एकता महाधिवेशनलाई सघाउने कांग्रेस निकट जनसम्पर्क समितिहरुको निर्णय

काठमाडौँ – नेपाली कांग्रेस निकट जनसम्पर्क समितिहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले आगामी मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशन सफल पार्न सघाउने निर्णय गरेका छन्।
भर्चुएल माध्यमबाट आयोजित बैठकमा बोल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले एनआरएनएमा एक भएर हिडन आह्वान गरे। उनले सर्वोच्च अदालतको परमादेश अनुरुप मे महिनामा एकता महाधिवेशन गर्नुको विकल्प नरहेको भन्दै एकताबद्ध भएमा मात्र एनआरएनएले नागरिकता लगायत गैर आवासीय नेपालीहरुका मुद्दालाई टुंगोमा पुराउन सक्ने बताए।
नेपाली जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष तथा एनआरएन अभियन्ता महेश श्रेष्ठले एकताको लागि आह्वान गर्दा अधिकतम लचक बन्न उच्चस्तरीय समितिलाई आग्रह गरे। उनले सर्वोच्चको फैसला बमोजिम मे महिनामा अधिवेशन आयोजना गर्दै सकभर सबै पक्ष सहभागी हुने वातावरण बनाउनु पर्ने बताए।
जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओलीले क्यानाडामा अहिले सम्म निकै कम मात्रै एनआरएनएको सदस्य बनेकाले सदस्यता अभियान तीव्र पार्नु पर्ने सुझाव दिए।
जनसम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थीले सदस्यता प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनु पर्ने सुझाव दिए। जनसम्पर्क समिति नेदरल्यांड्सका सभापति शालिक गौतमले एनआरएनए लाई एकताबद्ध भएर अगाडी बढाउनु पर्ने जनाए। जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले सबै पक्षले महाधिवेशनमा भाग लिने वातावरण बनाउन उच्चस्तरीय समितिले सक्दो प्रयास गर्नु पर्ने सुझाव दिए। बिमल सुवेदी (कतार) ले उच्चस्तरीय समितिले बालुवाटारस्थित संघको सचिवालयमै बसेर काम गर्नु पर्ने बताए।
बैठकमा एनआरएन अभियन्ता गंगाधर गौतमले सम्मानित सर्वोच्च अदालतको परमादेशको सबैले सम्मान गर्नु पर्ने बताए। उनले बढी भन्दा बढी एनआरएनहरुलाई सदस्य बन्न प्रोत्साहित गर्न अभियान चलाउनु पर्ने सुझाव दिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क विभाग प्रमुख किरण पौडेलले नेपाली कांग्रेस कानूनको सर्वोच्चतालाई मान्ने पार्टी भएकाले सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार आयोजना गर्न लागिएको एकता महाधिवेशनलाई सबैले सघाउनु पर्ने बताए। उनले परराष्ट्र मंत्रीको निर्देशन नै एकताको मुख्य आधार हो भन्दै सबै पक्षलाई समेट्ने गरी मे ३-५ मा अधिवेशन आयोजना गर्न पहल गर्न आग्रह गरे। उनले एनआरएनएका सबै पंजीकृत सदस्यहरुले भोट हाल्न पाउने अवस्थाले डेलिगेट्सको विवाद समाधान हुने अवस्था देखिएको बताए । उनले संसारभरि रहेका जनसम्पर्क समितिहरुलाई एकताबद्ध र अनुशासित भएर क्रियाशील हुन आग्रह पनि गरे।
बैठकमा जनसम्पर्क समिति जापानका अध्यक्ष रोशन केसी, मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, युएइका सभापति भुवानी तिमिल्सिना, साउदी अरबका सभापति अर्जुन थापा, एनआरएनए अभियन्ता एवम् जनसम्पर्क समिति नेदरल्यान्डका पूर्व सभापति नारायण प्रसाद आचार्य, नेपाली कांग्रेसका नेता एवम् एनआरएनए अभियन्ता मनोज कुमार श्रेष्ठ (मनोज गोर्खाली) यूएई, नेदरल्यांड्सका सभापति शालिक गौतम, बेल्जियमका सभापति सुबाश गुरुङ, स्पेनका सभापति सन्तोष श्रेष्ठ, अष्ट्रेलियाका पूर्व सभापति कृष्ण गिरि, नारायण सुवेदी (जापान), नरेन्द्र भाट (कतार), शैलु अधिकारी (डेनमार्क), चिन्तामणि सापकोटा (स्पेन), शालिक राम डुम्रे (स्पेन), एकराज गिरी (स्पेन), छबिलाल कडेल (इटाली), बिनोद कार्की (आयरल्याण्ड), जनसम्पर्क समिति बेल्जियमका पूर्व सभापति सन्तोष जोशी (शुभाष), बेल्जियमकै पूर्व सभापति सीता सापकोटा, जनसम्पर्क समिति पोर्चुगलका पूर्व सभापति तिलक गैह्रे, जनसम्पर्क समिति स्विजरल्याण्डका पूर्व सभापति गुणराज पौडेल ‘गुराँस’, एनआरएन अभियन्ताहरु डा केशब पौडेल, सुनील साह, बुद्धि सुवेदी, प्रमोद सिटौला, सीपी पौडेल, दिपक गौतम लगायतले मे महिनामा महाधिवेशन भए पछि फेरि अक्टोबरमा महाधिवेशन गर्नु अदालतको अवहेलना हुने भएकाले सबै पक्षलाई आफ्नो इगो र हठ त्यागी एकताको महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए।
एनआरएनए उच्चस्तरीय समितिले आआफ्नो एनसीसी मार्फत वा समितिको वेबसाइटमा गएर ३१ मार्च २०२५ भित्र सदस्यताका लागि आवेदन दिन एनआरएनएको सदस्य बन्न योग्य सबै गैर आवासीय नेपालीहरुलाई अपिल गरेको छ।