जनमत र नाउपा एकताको ९ बुँदा सहमति नजिक, रेशम पहिलो सिके दोस्रो र रन्जितालाई तेस्रो वरीयता

द एभरेष्ट पोष्ट
२४ चैत २०८१ १२:०६
जनमत र नाउपा एकताको ९ बुँदा सहमति नजिक, रेशम पहिलो सिके दोस्रो र रन्जितालाई तेस्रो वरीयता

कैलाली । डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी र रेशम-रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताको अन्तिम तयारी भइरहेको छ । दुवै दलले बनाएको कार्यदलले निर्णायक छलफल जारी राखेका छन् । आइतबार बर्दियामा कार्यदलले संयुक्त रूपमा एकताको सबै प्रक्रिया पुरा गर्ने गरी छलफलमामा सहमति जुटाएका छन् ।

एकताको लागि बनाइएको ९ बुँदे समझदारीमा करिब सहमति भइसकेको कार्यदलका सदस्य रामलाल डगौराले जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरी एकतापछिको नयाँ दलको पनि पहिलो वरीयतासहित संरक्षक रहने गरी कार्यदलले सहमति गरेको छ ।दोस्रो वरीयतामा कार्यकारी अध्यक्ष जनमत पार्टीका अध्यक्ष सीके राउत रहनेछन् ।तेस्रो वरीयतामा संघीय परिषद् अध्यक्षमा वा सह अध्यक्ष रहनेगर नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई राख्ने कार्यदलमा छलफल भएको छ । रन्जिता भने आफ्नो वरियतामा सन्तुष्ट नभएको चर्चा चलिरहेको छ ।

कार्यदलले चुनाव चिह्न ढकिया र पार्टीको नाम नागरिक जनमत रहने करिब टुङ्गो लगाइएको छ । कलेजी रङ्गमा ढकिया राख्नेगर पार्टीको झन्डामा कार्यदलले सहमति जुटाएको छ ।

शनिवार राति सिके रावत र रेशम चौधरीको निर्णायक छलफलपछि दुवै पार्टीले बनाएको कार्यदलले आइतबार अधिकांश विषय टुङ्गो लगाएको हो । चितवनदेखि झापा सम्मको भूगोलको नेतृत्व सिके रावतले गर्ने र चितवनदेखि कञ्चनपुरसम्मको भूगोलको नेतृत्व रेशम चौधरीले गर्ने पनि सहमति गरिएको छ ।

कार्यदलले आफ्नो जिम्मेवारीमा आएको विषय टुङ्गो लगाएपछि विधान प्रतिस्थापन समितिले बाकी काम टुङ्गो लगाउने बताइएको छ । नागरिक उन्मुक्ति पार्टीले दामोदर पण्डितको नेतृत्वमा गीता चौधरी र सरोज बुढाथोकी रहनेगरी विधान प्रतिस्थापन समिति गठन गरिसकेको छ । जनमत पार्टीले भने अहिलेसम्म गठन गरेको छैन । दुवै दलले बनाएको विधान प्रतिस्थापन समितिले दुवै दलको विधानलाई संयोजन गरेर नयाँ विधान बनाउने छन् र निर्वाचन आयोगमा दर्ताको तयारी गर्ने छन् ।

वैशाख १५ गते भित्रै एकता घोषणा गर्नेगरी दुवै दलले निर्वाचन आयोगमा संयोजन गरिरहेका छन् । महाधिवेशनमार्फत अध्यक्ष निर्वाचित भएका रेशम चौधरीलाई आयोगले अध्यक्ष स्वीकार गरेको थिएन । एकता पछि पहिलो वरीयतामा रहनेगरी संरक्षक हुने व्यवस्थामामा आयोगले कस्तो कदम चाल्छ त्यो भने अनिश्चित छ ।

दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टी प्रतिनिधिसभाको छैटौँ ठूलो दल बन्नेछ । अहिले संसदमा रहेका १३ वटा दलमध्ये जनमत आठौँ र नागरिक उन्मुक्ति एघारौँ पार्टीको रूपमा छन् । अहिले प्रतिनिधि सभा तर्फ जनमत पार्टीका ६ र नाउपाका ४ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस