एमसीसी परियोजनाले निरन्तरता पाउने

काठमाण्डौं,१० चैत ।
रोकिएको अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले निरन्तरता पाउने भएको छ ।
अमेरिकी सरकारले एमसीसी अन्तर्गतका परियोजना अघि बढाउन अनुमति प्रदान गरेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले जनाएको छ ।
अमेरिकी सरकारको अनुमतीपछि एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएको हो ।
‘अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ, शुक्रबार एमसीसी नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने कुनै संकेत गर्दैन ।
अमेरिकी सरकारले एमसीसी परियोजनाका ९० दिनको समीक्षा अवधि जारी गरेकोले यसले पूर्णरुपमा निरन्तरता पाउने नपाउने भन्ने विषयमा भने दुविधा छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अनुशरण गर्दै एमसीसीले लिएको कदमले नेपालको परियोजना अन्योलमा परेको थियो । एमसीसीले गत फागुन २ मा नेपाल सरकारलाई पत्राचार गरेर भुक्तानी रोक्ने जानकारी दिएको थियो । अहिले त्यही स्थगित परियोजना पुनः सुरु हुने भएको छ ।
एमसीए नेपाल एमसीसीअन्तर्गतको कार्यक्रम हो । ०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता अनुसार ०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको हो । सुरुआती सम्झौतामा ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर व्यहोर्ने उल्लेख छ । गत पुसमा अमेरिकी सरकारले परियोजनाका लागि थप ५ करोड डलर दिने घोषणा गरेको थियो ।