महिनावारीको सामना कसरी गर्छन् महिला अन्तरिक्षयात्री ?

काठमाडौं । रजश्वला हरेक महिलाका लागि एउटा चुनौतीपूर्ण समय हो । अझ कुनै महिला अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा भएको बेलामा रजश्वला भयो भने के हुन्छ ? अन्तरिक्षमा रहँदा महिला अन्तरिक्षयात्रीले रजश्वलाको व्यवस्थापन कसरी गर्छन् ?
यदि सुनिता विलियम्स जस्तै कुनै महिला अन्तरिक्षयात्री अचानक लामो समयसम्म अन्तरिक्षमा रहनु पर्यो भने के होला ?
आम रुपमा महिलाहरु यात्राका क्रममा आफ्नो रजश्वला चक्र तथा समयका बारेमा सतर्क हुन्छन् ।
तर कहिलेकाहीँ यात्राको समय अचानक बढ्न जान्छ । सुनिता विलियम्स पनि आठ दिनको मिसनका लागि अन्तरिक्ष गएकी थिइन् । तर, उनले त्यहाँ ९ महिनाभन्दा धेरै समय बिताउनु पर्यो ।
सुनिता विलियम्सले अन्तरिक्ष रहँदा मासिक चक्रको सामना गर्नुपर्यो कि परेन भन्ने चाहिँ उनैलाई थाहा होला । किनकि यो उमेरमा पनि निर्भर गर्दछ ।
आखिर रजस्वला उमेरका महिला अन्तरिक्षयात्रीले अन्तरिक्षमा रहँदा रजस्वला भएको बेला त्यसलाई कसरी व्यवस्थापन गर्दछन् त ?
अन्तरिक्षयात्री महिलाका स्त्री तथा प्रजनन रोग विज्ञ डाक्टर वर्षा जैनले नासासँगको सहकार्यमा अन्तरिक्षमा महिलाको स्वास्थ्यका विषयमा अनुसन्धान गरेकी छिन् ।
सन् २०१९ मा बीबीसीले उनीसँग यस विषयमा कुराकानी गरेको थियो ।
यदि अन्तरिक्षमा रजश्वला भएमा के गर्ने ?
महिला अन्तरिक्षयात्रीले अन्तरिक्षमा रहँदाको रजश्वला चक्रलाई कसरी व्यवस्थापन गर्छन् भन्ने जस्ता प्रश्नहरुको सामना नासाले पनि गर्नुपरेको थियो जब उसले आफ्नो पहिलो महिला अन्तरिक्षयात्री सेली राइडलाई अन्तरिक्षमा पठाएको थियो ।
त्यसबेला अन्तरिक्षयात्रीहरुले बताएका थिए कि जबसम्म यो समस्या बन्दैन, तबसम्म यसको चिन्ता गर्नु आवश्यक छैन । तर इन्जिनियरहरुले नै पूर्ण योजना बनाउनुपर्यो ।
उनीहरुले एकजना महिलालाई कति स्यानिटरी नेपकिनको आवश्यकता पर्दछ भन्ने अनुमान लगाए ।
त्यसबेला अनुमान लगाइएको थियो कि हरेक हप्ता १ सय देखि २ सय स्यानिटरी नेपकिन आवश्यक हुनेछन् । तर पछि पत्ता लाग्यो कि यतिधेरै नेपकिन आवश्यक पर्दैनन् ।
तर अहिले चाहिं प्रायः महिला अन्तरिक्षयात्रीहरुले अन्तरिक्षमा रहँदा रजश्वला नहोस् भनेर औषधि सेवन गर्दछन् ।
जबसम्म उनीहरु स्वस्थ हुन्छन् उनीहरुलाई सेनिटरी नेपकिनको प्रयोग गर्नमा कुनै समस्या हुनु हुँदैन ।
अन्तरिक्षमा महिलाहरु रजश्वलाबाट बँच्न सकून् भन्नका लागि डाक्टर वर्षाले अनुसन्धान गरिरहेकी छिन्।
अन्तरिक्षमा जाने प्रथम महिला सोभियत संघकी भेलेन्टिना तेरोस्कोभा थिइन् । उनी सन् १९६३ मा अन्तरिक्षमा गएकी थिइन् । त्यसको ठीक २० वर्षपछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो पहिलो महिला अन्तरिक्षयात्री सेली राइडलाई अन्तरिक्षमा पठाएको थियो ।
महिला र पुरुषमा अन्तरिक्षयात्रको असर कस्तो पर्छ ?
विज्ञका अनुसार अन्तरिक्षको माहोल अनुकुल आफूलाई ढाल्नु भनेको महिला र पुरुषहरुका लागि करिब एउटै जस्तो हो । यद्यपि यसमा केही अन्तर पनि हुन्छन् ।
अन्तरिक्षमा जाँदा महिलालाई केही हदसम्म थकान तथा सुस्ती महसुस हुन्छ । तर पुरुष अन्तरिक्षयात्रीलाई चाहिँ यस्तो थकान तबमात्रै महसुस हुन्छ जब उनीहरु पृथ्वीतर्फ फर्किरहेका हुन्छन् ।
अन्तरिक्षबाट फर्किएपछि पुरुषहरुमा दृष्टि तथा श्रवणमा केही समस्या आउन सक्दछ जबकि महिलाहरुमा रक्तचापसम्बन्धी समस्या आउन सक्छन् ।
महिला तथा पुरुष अन्तरिक्षयात्रीका समस्यामा हुने यो भिन्नता हर्मोनको कारणबाट हुन्छ वा यसको अरु नै कारण छ भन्ने चाहिँ अहिलेसम्म पत्ता लागेको छैन ।
यी सवालहरुका बारेमा विस्तृत अध्ययनबाट पत्ता लाग्नेछ कि लामो समयसम्म अन्तरिक्षमा बस्दा स्वास्थ्यमा कस्तो परिवर्तन आउँछ ।
दिसापिसासमा पनि कुनै समस्या हुन्छ ?
अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा दुईवटा शौचालय छन् । तर ती शौचालयलाई पनि रजस्वला समबन्धी समस्यालाई ध्यानमा राखेर बनाइएको होइन ।
अन्तरिक्षयात्रीहरुको दिसापिसाब नष्ट हुँदैन । पिसाबलाई पुनःचक्रण गरेर सफा पानीमा परिणत गरिन्छ ।
रजस्वलाको रगतलाई ठोस मानिन्छ । त्यसैले स्पेस स्टेसनको शौचालयले उक्त रगतबाट तरल पदार्थ छुट्टाउन सक्दैन । त्यसैले रजस्वलाको रगतमा रहेको मानिस शुद्धीकरण गर्न सकिंदैन ।
यसका अलावा पानीको प्रयोगमा केही सीमाहरू छन् । त्यसैले अन्तरिक्षमा रहँदा महिला अन्तरिक्षयात्रीलाई रजस्वलाका क्रममा व्यक्तिगत तवरमा स्वच्छता कायम राख्नमा समस्या आउँछ ।
प्रजनन क्षमतामा असर
विज्ञका अनुसार अन्तरीक्षको यात्राले महिला तथा पुरुषको प्रजनन क्षमतामा कुनै असर पार्ने नपार्ने विषयमा कुनै सबूत प्रमाण हालसम्म प्राप्त भएको छैन ।
केही अन्तरिक्षयात्रीहरु छन् जो अन्तरिक्षमा बसेर फर्किएपछि मातापिना बनेका छैनन् । तर यसमा एउटा प्रमुख कारण के पनि हुनसक्छ भने अन्तरिक्षयात्री महिलाहरुको पहिलोपटक अन्तरिक्षमा जाने उमेर ३८ वर्ष छ । अर्थात् महिलाहरु आफ्नो प्रजनन उमेरको उत्तरार्धतिर मात्रै अन्तरिक्षमा जाने गरेका छन् ।
भविष्यमा गर्भाधारणका लागि महिलाहरुले आफ्ना डिम्ब तथा पुरुषका शुक्रकिटलाई संरक्षित राख्न सक्दछन् । यद्यपि यो उनीहरुको व्यक्तिगत निर्णय हुनेछ । नासाले यस सम्बन्धमा कुनै नियम बनाएको छैन ।
अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमा विकिरणको खतरा रहन्छ । यद्यपि प्रजनन क्षमतामा यसको प्रभावका बारेमा कुनै जानकारी छैन ।
अन्तरिक्षयात्राका बेला पुरुषको शुक्रकिटको गुणस्तर कम हुनजान्छ । तर, पृथ्वीमा फर्किएपछि त्यो गुणवत्ता पुनर्बहाली हुन्छ । यसको दीर्घकालीन असरका बारेमा चाहिँ अहिलेसम्म शोध भएको छैन ।
अन्तरिक्षयात्राको स्वास्थ्यमा असर
विज्ञका अनुसार मानव शरीर अन्तरीक्षमा छिटै बुढो हुन्छ । अन्तरिक्षमा हड्डीहरूको घनत्व कम हुन्छ । त्यसैले पृथ्वीमा फर्किएपछि जतिसुकै मिहिनेत गरेपनि त्यसको असर अन्तरिक्षयात्रीको शरीरमा देखा पर्दछ ।
-बीबीसी