विश्वविद्यालयतहमा स्ववियु राजनीतिको दलीयकरण र प्रभाव

– लाल बहादुर बोहरा ।
विश्व दुनियाँमा झैं हाल नेपालमा पनि शैक्षिक गुणस्तरका बारेमा आम चर्चा र चाँसो बढेको छ। नहोस् पनि किन? विद्यालय तह देखि उच्चसम्मै विद्यार्थीहरु दुर्गमबाट सुगम तिर पलायन हुने तथा क्रमशः सुगम हुँदै बिदेशिने क्रम अकल्पनीय तवरले बढेको बढेइछ। परिणाम स्वरुप विद्यालयतहको शिक्षाकालागि नेपाल बसाइ वालवालिकाहरुका लागि वाध्यताको उपज भएर विद्यालयहरु भरिभराउ देखिएता पनि कलेज तथा विश्वविद्यालयहरु प्रायः उजाड हुने अवस्थामा छन्। यावत परिस्थितिका पछाडि तमाम कारणहरु छन् र होलान पनि। ती मध्य नेपाली समाजमा व्याप्त रोजगारीका अवसरहरुको कमि, शैक्षिक संघ/संस्थामा हुने अपवित्र राजनीति, अध्ययनरत विद्यार्थी तथा अध्यापनरत शिक्षकहरुमा प्राज्ञिक संस्कारको कमि, आदिलाई मुख्य मान्न सकिन्छ। बिशेषतः पढ्नु पर्ने विद्यार्थी र पढाउनु पर्ने शिक्षकहरु नै यो वा त्यो रुपमा राजनीतिक गतिविधिहरुमा संलग्न हुँदा शिक्षाको अवस्था कमजोर त हुने नै भयो। यावत परिस्थितिका बिच हिजोआज नेपालका केही विश्वविद्यालयहरुमा स्ववियु निर्वाचनको माहोल चलेको छ। त्रिभुवन विश्वविद्यालयका कतिपय क्याम्पसहरुमा झण्डै हप्तादिन अगाडि उक्त निर्वाचन सम्पन्न भैसकेको छ भने, केहीमा निकट भविस्यमै हुने तयारी छ। त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, आदिमासमेत यसै चैत्र महिना भित्र सम्पन्न हुनेगरी कार्यतालिका सार्वजनिक भएका छन्। यो लेख मार्फत मैले विश्वविद्यालयतहमा विद्यार्थी राजनीतिको थिति, व्यथिति, चुनौति र आम रुपमा पार्न सक्ने सम्भाव्य असरका बारेमा चर्चा गर्ने अनुमति चाहँन्छु।
कुरा सुरु गरौं छिमेकी मुलुक भारतको एउटा विश्वविद्यालयमा मैले अनुभूती गरेको विद्यार्थी चुनावको। केही बर्ष अगाडि एउटा प्राज्ञिक कामको सिलसिलामा त्यहाँ जाने अवसर पाएको थिए। विश्वविद्यालयमा चुनावी मावल चलेको थियो। मैले मनमनै सोचे, यहाँ पनि भाजपा, काँग्रेस आई, भारतीय कम्युनिष्ट लगायतका दलहरुका भातृसंगठनहरु चुनावमा लड्दै होलान्। ती संघ/संगठनका माउ दलहरुका नेताहरुले समेत त्यहाँको चुनावी अवस्थालाई प्रत्यक्ष प्रभाव पार्लान। तर, बुझ्दै जाँदा अवस्था नितान्त फरक पाए। त्यहाँ राजनीतिक दलहरुका विद्यार्थी संघ/संगठनहरु भन्दा पनि स्वतन्त्ररुपमा युवाहरु आ-आफ्ना समहु बनाएर लड्दै थिए। ती समुहहरुले निरपेक्षरुपमा कुनै अमुक दलको प्रतिनिधित्व गर्दैनथे; बरु विद्यार्थी कल्याण र हकहितकालागि एउटा परिषद (काउन्सिल) का नामबाट तिनीहरु चुनावमा होमिएको पाए। मतदाता विद्यार्थीहरुले चुनावमा होमिएका विद्यार्थी नेताहरुलाई व्यक्तिगत रुपमा चिन्ने तर सांगठनिकरुपमा नचिन्ने गरेको पाए। मनमनै सोचे नजिकैको छिमेकी मुलुकको विश्वविद्यालयमा आहा कति सभ्य र सापेक्षित रुपमा गैर राजनीतिक संस्कार! छिमेकी मुलुक भारतको मात्र कुरा हैन, हाम्रै नेपालको काठमाँडौ विश्वविद्यालयमासमेत यस खालको चुनावि परम्परा छ। केही बर्ष अगाडि म एम्.फिल. तहको अध्ययनको सिलसिलामा काठमाँडौ विश्वविद्यालयको हात्तिवन शाखामा थिए। त्यति नै बेला त्यहाँ विद्यार्थी राजनीतिको चुनावि माहोल थियो।
त्रिभुवन विश्वविद्यालयमा हुने गरेको स्ववियुको निर्वाचनको आँखाबाट मैले त्यहाँ हुन लागेको चुनावलाई नियाले; तर मेरा नजर अनि अनुभूतीहरु एकाएक असान्दर्भिक भए। मैले न त्यहाँ संगठन बिशेषका झण्डाहरु देखे; न त नाराहरु नै। केवल देखे विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुका मित्रतापूर्ण प्रचारशैली तथा व्यवहारहरु। त्यतिमात्र हैन त्यहाँ दलगत संघ/संगठन बिशेषका चुनावि कार्यक्रम तथा बुरुकबुरुक उफ्रेर भाषण गर्ने नेताहरु पनि थिएनन्। उता भारतको एउटा विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदको चुनाव झैं त्यहाँ पनि त्यही नामले सौहार्दपूर्णतवरले चुनावि हार्दिकता मञ्चन गरिदै थियो। मनमनै सोचे, विचारे र अभिव्यक्त गरेः आखिर नेपालमा पनि विश्वविद्यालय तहमा दलगत राजनीतिको प्रभावलाई कम गर्न त सकिदो रहेछ त! चुनावि समयमा मात्र हैन मेरो दुइबर्षको बसाइमा विश्वविद्यालय भित्र न कुनै दलीय विद्यार्थी संघ/संगठनका राजनीति केन्द्रित गतिविधि देखे न त दलबिशेषका नेतालाई बोलाएर कुनै भाषणभुषण गरेको। केवल त्यहाँ देखे प्राज्ञिक, जनचेतनामुलक तथा अध्ययन/अध्यापन संग सम्बन्धित कार्यक्रमहरु। माथिका अनुभूतिहरु त केवल प्रतिनिधिमुलक उदाहरणमात्र हुन, त्यस खालका प्रयासहरु विश्वदुनियाँमा जहाँतही छन्। सुनिन्छ, विश्वका प्रायः विकसित देशहरुमा विद्यार्थी राजनीति, त्यो पनि प्राज्ञिकतासहितको, गर्नका निम्ति कुनै निस्चित कलेजहरु हुन्छन्, जहाँ प्रायः राजनीति गर्न चाँहने विद्यार्थीहरु भर्ना हुन्छन् तथा गतिविधिहरुमा सरिक हुन्छन्। ती इतरका कलेज वा विश्वविद्यालयहरुमा न कुनै राजनीतिक दल बिशेषका सांगठनिक गतिविधिहरु हुन्छन् न त त्यस खालका चुनावहरु नै। त्यहाँ त केवल अध्ययन, अनुसन्धान, लेखन, बैचारिक मन्थन, अनुभव आदानप्रदान तथा मानवस्रोत विकासका विविध आयामहरुका बारेमा चर्चापरिचर्चा हुन्छ। तर नेपालका विश्वविद्यालयहरु विगत देखि नै राजनीतिक गतिविधिहरुका अखडा बन्दै आएका छन्। विश्वविद्यालय तथा मातहतका क्याम्पस/कलेजहरुमा प्राज्ञिक भन्दा पनि गैरप्राज्ञिक गतिविधिहरुले आमरुपमा प्रसय पाउँदासमेत त्यस सम्बन्धी सरोकारवाला निकायहरु बेखबर झैं छन्। परिणामस्वरुप शैक्षिक गुणस्तर ओरालिदो अवस्थामा छ भने विद्यार्थीहरुको बिदेश पलायन निरन्तर उकालिदो। प्रष्ट छ, यो परिस्थिति आमन्त्रणको एउटा कारण विद्यार्थी राजनीति पनि हो। नेपालका विश्वविद्यालयतहमा विद्यार्थी राजनीति र स्ववियु निर्वाचनको अवस्था र असर केकस्तो छ भन्ने कुरा हालै त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरुमा सम्पन्न भएका चुनावि माहोलहरुबाट प्रष्ट हुन्छ। निर्वाचनताका कतै दलीय राजनीतिका गुटगत झडपहरु देखीए भने कतै क्याम्पस प्रशासनमा तालाबन्दी, तोडफोड, आदि। पक्कै पनि सामाजिक सन्जालमा छताछुल्ल यी र यस्तै घट्नाक्रमहरुबाट विश्वदुनियाँमा हाम्रो उच्चशिक्षाका बारेमा के-कस्ता सन्देशहरु सम्प्रेशण भए होलान्? पार्न सक्ने दुर्गामि असरकाबारेमा देश र बिदेशमा केकस्तो समिक्षा भयो होला? विद्यालयतहका वालवालिकादेखि नेपालमै बसेर उच्चशिक्षा हाँसिल गरिरहेका तर दलीय राजनीतिबाट टाढै बस्न रुचाउँने ती होनहार प्रतिभाहरुको मानसिकतामा कस्तो असर पर्यो होला? यी र यस्तै तमाम प्रसङ्गहरु यसपटकको स्ववियु निर्वाचनताका पक्कै पनि छछल्किए; जुन विकसित विश्वदुनियाँकालागि नितान्त अपाच्य र चिन्ताजनक कुरा हो। तर, यस बिचमा नेपालका कतिपय स्थापित राजनीतिक दलहरुका माउ नेताहरु निकै हौसिए। स्ववियु निर्वाचनलाई मिनि आम निर्वाचनको उपमा दिदैं क्याम्पस/क्याम्पसमा पार्टीका नेताहरुलाई नै कमाण्ड सम्हाल्ने गरी जिम्मेवारी तोकेको खबरसमेत बाहिरिए।परिणामको पूर्वसन्ध्यादेखि होजोआजसम्मै कुन दलसंग केकति जनमतछ, त्यसको समेत जोखाना गर्न थालिसकेका छन्। शैक्षिक गुणस्तर, प्राज्ञिक संस्कार,शिक्षाको अन्तर्राष्ट्रियकरण,आदिका बारेमा चिन्तन/मनन् गर्नुपर्नेमा नेपालका मुख्यराजनीतिक दलहरु फरक खालको भाष्यमा तल्लिन हुनु निकै चिन्ताजनक कुरा हो।
हाल सम्मका अभ्यासबाट हेर्दा केही अपवाद बाहेक स्ववियु समितिले गर्नेगतिविधिहरु बढी राजनीतिक तथा कम प्राज्ञिक हुँदै आएका छन्। स्ववियु समिति जुन संघ/संगठन तथा दलसंगको बर्चस्वमा निर्वाचित छ, बर्षभरि तिनकै बिचारलाद्ने, क्याम्पस तथा विश्वविद्यालयहरुमा राजनीतिक सौदावाजी गर्ने र प्राज्ञिक भन्दा गैर-प्राज्ञिक (राजनीतिक) गतिविधिहरुमा संलग्न हुँदा स्ववियु निर्वाचन,यसको क्षेत्राधिकार तथा यथार्थतालाई पुनर्भाषित गर्न आवश्यक छ। तर यस खालको चिन्ता चाँसोले हालसम्म मुलधारको राजनीतिमा स्पेस नपाउँनु दुःखको कुरा हो। चिन्ताजनक कुरा त के भने नेपालका मुख्य राजनीतिक दलहरुले नै स्ववियु निर्वाचनलाई आ-आफ्नो दलगत जनमतको आधार परिक्षण तथा प्रतिष्ठाको लडाईको रुपमा लिँदा नेपालको विश्वविद्यालयतहको शिक्षालाई थप अनुदारतातर्फ धकेल्दै लगेको छ। यसरी भोलिको सुन्दर भविस्यको निर्माणमा लाग्नुपर्ने युवाविद्यार्थीहरुलाई पूर्णतयाः राजनीतिमा होमिन उद्यत गराउँनु पटक्कै राम्रो होइन। आजकाल त यस्तो लाग्न थाल्यो कि, हाम्रा विश्वविद्यालयहरुमा उचित शैक्षिक वातावरण नहुँदा आफ्नो उज्वल भविस्यप्रति प्रायः चिन्तित हुँने विद्यार्थीहरु नेपालमा बस्नै चाँहदैनन्। उकालिदो ब्रेनड्रेनलाई रोक्नका लागि समेत सरोकारवाला पक्षले सोच्नैपर्ने वाध्यता छ।
अन्तमा, नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन यहीका विश्वविद्यालयहरुले गर्ने हुन्। निश्चयनै, विश्वविद्यालयहरुमा प्राज्ञिक संस्कार छ भने तिनले गर्ने उत्पादन पनि संस्कारयुक्त र राम्रो होलान्; अन्यथा बेरोजगारी उत्पादन गर्ने कारखाना सिवाय थप हुन सक्ने छैनन्। हाम्रा विश्वविद्यालयहरुमा प्राज्ञिक संस्कार नहुनुका पछि तमाम कारणहरु होलान; तिनको समिक्षा पनि गरिनु पर्दछ।ती मध्यको एउटा महत्वपूर्ण कारक तत्व विद्यार्थी राजनीतिको अनावस्यक हस्तक्षेप पनि हो। दलीय राजनीतिबाट धुर्विकृत विद्यार्थी कल्याण परिषदको आवश्यकता विश्वविद्यालयतहमा अनुमान गर्न सकिए पनि हिजोआजको जस्तो दलीय राजनीतिसंगको आवद्धतासहितको विद्यार्थी राजनीतिका बारेमा भने पूनर्विचार गर्नै पर्ने देखिन्छ। यसको अन्तर्यलाई मध्यनजर गरी यथासिघ्र सुधारको बाटोमा लाग्नु आजको महत्वपूर्ण आवश्यकता हो।
(लेखक जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङका उपप्राध्यापक हुन् ।)