ॐ शान्ति मन्त्र किन तिन पटक उच्चारण गरिन्छ ?

द एभरेष्ट पोष्ट
२२ फागुन २०८१ ०:५८
ॐ शान्ति मन्त्र किन तिन पटक उच्चारण गरिन्छ ?

-प्रेम राज अवस्थी 

विभिन्न अनुष्ठान, शुभ कार्य, ग्रहशान्ति, तथा मठ-मन्दिरहरूमा जपिने र सुनिने शान्ति मन्त्र:

“ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति: पृथ्वी शान्तिराप: शान्तिरोषधय: शान्ति:।
वनस्पतये: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति: सर्वँ शान्ति: शान्तिरेव शान्ति: सा मा शान्तिरेधि ॥
ॐ शान्ति: शान्ति: शान्ति: ॥”

यस मन्त्रको अर्थ हो— आकाश र अन्तरिक्षमा शान्ति छाओस्, पृथ्वी, जल, वनस्पति, देवगण, तथा सम्पूर्ण ब्रह्माण्डमा शान्ति फैलियोस्। परमपिता ब्रह्मामा शान्ति रहोस्, सर्वत्र शान्ति मात्र व्याप्त होस्। यस मन्त्रको उच्चारणले सकारात्मक ऊर्जा उत्पन्न गराउँछ र अशान्त मनलाई शान्त तुल्याउँछ।

विशेष गरी, “ॐ शान्तिः शान्तिः शान्तिः” भन्ने वाक्यांश अत्यन्तै शान्तिदायी मानिन्छ, जसले वातावरणलाई समेत शान्त बनाएको आभास दिन्छ। तर किन तिनपटक “शान्ति:” जपिन्छ? यसको कारण के हुन सक्छ?

वैदिक मान्यता अनुसार, शान्ति मन्त्रले तीन प्रकारको शान्तिको आह्वान गर्छ: १) मनको शान्ति— चञ्चल मनलाई स्थिर र शान्त राख्ने उद्देश्यले। २) वाणीको शान्ति— बोल्दा अनावश्यक भावनात्मक उत्तेजनाबाट मुक्त भई तर्कसङ्गत बन्न। ३ ) शरीरको शान्ति— शारीरिक सन्तुलन र स्थिरता कायम राख्न।

अर्को व्याख्याअनुसार, त्रिपक्षीय शान्ति भनेको आत्माभित्रको शान्ति, समाजको शान्ति, र सम्पूर्ण ब्रह्माण्डको शान्ति हो। शान्ति मन्त्रहरूको अर्को विशेषता समावेशी कामना हो। यी मन्त्रहरू केवल उपनिषद् अध्ययन वा पूजाआजा गर्दा मात्र जप्नुपर्ने होइन। जब हामी तनावग्रस्त हुन्छौँ, रिसाएका छौँ, पारिवारिक विवादमा छौँ, वा अत्यन्तै आनन्दित महसुस गरिरहेका छौँ, शान्ति मन्त्र जपेर आत्मिक शान्ति प्राप्त गर्न सक्छौँ।

विभिन्न वेदहरूमा शान्ति मन्त्रहरु उल्लेख छन्।  

ऋग्वेद उपनिषद्— “ॐ वाङ् मे मनसि प्रतिष्ठिता मनो मे वाचि प्रतिष्ठितम्…ॐ शान्तिः शान्तिः शान्तिः॥”
यस मन्त्रले मन र वाणीको एकता तथा मनको स्थिरताको कामना गर्दछ।

सामवेद उपनिषद्— “ॐ आप्यायन्तु ममाङ्गानि वाक्प्राणश्चक्षुः श्रोत्रमथो बलमिन्द्रियाणि च सर्वाणि…ॐ शान्तिः शान्तिः शान्तिः॥”
यस मन्त्रले इन्द्रियहरूको पूर्ण विकास र ब्रह्मप्रति अविचल श्रद्धाको प्रार्थना गर्दछ।

यजुर्वेद उपनिषद्—“ॐ पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्णमुदच्यते…ॐ शान्तिः शान्तिः शान्तिः॥”
यस मन्त्रले ब्रह्माण्डीय पूर्णताको अवधारणामा आधारित रहेको छ।

कृष्ण यजुर्वेद उपनिषद्—“ॐ सह नाववतु। सह नौ भुनक्तु। सह वीर्यं करवावहै…ॐ शान्तिः शान्तिः शान्तिः॥”
यस मन्त्रले सहअस्तित्व, सहयोग, र पारस्परिक सम्मानको सन्देश दिन्छ।

अथर्ववेद उपनिषद्—“ॐ भद्रं कर्णेभिः श्रृणुयाम देवाः…ॐ शान्तिः शान्तिः शान्तिः॥”
यस मन्त्रले सकारात्मक ऊर्जा, कर्तव्यपरायणता, र कृतज्ञता अभिव्यक्त गर्दछ।

शान्ति मन्त्रहरूको जपले मानसिक, शारीरिक, भावनात्मक, र आध्यात्मिक ऊर्जा सन्तुलित राख्न मद्दत गर्दछ। तन, मन, र आत्मा शान्त नभएसम्म कुनै पनि कार्यमा सफलता सम्भव छैन। यी मन्त्रहरूले हाम्रो चेतनालाई उन्नत बनाउने मात्र होइन, समग्र वातावरणमा पनि शान्तिको सञ्चार गर्दछ। यदि हामीले यथार्थ रूपमा यी भाबनालाई  आत्मसात् गर्न सक्यौँ भने, साँचो अर्थमा संसारमा “ॐ शान्तिः शान्तिः शान्तिः” व्याप्त हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस