प्रदेश गौरवका आयोजनाको काम सुस्त

द एभरेष्ट पोष्ट
२१ फागुन २०८१ १२:४७
प्रदेश गौरवका आयोजनाको काम सुस्त

धनगढी । सुदूरपश्चिम प्रदेश गौरवका आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको छ । सरकारले छ वर्षदेखि कार्यान्वयन गरिरहेको सडकको काम आशातीत रूपमा अगाडि बढ्न सकेको छैन । पर्याप्त बजेट विनियोजन नहुनु र निर्माण कम्पनीले पनि तदारुकताका साथ काम नगर्दा आशातीत प्रगति नभएको बताइएको हो ।

विसं २०७५ चैत ११ मा प्रदेश सरकारले नौ वटै जिल्लामा एकरएक वटा प्रदेश गौरवको सडक बनाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार आर्थिक वर्ष २०७६र७७ बाट प्रदेश गौरवका सडक निर्माणको काम भइरहेको छ ।

छ वर्षमा करिब २७ किलोमिटर मात्रै सडक कालोपत्रे भएको प्रदेश सरकारको वार्षिक मूल्याङ्कन प्रतिवेदन २०८०र८१ मा उल्लेख छ । नौ वटै जिल्लामा गरी कुल ९४८ किलोमिटर रहेको प्रदेश गौरवको सडकमध्ये १६८ किलोमिटर सडक क्षेत्र ठेक्का लगाइएको थियो । ठेक्का लगाइएकै क्षेत्रमा तदारुकताका साथ काम हुन सकेको छैन भने अझै पनि धेरै खण्डको ठेक्का लाग्नै बाँकी छ । यस्तै ४२९ किलोमिटर सडकको डिपिआर गरिएको छ ।

कुल सडकमध्ये ३५५ किलोमिटर कालोपत्रे गर्न, ४२० किलोमिटर स्तरोन्नति र ८७ किलोमिटरमा ट्र्याक खोल्न बाँकी रहेको छ । प्रतिवेदन अनुसार प्रदेश गौरवको सडकमा हालसम्म ८४ करोड १७ लाख रुपियाँ खर्च भइसकेको छ । नौ वटै सडक निर्माणका लागि कुल ३७ अर्ब १२ करोड ७४ लाख रुपियाँ लागत अनुमान गरिएको थियो ।

कैलालीमा ६० किलोमिटर रहेको भजनी छोटी भन्सार–खिमडी ठुलीगाड सडकको पाँच किलोमिटर ठेक्का लगाएर काम अगाडि बढाइएको थियो । तीन किलोमिटर कालोपत्रे गरिएको र दुई किलोमिटरमा सडक स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार कैलालीमा ३४।८ किलोमिटर मात्रै डिपिआर भएको छ ।

यसै गरी कञ्चनपुरमा ४७ किलोमिटर रहेको बेलौरी–कलुवापुर–नाइल–बुडर सडकमा नौ किलोमिटर कालोपत्रेका लागि ठेक्का लगाइएको छ । २१ किलोमिटर पहिलेदेखि नै कालोपत्रे थियो । १२ किलोमिटरमा कच्ची सडक छ । यो सडक छिटो निर्माण गर्न दबाब दिनका लागि कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन साउदले सडकमै वडा कार्यालय सञ्चालन गरेर जनतालाई सेवा दिइरहका छन्।

बाजुरामा ६५ किलोमिटर रहेको खप्तड–मार्तडी सडकको २० किलोमिटर कालोपत्रे र ३० किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाएर काम भइरहेको छ । अछाममा २०३ किलोमिटरको चिसापानी–ऋषिदह–बडीमालिका सडकको ३५ किलोमिटर ठेक्का लगाइएको छ ।

हालसम्म २३ किलोमिटर स्तरोन्नतिको काम भएको छ । यसै गरी बैतडीमा ९० किलोमिटरको सतबाज–श्रीभावर–हाट–दार्चुला सडकको छ किलोमिटर कालोपत्रे भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै १७ किलोमिटरमा स्तरोन्नतिको कार्य भइरहेको छ । डडेलधुरामा ११५ किलोमिटर रहेको दैजी–पोखरा–ढुङ्गाड–बझाङ सडकको ७५ किलोमिटर ठेक्का लगाइएको र ४० प्रतिशत प्रगति भएको जनाइएको छ ।

डोटीमा १८० किलोमिटर रहेको सहजपुर–बोगटान–दिपायल सडकको २७ किलोमिटर ठेक्का भएको छ । काम अझै जारी रहेको जनाइएको छ । यसै गरी बझाङमा ९५ किलोमिटर रहेको पातीहाल्न–तल्कोट–सैपाल–हुम्ला सडकको १४ किलोमिटर स्तरोन्नति गरिएको छ । थप १० किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाइएको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस