कैलाली बहुमुखी क्याम्पसमा नेविसंघ दोब्बर बढि मतले अगाडि

धनगढी, २८ चैत्र ।
कैलाली बहुमुखी क्याम्पसमा मध्यराति रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत गणना आज बिहान शुरु भएको छ ।
एक हजार एक सय ५४ मत गणना हुदा नेपाली विद्यार्थी संघले फराकिलो अन्तर बनाएको छ । दोब्बर बढि मतले नेविसंघका सभापतिका उम्मेदवार सन्तोष पन्तले अग्रता कायम गरेका छन् ।
नेविसंघका सभापतिका उम्मेदवार सन्तोष पन्तले चार सय ८५ मत ल्याएका छन् ।
हाल स्ववियु सभापति रहेका अनेरास्ववियुका उम्मेदवार यमराज जोशीलाई अखिल क्रान्तिकारी पवन सुनारले उछिनेका छन् ।
अखिल क्रान्तिकारीका सुनारले दुई सय ९१ मत ल्याएका छन् भने अनेरास्ववियुका जोशीले दुई सय ४७ मत ल्याएका छन् । नेविसंघकी बागी उम्मेदवार अम्विका चौधरीले ५५ मत ल्याएकी छन् । समाजवादी निकट अनेरास्ववियुका सुनिल राज जोशीले ३४ मत ल्याएका छन् । अन्य पदाधिकारी र पदमा पनि नेविसंघले अन्तर बढाएको छ ।
सचिवमा पनि नेविसंघले अग्रता कायम राखेको छ । नेविसंघका उम्मेदवार ओम प्रकाश वस्तीले चार सय मत पाउदा अनेरास्ववियुका किरण प्रकाश उपाध्यायले दुई सय ७३ मत ल्याएका छन् ।
अखिल क्रान्तिकारीका लोकेन्द्र चौधरीले दुई सय ६१, समाजवादी अनेरास्ववियुका खगेन्द्र प्रसाद अवस्थीले ५९, प्राज्ञिक विद्यार्थी परिषदका लवदेव धामीले ४१ र स्वतन्त्र उम्मेदवार किशोर जोशीले ३६ मत ल्याएका छन् ।
कोषाध्यक्षमा पनि तीन सय ४४ मत सहित नेविसंघकी प्रमिला शाहले अग्रता कायम राखेकी छन् । कोषाध्यक्षमा पनि अखिल क्रान्तिकारीले अनेरास्ववियुलाइ उछिनेको छ । अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सिना तीन सय ३४, अनेरास्ववियुका प्रकाश भट्टले दुई सय ७२,समाजवादी निकट अनेरास्ववियुकी अंगीता चौधरीले एक सय दुई र विद्यार्थी एकता समूहका खेमराज भट्टराईले २१ मत पाएका छन् ।
नेविसंघले मतान्तर बढाएपछि मध्यराति नेविसंघ बाहेकका अन्य संगठनहरुले मत गणना बहिस्कार गरेका थिए ।
राति रोकिएको मत गणना आज बिहान शुरु भएको हो ।