नेपाली भूमि मिचेर तटबन्ध बनाउँदै

द एभरेष्ट पोष्ट
७ वैशाख २०८२ १३:०८
नेपाली भूमि मिचेर तटबन्ध बनाउँदै

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण गरिरहेको छ । दैनिक नेपाली भूमिमा भारतीय डोजर चलिरहँदा स्थानीय प्रशासन, जनप्रतिनिधि मौन रहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

२०७० को बाढीपछि महाकाली नदीले बहाब परिवर्तन गरेर पारी पुगेको नेपाली भूमिमा कब्जा जमाउँदै भारतले तटबन्ध निर्माणको काम गरिरहेको स्थानीयले बताएका छन् । २०७० भन्दा पहिले महाकाली नदी वारी रहेको र कानूनी रूपमा अहिले पनि नेपालकै नाम नक्सामा रहेको गल्फैस्थित बसपार्क महाकाली पारीको भूमिमा भारतले बाँध बाँधिरहेको स्थानीय अनिल ठगुन्नाले दाबी गरे।

नेपालको झन्डै ५० रोपनी भूमि नदी पारी पुगेकोमा सो भूमिमा भारतले स्थानीय नागरिक र प्रशासनको अनुरोधलाई अटेर गरेर तटबन्ध बनाइरहेको हो । विगतमा स्थानीयले अवरोध गर्दा रोकिएको काम अहिले फेरि सुरु भएको अर्का स्थानीय कृष्ण धामीले बताए । नापी विभागको टोलीले विगतमा नापजाँच गर्दा सो भूमि नेपालकै रहेको पाइए पनि नापीको रिपोर्ट नै सार्वजनिक नगरिएको स्थानीय सुन्दरसिंह धामीले बताए। नापी विभागको अभिलेख सार्वजनिक गरेर नेपाली भूमिमा भारतले निर्माण गरिरहेको तटबन्धको काम तत्काल रोकिनुपर्ने उनको भनाइ छ ।

अहिले नदी सीमामा बगेको छैन, नागरिक अधिकारकर्मी कमलराज जोशीले भने, “२०७० सालको बाढीपछि गल्फैको महाकाली पारी पनि नेपालको भूमि छ । सो भूमिमा विगतमा नेपालको वन, भू संरक्षणलगायत कार्यालय र घर रहेकामा अहिले महाकालीले बहाब परिवर्तन गरेपछि भारतले अतिक्रमण गरिरहेको छ ।”

भारतले नेपालको भूमि छोडेर मात्रै बाँध बाँध्नुपर्ने नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टको भनाइ छ । सार्वभौमसत्ता सम्पन्न नेपालमा भारतले यसरी सीमा मिचेर बाँध बाँधिरहेकोमा आपत्ति जनाउँदै उहाँले तत्काल काम रोक्न सरकारसँग अनुरोध गर्नुभएको छ । गृह मन्त्रालयलाई आवश्यक रिपोर्टिङ गरिएको र स्थानीय स्तरमा भारतीय प्रशासनसँग काम रोक्न लिखित र मौखिक रूपमा अनुरोध गरिए पनि सुनुवाई नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

भारतलाई नेपाली प्रशासनमार्फत गरिएको अनुरोधमा बुफ्ने काम भइरहेको भन्दै अल्झाइएको पाइएको छ । काम रोक्नुको सट्टा मेसिन र जनशक्ति बढाएर काम भइरहेको छ, एक जना सुरक्षा अधिकारीले भने, “शनिबार पाँच वटा डोजर प्रयोग गरेर सो क्षेत्रमा काम गरिरहेको पाइएको छ ।” सरकारले कूटनीतिक रूपमा फेरि विवाद नआउने गरी यो विषय समाधान गर्नुपर्ने प्रजिअ पौडेलको भनाइ छ ।

नेपालतर्फ नदी तटीय क्षेत्रमा तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम विगतदेखि गर्दै आएको थियो । केही महिना पहिले भारतीय डोजर महाकाली तरेर खलङ्गामै आएपछि विवाद चर्किएको थियो । भारतले झन् अहिले गल्फै पारीको नेपाली भूमिमै बलमिच्याइँ गरेर बाँध बाँध्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस