कालो मास्क लगाएर सडकभरि शिक्षक

द एभरेष्ट पोष्ट
२४ चैत २०८१ १३:१८
कालो मास्क लगाएर सडकभरि शिक्षक

काठमाडौ। विद्यालय शिक्षा ऐन जारी गनुपर्ने लगायत माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका देशभरका शिक्षकहरुले आज सोमबार कालो मास्क लगाएर प्रदर्शन गरेका छन्।

आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले आजैदेखि शैक्षिक हडतालको घोषणा गरेको छ।

पछिल्लो पटक चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ।

सरकारले पटक पटक वार्तामा बोलाए पनि महासंघले वार्ता नगर्ने अडान लिंदै आएको छ। महासंघमा कांग्रेस, एमाले, माओवादीलगायत विभिन्न राजनीतिक दल आबद्ध शिक्षक संगठन, निजी विद्यालय शिक्षक युनियन, विद्यार्थी–कर्मचारी संघका घटकहरू आबद्ध छन्।

यसअघि २०८० असोजमा शिक्षकहरुले आन्दोलन गरेका थिए। त्यस बेला सरकारले ऐन जारी हुँदा माग पूरा गर्ने प्रतिबद्धता जनाएको थियो। उक्त प्रतिबद्धतापछि आन्दोलन स्थगित गरिएको थियो। सहमतिअनुसार आफ्ना माग पूरा नगरेको साथै विधेयक पारित गर्न बेवास्ता गरेको भन्दै शिक्षकहरु फेरि आन्दोलनमा होमिएका हुन्।

महासंघले घोषणा गरेको शैक्षिक हडतालले देशभरका ३४ हजार सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने भएको छ। हडतालका कारण ७० लाख बालबालिकाको शैक्षिक गतिविधिको तयारी बिथोलिनुका साथै एसईईमा सहभागी ५ लाख विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने अवस्था भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस