सरकारविरुद्ध यस्तो छ कुलमानको रिट

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
रिटमा घिसिङले आफू खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ट ठहर भइ चार वर्षका लागि नियुक्त भएर पाएको सफलताका आधारमा पुनर्नियुक्ति लिएको उल्लेख गरेका छन् । आफूले कहालीलाग्दो लोडसेडिङ अन्त्य गरी ऊर्जा क्षेत्रमा आशा जगाएको पनि उल्लेख गरेका छन् ।
०७३ कात्तिकदेखि काठमाडौं उपत्यका र ०७५ जेठदेखि देशभर लोडसेडिङ अन्त्य गरेकै कारण अवकाशको ११ महिनापछि ०७८ साउन २५ मा नियुक्त भएको उनले उल्लेख गरेका छन् । उनले आफ्नो कार्यकाल अझै पाँचमहिना बढी बाँकी भएको भन्दै मन्त्रिपरिषद्को बर्खास्त गर्ने निर्णय, हितेन्द्रदेवलाई नियुक्त गर्ने निर्णय र आफूलाई दिएको अवकाशको पत्र पनि बदर गर्न माग गरेका छन् ।