रुसी सेनामा ‘ज्यान गुमाएका र बेपत्ता आफन्त’ खोज्दै मस्को पुगे नेपाली

द एभरेष्ट पोष्ट
१४ चैत २०८१ ९:३४
रुसी सेनामा ‘ज्यान गुमाएका र बेपत्ता आफन्त’ खोज्दै मस्को पुगे नेपाली
रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका एक दर्जनभन्दा बढी नेपालीका आफन्तजन राहत र क्षतिपूर्तिको खोजीका लागि रुसको राजधानी मस्को गएको नेपाली अधिकारीहरूले बताएका छन्।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका कार्यवाहक महानिर्देशक लेखनाथ गौतमका अनुसार बेपत्ता रहेका भनिएका केही परिवारका सदस्य पनि आफन्तको खोजी गर्दै रुस गएका छन्।

उनले मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा आफूहरूले १६ जनालाई रुस जना अनुमति दिइएको बताए।

गौतमका अनुसार रुस जाने अधिकांशमा रुसी सेनामा भर्ती भएका पुरुषहरूका श्रीमतीहरू नै छन्। उनले भने, “कोहीका नजिकका नातेदारहरू पनि हुनुहुन्छ। कानुनी हकदार नै चाहिने भएकाले अधिकांशको श्रीमतीहरू नै जानुभएको छ।”

सन् २०२२ मा सुरु भएको रुस र युक्रेनबीचको युद्धमा रुसको तर्फबाट युद्धरत सेनामा भर्ना भएकामध्ये १०० जनाभन्दा बढी नेपाली अझै बेपत्ता रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

रुस जान सहजीकरण

नेपाल सरकारले हालसम्म रुसी सेनामा कार्यरत आफ्ना ४९ नागरिकले ज्यान गुमाएको पुष्टि गरेको छ। तर बेपत्ता रहेकाहरूको सङ्ख्या पनि उल्लेख्य भएकाले यो सङ्ख्या अझै बढ्न सक्ने ठानिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णबहादुर ढकालले रुसी सेनामा कार्यरत रहँदा ज्यान गुमाएका वा हराइरहेका व्यक्तिका आफन्तहरूलाई रुस जान दिनका लागि नेपालले सहजीकरण गरिदिएको बताए।

प्रवक्ता ढकालले भने, “रुसमा नै गएर क्षतिपूर्ति प्राप्त गर्ने परिवारका लागि कन्सुलर विभागले ‘टू हूम इट मे कन्सर्न’ (जो जससँग सम्बन्धित छ) भन्ने पत्र जारी गर्दै आएको छ। रुस नै गएर बेपत्ता रहेका आफन्तको खोजतलास गर्न चाहने परिवारका लागि पनि त्यस्तो पत्र जारी गर्दै सहयोग अनि सहजीकरण गर्दै आएको छ।”

उनले थपे, “एउटा परिवारले तीन किस्ता (क्षतिपूर्ति)मध्ये दुई किस्ता रुसमा नै प्राप्त गरिसकेको जानकारी नेपाली राजदूतावास मस्कोबाट प्राप्त भएको छ। अर्को परिवारको क्षतिपूर्ति प्राप्तिको प्रक्रिया चलिरहेको छ।”

रुस-युक्रेन युद्धमा लडेका नेपालीहरूको सङ्ख्या यकिन छैन

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,रुस-युक्रेन युद्धमा लडेका नेपालीहरूको सङ्ख्या यकिन छैन

रुसी सेनामा नेपालीहरू गैरकानुनी रूपमा भर्ना भएका विवरणहरू सार्वजनिक भएलगत्तै नेपालले सन् २०२२ मै ‘भिजिट’ र श्रम भिसामा रुस जान रोक लगाएको थियो।

तर पछिल्लो निर्णयअनुसार मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा कन्सुलर सेवा विभागले मृतक वा वेपत्ताका परिवारहरूलाई यात्रामा सहजीकरणका लागि यस्तो पत्र लेखिदिन थालेको हो।

कन्सुलर सेवा विभागका कार्यवाहक महानिर्देशक गौतमले भने, “बेपत्ताको हकमा अहिले के हुन्छ, केही पत्ता लाग्छ कि लाग्दैन भनेर हामीले परीक्षणका रूपमा आफन्तलाई जान दिएका हौँ। केही उपलब्धि भयो भने अरूको पनि गरौँला भन्ने हिसाबमा पहिले हेरौँ भनेर एकदुई जनाको मात्रै दिएका छौँ।”

उनले विगतमा पनि परीक्षणका रूपमा आफूहरूले रुसी सेनामा रहेर ज्यान गुमाएका नेपालीहरूका एकाध परिवारलाई रुस जान अनुमति दिएको बताए।

रुस पुगेका परिवारका सदस्य के भन्छन्?

क्षतिपूर्ति वा बेपत्ता आफन्तको खोजी गर्दै रुस पुगेका परिवारका सदस्यहरूले प्रक्रिया चलिरहेको भन्दै यसबारे धेरै बोलेका छैनन्।

बीबीसीसँग कुरा गर्दै एक जनाले कागजपत्र बुझाएपछि तीन हप्तादेखि तीन महिनाभित्र क्षतिपूर्ति रकम प्राप्त हुने जानकारी दिइएको उल्लेख गरे।

उनका अनुसार रुसी अधिकारीहरूले ज्यान गुमाएका नेपाली रुसी सैनिकका परिवारलाई झन्डै १ करोड ७० लाख रुबल अर्थात् २ करोड ७७ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिने वाचा गरेका छन्।

त्यसबाहेक परिवारले रुसी नागरिकता लिएको खण्डमा मासिक ३५ हजार रुबल ( करिब नेपाली ५७ हजार रुपैयाँ) भत्ता दिने भनिएको पनि उल्लेख गरेका छन्।

तर यो विवरणको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

“हामी आउनेजाने आफ्नै खर्च हो। बस्नेखानेदेखि लिएर सबै पीडितकै खर्च हो। हामीले पाउने भनेको क्षतिपूर्तिको रकम हो,” उनले बताए।

नेपाली राजदूतावासले पनि आवश्यक परे अनुवादसहितमा सहयोग पर्ने आश्वासन दिएको मृतक वा वेपत्ता नेपालीको आफन्तको भनाइ छ।

रुस-युक्रेन युद्ध सुरु भएयता मस्कोमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेकाले रुसबाट सोझै नेपालको ब्याङ्कमा रकम पठाउन कठिन भएको अधिकारीहरूले बताउँदै आएका छन्।

त्यसलाई हल गर्न कूटनीतिक तरिकाले परराष्ट्र मन्त्रालयले रुसी पक्षसँग छलफल गरिरहेको भनिएको छ।

रुसी सेनामा नेपाली साङ्केतिक तस्बिर

तस्बिर स्रोत,Getty Images

बीबीसीले रुसबाट नेपाल फर्किएका एक पूर्व रुसी सैनिकसँग कुरा गर्दा ‘उनले हुन्डीलगायतका माध्यमहरूको प्रयोग भएको’ बीबीसीलाई बताएका थिए।

“हामीले आफ्नो खातामा जम्मा भएको पैसा त्यहाँ रहेका कुनै व्यापारीलाई दिने र उहाँको माध्यमबाट पठाउने गरेका थियौँ।”

नेपाली अधिकारीहरूले युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका रुसीहरूले जति क्षतिपूर्ति पाउँछन्, त्यहीबराबर रकम ज्यान गुमाएका नेपालीका परिवारहरूलाई दिन रुसले लिखित रूपमा नै प्रतिबद्धता जनाएको यसअघि उल्लेख गरेका थिए।

अधिकारीहरूले मस्कोस्थित नेपाली राजदूतावासको सहयोगमा २०० भन्दा बढी रुसी सेनामा कार्यरत नेपाली फर्किएको भन्दै आफ्नै प्रयासमा फर्कनेहरूको सङ्ख्या जोड्दा नेपाल फर्किएकाहरूको सङ्ख्या अझै धेरै हुन सक्ने बताएका छन्।

रुसी सेनामा भर्ना भएका भनिएका १०० भन्दा बढी नेपाली अझै सम्पर्कविहीन रहेको तथ्याङ्क मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ। पहिचानका लागि ६२ जनाको डीएनए जाँचको प्रतिवेदन रुस पठाइएको भए पनि त्यसबारे विवरण आउन बाँकी छ।

नेपाली अधिकारीहरूले युद्धमा घाइते भएका नेपालीहरूको यकिन सङ्ख्या उपलब्ध नरहेको तर केहीले क्षतिपूर्ति पाएको कुरा आफ्नो जानकारीमा रहेको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस