पूर्वराजाको ‘स्वागत’ का लागि काठमाण्डू विमानस्थल प्रवेशद्वारअगाडि समर्थकको भिड

काठमाडौं । पोखराबाट काठमाण्डू आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थक तथा शुभेच्छुकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वारअगाडि भेला हुन थालेका छन्।
प्रवेशद्वारअगाडि भेला भएका राष्ट्रिय झण्डा बोकेका मानिसहरूले राजसंस्थाको पक्षमा विभिन्न नाराबाजी गरिरहेका छन्।
विमानस्थलको सुरक्षा संवेदनशीलता स्रोतलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीका अनुसार ठूलो सङ्ख्यामा समर्थक तथा शुभेच्छुकहरू विमानस्थलअगाडि पुग्ने क्रम जारी छ।
राजसंस्था पक्षधर राजनीतिक दल र विभिन्न समूहले आइतवार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने तयारी गरिरहँदा काठमाण्डूमा सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्।
केही दिनयता विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका शाह आइतवार दिउँसो पोखराबाट काठमाण्डू फर्किन लागेका हुन्।
उक्त कार्यक्रमका क्रममा कुनै अवाञ्छित गतिविधि वा अप्रिय घटना हुन नदिने हिसाबले सामान्य दिनको भन्दा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय र प्रहरीले बीबीसीलाई बताएका हुन्।
सुरक्षा तयारी कस्तो छ?
काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कार्यक्रमलाई ध्यानमा राखी सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको बताए।
“जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएर जनपद, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ,” बीबीसीसँग उनले भने।
“सुरक्षा व्यवस्थालाई लिएर त्यस्तो कुनै समस्या छैन। तर पनि सुरक्षा एलर्ट चाहिँ छ।”
काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत र्यालीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाएरै प्रहरी परिचालन गरिएको बताए।
“र्यालीको रूपमा ठूलो सङ्ख्यामा मानिसहरू आउँदा कुनै अवाञ्छित गतिविधि हुन सक्ने, ट्राफिक व्यवस्थापनमा असर पर्न सक्ने भएकाले कुनै अवाञ्छित गतिविधि नहोओस् भनेर सुरक्षा योजना बनाएरै हामीले प्रहरी परिचालन गरेका छौँ,” उनले भने।
सामान्य दिनको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी गराए।
“आवागमनमा अवरोध, पक्षविपक्षबीच झडप हुन सक्ने थ्रेट हामीले महसुस गरेर नेपाल प्रहरीका मात्र १,१३४ जना प्रहरी परिचालन गरेका छौँ,” खनालले भने।
ट्राफिक प्रहरीले ठूलो सङ्ख्यामा सहभागिता भए सवारी आवागमनमा त्यसको असर पर्न सक्ने जनाएको छ।
“स्वागत र्याली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट गौशाला, चावहिल, सुकेधारा, महाराजगञ्ज हुँदै निर्मल निवास पुग्ने जानकारी हामीले पाएका छौँ,” काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले बीबीसी न्यूज नेपालीसँग भने।
खास गरी तीनकुनेबाट ज्ञानेश्वरसम्मको रूटमा आफूहरूले ट्राफिक एलर्ट गराएको उनले बताए।
“स्वागतमा पूर्वराजाका शुच्छेक, समर्थकहरू सहभागी हुने भएर ट्राफिकमा त्यसको असर पर्छ। त्यो भएर उल्लिखितबाहेकका रूट प्रयोग गर्दा सहज हुन्छ।”
आयोजक के भन्छन्?
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीका अनुसार गौशालासम्म समर्थक तथा शुभेच्छुकहरू पूर्वराजा शाहको स्वागतार्थ सडकका दायाँबायाँ उभिने छन्।
“त्यहाँबाट राजाको स्वागतमा हामी सबै सवारीको पछिपछि र्यालीसहित निर्मल निवाससम्म पुग्ने छौँ,” उनले थपे।
स्वागतमा सहभागी हुन “कुनै दलविशेष नभनी सम्पूर्ण राष्ट्रभक्त नागरिकहरू” लाई आफूहरूले अपिल गरेको सांसद शाहीले बताए।
बलिवूड अभिनेत्री मनिषा कोइरालाले पनि स्वागत कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेकी छन्।
“आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोधः आज पोखराबाट सरकारको काठमाण्डू सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ,”सामाजिक सञ्जाल फेसबुकमा आइतवार बिहान उनले लेखेकी छन्।
आयोजकहरूले स्वागत कार्यक्रममा राजसंस्था पक्षधर दल तथा समूहका मात्रै नभई गणतन्त्र पक्षधर दलका कार्यकर्ताहरू पनि सहभागी हुने दाबी गरेका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल” पनि सहभागी हुने जनाएको छ।
प्रसाईले आइतवारको कार्यक्रमलाई सफल बनाउन आफ्ना समर्थकहरूलाई अपिल समेत गरेका छन्।
सोही कार्यक्रमलाई मध्यम नजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतवारका लागि काठमाण्डूका लागि पूर्वनिर्धारित आमसभा समेत स्थगित गरिसकेको छ।
राजसंस्था पक्षधर शक्तिहरूले राजसंस्था पुनर्स्थापना र हिन्दू अधिराज्य कायम गराउने दिशामा आफूहरू “अन्तिम धक्का” दिने तयारीमा रहेको बताइरहेका छन्।
त्यसका लागि उक्त अजेन्डामा सहमत देखिएका सबै दल तथा समूहहरूबीच सहकार्य गर्ने तयारी पनि गरिरहेको उनीहरूले बताएका छन्।
अर्कोतर्फ गणतन्त्र पक्षधर दल तथा विश्लेषकहरूले राजसंस्था पुनर्स्थापना हुने कुनै सम्भावना नरहेको बताउँदै आएका छन्। –बीबीसी नेपाली