कैलालीको जंगलमा १ सय ५० बिदेशी नागरिक : २४ घण्टाभित्र हट्न प्रशासनको निर्देशन

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा करिब १५० जना विदेशी नागरिक अनुमति बिना बसिरहेको पाइएको छ। इजरायल, यूके, रुस, स्वीडेन, ताइवान, टर्की, भारत, जापान, जर्मनी, फ्रान्स, आइभरिकोस्ट, ग्रिस, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, चीन, स्पेन लगायत १८ देशका नागरिक बिना अनुमति वन क्षेत्रमा बस्दै आएको खुलासा भएको हो।
‘रेन्बो फेमिली ग्यादरिङ’ नाम दिएर आएका ती विदेशी नागरिकले कुनै आधिकारिक अनुमति नलिएको पाइएपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमाल नेतृत्वको टोली बिहीबार सिमली जंगल पुगेको थियो। अस्वाभाविक गतिविधिको गुनासो आएपछि सुरक्षा निकायको टोलीसहित पुगेका प्रजिअ हमालले ती विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका छन्।
“उनीहरूले कुनै सरकारी अनुमति लिएका थिएनन्। हामीले २४ घण्टाभित्र क्षेत्र खाली गर्न निर्देशन दिएका छौँ। नटेरे कानुनी कारबाही हुन्छ,” प्रजिअ हमालले भने।
अनुगमनका क्रममा ती विदेशी नागरिकले आफूहरू प्रकृतिमा रमाउने समूह भएको दाबी गरे। तर, नेपाल सरकारले अनुमति नदिएको कारण प्रशासनले उनीहरूलाई क्षेत्र छाड्न भनेको हो। प्रशासनले उनीहरूको गतिविधि शान्ति–सुरक्षामा प्रत्यक्ष असर पार्ने खालको नभए पनि कानुनी प्रक्रिया नअपनाएको कारण निष्कासनको आदेश दिएको जनाएको छ।
पत्रकारमाथि हातपात
विदेशी नागरिकको गतिविधि सार्वजनिक गरेपछि सुखडका पत्रकार प्रकाश मिश्रमाथि हातपात भएको छ। घोडाघोडी नगरपालिका–१० का पहलमानपुरस्थित सृजना होटलका सञ्चालक चेतबहादुर सिंह र अजुवा क्याफेका सञ्चालक डबलबहादुर शाहले मिश्रमाथि हातपात गरेको प्रहरीले जनाएको छ।पत्रकार महासंघ जिल्ला शाखा, प्रदेश समिति तथा विभिन्न संस्थाहरूले घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रहरीले हालसम्म शाहलाई नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीय प्रशासनले अनुमति बिना बसिरहेका विदेशी नागरिकलाई हटाउन निर्देशन दिए पनि घोडाघोडी नगरपालिकाले उनीहरूलाई ‘संस्कृति आदान–प्रदान’ भन्दै स्वागत गरेको देखिएको छ।
यसअघि पनि ‘रेन्बो फेमिली ग्यादरिङ’ नाम दिएर केही महिना अघि अछामको रामारोशन क्षेत्रमा विदेशी नागरिक प्रवेश गरेको पाइएको थियो।