नेपाल प्रहरीमा १० जना डीआईजी पद रिक्त

द एभरेष्ट पोष्ट
७ वैशाख २०८२ १७:३०
नेपाल प्रहरीमा १० जना डीआईजी पद रिक्त

काठमाडौं – नेपाल प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी पद रिक्त रहेको छ। गत वैशाख ४ मा बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेपछि, १० जना वरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा गर्ने अवसर मिलेको हो। गृह मन्त्रालयका अधिकृतहरूको अनुसार, एआईजीको बढुवा सिफारिस मन्त्रिपरिषदबाट सदर भएपछि, डीआईजीको बढुवा सिफारिसको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

बढुवाका लागि ३ वटा टोलीबीच प्रतिस्पर्धा छ। २०५४ चैत १८ मा भर्ना भएका सुदर्शन कोइराला र दीपक रेग्मी डीआईजी बन्ने दौडमा रहेका छन्। तर, उनीहरूसँगै भर्ना भएका दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी एआईजीका लागि सिफारिस भइसकेका छन्।

राष्ट्रिय अनुसन्धान विभागबाट जनपद समूहतर्फ आएका १० जना अधिकारीहरू पनि डीआईजीको पदमा प्रतिस्पर्धा गर्दैछन्। ओम बहादुर राना, माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदा प्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ, दिलीप सिंह देउवा र दीपक कुमार बस्नेत यस प्रतिस्पर्धामा रहेका छन्।

यी अधिकारीहरूमध्ये ओम बहादुर राना, दिलीप सिंह देउवा, सुरेन्द्र बहादुर गुरुङ र माधव प्रसाद श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए। अन्य अधिकारीहरू, जस्तै दीपेन्द्र घर्ती क्षेत्री, दीपक कुमार बस्नेत, विनोद घिमिरे र जयराज सापकोटा भने २०५४ र २०५५ वर्षको भर्नामा आए।

विनोद घिमिरे भने हाल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् र उनलाई ‘विवादित’ अधिकारीका रूपमा चिनिन्छ। उनी कांग्रेस सभापति शेर बहादुर देउवाका स्वकीय सचिव भानु देउवाका माध्यमबाट डीआईजीको बढुवा लिने प्रयासमा छन्।

यसैगरी, दिलीप सिंह देउवा, जो शक्तिकेन्द्रको आडमा बारामा कमाण्ड गर्दैछन्, आर्थिक रूपमा ुविवादितु अधिकारीका रूपमा चिनिन्छन्। साथै, ओम राना र सुरेन्द्र गुरुङ पनि संगठनमा अलोकप्रिय अधिकृतका रूपमा चिनिएका छन्।

डीआईजीको प्रतिस्पर्धामा रहेका अर्को टोलीमा २०५६ असार ३ मा भर्ना भएका १५ जना अधिकृत छन्, जसमा भूपेन्द्र बहादुर खत्री, विश्व अधिकारी, सानुराम भट्टराई, शेखर खनाल, र अन्य अधिकृतहरू समावेश छन्। यी अधिकारीहरू संगठनमा काबिल अफिसरका रूपमा चिनिन्छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस