन पनि हुन्। तर, योजनाविहीन सहरीकरणले धेरै समस्या निम्त्याइरहेको छ। त्यसैले हामीले राम्रोसँग योजनाबद्ध सहरी विकास गर्नुपर्छ।’
उनले वातावरणमैत्री र दिगो सहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित सहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताइन्। सहरहरूबिचको सञ्जाललाई मजबुत बनाउनुपर्ने, जनसांख्यिक रूपान्तरणका लागि सशक्त योजना बनाउनुपर्ने र विविध स्रोतबाट वित्तीय सहयोगका उपायहरू अपनाउनुपर्नेमा उनले जोड दिइन्।
मन्त्री डा. राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएका बताइन्। उनले डिजिटल डिभाइडका कारण सहरी र ग्रामीण समुदायबिचको सम्बन्धमा ठुलो खाडल पैदा भएकाले यसको सम्बोधन गर्नेतर्फ हामी सबैको ध्यान जानुपर्नेमा जोड दिइन्। परराष्ट्रमन्त्री डा. राणाले एसिया र प्रशान्त क्षेत्रको सामाजिक सुरक्षा प्रणाली अझै अपूरो र कमजोर अवस्थामा रहेकाले यसमा विश्वका उत्कृष्ट अभ्यासहरूबाट सिकेर लगानी बढाउनुपर्ने धारणा व्यक्त गरिन्।
उनले जलवायुजन्य विपतकाे दृष्टिले यस क्षेत्र जोखिममा रहेको उल्लेख गर्दै हाम्रा सहर र समुदायहरू बाढी, खडेरी र चरम मौसमी दुर्घटनाजस्ता जोखिममा रहेका स्पष्ट पारिन्।
परराष्ट्रमन्त्रीले भनिन्, ‘पानीको स्रोत मात्र नभएर जीविकोपार्जन र सभ्यताको आधारका रूपमा रहेका हाम्रा हिमालयहरू जलवायु परिवर्तनको प्रभावबाट अकल्पनीय रूपमा प्रभावित भइरहेका छन्। त्यसैले जलवायु सहनशीलता तथा पूर्वसूचना प्रणालीमा लगानी बढाउनुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गरी सहयोग र सहकार्यका साथ समस्या समाधानतर्फ जुटौँ।’