चीनले जबाफी कर लगाएपछि अमेरिकी शेअरका लागि कोभिडयताकै खराब साता

द एभरेष्ट पोष्ट
२२ चैत २०८१ १४:५९
चीनले जबाफी कर लगाएपछि अमेरिकी शेअरका लागि कोभिडयताकै खराब साता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कर वृद्धिको जबाफमा चीनले पनि कर लगाएपछि अमेरिकी शेअर बजारमा जारी उथलपुथल शुक्रवार थप गहिरिएको बढेको छ। यसले व्यापार युद्ध विस्तार हुने र विश्वव्यापी अर्थतन्त्रमा क्षति पुग्ने सम्भावना बढाएको छ।

अमेरिकाका तीन वटै प्रमुख शेअर सूचकाङ्क ५ प्रतिशत भन्दा बढीले घटेका छन्। एस एन्ड पी ५०० करिब ६ प्रतिशतले घट्दा यो हप्ता अमेरिकी शेअर बजारका लागि सन् २०२० पछिकै सबैभन्दा खराब साता बनेको छ।

यूकेमा, एफटीएससी १०० लगभग ५ प्रतिशतले घटेको छ। यो पाँच वर्षमा भएको सबैभन्दा तीव्र गिरावट हो। एशियाली बजारहरू पनि घटेका छन् र जर्मनी तथा फ्रान्समा त्यस्तै गिरावट देखिएको छ।

विश्वव्यापी व्यापार व्यवस्थालाई पुनर्निर्माण गर्ने वाचा गरेका ट्रम्पले बजार झट्काबारे व्यक्त भएका चिन्ताहरूलाई खारेज गर्दै अमेरिकी श्रम बजार बलियो रहेको बताएका छन्।

“दृढ सङ्कल्प सहित बस्नुस्,” उनले सामाजिक सञ्जालमा आफ्ना फलोअर्सलाई भने। “हामी हार्न सक्दैनौँ।”

ट्रम्पले प्रत्येक देशबाट आउने सामानहरूमा १०% नयाँ आय कर लगाउने घोषणा गरेदेखि विश्वव्यापी शेअर बजारले खर्बौँ डलरको मूल्य गुमाएको छ। त्यसमा चीन, युरोपेली सङ्घ र भियतनाम जस्ता प्रमुख व्यापारिक साझेदारहरू सहित दर्जनौँ देशका उत्पादनहरूले धेरै उच्च दरहरूको सामना गरिरहेका छन्।

शनिवारदेखि लागू हुनेसहितका यी केही कदमहरू सन् १९६८ पछि अमेरिकामा भएका सबैभन्दा ठूलो कर वृद्धि भएको विश्लेषकहरूले बताएका छन्।

यी उपायहरूले व्यापारमा सङ्कुचन ल्याउने ठानिएको बताउँदै उनीहरूले यसले धेरै देशहरूलाई आर्थिक मन्दीमा धकेल्न सक्ने भन्दै चेतावनी दिएका छन्।

चीनले शुक्रवार ट्रम्पको कदमहरूलाई “धम्की” र अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लङ्घनको रूपमा व्याख्या गर्दै अमेरिकी सामानहरूमा ३४% आयात कर लगाएर, मुख्य खनिजहरूको निर्यातमा रोक लगाएको छ र अमेरिकी कम्पनीहरूलाई आफ्नो कालोसूचीमा राखेर ट्रम्पको कदमप्रति प्रतिक्रिया दिएको छ।

ह्वाइट हाउसले वार्ताबारे विरोधाभासपूर्ण सङ्केतहरू दिएका बेला अन्य देशहरूले सम्झौताहरूमा वार्ता गर्न सकिने अपेक्षा राखेको देखिन्छ।

प्रतिकार गर्ने योजना गर्दै आएको युरोपेली सङ्घका लागि व्यापार आयुक्त रहेका मारुस सेफ्चोविचले शुक्रवार अमेरिकी अधिकारीहरूसँग दुई घण्टा “स्पष्ट रूपमा” कुराकानी भएको बताए र सामाजिक सञ्जालमा व्यापार सम्बन्धलाई “नयाँ दृष्टिकोण” आवश्यक रहेको उल्लेख गरे।

“युरोपेली सङ्घ अर्थपूर्ण वार्ताका लागि प्रतिबद्ध छ, तर हाम्रा स्वार्थहरूको रक्षा गर्न पनि तयार छ,” उनले भने। “हामी सम्पर्कमा रहन्छौँ।”

ट्रम्पले चालेका कदमहरू गत वर्ष चुनावी अभियानमा गरेका वाचाहरूसँग मिल्दा छन्।

तर तिनीहरू केही विश्लेषकहरूले अपेक्षा गरेको भन्दा धेरै दूरगामी थिए, जसले गर्दा सन् २०२० पछि शेअर बजारको लागि सबैभन्दा खराब हप्ता भयो। त्यति बेला कोभिड-१९ महामारीले विश्वव्यापी बन्द र अन्य बाधाहरू निम्त्याएका थिए।

शेअर बजारको गिरावट एप्पल र नाइकी जस्ता कम्पनीहरूबाट सुरु भयो, जुन एशियाका आपूर्तिकर्ताहरूमा धेरै निर्भर छन्। तर शुक्रवार यो उपभोग्य वस्तुहरू, स्वास्थ्य सेवा र उपयोगिताहरू जस्ता शुल्कको प्रत्यक्ष प्रभावको सामना नगर्ने क्षेत्रहरूमा सर्‍यो।

“स्पष्ट रूपमा हेर्दा मनस्थिति एकदमै बिग्रिएको छ र यो हुनुपर्छ,” अमेरिकाको होराइजन इन्भेस्टमेन्टका अनुसन्धान र रणनीति प्रमुख माइक डिक्सनले भने। उनले ट्रम्पको करको प्रभाव बुझ्न थप साताहरू लाग्ने चेतावनी दिए।

“बिहान ६ बजे [चीनले प्रतिकार गरेको] देख्दा हामी त्यसले साँच्चै चिन्तित भएका छौँ,” उनले भने, “त्यसमध्ये अझै कति बाँकी छ?”

युरोपेली सङ्घका उत्पादनहरूमाथि २० प्रतिशत कर लागिरहेको छ

तस्बिर स्रोत,Getty Images

लगानीकर्ताहरूलाई लेखेको नोटमा जेपी मोर्गनले यस वर्ष विश्वव्यापी आर्थिक मन्दीको सम्भावना ६०% मा राखेको बताएको छ, जुन पहिले ४०% थियो, र भन्सार शुल्कको झट्काले यो वर्ष अमेरिकाको वृद्धिलाई दुई प्रतिशतले घटाउन सक्ने उल्लेख गरेको छ।

केही लगानीकर्ताहरूले घाटालाई कम आकलन गरेका छन् किनभने यो घाटा विगत केही वर्षहरूमा अमेरिकामा शेअरको मूल्यमा भएको आश्चर्यजनक वृद्धि पछि देखा परेको हो।

“यी परिवर्तनहरू हामीले देखिरहेका बजारमा घातक छन् किनभने माथि जानु भन्दा ती धेरै छिटो तल झर्छन्,” टेनिसीमा रहेको क्यापवेल्थका प्रमुख कार्यकारी टिम प्याग्लियाराले भने।

ह्वाइट हाउसले विश्वव्यापी व्यापारमा “ठूलो पुनर्स्थापना” गर्ने प्रयास गरिरहेको र त्यो आवश्यक रहेको उनले बताए।

“मेरो पेसागत जीवनभरि व्यापार असन्तुलनको बारेमा हामी कुरा गरेका छौँ,” उनले भने। “केही पनि भएको छैन। त्यसैले केही त हुनै पर्छ।”

“हामी सन्तुलन बाहिर गएका यी केही सम्बन्धहरूमा खेल मैदानलाई समान बनाउनेछौँ।”

अमेरिकी केन्द्रीय ब्याङ्क फेडरल रिजर्भका प्रमुख जेरोम पावेलले शुक्रवार अर्थतन्त्र “ठोस” नै रहेको आफूलाई लागेको बताए। उनले मार्च महिनामा अमेरिकामा जागिरका लागि माग बढेकोपछिल्लो तथ्याङ्कलाई यसको आधारमा रूपमा औँल्याएका छन्।

तर उनले उच्च स्तरको अनिश्चितता स्वीकार गरेका छन्।

“हामीले के सिकेका छौँ भने शुल्कहरू अनुमान गरिएको भन्दा बढी छन्, लगभग सबै पूर्वानुमानकर्ताहरूले अनुमान गरेको भन्दा बढी छन्,” पावेलले भने। उनले वृद्धि सुस्त हुने र मूल्यहरू बढ्ने सम्भावना रहेको भन्दै चेतावनी पनि दिए।

ज्याकबसन अप्लायन्सका साहु रहेका प्याट मस्कारितोलो

तस्बिरको क्याप्शन,न्यू जर्सीमा रहेको ज्याकबसन अप्लायन्सका साहु रहेका प्याट मस्कारितोलो करहरूका कारण आफूले ४० वर्ष पछि आफ्नो व्यवसाय बन्द गर्न बाध्य पार्न सक्ने बताए

न्यू जर्सीमा रहेको सानो व्यवसाय ज्याकबसन अप्लायन्सका सञ्चालक प्याट मस्कारितोलो करहरूका कारण आफूले ४० वर्ष पछि आफ्नो व्यापार बन्द गर्न बाध्य हुने सम्भावना रहेको बताए।

उनी आफ्ना उपभोक्ताहरूलाई केही आवश्यक खरिदहरू अहिले नै गरिहाल्न आह्वान गरिरहेका छन्।

“यो महिनाको अन्त्यसम्म मूल्यहरू के हुने हो भन्ने हामीलाई थाहा छैन,” उनले भने। रेफ्रिजिरेटर जस्ता सामानहरूको मूल्य ३० प्रतिशत वा अझै बढी ४० प्रतिशत हुनसक्ने उनी ठान्छन्।

ट्रम्पले भियतनामका नेतासँग “धेरै फलदायी कुराकानी” भएको बताएपछि सम्झौता हुने आशाले गर्दा बिहीवार घटेका नाइकी र अन्य कपडा खुद्रा विक्रेताको शेअर शुक्रवार केही हदसम्म बढेको छ।

क्याम्बोडियाले पनि भन्सार शुल्क घटाउन र अमेरिकालाई वार्ता गर्न आग्रह गर्दै पत्र पठाएको छ।

तर बजारका अन्य हिस्साहरू भने निराशाजनक नै रहे।

उत्पादनका लागि चीनमा धेरै निर्भर रहेको एप्पलको शेअर शुक्रवार ७ प्रतिशत भन्दा बढीले घट्यो। आईफोन निर्माताको बजार मूल्य बुधवारदेखि लगभग १५% ले घटेको छ।

टेक्ससका रिपब्लिकन सिनेटर टेड क्रुजले कर सम्बन्धी एउटा पोडकास्टमा ट्रम्पको कदमले अमेरिकालाई फाइदा पुर्‍याउन सक्ने बताए। तर उनले “ठूलो जोखिम” को चेतावनी पनि दिए।

“यदि हामी आजको ३० दिन पछि, ६० दिन पछि, ९० दिन पछि ठूला करहरू लगाउने र विश्वका अन्य देशहरूले पनि अमेरिकी सामानहरूमा ठूलो कर लगाउने परिस्थितिमा छौँ भने त्यो एक भयानक परिणाम हो,” उनले भने।

दक्षिण एट्लान्टिक महासागरको एउटा द्वीप समूह फल्कल्याण्ड टापुहरूमा, कन्सोलिडेटेड फिशिङ लिमिटेडकी महाप्रबन्धक जनेट रोबर्टसनले अमेरिकामा निर्यातमा लगाइएको ४२% नयाँ करले एकदमै चिसो पानीमा पाइने टुथफिस नामक माछाको बिक्रीलाई कसरी असर गर्छ भनेर सोचिरहेकी थिइन्।

“अहिले, हामी कुनै नाटकीय निर्णय गरिरहेका छैनौँ,” उनले भनिन्।

तर, माछा मार्ने काम “फल्कल्याण्ड्समा अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण उद्योग” भएको उनले बताइन्।

“अमेरिकामा टुथफिसको बिक्री यसको ठूलो हिस्सा हो,” उनले भनिन्।

“यो सबै कहाँ पुग्ला भनेर हामी गम खाइरहेका छौँ।” – बीबीसी नेपाली 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस