त्यो कटासे, यो लेगोस

चरा झैं पखेटा भएको भए मान्छेले उड्ने सपना देख्थ्यो होला कि नाई ? पखेटा नभए के भयो ? सपना देख्ने मान्छे, त्यही सपना पछ्याउदै भरिरहन्छ, उडान । मानौं, जीवन हवाई जहाज हो । सपना उसका पखेटा । त्यसैले त चराभन्दा टाढा पुग्छ मान्छे ।
कैलालीको कर्णाली किनारमा हुर्किएको एउटा व्यक्तिको संघर्ष र सफलताको कथाले भन्छ्–बस्, सपना देख । र, त्यो सपनालाई पछ्याउ । उडान भर्न पखेटा चाहिदैन । ईच्छाशक्ति भए पुग्छ । कटासेबाट पश्चिम अफ्रिकाको नाईजेरियामा सफलताको टाकुरामा उभिएका हिक्मत थापाको संघर्षले यही भन्छ ।
१९ माघ २०२५ मा हिक्मत थापा सुदूर पहाडको अछाममा जन्मिए । हाल जयगढी बान्नीगढी गाउँपालिका । तत्कालीन दर्ना गाविसको पाटीखेत उनको पुख्र्यौली थलो थियो । गगनसिंह थापा र नूतन थापाका चार सन्तान थिए । तीन छोरा एक छोरी । हिक्मत सबैभन्दा जेठा ।
उनी चार वर्षका थिए । उनका बुवा कैलालीको खैरीफाँटा झरे । संगै उनी पनि । ३२/३३ सालमा कटासेमा सुकुम्वासी वस्ती बस्दै थियो । छेउमै हुर्किदै थियो, कटासे बजार । उता टीकापुर विकास समिति स्थापना भयो । कर्णाली नदीको कटानबाट टीकापुर जोगाउन कर्णाली किनारका वस्तीहरु सारिए । बल्चौर र पाताभारमा बजार थियो । त्यसका तलमाथि खोटेना,लम्की , मूर्तिया,भांगावारी, खैरीफाँटा लगायतका गाउँहरु थियो । कर्णाली तटीय क्षेत्रका वस्ती सारेर बृक्षारोपण गर्न थालियो । उनको घर भने जोगियो ।
उनका बुवा अछाममा शिक्षक थिए । उनमा शिक्षाको महत्व र सन्तानलाई पढाउनुपर्छ भन्ने चेत थियो । त्यही चेतले उनले शिक्षण पेशालाई निरन्तरता दिए । उनका बुवाले खैरीफाँटामा राष्ट्रिय प्राथमिक विद्यालय खोले । शुरुवातमा १८ जना विद्यार्थी थिए । त्यसमध्ये उनी एक थिए । उनले त्यही कखरा सिके । पछि त्यही अरुणोदय माविमा परिणत भयो ।
दुई वर्ष विद्यालय मान्यता प्राप्त नगरी चल्यो । उनी तीन कक्षा पास भए । त्यसपछि धर्मापुर पढ्न गए । ४ देखि ७ कक्षासम्म धर्मापुरको विद्यालयमा पढे । त्यसपछि पढ्न गए, टीकापुर । टीकापुर आवासीय विद्यालयमा कक्षा ८ मा भर्ना भए । प्राथमिक तहसम्म रहेको टीकापुर आवासीय विद्यालयमा २०३३ सालमा माध्यमिक तहको पढाई हुन थाल्यो । २०४३ सालमा राजा वीरेन्द्रले शिलन्यास गरेर नयाँ भवन बनेपछि त्यसको नाम फेरियो । र, जन्मियो– वीरेन्द्र विद्या मन्दिर । उनले त्यहीबाट एसएलसी दिए । टीकापुरमा एसएलसीको केन्द्र थिएन । २०३९ सालमा उनी परीक्षा दिन धनगढी आएको सम्झना अझै ताजै छ । भारतको बाटो भएर उनी धनगढी पुगेका थिए । कैलालीमा एउटा मात्र केन्द्र थियो । त्यो पनि धनगढीमा ।
सबै विषयको परीक्षा भयो । प्रश्नपत्र आउट भएको आरोपमा गणितको परीक्षा रोकियो । रोकिएको गणितको परीक्षा तीन महिनापछि बैशाखमा भयो । उनी दुई पटक परीक्षा दिन धनगढी आए ।
एसएलसी पास भएपछि थप पढाईका लागि उनी नेपालगञ्ज गए । त्यहाँबाट उनले आईएस्सीको पढाई पुरा गरे । तीन वर्षमा तीन जना पास भए । उनी एक थिए ।
त्यसपछि ईञ्जिनियर बन्ने सपना पालेर काठमाण्डौं पुगे । पुल्चोक ईञ्जिनियरिङ कलेजको ईन्ट्रान्समा भाग लिए । नाम निस्किएन ।
धरानमा केन्द्रीय प्रविधि क्याम्पस थियो । फुड टेक्नोलोजीको पढाई हुने त्यो एक मात्र क्याम्पस थियो । खाद्यको पढाईका लागि उनी बस चढेर पुगे, धरान । २० जना विद्यार्थीको कोटा थियो । उनी त्यहाँ पुग्दा भर्ना बन्द भईसकेको थियो । जगत बहादुर केसी, क्याम्पस प्रमुख थिए । नारायणी नदी पारीबाट खाद्यको पढाईका लागि धरान पुग्ने हिक्मत पहिलो विद्यार्थी थिए । उनलाई केसीले त्यही कारण भर्ना गरिदिए । त्यसमाथि छात्रवृति दिए । पाँच जनाले छात्रवृति पाएका थिए । जसले मासिक दुई सय रुपैया पाउथे ।
उनी पढाईमा अब्बल थिए । उनी व्याच टप भए । २०४७ सालमा खाद्य प्रविधिमा स्नातक गरे । र बने, खाद्य प्राविधिक । उनका पिताजी भने उनलाई ईञ्जिनियर बनाउन चाहन्थे ।
………….
परीक्षा दिएको तेस्रो दिन काठमाण्डौं पुगे । थानकोटमा चौधरी गु्रपले निर्वाण वनस्पती सञ्चालनमा ल्याएको थियो । नतिजा नआउदै उनलाई जागीरको अफर आयो । र, काठमाण्डौं पुगेको पाँचौ दिनमा उनी जागीरे भए । अफिसरले एक हजार दुई सय मासिक पारिश्रमिक पाउथे । उनले शुरुवातमै तीन हजार रुपैया पाए ।
२०४८ सालमा चितवनको टाँडीमा यमयम चाउचाउको उद्योग खुल्यो । तालिममा बैंकक पठाउने भनिएपछि उनले यमयम ज्वाईन गरे । र, पहिलो पटक थाई एयरलाइन्सको बोईङ चढेर पुगे, बैंकक । वान थाई फुड इन्डस्ट्रिजमा चाउचाउ प्रविधिको तालिम लिए । उनी विदेशमा गएर चाउचाउ बनाउन तालिम लिने नेपालकै पहिलो खाद्य प्राविधिज्ञ पनि हुन् । त्यहाँबाट फर्किएपछि प्रोडक्सन अफिसरका रुपमा जागीर खाए । ११ वर्ष त्यहाँ काम गरे । निस्किदा उनी फ्याक्ट्री म्यानेजर थिए ।
यमयमले उनकैं नेतृत्वमा नेस्ले इंडियाको को- म्यानुफ्याक्चरर भइ नेपाल , बंगाल र उत्तर पुर्व भारतका लागि नेपालमै म्यागी २ मिनेट चाउचाउमा उत्पादन गर्न थाल्यो । त्यसै क्रममा उनी नेस्लेको पंजाव मोगा स्थित फेक्ट्रीसम्म कैयौं पटक पुगे ।
चितवनपछि काठमाडौंको मिनमिन चाउचाउ उद्योगमा काम गरे । त्यसको उत्पादनलाई सुदृढ पार्दै द्वन्द्वको डढेलोबीचमै इलाम देखि डडेल्धुरासम्म पुगेर वजार विस्तार गरे । त्यसपछि उनले महाप्रबन्धकको रुपमा काठमाडौं मुख्य कार्यालयबाट वीरगंजमा मैदा, चामल, सावुन, वनस्पती तेल उत्पादन गर्ने एचपी अग्रवाल ग्रुपको व्यवस्थापन हेरे ।
मुलुकमा माओवादी द्धन्द उत्कर्षमा थियो । माओवादीले उनको कटासेस्थित घरमा बम हान्यो । लुटपाट ग¥यो । फरक विचार राख्ने व्यक्तिहरु माओवादीको निशानामा थिए । उनका पिताजी नेपाली काँग्रेसका तर्फबाट जिल्ला विकास समिति कैलालीका क्षेत्रपाल थिए । जागीरबाट जोडेको पैसाले जग्गा जोडिसकेका थिए । २०५९ सालमा सरसापटी र ऋण लिएर काठमाण्डौंमा घर बनाए । कैलालीमा बस्न गाह्रो भएपछि उनको परिवार काठमाण्डौमा बस्न थाल्यो ।
मिनमिनपछि उनले बिरगञ्जको एचपी अग्रवाल ग्रुपका लागि काम गरे । एचपी अग्रवाल ग्रुपले मैदा, वनस्पति तेल र साबुनको उत्पादन गर्थ्यो । उनले काठमाडौंबाटै नेपालभरी त्यसको उत्पादन, लजेस्टिक, बिक्री र बजार व्यवस्थापनको नेतृत्व गरे ।
त्यहीबीचमा उनलाई रमपम चाउचाउबाट अफर आयो । त्यसका मालिक थिए– महेश जाजु । उनले भारतको रुद्रपुरमा चाउचाउ उद्योग खोल्न हिक्मतलाई पठाए । घर पायक जागीर । त्यसमाथि आकर्षक पारिश्रमिक ।
त्यही बेला नाईजेरियाको डांगोटे ग्रुपमा महाप्रबन्धक पदमा जागीर खुलेको थाह पाए । उनले आवदेन दिए । उनलाई अन्तर्वार्ताका लागि चेन्नई बोलाईयो । उनले जान्न भने । प्लेनको टिकट र होटलको सुविधा पाएपछि उनी चेन्नई पुगे । अन्तर्वार्तामा उनी छानिए । र, डिसेम्बर २००६ मा पुगे–पश्चिम अफ्रिकी मुलुक नाईजेरिया । चाउचाउ उद्योगको व्यवस्थापन हेर्ने गरी नाईजेरिया पुगेका उनले तीन वटा चाउचाउ उद्योगको स्थापना गरे । चाउचाउ हुँदै उनले डांगोटेको चिनी, वनस्पति तेल, टमाटो पेष्ट, मैदा र पास्ता, नुन र चामल मीलहरुका प्रोजेक्ट र मीलहरुको व्यवस्थापन हेरे । अहिले उनी डांगोटे समूहको ट्रक तथा हेभी भेहिकल उत्पादन गर्ने एक कम्पनीमा म्यानेजिङ डाइरेक्टर पदमा छन् । जसले वर्षको १० हजार गाडी उत्पादन गर्छ । जहाँ उनी १८ वर्षदेखि कार्यरत छन् । उनी डांगोटे समूहको गु्रप जनरल म्यानेजर, प्रबन्ध निर्देशकसंगै एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ) को बहु भूमिकामा छन् । साथैं उनले डांगोटेका कृषी र खाध सम्बन्धि नयाँ प्रोजेक्टहरु हेर्छन् । जसमा चिनी, चामल, टमाटर र डेरी प्रमुख छन ।
नाईजेरियामा दुई लाखभन्दा बढि व्यक्तिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको डांगोटे समूहमा तीन सय भन्दा बढि नेपाली कार्यरत छन् । त्यहाँ उनी सबैभन्दा उच्च तहमा काम गर्ने नेपाली हुन् ।
डांगोटे लेगोस हुदै संसारका १६ देशमा फैलिएको छ । डांगोटेले सिमेन्ट, सवारी साधन, चिनी, नुन, मैदा, चामल, पास्ता,सिजनिङ्ग क्युब, टमाटो पेष्ट चाउचाउ, डिजेल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थ र युरिया मल लगायतका सामग्री उत्पादन गर्छ । उसका उत्पादनहरु विश्व बजारमा उपलब्ध छन् । लेगोस नाईजेरियाको पुरानो राजधानी हो । जसको जनसंख्या दुई करोड छ । १९८३ मा सरकारले अबुजामा वस्ती र जंगल मासेर शहर निर्माण गरयो । र, १९९३ देखि अबुजा नयाँ राजधानी बन्यो । यद्दपि लेगोस आर्थिक र राजनैतिक हव रहिरह्यो । राजधानी अबुजा भए पनि देशको आर्थिक र प्रशाशनिक बागडोर लेगोसले नियन्त्रण गरिरहेको हुन्छ ।
डांगोटे लेगोस हुदै संसारका १६ देशमा फैलिएको छ । डांगोटेले सवारी साधन, चाउचाउ, चिनी, नुन, मैदा, चामल, पास्ता, चाउचाउ, सिमेन्ट, पेट्रोलियम पदार्थ, युरिया मल लगायतका सामग्री उत्पादन गर्छ । उसका उत्पादनहरु विश्व बजारमा उपलब्ध छन् । लेगोस नाईजेरियाको पुरानो राजधानी हो । जसको जनसंख्या दुई करोड छ । १९८३ मा सरकारले अबुजामा वस्ती र जंगल मासेर शहर निर्माण ग¥यो । र, १९९३ देखि अबुजा प्रशासनिक केन्द्र बन्यो । यद्दपि लेगोस आर्थिक र राजनैतिक हव रहिरह्यो । मुख्यमन्त्री र उच्च तहका पदाधिकारीहरुका गेष्ट हाउसहरु यही छन् ।
नाईजेरिया लामो समय ब्रिटिशको अधिनमा रह्यो । ब्रिटिशहरुले नाईजेरियनले आफू जहाँ गए, त्यही पु¥याए । अफ्रिका सबैभन्दा बढि जनसंख्या भएको नाईजेरिया । जसको आवादी २२ करोड छ । भनिन्छ, संसारमा भेटिने पाँच जना अफ्रिकनमा एक जना नाईजेरियन हुन्छ ।
नाईजेरिया ३६ वटा राज्यमा बिभाजित छ । लेगोस एउटा शहर हो । र, एउटा राज्य पनि । जसले नाईजेरियाको ७० प्रतिशत अर्थतन्त्र धानेको छ । जहाँ बन्दरगाहहरु छन् । र छन्, ठूला उद्योगहरु ।
………………
उनका पिताजी वीपी कोईरालाबाट प्रभावित थिए । पिताजीमा साहित्य र राजनीतिको गहिरो प्रभाव थियो । सरिता, कादम्बिनी र साहित्यिक पुस्तकहरु आउथे । लोकतन्त्र र साहित्यप्रतिको लगाव उनीभित्र बाल्यवयमै हुर्कियो । उनी स्कुलमा कविता लेख्थे । कविता प्रतियोगितामा भाग लिन्थे ।
२०४३ सालमा पढ्न धरान गए । एक वर्षपछि सहपाठी अनुप थपलिया, मदन ढकालसंग मिलेर अतिरिक्त स्वरहरु संस्था खोले । लक्ष्मी जयन्तीमा लक्ष्मी सडकका कविता संग्रह निकाल्न थाले । उनी सम्पादक थिए । तीन वर्षपछि उनी पढाई सकेर निस्किए । र, त्यो बन्द भयो ।
उनका पिताजी चाहन्थे, उनले राजनीति नगरुन् । उनी भने पिताजीलाई आदर्श मान्थे । र, पछ्याए, पिताजीकै पदचाप । उनको हृदयमा साहित्य । धमनीमा राजनीति । त्यसैसंग बगे उनी । २०४७ सालमा नेपाल खाद्य प्रबिधि विद्यार्थी संघ धरानको संस्थापक अध्यक्ष बने । उनी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तर्फबाट निर्वाचित भएका थिए ।
उनी जागीरको सिलसिलामा जहाँ जहाँ गए । त्यहाँ राजनीति र साहित्यबाट अलग हुन सकेनन् । चितवनमा जागीरे भएर गए पछि पनि नेपाल बिद्यार्थी संघको ओयासीस पत्रिकाको सम्पादक भए ।
त्यसपछि सम्प्रेषण साहित्यिक तपत्रिकाको कार्यकारी सम्पादक भए । त्यो चल्तीको साहित्यिक पत्रिका थियो । सम्प्रेषणमा आफ्ना रचना छापिदा श्रष्टाहरु दंग पर्थे । उनले त्यसको सात अंक निकाले । संप्रेषण अहिले सम्म नियमित छ ।
अवसरले अफ्रिका पुगे । त्यहाँपनि साहित्यले चिमोट्न छोडेन । र, २०१५ मा निकाले, आफ्नै पहिलो कृति ‘चिबोकका केटीहरु’ कविता संग्रह ।
……………….
विरासतमा बैभव मिल्न सक्छ । यश, कृति र क्षमता होईन । धमनीमा बग्ने रगत, रगतसंगै बग्ने साहित्यिक भाव, लोकतन्त्रप्रतिको निष्ठा र माटोप्रतिको प्रेम उनले बिरासतमा पाएका हुन् । जो उनका बुवाबाट उनमा स्वतः ‘ट्रान्सफर’ भयो । कसले भन्यो ? पुर्खाको ‘जीन’बाट सद्गुणहरु ‘ट्रान्सफर’ हुदैनन ?
द्वन्द्वकालमा उनका पिताजी माओवादीबाट लखेटिए । विस्थापित भएर कटासेबाट काठमाण्डौं पुगे । मृत्यु अघि उनले अन्तिम ईच्छा काव्य मार्फत सन्तानलाई सुनाए, कर्णाली किनारमा मेरो अन्तिम संस्कार गर्नु । म जलिरहदा चिताको धुवाले ढाकियोस, कर्णालीको आकाश ।
मृत्यु अघि नै उनले आफ्नो दाहसंस्कारको त्यो पल र कर्णाली प्रेमलाई चित्रण गरिदिए, काव्यमा ।
त्यही कर्णाली किनार उनलाई औधी प्यारो छ । जहाँ उनको बालापनका स्मृतिहरु छन् । उमेरसंगै स्मृतिबाट धुमिल हुदै जाने बिगतका यादहरु बाटोमा छोडेका डोबहरु झै मेटिदै जान्छन् । तर कटासे प्रेम र उसको याद भने अपवाद छ । जहाँको धुलो प्यारो छ । माटो प्यारो छ । र, प्रियकर छ, त्यहाँको याद । जहाँ बिरुवाले अक्सिजनसंगै हृदयमा प्रेम भर्छ । र त, काठमाण्डौं र लेगोसले उनलाई रोकिरहन सकेन कहिल्यै । जसले नाम दियो, बैभव दियो । त्यो लेगोस भन्दा धेरै गुणा प्यारो छ, कटासे ।
……………
उनी फुर्सदमा कफि पिउन समून्द्र किनार पुग्छन् । साथमा हुन्छिन्, पत्नी मन । क्याफेमा गफिईरहदा उनको मन भने कर्णाली किनार पुग्छ । टीकापुरका बारेमा सोध्छन् । कटासे कस्तो छ ? उनको जिज्ञासा हुन्छ ।
उनकी पत्नी मन सुनाउछिन्, नेपाल विपत्तिमा हुदा उनी सुत्दैनन् । कसरी सहयोग गर्ने छटपटीमै हुन्छन् । र, सहयोग नगरेसम्म चूपचाप बस्दैनन् ।
उनका हरेक कर्ममा मन अनवरत साथ दिईरहन्छिन् । मन उनकी सहयात्री । भरोसा । हौसला । र, दुखाईमा मल्हम हुन् । जो छाँयाझै हुन्छिन्, हरदम साथमा ।
उनी गुनासो गर्दिनन् । बरु प्रेरित गर्छिन् । निराश हुन दिन्निन् । लेगोसमा हिक्मत र मन दुबै सामाजिक कर्ममा उत्तिकै सक्रिय छन् ।
संसारभरी फैलिएका छन्, हजारौ नेपाली । सुदूरपश्चिमेली नपुगेको मुलुक कमै होलान । हिक्मतभन्दा ठूलो ओहोदा र पैसा कमाउने कैयौ सुदूरपश्चिमेली छन् ।
तर उनी यस्ता छन्, सुदूर पश्चिमका लागि सञ्चालन हुने हरेक अभियानमा आर्थिक सहयोग गर्नेमा अग्रपंक्तिमा हुन्छन् ।
…………..
उनी कर्णाली किनारमा हुर्किए । कर्मथलो बन्यो, आन्ध्रमहासागर किनारको लेगोस । जहाँ झण्डै दुई दशक देखि कार्यरत छन् । आन्ध्रमहासागर, जो क्षेत्रफलका हिसावले संसारको दोस्रो ठूलो महासागर हो । जसले युरोप र अफ्रिकालाई पृथक गर्छ ।
कर्णाली, जो नेपालकै लामो नदी हो । जसले कैलाली र बर्दियालाई छुट्याउछ । नदी किनारमा हुर्किएका उनले चलायमान हुन त्यही कर्णालीबाट सिके । र, फैलिन उनले आन्ध्रमहासागरबाट सिके ।
उनको मुटुमा कटासे, टीकापुर र कर्णाली बसेको छ, पृथ्वीमाथि फैलिएको आकाश झैं अनन्त । हो, मनमा कटासे र कर्णाली बोकेर उनी फैलिईरहेका छन्, आन्ध्र महासागरभन्दा धेरै पर ।
गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय संघको दुई कार्यकाल कोषाध्यक्ष रहेका उनी उपाध्यक्षमा हारे । उनी हारबाट बिचलित भएर भाग्ने मध्ये थिएनन् । त्यसयता पनि उनले थुपै्र सामाजिक र व्यवसायीक अभियानको नेतृत्व गरे । जीत हार प्राविधिक कुरा हो । उनले सन्देश दिए–काम गर्न पद होईन, ईच्छाशक्ति र हृदय चाहिन्छ ।
उनी दुई दशकदेखि नाईजेरियाको लागोसमा छन् । शरीर लागोसमा भएपनि उनको मन भने सुदूरपश्चिममा छ ।
उनलाई राजनीति गर्नु छैन । चुनाव लड्नु छैन । र भोट पनि चाहिएको छैन । र छैन उनको कसैसंग प्रतिस्पर्धा । जव सुदूर पश्चिममा बिपत्ति आउछ । पहिरो आउछ । महामारी फैलिन्छ । तव उनी सुत्दैनन । उनलाई सुदूरपश्चिम बिझाउछ । सुत्दा ऐठन हुन्छ । मध्यरातमा उठ्छन,नेपालको हाल सोध्छन । यहाँको अवस्था थाह पाएपछि बेचैन हुन्छन । र सहयोग गर्ने योजना बनाउछन् । सहयोग जुटाउछन । र, पठाउछन ।
बस्, सकारात्मक सोच्छन । केही राम्रो काम गर्न पाए हुन्थ्यो सोच्छन । निश्वार्थ भावनाले उनी सहयोग गर्छन । तर उनैसंग डराउनेहरु पनि छन् । उनैको टिप्पणी गर्नेहरु पनि छन् । त्यस्ता टिप्पणीहरुले बेलोबला उनको मन कुडिन्छ । तर उनी भाग्दैनन, बिचलित हुदैनन । फेरि पनि सुदूरपश्चिमका लागि केही गरिरहन खोज्छन ।
सामाजिक कर्म निरन्तर गरिरहदा उनले के पाए ? के गुमाए ? कहिल्यै त्यसको लेखाजोखा गरेनन । बस्, कर्म गरिरहे । कोभिडले विश्व आक्रान्त भयो । सबै कसरी जोगिने भन्ने त्रासमा थिए । उनी संसारको सुदूर किनारबाट सुदूरपश्चिमलाई कसरी जोगाउन सकिन्छ भन्ने चिन्तामा थिए । कोभिडको पहिलो चरणमा डडेल्धुरामा पीसीआर प्रयोगशाला स्थापना गर्ने अभियान सफल पार्न अहोरात्र खटिए । उनकै अगुवाईमा टीकापुर अस्पतालले निशुल्क शव वाहन पायो । हुर्केको गाउँ कटासे खैरिफाँटाले एम्बुलेस । कोभिडमा निशुल्क अक्सिजन उपलब्ध गराउन उनले पहल गरे । टीकापुर, अछाम र कर्णालीको जुम्ला , मुगुसम्मै अक्सिजन बाडे । एनआरएनएले उनकै नेतृत्वमा सुदूरपश्चिममा पहिलो मोवाईल ब्लड बैंक बस उपलब्ध गरायो ।त्यो अभियान चितवन, धरान , जनकपुर र नेपालगंन्जै सम्म पुर्याउन उनी सक्रिय भए । एनआरएन मार्फत धरान, खोटाङ्ग, रसुवा , चितवन, मकवानपुर हुँदै कैलाली सम्म बिधालयमा कक्षा कोठाहरु , पुस्तकालय र प्रयोगशाला बनाउन संयोजन र नेतृत्व गरे ।
टीकापुरमा साहित्य महोत्सवका लागि संसारभरीबाट पैसा जुटाए । आफू पढेको अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटा र वीरेन्द्र विद्या मन्दिरमा सुविधायुक्त ईलाईब्रेरी स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरे ।
उनले डांगोटेलाई नेपालमा भित्र्याउन उनले कोसिस गरे । सिमेण्ट उद्योगमा ६० अर्वभन्दा बढि लगानी गर्न डांगोटेलाई राजी गराए । सरकारको अनिच्छा र असहयोगका कारण त्यो कोसिस सफल हुन सकेन् ।
…………..
शुन्यलाई सय कसरी बनाउने उनले पिताजीबाट सिकेका हुन् । कर्णालीको बञ्जर बगर, त्यही बगर किनारमा छरिएर रहेको संकटोन्मुख जंगललाई नेपालकै सबैभन्दा ठूलो सामुदायीक वन, छतिवन सामुदायीक वन, उनकै बुवाको अविचलित संघर्षबाट संभव भएको हो ।
शुन्यबाट उठेका उनी संसारकै ठूलो व्यापारिक घराना मध्येको एक डांगोटेको उच्च तहमा सामान्य मिहिनेत र संघर्षबाट पुगेका होईनन् । कठिन घडीमा बिचलित भएको भए उनी कर्णाली किनारमा बर्खाको भेलमा दाउरा छोपिरहेका हुन्थे वा छतिवन सामुदायकी वनमा गाईबाख्रा चराईरहेका हुन्थे । यद्दपि त्यो कर्मको आफ्नै महत्व छ । त्यसको महत्व कम आक्न भने हुदैन ।
आफ्नो भूगोल, भाषाप्रतिको प्रेम र लोपोन्मुख सभ्यताको जगेर्नाको चिन्ता पिताजीबाट उनमा सरेका सद्गुणहरु हुन् । साहित्यमा आञ्चलिकता र आफ्नै परिवेशको चित्रण विरलै सर्जकहरुले गर्ने गर्छन् । उनका पिताजी तिनै अपवादमध्ये पर्छन् । जसका कृतिमा कर्णाली बगेको छ । सुदूरको माटो,भाषा, र संस्कृतिको सुवास छ, जसमा । त्यही सुवास फैलाईरहेका छन्, उनी आन्ध्र महासागरभन्दा पर ।
उनले पिताजीका असल कर्म र गुणलाई पछ्याए । उनलाई साथ दिईन, सहयात्री मनले । उनका छोरा सुहिम र छोरी सुरभीले उनलाई पछ्याउदैछन् । यसैलाई भन्छन्, असल संस्कार । जो हुर्काईसंगै सर्ने चिज हो । संस्कार कुनै विश्वविद्यालयको सर्टिफिकेटमा जीपीएसंगै मिल्ने चिज होईन ।
…………….
उनी कटासेमा हुर्किए । छेउमा कर्णालीको कुलरिया कुलो बग्थ्यो । उनी त्यहाँ पौडी खेल्थे । कटासे व्यापारिक हव थियो । त्यहाँ सर्कसको ‘राम’ हुन्थ्यो । ‘राम’ हेर्न टाढाटाढाबाट मान्छेहरु आउथे । उनीहरु रातभरी डेउडा खेल्थे । उनी सर्कसको ‘राम’ र डेउडा हेरेर हुर्किए । ४६ सालसम्म कटासे गुल्जार थियो । बैशले भरिएकी यौवनाजस्तै । कटासे हिउँदमा सुन्तला, दाल र घिउका कन्टेनरले भरिन्थ्यो । नूनदेखि सुनसम्म व्यापार हुन्थे । कटासे मान्छे र सामानले छपक्कै ढाकिन्थ्यो ।
कर्णाली किनारै किनार चिसापानी–सत्ती जोड्ने सडक थियो । जसलाई प्रोजेक्ट रोड भनिन्थ्यो । धुलाम्ये सडक । काठका पुल । त्यही बाटो भएर जीपमा ओहोरदोहोर गर्ने ‘गोरा’ मान्छेहरु । कर्णालीको अध्ययनका लागि आएका अमेरिकनहरुको अस्थायी मुकाम थियो, टीकापुर ।
उनी आन्ध्रमहासागरको किनारमा बसेर बेलाबेला सम्झिरहन्छन्, कटासे, खैरीफाँटा र कर्णाली । सम्झिदा ‘नोष्टाल्जिक’ हुन्छन्, फर्केर जान चाहन्छन्, त्यही प्रिय ठाउ ।
कतिपय यादहरु भुलाउन सकिदैनन् । त्यो कटासे र उसका यादहरु भुलाउन सकिने चिज होईनन् । रत, आन्ध्रमहासागरका छाल झै हुत्तिएर पुग्छन्, उनी यादहरुसंगै कटासे । सबैले छोडेर गएको त्यो कटासे उनका लागि अझै उत्तिकै प्रिय छ ।
कहाँ होलान दौतरीहरु ? बर्खामा उर्लिएर वस्तीमा पस्ने कर्णाली । उस्तै छ कि ? फेरियो ? बगाउनेको माया कस्तो ? उनी फर्किन्छन्, बालापनमा । जसका यादहरुले उनलाई चिमोट्छ । आँखामा फनफनी घुम्छ, कटासेको चर्खा र सर्कसको ‘राम’ । ओहो ! कति मिठो थियो, त्यो समय ?
…………………