एकताको महाधिवेशनका लागि एनआरएनएमा चुनावी सरगर्मी सुरु

काठमाडौँ । एकताको महाधिवेशनको मिति नजिकिएसँगै गैर आवासीय नेपाली संघ (एनआरएनए) मा चुनावी सुरु भएको सरगर्मी छ ।
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले मे महिनाको ३, ४ र ५ मा काठमाडौँमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो। सोही अनुसार डेलिगेट्सहरु काठमाडौँ आउने क्रम सुरु भएको छ। महाधिवेशनले सन् २०२५- २०२७ का लागि नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) पनि निर्वाचित गर्ने छ।
एनआरएन अभियन्ताहरूले विभिन्न पदका लागि उम्मेदवारी दिन तयारी गरिरहँदा सबैको आँखा अध्यक्ष पदका सम्भावित उम्मेदवारहरू माथि छ। बद्री केसी पक्षले महाधिवेशनमा भाग नलिने सङ्केत देखिए पछि डेमोक्र्याट र माओवादी समर्थित पक्षबिच सीधा प्रतिस्पर्धा हुनसक्ने जानकारहरू बताउँछन्। डेमोक्र्याट समूहबाट महेश श्रेष्ठ (जापान) र डा केशव पौडेल (अमेरिका) आकाङ्क्षी देखिएका छन्। त्यस्तै माओवादी समर्थित समूहबाट आर के शर्मा (कतार) तथा विनोद कुँवर (कोरिया) अध्यक्षका उम्मेदवार हुन सक्ने बताइन्छ। यद्यपि शर्माले आफू सहमतिको लागि सधैँ तयार रहेको बताउने गरेका छन्।
उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफू तटस्थ बस्ने बताएता पनि उनी निकट अभियन्ताहरूको सहयोग दुवै पक्षको लागि महत्त्वपूर्ण हुने बताइन्छ।
तर उच्चस्तरीय समिति भित्रै संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, कुमार पन्त लगायतले महाधिवेशनमा भाग नलिने बरु निष्क्रिय बस्ने रणनीति अपनाएको देखिन्छ। त्यस्तो अवस्थामा चुनाव गरेर थप गुटबन्दी निम्त्याउनु भन्दा सबैलाई समेट्न सक्ने उम्मेदवारलाई अगाडी बढाउनु पर्ने कतिपय एनआरएन अभियन्ताहरू बत्ताउँछन् ।
त्यस्तो व्यक्तिको रूपमा अमेरिकास्थित उद्यमी सुनील साहको नाम अगाडी आएको छ। सन् २०२३ मा हिमालय होटेलमा गठित आइसिसीमा उपाध्यक्षको रूपमा कार्यरत साहले सार्वजनिक रूपमा मुख खोलेका छैनन् तर उनले आफू निकटहरूलाई साथीहरूले अनुरोध गरेमा संस्थालाई एकजुट गरेर लग्न आफू अध्यक्षको जिम्मेवारी लिन तयार रहेको बताउने गरेका छन्। उनकै नेतृत्वमा कोभिडको समयमा एनआरएनए अमेरिकाले औषधि तथा चिकित्सा सामग्री सङ्कलन गरी नेपाल पठाएको थियो भने आइसिसीको कोषाध्यक्षको रूपमा उनले संस्थाको आयव्यय पारदर्शी राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
अहिलेसम्म झन्डै २ हजार जनाले डेलिगेट्समा आवेदन दिएको बताइएको छ । उनीहरूको कागजात जाँच गरेर उच्चस्तरीय समितिले उक्त सूची निर्वाचन समितिलाई हस्तान्तरण गर्ने छ । निर्वाचन समितिलाई अधिवेशनको ५ दिन अघि सूची बुझाउने गरी काम अघि बढेको जनाइएको छ ।