हिमपहिरोमा पुरिएका ५५ मध्ये ४९ जनाको उद्धार, छ जना अझै बेपत्ता

एजेन्सी : उत्तराखण्डको चमोलीमा हिमपहिरोमा पुरिएका ५५ जनामध्ये ४९ जनाको उद्धार गरिएको छ।
हिजो राति ८ बजेसम्म ३३ जनाको उद्धार गरिएकोमा आज थप १६ जनालाई बाहिर निकालिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पुरिएकामध्ये छ जनाको खोजी कार्य जारी छ। दुई जना कामदारको मृत्युको खबर आए पनि आधिकारिक पुष्टि हुन नसकेको समाचारमा उल्लेख छ।
उद्धारमा सेना, आईटीबीपी, बीआरओ, एसडीआरएफ र एनडीआरएफका २०० भन्दा बढी सैनिकहरू संलग्न छन्। यो घटना बद्रीनाथबाट ३ किलोमिटर टाढा चमोलीको माना गाउँमा भएको हो।
उद्धार गरिकामध्ये २५ जना कामदारलाई मानाबाट जोशीमठ सैनिक अस्पतालमा ल्याइएको छ र बाँकीको उद्धार कार्य जारी छ।
प्रधानमन्त्री मोदीले उत्तराखण्डका मुख्यमन्त्री धामीबाट उद्धार कार्यको बारेमा जानकारी लिएका छन्। धामीले पनि आज बिहान घटनास्थलको भ्रमण गरेका थिए।
बिहार, उत्तर प्रदेश र उत्तराखण्डका ११-११ जना कामदार
हिमपहिरोमा फसेका ५५ जना कामदारमा बिहारका ११, उत्तर प्रदेशका ११, उत्तराखण्डका ११, हिमाचल प्रदेशका ७, जम्मू कश्मीरका १ र पञ्जाबका १ जना छन्।
उत्तराखण्ड सरकारले जारी गरेको सूचीमा १३ जना मजदुरको नाम छ, तर उनीहरूको ठेगाना भने उल्लेख छैन।
शुक्रबार उद्धार गरिएका सबै कामदारहरूलाई माना गाउँमा रहेको आईटीबीपी क्याम्पमा ल्याइएको छ। त्यहाँ उनीहरूको उपचार जारी छ। चार जनाको अवस्था गम्भीर छ।