म्यान्मारमा भूकम्पमा मर्नेको संख्या १६०० नाघ्यो, २१ जना नेपालीको मृत्यु भएको जानकारी

द एभरेष्ट पोष्ट
१६ चैत २०८१ १५:१४
म्यान्मारमा भूकम्पमा मर्नेको संख्या १६०० नाघ्यो, २१ जना नेपालीको मृत्यु भएको जानकारी

काठमाण्डौं, १७ चैत ।
म्यान्मारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार छ सय नाघेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरु जनाएका छन् ।

भूकम्पले ढलेका भवन भित्र फसेका मान्छेहरुको उद्दार जारी छ । घरभित्र फसेकाहरुको संख्या यकिन नभएकोले मृत्यु हुनेको संख्या अझै बढि भएको आकंलन गरिएको छ ।

शुक्रवारको भूकम्पले सबैभन्दा बढी देशको प्राचीन राजधानी तथा दोस्रो ठूलो शहर म्यान्डलेलाई क्षतिग्रस्त बनाएको छ जहाँको जनसङ्ख्या करिब १५ लाख छ। सबैभन्दा ठूलो क्षति माण्डलेमा भएको छ । जहाँ एक हजार परिवार नेपालीभाषी बसोबास  गर्छन् ।

माण्डलेमा भूकम्पमा परी २१ जना नेपाली भाषीको मृत्यु भएको स्थानीय व्यक्तिहरुले बताएका छन् । नेपालीका एक हजार घरधुरीमध्ये ५० घर पूर्ण रुपमा ध्वस्त भएका छन् । उनीहरु बेघर भएका छन् । ८० प्रतिशत नेपाली भाषीका घरहरुमा क्षति पुगेको छ ।

भूकम्पमा परी घरवार विहीन भएकाहरुलाई अखिल म्यन्मा देशीय गोर्खा हिन्दु धार्मिक संघले राहत र उद्दार गरिरहेको छ । माण्डलेस्थित गोर्खा समाजको कार्यालयले घरवार विहीन चार सय जना नेपाली भाषीलाई आश्रय दिएको छ ।

अखिल म्यन्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष सागर घिमिरेले देशभरी रहेका संघका ३५ वटा शाखाले विनाशकारी भूकम्पका कारण विस्थापित भएका र प्रियजन गुमाएका नेपाली भाषीका परिवारका लागि राहत र सहयोग जुटाईरहेको छ ।

अध्यक्ष घिमिरेले हालसम्म एक लाख डलर बराबरको सहयोग जुटिसकेको र यांगुनबाट स्वयसेवी युवाहरुको टोली राहत, उद्दार र सहयोगका लागि माण्डले प्रस्थान गर्ने तयारीमा रहेको जानकारी दिए ।

अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवं पुलका कारण खोजी कार्यमा असर परिरहेको छ।

शुक्रवारयता उद्धार प्रयासहरू जारी रहे पनि र अन्तर्राष्ट्रिय सहायता पुग्न थालिसकेको भए पनि सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा ती सहयोग पुग्न सकेको छैन र सर्वसाधारण मानिसहरूले खाली हातले भग्नावशेष हटाएर जीवितको खोजी गरिरहेका छन्।

उद्धारकर्ताहरूले म्यान्डलेमा एउटा १२ तले भवनबाट ३० घण्टापछि एक महिलालाई भग्नावशेषबाट जीवितै निकालेका छन्।

तर रेडक्रसले त्यहाँ भग्नावशेषभित्र अझै ९० जनाभन्दा बढी व्यक्ति फसेको बताएको छ।

नजिकै पर्ने एउटा नगरमा ‘प्रिस्कूल’ का १२ जना बालबालिका र एक शिक्षकका शव भग्नावशेषबाट निकालिएको अधिकारीहरूले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घले चिकित्सकीय आपूर्तिहरूको चरम अभावले सहायता प्रयास प्रभावित भएको जनाएको छ।

अन्तर्राष्ट्रिय सहायता आउने क्रम जारी रहेको भन्दै उसले चीनबाट सहायता सामग्री बोकेका १७ वटा ट्रक आइतवार आइपुग्ने जनाएको छ।

सन् २०११ मा सत्ता कब्जा गरेको म्यान्मारको सैनिक सरकार जुन्टाले चार वर्षदेखि जारी गृहयुद्धका कारण मुलुकको धेरै हिस्सामाथि नियन्त्रण गुमाइसकेको छ। त्यहाँ विद्रोही समूहहरू र भ्रष्टचार विरोधी समूह सेनासँग युद्धरत अवस्थामा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस