वैदिक मोडेलको गहनान धाम 

द एभरेष्ट पोष्ट
१७ चैत २०८१ १२:०७
वैदिक मोडेलको गहनान धाम 

-प्रेम राज अवस्थी

ह्वाट्सएप टिङ्ग्रिङ्ग बज्यो, ‘’गहनान धाममा हुने भागवत महापुराणमा हार्दिक निमन्त्रणा र सहयोगका लागि अनुरोध छ।’’ केही सहयोग गरेँ, अरूलाई पनि सहयोग गर्न प्रेरित गरेँ। मन यतिकैमा रोकिएन, गहनाको प्रवर्द्धनका बारेमा लेख्नु पर्छ भन्ने लाग्यो। 

के आई सिंह राजमार्ग सँगै जोडिएको साकल्या ऋषिले सिद्धि प्राप्त गरेको सकायल गाड (साकल्या नदी) र सेती नदीको सङ्गम, धार्मिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण तीर्थस्थल भए पनि मकर-सङ्क्रान्तिमा बाहेक अरू बेला यहाँ खास चहल-पहल हुँदैन। केही समयअघि प्रकाशित ‘गहनानलाई आध्यात्मिक केन्द्र बनाउने तीन दशकअघिको प्रयास’ लेखमा गहनानको ऐतिहासिकता, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका बारेमा उल्लेख थियो। गङ्गा स्नान, विवाह, व्रतबन्ध लगायत अन्य धार्मिक कर्मकाण्ड गरिने यो स्थान नेपालको पाशुपत, रुरु र बराह क्षेत्र जतिकै महत्त्वपूर्ण भए पनि उचित प्रचार प्रसार र संवर्द्धनको कमीले ओझेलमा परको कुरा सर्वविदितै छ। 

यस्तो महत्त्वपूर्ण धामलाई समाजको हितमा उपयोग गर्न कसैले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता खट्किराखेको बेला, स्थानीय समाजसेवी तथा डोटी र डडेलधुराका शिखर, नवदुर्गा, र गन्यापधुरा पालिकाको सहकार्यमा गहनान धामको प्रवर्द्धन कार्य अघि बढाइनु सराहनीय छ। यस पवित्र स्थलमा चैत्र १७ देखि २५ गतेसम्म आयोजना हुने श्रीमद्भागवत महापुराण ज्ञान यज्ञ, धन्याञ्चल लक्ष्य हवन महायज्ञमा हजारौँको सहभागिताले प्रवर्द्धनलाई थप ऊर्जा प्रदान गर्नेछ।

गहनान धामको प्रवर्द्धन कसरी गर्ने ?

भौतिक संरचनामा मात्र जोड दिने कि प्राकृतिक स्रोत-साधनहरू, नदी-नाला, वन-जङ्गल, तथा जलवायु-मौसमको अधिकतम उपयोग गर्दै समग्र विकासलाई अघि बढाउने भन्ने विषयमा स्थानीय नीति निर्मातासहित समग्र समाजले उचित निर्णय गर्न आवश्यक छ। विश्वभर भौतिक संरचनाभन्दा प्रकृति र मौलिक संस्कृतितर्फ आकर्षण बढिरहेको र प्राचीन सभ्यताको खोजी गर्ने प्रवृत्ति बढ्दै गएको परिप्रेक्ष्यमा, वैदिक विधि बाट गहनानको प्रवर्द्धन गर्दा पर्यटकीय आकर्षण बढ्ने निश्चित छ।

गेट र टावरजस्ता भद्दा संरचनाहरू निर्माणका लागी सर्वसाधारणबाट उठाइएको चन्दा वा जनताको कर खर्च गर्नु उचित हुँदैन। त्यसैले, प्राकृतिक स्रोत-साधनको उपयोग गर्दै आवश्यक पाटी र पौवाहरू लगायतका संरचनाहरू, डोटेली वास्तुकलाको झल्को दिने गरी निर्माण गर्दा सांस्कृतिक सौन्दर्यलाई अझ समृद्ध बनाउन सकिन्छ। पुर्खाहरूको ज्ञानलाई अपनाएर गहनान धामको संवर्द्धन ‘हरित विकास’ को अवधारणासँग मेल खाने वैदिक मोडेल अनुसार गर्नुपर्दछ ।

वैदिक मोडेल के हो ? 

संक्षेपमा, आध्यात्मिक, सांस्कृतिक, र प्राकृतिक पक्षहरूलाई समेटी वेदमा आधारित प्रवर्द्धनात्मक कार्य नै वैदिक मोडेल हो। मानव, प्रकृति, र परमात्माबिचको सन्तुलन वैदिक दर्शनको मूल सार हो र यही दर्शनको आधारमा गहनान धामको प्रवर्द्धन गर्नुपर्छ।

सुरुवाती चरणमा पूर्ण रूपमा सञ्चालन गर्न नसके पनि, कम्तीमा वर्षको केही हप्ता वा महिना वेद-पाठशाला र यज्ञ-शाला सञ्चालन गरी संस्कृत भाषा, योग, र आयुर्वेदको अध्ययनमार्फत अध्यात्मको पुनरुत्थान र सांस्कृतिक पुनर्जागरण सम्भव छ। साथै, सङ्गीत, नृत्य, तथा पुराण वाचनजस्ता कार्यक्रमहरूले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न वृक्षारोपण, आधारभूत पूर्वाधार निर्माण, तथा सांस्कृतिक संवर्द्धनलाई प्राथमिकता दिन आवश्यक छ।।

स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउन समुदाय-केन्द्रित प्रवर्द्धनात्मक कार्यहरू, जस्तै जैविक कृषि, जडीबुटी तथा हस्तकला उद्योगहरूको प्रवर्द्धन गर्न आवश्यक छ। साथै, डोटेली वास्तु शास्त्रमा आधारित अतिथि गृहहरू निर्माण गरी गहनानलाई आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकसित गर्न सकिन्छ। यसले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायको आर्थिक स्तर उकास्न र सांस्कृतिक सम्पदाको संरक्षणलाई समानान्तर रूपमा अघि बढाउन मद्दत गर्नेछ।

प्रकृति संरक्षण वैदिक मोडेलको एक महत्त्वपूर्ण अङ्ग हो। गहनान क्षेत्र उपोष्णदेखि समशीतोष्ण हावापानीयुक्त भएकाले यहाँ साल, चिउरी, साज, सिमल, खयर, बर, पिपल, बाँस, सल्ला, अमला, र हर्रोजस्ता रूखहरू पाइन्छन्। वृक्षारोपण गर्दा प्राकृतिक सन्तुलन र मौलिकता कायम राख्न रैथाने प्रजातिहरूलाई प्राथमिकता दिनुपर्छ। साथै, धार्मिक महत्त्व बोकेका साल, पिपल, रुद्राक्ष, अशोक, चमेली, र नीमका साथै आँप, कटहर, अमला, र बेलजस्ता बहु-गुणी बिरुवा रोपेर वरपरका वन-जङ्गललाई सुदृढ गर्न सकिन्छ।

गहनान धामको आध्यात्मिक महत्त्वलाई अझ सुदृढ गर्न, एउटा उपयुक्त डाँडामा शान्त, पवित्र, र ध्यानयोग्य स्थलका रूपमा तपोवन स्थापना गर्न सकिन्छ। तपोवन साधकहरूको ध्यान, तपस्या, र आध्यात्मिक ऊर्जा सम्प्रेषणका लागि आदर्श स्थान हुनेछ। यस क्षेत्रलाई प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरणयुक्त बनाउन पीपल, बर, बेल, र अमलाजस्ता पवित्र वृक्षहरू रोप्नुका साथै कुशका झाडीहरू र दुबोको हरियाली चौरको व्यवस्थापन गर्न सकिन्छ।

नदीको अर्को किनारमा भगवान् कृष्णको लीला स्थलको प्रतीक स्वरूप वृन्दावनको स्थापना गर्न सकिन्छ। भक्ति भावले ओतप्रोत वातावरण सिर्जना गर्न श्रीखण्ड, तुलसी, चम्पा, अशोक, र अन्य सुगन्धित तथा पवित्र बिरुवाहरू रोप्दा धार्मिक पर्यटनलाई टेवा पुग्नेछ। प्राकृतिक सुगन्धले भरिएका पुष्पहरू र रङ्गिन हरियालीले वातावरणलाई अझ आकर्षक, शान्तिपूर्ण, र आध्यात्मिक ऊर्जा सम्पन्न बनाउनेछ।

त्यस्तै, नन्दन वनको अवधारणाअनुसार पारिजात, गुलाब, मोरिंगा, र अशोक जस्ता सुगन्धित फूलहरू रोपेर स्वर्गीय सौन्दर्यको अनुभूति दिन सकिन्छ। नदीको अर्को किनारमा भगवान् शिवको तपोभूमिका रूपमा दारुक वनको विकास गर्न सकिन्छ। यहाँ रुद्राक्ष, धतुरा, हर्रो, बर्रो, अमला, र नीम जस्ता धार्मिक र औषधीय गुणयुक्त बिरुवाहरू रोपेर वातावरणलाई शान्तिपूर्ण र आध्यात्मिक बनाउन सकिन्छ।

दण्डकारण्यको अवधारणामा आधारित वनको स्थापना गर्न शाल, अर्जुन, खैर, चन्दन, र बाँस जस्ता बिरुवाहरू रोप्न सकिन्छ, जसले साधु-सन्तहरूको तपस्या र साधनाका लागि शान्त वातावरण प्रदान गर्नेछन्। यी विविध धार्मिक बनहरूको बृहत् संयोजन भएको “वैदिक वन” ले गहनानलाई आध्यात्मिक, सांस्कृतिक, र पर्यावरणीय दृष्टिले समृद्ध बनाउनेछ।

वैदिक बन स्थापनाका लागि धेरै स्रोतको आवश्यकता नपर्न सक्छ। आवश्यकता भनेको स्थानीय सरकार र बासिन्दाहरूको इच्छाशक्ति र समर्पण हो। वरपरका खाली क्षेत्रहरू र डाँडामा वृक्षारोपण गरेर यहाँ उल्लेख गरिएका तपोवन र वृन्दावन जस्ता बनहरूमा रूपान्तरण गरी योग, शान्ति, आध्यात्मिक साधना, र पदमार्गहरूको प्रवर्द्धन गर्न सकिन्छ। यसका लागि आगामी वर्षा याममा १०,००० जति धार्मिक, आयुर्वेदिक, र पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण बिरुवाहरूजस्तै बर, पीपल, रुद्राक्ष, बुद्धचित्त, श्रीखण्ड, टिमुर, हर्रो, बर्रो, अमला, र शमी रोपेर वैदिक बन स्थापनाको सुरुवात गर्न सकिन्छ। वृक्षारोपण कार्यक्रमहरूमा पर्यटकहरूसहित स्थानीयलाइ जन्मदिन लगायतका विशेष दिन मनाउनका लागि पैसा तिरेर वृक्षारोपण गराउँदा आर्थिक सहायता सङ्कलनको नयाँ संस्कारको सुरुआत गर्न सकिन्छ। 

साथै, नदीहरूको सफाइ र स्वच्छतामा विशेष ध्यान दिन आवश्यक छ। प्लास्टिकको प्रयोगलाई नियन्त्रण गर्न अहिले नै सबै पक्षको सक्दो सहयोग लिनुपर्दछ। सफाइ अभियानलाई सफल बनाउन स्थानीय समुदाय, तीर्थयात्रीहरू, र स्थानीय सरकार तथा संस्थाहरूको सक्रिय सहभागिता अपरिहार्य छ।

सेती नदीको किनारमा अवस्थित गहनानमा कुनै पनि संरचना निर्माण गर्दा प्रकृति र नदीको बहावसँग मेल खाने गरी योजना बनाउनु पर्छ। १०० वर्षमा एक पटक आउने सम्भावित बाढीलाई ध्यानमा राख्दै विपद् जोखिम न्यूनीकरणमा विशेष जोड दिनु आवश्यक छ। नदी संरक्षण र बाढी नियन्त्रणका लागि प्रकृतिमा आधारित समाधानहरूलाई प्राथमिकता दिन आवश्यक छ। यसका लागि नदी किनारमा ३०-५० मिटर चौडा बफर क्षेत्र बिस्तार गरेर अग्ला रूखहरू, झाडीहरू, खैर, सिसौ लगायत भेटिभर घाँस, र नेपियर घाँस जस्ता वनस्पतिहरू रोप्नाले हरियाली विकास तथा भू -क्षय नियन्त्रण र बाढीको जोखिमलाई केही हदसम्म घटाउन सकिन्छ ।

वैदिक मोडेलका यी उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दा वातावरणीय सन्तुलन कायम राख्न मात्र नभई आध्यात्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्न सकिने छ। गहनान धामको समग्र संवर्द्धन र प्रवर्द्धनका लागि वैदिक परम्परा, र प्रकृति संरक्षणलाई समान रूपमा समेट्न सबैले मिलेर कार्य गर्नु पर्छ। स्थानीय समुदाय, सरकार, र संस्थाहरूको सहकार्यमा योजनाबद्ध रूपमा हरित विकास अवधारणालाई आत्मसात् गर्दै गहनानको धार्मिक र सांस्कृतिक महत्त्वलाई प्रचार-प्रसार गर्न सकिन्छ। साथै, धार्मिक पर्यटन प्रवर्द्धन मार्फत स्थानीय हस्तकला र कुटीर उद्योग प्रवर्द्धन गर्न सकिन्छ। वैदिक मोडेलमा आधारित आध्यात्मिक पर्यटनको प्रवर्द्धन, पर्यावरणीय संरक्षण, र सांस्कृतिक पुनर्जागरणका कार्यक्रमहरूलाई प्राथमिकता दिँदा, गहनान धामलाई एक प्रमुख आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस