तीस वटा भौतिक संरचना अलपत्र

बैतडी । बैतडीमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरेका ३० वटाभन्दा बढी भौतिक संरचना उद्देश्य अनुसार प्रयोग नहुँदा अलपत्र परेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहले निर्माण गरेका शिक्षा, स्वास्थ्य, कृषि, खेलमैदान, सभा हल, मनोरञ्जन पार्क, हवाई उडानदेखि बसपार्क र पुलसम्मका भौतिक संरचना वर्षौंदेखि अलपत्र परेका हुन् । पाटन नगरपालिकामा मात्रै १४ वटा भौतिक संचरना अलपत्र अवस्थामा छन् ।
पाटन नगरपालिका–८, खोड्पेमा ५० लाख खर्च गरेर सङ्घीय सरकारले निर्माण गरेको ट्रमा सेन्टर सञ्चालन नहुँदा भवन अलपत्र परेको छ । सोही ठाउँमा प्रदेश सरकारको लगानीमा निर्माण भएका शीतभण्डारका तीन वटा भवन पनि अलपत्र परेका छन् । शीत भण्डार सञ्चालन नहुँदा यहाँका किसान मर्कामा परेका छन् । सोही वडाको धारी जुकेपानीमा प्रदेश सरकारले निर्माण गरेका सहरी स्वास्थ्य क्लिनिकका भवन पनि सेवा सञ्चालन नहुँदा अलपत्र परेको स्थानीय अर्जुन विष्टले बताए ।
पाटन नगरपालिका–६ मा दुई करोड रुपियाँ खर्च गरेर निर्माण गरेको हिरापुर मनोरञ्चन पार्क, विमानस्थल, पाटन–पञ्चेश्वर सडकखण्ड जोड्ने पुल, बसपार्क अलपत्र परेका छन् । पाटन नगरपालिकाको आँखैअगाडि करोडौँ रुपियाँ खर्च गरेर निर्माण भएको मनोरञ्जन पार्क, बसपार्क र १८ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको विमानस्थल पनि सञ्चालन नहुँदा संरचना अलपत्र परेका छन् । हवाई उडानका लागि सरकारसित पटक पटक माग गरिए पनि सुनुवाइ नभएको पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बताए ।
दशरथ चन्द नगरपालिका–१, गुरुखोलामा प्रदेश सरकार मातहतको कृषि निर्देशनालयले ५० लाख रुपियाँ खर्च गरेर निर्माण गरेको शीतभण्डारको भवन पनि अलपत्र परेको छ । सोही ठाउँमा क्याम्पसका लागि भनेर निर्माण सुरु गरिएको भवनको पिल्लर मात्रै ठड्याएर पाँच वर्षदेखि अधुरो संरचना
अलपत्र छाडिएको छ । मेलौली नगरपालिका–८, भम्तखोरडामा मुख्यमन्त्री नमुना कृषि योजनामा अढाइ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएका फलामका पोली हाउस अलपत्र छाडिएको छ । सो योजनाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेका कारण फलामका पोली हाउस अन्यत्रका किसानलाई उपयोग गर्न दिन गाह्रो भएको वडाध्यक्ष तपेन्द्र विष्टले बताए ।
दशरथ चन्द नगरपालिका–४, गढीमा करिब ७० लाख रुपियाँभन्दा बढी खर्च गरेर निर्माण गरिएको खेल मैदान अधुरै छ । पाटन नगरपालिका–४, जोलाबाँजस्थित खेल मैदान, सुर्नया गाउँपालिका–३ को खेल मैदान, पाटन नगरपालिका–५, वसन्तपुरको भरपुर खेल मैदान, दशरथ चन्द नगरपालिका–२, चैँसिरगाउँ जाने बाटोनजिकको खेल मैदान, सिगास गाउँपालिका–२, गाँजरीको धुरा खेल मैदान पनि अलपत्र छाडिएको जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख हरिसिंह भण्डारीले बताए।
यस्तै दशरथ चन्द नगरपालिका–४, खलङ्गास्थित वृद्धाश्रम र महिला सुरक्षा आवास गृहको भवन पनि अलपत्र छाडिएको छ । सदरमुकामको महिला सुरक्षा आवास गृह अलपत्र छाडेर पाटन नगरपालिका–६ मा भाडाको घरमा महिला सुरक्षा गृह सञ्चालन भइरहेको छ ।
सिगास गाउँपालिका–१, भौनीस्थित गाउँघर क्लिनिक सञ्चालन नहुँदा एककोठे भवन अलपत्र परेको छ । सोही गाउँपालिकाको–२ नम्बर वडाको गाँजरीमा रहेका तत्कालीन इलाका सेवा कार्यालय अन्तर्गतका पशु, कृषि, हुलाक कार्यालयका भवन पनि प्रयोगविहीन अवस्थामा अलपत्र परेका छन् । बैतडीमा करोडौँ रुपियाँ खर्च गरेर अलपत्र पारिएका ३० वटा भौतिक संरचनाका बारेमा स्थलगत अनुगमन गरेर तीन तहको सरकारलाई प्रतिवेदन बुझाए पनि कुनै सुनुवाइ नभएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले बताए ।