सुदूरपश्चिम खेलाडी समाजद्धारा खेलाडीहरु सम्मानित

काठमाण्डौं, २१ फागुन ।
सुदूरपश्चिम खेलाडी समाजले सोमबार काठमाण्डौंमा खेलाडीहरुलाई सम्मान गरेको छ ।
२०६५ सालमा हाल नेपाल कराते महासंघका केन्द्रीय सदस्य रहेका अन्तर्राष्ट्रिय कराते खेलाडी गजेन्द्र साँउदको अध्यक्षतामा स्थापित सुदूरपश्चिम खेलाडी समाजले दशरथ रंगशालामा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका “चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता” मा पदक प्राप्त गर्ने खेलाडीहरु र सुदूरपश्चिम प्रदेशबाट खेलकुदमा विशिष्ट स्थान प्राप्त गरेका वा योगदान दिएका खेलकर्मीलाई सम्मान गरेको हो ।
प्रमुख अतिथि नेपाल सरकारका पुर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, विशिष्ट अतिथि नेपाल ओलम्पीक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङले खेलाडीहरुलाई सम्मान गरे ।
कार्यक्रममा हालै राष्ट्रिय खेलकुद परिषदमा नियुक्त हुनुभएका कार्यकारी बोर्ड सदस्य भान बहादुर चन्द र बोर्ड सदस्य जगत सिंह धामी र कैलाली जिल्ला कराते संघका संस्थापक अध्यक्ष कर्ण बहादुर चन्दलाई सम्मानित गरिएको थियो ।
सम्मानित हुने पदक बिजेता खेलाडीहरुमा स्वर्णपदक बिजेता जगत सिंह धानुक र मोहम्मद शेखु आलम, रजत पदक बिजेता सोनिया तिरुवा र योगेश सिंह बिष्ट, रजत पदक बिजेताहरु वर्षा साउँद, गरिमा मल्ल, खडक थामी मगर, शिबु ओड, सुरेश जप्रेल क्षेत्री, सुनिता सुनार, राम बि।सी। र करुणा बडुवाल छन् ।
कार्यक्रममा प्रमुख अतिथि लेखराज भट्टलाई सितोरियो करातेको मानार्थ तेस्रो डान उपाधी प्रदान गरिएको थियो ।
नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले सो उपाधि हस्तान्तरण गरेका थिए ।
संस्थाका संस्थापक सल्लाहकार एवं सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष गजेन्द्र साँउद, नेपाल सितोरियो कराते संघका केन्द्रीय सचिव प्रेमलाल बम्जन, सुदूरपश्चिम प्रदेश कराते महासंघका उपाध्यक्ष डिल्लीराज सुबेदी, लाइसेन्स प्राप्त कराते प्रशिक्षक ओमप्रकाश पन्त, कराते प्रशिक्षक दिपक चन्द लगायत सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुको उपस्थिति रहेको थियो ।