शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई एनआरएनएको सचिवालय प्रयोग गर्न दिन सर्वोच्चको निर्देशन (पत्र सहित)

काठमाडौँ – सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार काठमाडौँस्थित संघको सचिवालयलाई एक पत्र पठाउँदै सर्वोच्चको फैसला बमोजिम गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई नै बालुवाटारस्थित एनआरएनएको सचिवालय प्रयोग गर्न दिन निर्देशन दिएको छ।

सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन गर्न सचेत गराउंदै अदालतले एनआरएनए सचिवालयलाई दोश्रो पत्र पठाएको हो ।

निर्देशनालयले उच्चस्तरीय समितिको बैठकमा उपस्थित नहुने सदस्यहरुलाई उपस्थित गराउनका साथै एमआइएस सिस्टम, कागजात, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामग्री, दस्तावेजहरु लगायत पुरै कार्यालय उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्नको लागि निर्देशन दिएको छ । सात दिनभित्र फैसला कार्यान्वयन निर्देशनालयको पत्र बमोजिम कार्यान्वयन नगरेमा अदालतको अवज्ञा गरेको र कार्यपालना समेत नगरेको भनि प्रतिवेदन सम्मानित अदालतमा पेश गरिने व्यहोरा पत्रमा खुलाईएको छ ।

फैसला कार्यान्वयन निर्देशनालयले अदालतको फैसला बमोजिम सहजीकरण गर्नको लागि परराष्ट्र मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका अधिकृतलाई समेत उच्चस्तरिय समितिको बैठकमा सहजिकरण गरि उपस्थिति जनाउन छुट्टै पत्र पठाई निर्देशन दिएको छ ।

पत्रमा सम्मानित सर्वोच्च अदालतको आदेश र फैसलाहरुको अपव्याख्या नगर्न चेतावनी पनि दिइएको छ।

सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले २०८० चैत २१ गते परमादेश जारी गर्दै एनआरएनएलाई एकताको महाधिवेशन गर्न आदेश दिएको थियो । सो आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिका संयोजक शेष घलेको नेतृत्वमा गत मंसिर ४ गते बसेको उच्चस्तरीय समितिको पहिलो बैठकले आगामी मे ३-५ तारिखमा काठमाडौँमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ। तर सर्वोच्चको गत साउन २२ गतेको अर्को फैसलाले आफुहरुलाई काम गर्न बाटो खुला गरि दिएको दावी गर्दै बद्री केसी समूहले आउँदो अक्टोबर महिनामा छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ।

उच्चस्तरीय समितिकी सदस्य रबिना थापाले सर्वोच्चको पछिल्लो पत्र पछि अब कुनै भ्रममा नपर्न र संघको आगामी मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता सम्मेलनमा भाग लिन सबै एनआरएनहरुलाई आग्रह गरिन्। उनले अर्को पक्षलाई पनि हठ त्यागी अदालतको फैसलाको सम्मान गर्न र एकताको लागि सहकार्य गर्न अपिल गरिन्। उनले सदस्यता वितरण गरी निर्वाचनको काम सुरु गर्न सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई आग्रह पनि गरिन्।

यसैगरी एनआरएन अभियन्ता आर के शर्माले सर्वोच्च अदालतको परमादेश मान्नुबाहेक अर्को विकल्प नरहेको भन्दै सबैको भावनाअनुसार आउँदो मे महिनामा एकताको महाधिवेशनमा भाग लिन आग्रह गरेका छन्। उनले विश्वभरका ८० लाख गैरआवासीय नेपालीको बलमा एनआरएनए अभियानमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको भन्दै नागरिकताको कार्यान्वयनसिहतका थप विषयमा उपलब्धि हासिल गर्नका लागि एकताबाहेक अर्को विकल्प नरहेको पनि जनाएका छन् ।

संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, कुमार पन्त, भवन भट्ट, बद्री केसी, कुल आचार्य समेत सदस्य रहेको उच्चस्तरीय समितिको अहिले सम्म १० ओटा बैठक बसी सकेका छन्। तर बद्री केसी भने कुनै पनि बैठकमा सहभागी भएका छैनन्।

हेर्नोस् फैसला कार्यान्वयन निर्देशनालयको पत्र:

पहिलाे हाफमा नेपाल र म्यानमारबीच २–२ गाेलकाे बराबरी

काठमाण्डाै :  चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपाल र म्यानमारबीचकाे खेलकाे पहिलाे हाफ सकिँदा २–२ गाेलकाे बराबरी भएकाे छ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भइरहेकाे खेलमा म्यानमारले खेलकाे छैटाैं मिनेटमै अग्रता लियाे । तर खेलको ११औं मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । फेरि १७औं मिनेटमा म्यानमारले अग्रता लियाे । तर खेलकाे ४१औं मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै खेल २–२ काे बराबरीमा ल्याइन् ।

नेपाल र म्यानमार दुवै टाेली फाइनलमा पुगिसकेका छन् । यो खेलले लिग चरणको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । नेपाल र म्यानमार एक खेलअघि नै उपाधि नजिकै पुगेका हुन् । दुवै टाेली अपराजित छन् ।

प्रतियाेगितामा आज भएकाे पहिलाे खेलमा किर्गिस्तानलाई हराउँदै लेबनानले सान्त्वना जीत हात पारेको छ । किर्गिस्तान ३ वटै खेलमा पराजित भयो । दुवै टोली लिग चरणबाट बाहिरिइसकेका छन् ।

नेपाल र म्यानमारबीच अहिलेसम्म ४ पटक भेट भएको छ जसमा नेपाल ३ खेलमा पराजित हुँदा १ खेल बराबरीसमा सकिएको छ । नेपाल र म्यानमारबीचको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

 

ट्रम्पको अभिव्यक्तिप्रति बास्कोटाको टिप्पणी : हेप्नुको पनि सीमा हुन्छ

काठमाडौँ। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा उनले यूएसएडमार्फत भएको खर्चलाई ‘फ्रड’ भनिँदा नेपालको छविमाथि गहिरो चोट लागेको बताए ।

‘हेप्नुको पनि सीमा हुन्छ सभामुख महोदय । अमेरिकाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आयो –आफ्ना एजेन्सी, दूतावस, एजेन्सीमार्फत । हामीले त्यसलाई स्वीकार गर्‍यौं’, उनले भने, ‘तर, आज हामी फ्रड बनेका छौँ, बनाइएका छौँ। उल्टो प्रहार हामीमाथि सुरु भएको छ, जसले नेपालको राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमाथि आँच लागेको छ । गहिरो चोट लागेको छ ।’

राष्ट्रिय भावनामा चोट पुर्‍याएको उनको भनाइ छ । ‘सहयोग दिनुभयो, हामीले लियौँ । त्यसको मनिटरिङ कसले गर्न पाउनु पथ्र्यो, किन भएन ? जसले सहयोग दियो, उहाँहरूको पनि जनताको करको पैसा आएको होला । त्यो फ्रड हामीले गरेको हो कि फ्रड स्वीकृत गर्ने काम उहाँहरूले गरेको ?’, बास्कोटाको प्रश्न छ ।

अब सहयोगको सीमा स्पष्ट पारिनुपर्नेमा उनले जोड दिए । ‘हामी कुन सहयोग लिन्छौँ, कुन लिँदैनौँ दृढतापूर्वक भन्नु पर्दछ । ती सहयोगले परिणाममा के फरक पार्छ भन्ने कुरा आउनुपर्‍यो । जे पायो त्यही स्वीकार गर्ने कुरा हुँदैन’, उनले भने ।

अछाममा १२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, ३३ हप्ताको गर्भ

धनगढी : अछाम घर भएकी बालिका भारतमा आफन्तबाटै बलात्कृत भएकी छिन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बलात्कारमा संलग्न करिब ४५ वर्षीय पुरुष निकटका आफन्त नै रहेको प्रहरीको दाबी छ। ती आरोपित आफन्तको नाममा उजुरी परेपछि घटना बाहिर आएको हो ।

प्रारम्भिक रूपमा बालिकामाथि करिब ७ महिना पहिले बलात्कार भएको अनुमान गरिएको छ । ‘बुवा आमासहित बालिका भारतमै थिइन् । भारतमै एक नेपाली पुरुषले बालिकालाई बलात्कार गरेको उजुरी परेको छ’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले भने, ‘जबरजस्ती करणीमा मुद्दा परेको छ । हामी त्यही अनुसार अनुसन्धान गरिरहेका छौँ ।’

बालिकाको पेट बढ्दै गएपछि मात्रै घटनाबारे थाहा भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । बालिकाले आफूमाथि पटक पटक बलात्कार गरिएको बताएको प्रहरीको भनाइ छ ।

अहिले बालिकाको गर्भमा करिब ३३ हप्ता भन्दा बढीको बच्चा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । बालिकामाथि बलात्कार भएको घटना पनि बलात्कार भएको करिब ५–६ महिना पछि थाहा भएको थियो ।

आरोपित पुरुषको खोजी गर्न प्रहरीले पहल सुरु गरेको छ । नेपाल बाहिरको घटना भएको र आरोपित पनि भारतमै रहेको हुँदा उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग अछाम प्रहरीले सहकार्य गरिरहेको छ ।

प्रहरी हेडक्वार्टरले भारतीय दूतावाससँग समन्वय गरेर इन्टरपोलमार्फत पनि आरोपितलाई पक्राउ गर्ने तयारी थालेको जनाएको छ ।

मस्कले अमेरिकाका सरकारी कर्मचारीलाई भने- ‘उपलब्धिको सूची बनाऊ वा राजीनामा देऊ’

वाशिङ्टन डीसी : अमेरिकाका सरकारी कर्मचारीहरूले शनिवार दिउँसो प्राप्त गरेको एउटा इमेलमा उनीहरूलाई गत साताका उपलब्धिहरू सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको थियो।

यो डोनल्ड ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीहरूलाई लक्षित गरी चालेको पछिल्लो कदम हो।

ट्रम्पका विश्वासपात्र अर्बपति इलोन मस्कले “गत साता उनीहरूले के गरे भन्ने बुझ्नका लागि” कर्मचारीहरूले चाँडै इमेल प्राप्त गर्ने जनाउँदै ट्वीट गरेपछि कर्मचारीले त्यस्तो इमेल पाएका थिए।

उनले लेखेका थिए, “उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइनेछ।”

कसले पठायो इमेल?

मस्कले सरकारी खर्च कटौतीका लागि आक्रामक रूपमा कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयासको नेतृत्व गर्दै आएका छन्।

ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीप्याक) मा बोलेको केही समयपछि उक्त इमेल कर्मचारीहरूको इनबक्समा प्राप्त भएको थियो।

त्यसको विषयमा “तपाईंले गत साता के गर्नुभयो?” भनेर लेखिएको थियो।

इमेल पठाउनेमा एचआर अर्थात् जनशक्ति व्यवस्थापन गर्ने निकाय उल्लेख गरिएको छ।

ट्रम्प प्रशासनको कदमविरुद्ध कर्मचारीले गरेको प्रदर्शन

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,ट्रम्प प्रशासनको कदमविरुद्ध कर्मचारीले प्रदर्शन पनि गरेका थिए

इमेलमा के छ?

बीबीसीले प्राप्त गरेको इमेलको प्रतिलिपिमा कर्मचारीहरूलाई सोमबार मध्यरातअघि गोप्य जानकारीको खुलासा नगरी पाँच वटा बुँदामा गत साता कर्मचारीहरूले गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको छ।

यद्यपि उक्त इमेलमा जबाफ दिन असफल भएमा त्यसलाई राजीनामा मानिने छ वा छैन भनेर उल्लेख गरिएको छैन।

अमेरिकी सङ्घीय सरकारको जनशक्ति व्यवस्थापन गर्ने निकायले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएससँग ती इमेलहरू सक्कली भएको पुष्टि गरेको छ।

उक्त निकायले “दक्ष र जवाफदेही सङ्घीय जनशक्तिप्रति ट्रम्प प्रशासनको प्रतिबद्धतालाई अघि बढाउने हिस्साका रूपमा” कर्मचारीहरूले उनीहरूका प्रबन्धकलाई पनि “सीसीमा राख्दै” इमेल गरेर गत साता उनीहरूले गरेका कामको विवरण मागिएको जनाएको छ।

यसमा आगामी कदम के हुन्छ भन्ने निर्णय ट्रम्प प्रशासनका निकायहरूले निर्धारण गर्ने पनि स्पष्ट पारेको छ।

कर्मचारी युनियन के भन्छ?

कर्मचारीको प्रदर्शन

तस्बिर स्रोत,EPA

सङ्घीय कर्मचारीहरूको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो कर्मचारी युनियनले उक्त कदमलाई “क्रूर र अनादरपूर्ण” भनेर आलोचना गरेको छ।

उसले सङ्घीय सेवाका कर्मचारीहरूलाई कुनै पनि तरिकाले “गैरकानुनी रूपमा हटाउने” कार्यलाई कानुनी चुनौती दिने वाचा पनि गरेको छ।

उक्त युनियनका अध्यक्ष एभरेट केलीले एउटा विज्ञप्तिमा भनेका छन्, “एकपटक फेरि इलोन मस्क र ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीहरू र उनीहरूले अमेरिकी जनतालाई प्रदान गर्ने महत्वपूर्ण सेवालाई घोर अपहेलना गरेका छन्।”

उक्त इमेल पठाइएको अघिल्लो दिन ट्रम्पले सीप्याकमा आफ्ना समर्थकहरूको भिडलाई कटौती गर्ने बताएका थिए र उनले सङ्घीय कर्मचारीहरूले गर्नुपर्ने जति काम नगरेको आरोप लगाएका थिए।

उनले कम्तीमा केही समयका लागि केही कर्मचारीहरूले कार्यालयमा उपस्थित नभइ काम गर्ने गरेको बताएका थिए।

ट्रम्पले के भने?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

“हामी सङ्घीय जनशक्तिमा रहेका सबै अनावश्यक, अयोग्य र भ्रष्ट कर्मचारीहरूलाई हटाइरहेका छौँ,” राष्ट्रपति ट्रम्पले शनिवार दिउँसो वाशिङ्टनको एउटा कार्यक्रममा भने।

“हामी सरकारलाई छरितो र प्रभावकारी बनाउन चाहन्छौँ। हामी सबै भन्दा राम्रा मान्छे राख्न चाहन्छौँ र हामी सबै भन्दा खराब मान्छेलाई राख्न गइरहेका छैनौँ।”

द डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी (डीओजीई) आधिकारिक सरकारी निकाय होइन। तर मस्कको टोलीले ह्वाइट हाउसको स्वीकृतिमा अमेरिकी सङ्घीय पूर्वाधारहरूमा व्यापक परिवर्तनहरू गरिरहेको छ।

आन्तरिक राजस्व सेवा, पेन्टागन र सङ्घीय उड्डयन प्रशासनलगायतका अन्य कैयौँ निकायहरूबाट हालैका साताहरूमा हजारौँ सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ।

पछिल्लो इमेलले मस्कले सन् २०२२ मा सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर किनेपछि कर्मचारीहरूलाई गरेको व्यवहार प्रतिबिम्बित गरेको छ।

आफूले ट्विटर किनेपछि उनले कर्मचारीहरूलाई चेतावनीहरू दिएका थिए र राजीनामा गर्न बाध्य बनाएका थिए।

ट्रम्पले बारम्बार मस्कले अपनाएको सरकारी क्षेत्रमा गरिने कटौतीका उपायहरूको प्रशंसा गरेका छन्।

 

अमेरिकामा अस्पतालको आईसीयूमा गोलीचल्दा प्रहरीसहित २ जनाको मृत्यु

वासिङटन डिसी : अमेरिकी शहर पेन्सिलभेनियाको यूपीएम्सी मेमोरियल अस्पतालको आईसीयूमा शनिबार बिहान गोलीबारीमा एक प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ भने ३ जना स्वास्थ्यकर्मीसहित ५ जना घाइते भएका छन्।

एक व्यक्तिले अस्पतालको आईसीयूमा प्रवेश गरेर गोली चलाएको छ। आक्रमणकारी ह्यान्डगन र झोला लिएर  अस्पतालमा प्रवेश गरेका थिए।आक्रमणकारी सिधै आईसीयूमा गएर गोली चलाएका थिए। गोली लागेर एक डाक्टर र एक नर्ससहित तीन कर्मचारी घाइते भएका छन्।

घटनालगत्तै आक्रमणकारीलाई पछि प्रहरीले गोली हानेर मारेको थियो। यस क्रममा एक प्रहरीको पनि मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

दक्षिण कोरियाबाट दुई नेपाली निष्कासन

काठमाडौं । दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका दुई नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ । कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काएको हो ।

गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका दुई जनालाई यसै साता काठमाडौं फर्काइएको थियो ।

यसअघि दक्षिण कोरियाले चार जनालाई निष्कासन गरेको थियो । उनीहरू अघिल्लो साता निष्कासनमा परेका थिए ।  पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ ।

भारतबाट १४ महिला-बालिकाको उद्दार

धनगढी,१० फागुन। माइती नेपाल कन्चनपुरले एक वर्षको अवधिमा १४ महिला तथा बालबालिकाहरुको भारतबाट उद्दार गरेको छ । संस्थाले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२४ मा भएको कामकारबाही बारे जानकारी गराएको छ ।

एक वर्षको अवधीमा माइती नेपाल कन्चनपुरले भारतबाट १४ जनालाई बेचबिखन हुनबाट बचाएको संस्थाका संयोजक महेश्वरी भट्टले जानकारी दिइन । माइती नेपालले १४ जनामा कंचनपुरका ६ जनाको उद्दार गरिएको जनाएको छ ।

जसमा खटिमा, हरियाणा, शाहजहापुर, राजिस्थान, मुम्बई , पिथौरागढ सहित भारतका स्थानबाट योनजन्य कार्यमा बन्धक बनाइएका बालबालिका तथा महिलाको उद्दार गरिएको माइती नेपाल कन्चनपुरकी संयोजक भट्टले बताइन् ।

यस्तै , भारतको सुरत बाट सिराहाका, दिल्लीबाट धनुषाका , पुनाबाट काभ्रेपलान्चोक र तनहुँका , देहरादुन बाट बझाङ र कपिलवस्तुका एक( एक महिला तथा बालिकाको उद्दार गरि परिवारको जिम्मा लगाइएको संयोजक भट्टले बताइन् ।

माइती नेपाल कन्चनपुरले उक्त वर्ष तीन जना माथि मुद्दा पनि चलाइएको दाबी गरेको छ । कानुनी अडचनका बिच पनि मानव बेचबिखन विरुद्ध एक जना र दुई जना विरुद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता गरिएको जनाइएको छ ।

पीडित महिला बालिकाहरुले समाजमा बस्न समस्या हुने गरेका कारण मुद्दा चलाउन नमान्ने गरेको संयोजक भट्टले बताइन् । उनले जसकारण पनि सन् २०२४ मा तीन जना विरुद्ध मुद्दा चलाइएको बताइन् । सस्थामा घरेलु हिंसा, लैङ्गिक हिंसामा परेका ३० निवेदन मध्ये २१ वटा समाधान गरिएको जनाएको छ ।

यस्तै सस्थाले २ सय ६८ जनालाई सिमानाका बाट निरोध तथा रोकथाम गरेको छ । गड्डाचौकी सिमानाका बाट १२१ जना, चारलेन पुलमा ३८ जना र झोलुङ्गे पुलमा ३७ जना महिला तथा बालिकालाई रोकथाम गरिएको संयोजक भट्टले जानकारी दिइन् ।

यस्तै , सस्थाले २ सय ९६ जना महिला बालबालिकालाई परिवार संग पुनर्मिलन गराएको छ । माइती नेपाल कन्चनपुरका अनुसार, १८ वर्ष मुनिका ११० बालिका र १० बालकलाई नाकाबाटै उद्दार गरि घर फर्काएको जनाएको छ भने, १८(४५ उमेर समुहका १ सय ४३ जना महिलालाई नाकाबाट उद्दार गरि परिवारको जिम्मा लगाएको हो ।

जसमा ३१ ब्राह्मण , ८८ दलित , ७८ क्षत्री, १६ ठकुरी , ३४ जनजाति९थारु० र २१ अन्य जातिका महिला बालबालिकाहरु रहेका छन् । सस्थाले उक्त अवधिमा १ लाख ३८ हजार ५५० जना व्यक्तिहरुलाई परामर्श प्रदान गरेको जनाइएको छ । महिला तथा बालबालिका बेचबिखन रोक्नका लागि सन् २०२४ मा ८ हजार ३ सय ८९ सवारी साधनमा अनुगम गरिएको संस्थाले जनाएको छ ।

महिला तथा बालबालिका बेचबिखन बिरुद्द जनचेतना फैलाउन सिमानाकामा ३७ हजार ९०२ जना र कार्यालयमा २९६ जनालाई सुरक्षीत बसाईसराई बारे परामर्श प्रदान गरेको सस्थाले जनाएको छ ।

प्रकृति लम्साल मृत्य फेला प्रकरण : परराष्ट्रमन्त्री राणाद्वारा मुख्यमन्त्री माझीसँग फोनवार्ता

काठमाण्डु – भारतको ओडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारका विषयमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोन वार्ता गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबूकबाट फोनवार्ताबारे जानकारी दिँदै मन्त्री राणाले दोषीमाथि कारवाही र विद्यार्थीको सुरक्षित पठनपाठनबारे कुराकानी भएको बताइन् ।

‘उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु । नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिशा सरकारले नै पहल गरिदिनका लागि मैले उहाँलाई आग्रह गरें,’ उनले भनिन्, ‘यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूतावास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकाले उहाँहरूको समन्वयका लागि पनि मैले मुख्यमन्त्री श्री माझीसँग आग्रह गरें । उहाँले यस घटनालाई ओडिशा राज्यले नै गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु गरिएको जानकारी मलाई गराउनुभयो ।’

मुख्यमन्त्री माझीले नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिशा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएका बताइएको छ । ‘यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले ओडिशा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्,’ मन्त्री राणाले भनिन् ।

विश्वविद्यालय प्रशासनको दुर्व्यवहारपछि सयौं विद्यार्थी स्वदेश फर्किएका छन् ।

 

२४ घण्टा नबित्दै १० लाख पटक हेरियो ‘होस्टेल ३’ को ट्रेलर

काठमाडौं ।  फिल्म ‘होस्टेल ३’ को ट्रेलर रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ।

शुक्रबार रिलिज ट्रेलर केही घण्टामै युट्युब ट्रेन्डिङमा मुभिज खण्डतर्फ पहिलो नम्बरमा आएको हो। यसलाई रिलिजको २४ घण्टा नबित्दै १० लाखभन्दा बढीपटक हेरिएको छ।

यो ट्रेलर विश्वका विभिन्न १३ देशहरूमा समेत ट्रेन्ड्रिङमा रहन सफल भएको भन्दै निर्माण टिमले खुसी व्यक्त गरेको छ।

सार्वजनिक ट्रेलरमा कलेज तथा होस्टेल जीवनकोे कथा देखाइएको छ।

सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी र समा पराजुली लगायतको शीर्ष अभिनय छ।

त्यस्तै, प्रवीण खतिवडा, उमर खान, दिनेश डिसी, आशिष पुरूष, सुवास गजुरेल, उत्तम केसी लगायतको अभिनय छ।

‘होस्टेल’ फिल्म श्रृङखलाले अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकारहरूलाई स्टारडम दिएको थियो। ‘होस्टेल ३’ थुप्रै कलाकारहरूको डेब्यु रहेको र यो फिल्मले उनीहरूलाई पनि स्थापित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

यो फिल्मको कथा माधव शर्माले लेखेका हुन् भने निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी छन्। सह–निर्मातामा शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। कार्यकारी निर्माता शंकर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन्।

महाकुम्भ मेलाबाट फर्किनेक्रममा गोरखपुरमा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु

काठमाडौँ – भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किनेक्रममा दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । नेपाली तीर्थयात्री सवार स्कर्पियो शुक्रबार राति दुर्घटनामा परेको हो । मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ की लिलावती चौधरी र परसुराम चौधरी साथै सोहि नगरपालिका–५ की हरिहरदेवी रहेकी छन् ।

दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमिल्सिनाले जानकारी दिएका छन् । सप्तरी प्रहरीका अनुसार दुर्घटनामा कञ्चनरुपन नपा ७ का उपेन्द्र नारायण चौधरी, लालोदेवी यादव, वडा नम्बर ५ का जितु यादव, उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइका पपित लाल चौधरी र उनकी श्रीमती बिना देवी चौधरी घाइते छन् ।

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा उक्त दुर्घटना भएको हो । ट्रयाक्टरको पछाडीको ट्रलीमा स्कारपियो ठोक्किएर दुर्घटना भएको हो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ भने घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको दैनिक भास्करले उल्लेख गरेको छ ।

अमेरिकामा पाँच वरिष्ठ सैन्य अधिकारी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल चार्ल्स सीक्यू ब्राउन जुनियरसहित पाँच वरिष्ठ सैन्य अधिकारीलाई पदबाट हटाएका छन्। यो कदमलाई अमेरिकी सैन्य नेतृत्वमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै हटाइएका अधिकारीहरूमा ब्राउनसहित अन्य चार जनाको उल्लेख गरे।

ट्रम्पले लेखे, ‘म जनरल चार्ल्स ‘सीक्यू’ ब्राउनलाई हाम्रो देशका लागि ४० वर्षभन्दा बढीको सेवाको लागि धन्यवाद दिन्छु। उहाँ हाल संयुक्त चिफ अफ स्टाफका अध्यक्ष हुनुहुन्थ्यो। उहाँ एक असल व्यक्ति र उत्कृष्ट नेता हुनुहुन्छ। म उहाँ र उहाँको परिवारको उज्ज्वल भविष्यको कामना गर्छु।’ ब्राउन अमेरिकी इतिहासमा यो पद सम्हाल्ने दोस्रो अश्वेत अधिकारी थिए। यो पदमा रहने व्यक्तिले राष्ट्रपति र रक्षामन्त्रीलाई राष्ट्रिय सुरक्षा मामिलामा सल्लाह दिन्छ।

यसअघि रक्षामन्त्री पिट हेगसेथले ब्राउनलाई हटाउनुपर्ने अडान राखेका थिए। शुक्रबारपछि हेगसेथले नौसेना अपरेशन प्रमुख एडमिरल लिसा फ्रान्चेटी र वायुसेना उपप्रमुख जनरल जिम स्लाइफलाई पनि पदबाट हटाउने घोषणा गरे। एडमिरल फ्रान्चेटी नौसेना नेतृत्व गर्ने पहिलो महिला थिइन् र उनलाई पूर्वराष्ट्रपति जो बाइडेनले नियुक्त गरेका थिए।

ट्रम्पले नयाँ संयुक्त चिफ अफ स्टाफको अध्यक्षमा लेफ्टिनेन्ट जनरल डान राजिन केनलाई मनोनयन गरेका छन्। केनले वायुसेनामा ३४ वर्ष सेवा गरेका थिए। ट्रम्पले भने, ‘जनरल केन एक कुशल पाइलट, राष्ट्रिय सुरक्षा विशेषज्ञ र ‘युद्ध लडाकू’ हुन्। मेरो पहिलो कार्यकालमा उनले आइएसआइएस खलिफाको विनाशमा महत्वपूर्ण भूमिका खेलेका थिए।’

यो निर्णयअघि ब्राउन मेक्सिकोसँगको दक्षिणी सीमामा अमेरिकी सेनाको भ्रमणमा थिए भने फ्रान्चेटी क्यालिफोर्नियातर्फ जाँदै थिइन्। रक्षामन्त्री हेगसेथले फोनमार्फत उनीहरूलाई हटाइएको जानकारी दिए। ट्रम्पले आफ्नो घोषणामा भने, “रक्षामन्त्री पिट हेगसेथसँगै जनरल केन र हाम्रो सेनाले शक्ति मार्फत शान्ति पुनर्स्थापित गर्नेछ र अमेरिकालाई पहिलो स्थानमा राख्नेछ।” यी अचानकका बर्खास्तगीहरूलाई सैन्य नेतृत्वमा अभूतपूर्व कदम मानिएको छ।

शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

कञ्चनपुर,  १० फागुन ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक ९नेचर गाइड० निःशुल्क गरिएको छ ।

शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक ९नेचर गाइड० निःशुल्क गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि १५ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ ।

नगरपालिकाले निकुञ्जमा पर्यटक भित्र्याउन पर्यटन महोत्सव आयोजना गरेको भीमदत्त नगर पर्यटन विकास समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिए । उनले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरेको बताए । “एक सातासम्म चल्ने महोत्सवमा निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क नेचर गाइडको व्यवस्था गरिएको छ ।” उनले भने, “पर्यटकलाई प्रोत्साहनस्वरूप पहिलो एक सय गाडी ९निजी तथा सफारी० निःशुल्क गरिएको छ ।” नेचर गाइड र सफारीको शुल्क शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सहयोग गर्ने व्यवस्था मिलाइएको उजको भनाइ छ ।

प्रकृतिसँग रमाउन पर्यटकका लागि शुक्लाफाँटा आकर्षण गन्तव्य रहेकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । “आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु आवश्यक छ,” होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले भने, “स्थानीयस्तरमा निजी क्षेत्रबाट पहल भए पनि बाह्य पर्यटक भित्र्याउन सरकारले पहल गर्नुपर्छ ।”

विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रूपमा विकास गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा रहेको उनले बताए । शुक्लफाँटा राष्ट्रिय निकुञ्जका पथप्रदर्शक महानन्द जोशीले शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि प्रचारप्रसार नहुँदा पर्यटकको सङ्ख्या न्यून रहेको बताए । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा शुक्लाफाँटाको ठूलो घाँसे मैदान ९फाँट० छ । जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुन्ड देख्न सकिन्छ,” उनले भने, “वन्यजन्तु मात्रै नभई यहाँ दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो ।” उनले निकुञ्जमा ५६ प्रजातिका स्तनधारी जीव, ५६ प्रजातिका घस्रने वन्यजन्तु १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली निकुञ्जभित्र रहेका छन् ।

उनका अनुसार शुक्लाफाँटामा विश्वमै दुर्लभ मानिएको सारस, खर मजुर, सिम तित्रा, राजधनेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार दुई सय बढी बाह्रसिङ्गा छन् । यहाँ घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिङ्गाको झुन्ड देख्न पाउँछन् । त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ४२ वटा पाठेबाघ रहेका छन् ।

“निकुञ्जको विश्वकै सबैभन्दा ठूलो घाँसेमैदान पनि यसको विशेषता हो निकुञ्जको १९ प्रतिशत क्षेत्र घाँसेमैदान छ,” जोशीले भने, “जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तलजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् भने रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् ।” उहाँका अनुसार रैथाने र बसाइँ सरी आउने गरी ४६१ भन्दा बढी चराचुरूङ्गी पाइन्छन् । शुक्लाफाँटाका क्षेउ पिपरियामा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ । आगन्तुकको समयअनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ । एकसाता सञ्चालन हुने महोत्सवमा निकुञ्ज क्षेत्रमा सरसफाइ, निबन्ध प्रतियोगिता र नेपाल–भारतका पर्यटन व्यवसायी र ट्राभल व्यवसायीसँग अन्तक्र्रिया समेत आयोजना गरिएको बताए ।

महाकुम्भमा स्नान गरिरहेका र कपडा फेरिरहेका महिलाका आपत्तिजनक भिडिओ सामाजिक सञ्जालमा बेचिँदै

काठमाडौं । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नुहाइरहेका महिलाहरूको गोपनीयता हनन् गर्ने भिडिओहरू बेचिएको पाइएको छ ।   उत्तर प्रदेश प्रहरीले त्यस्ता भिडिओ बिक्री गरेको भन्दै सोसल मिडिया अकाउन्टहरू विरुद्ध मुद्‍दा दायर गरको हो ।

महाकुम्भमा नुहाइरहेका महिलाहरूको आपत्तिजनक भिडिओ पोस्ट गर्ने र बेच्ने सामाजिक सञ्जाल अकाउन्टहरू विरुद्ध हालसम्म दुई ओटा मुद्दा दर्ता भएका छन्। @neha1224872024 नामक इन्स्टाग्राम अकाउन्ट र  CCTV CHANNEL 11 नामक टेलिग्राम च्यानल विरुद्ध महिला भक्तजनहरूको आपत्तिजनक भिडिओ शेयर गरेको भन्दै मुद्दा दर्ता गरिएको हो ।

कारबाही प्रक्रिया अगाडि बढाइरहेको टेलिग्राम अकाउन्टमा भिडिओहरू बिक्रीका लागि समेत राखिएको छ । जसमा फरक-फरक मूल्यमा ती भिडिओ बिक्री भइरहेको आरोप लागेको छ।

यसअघि महाकुम्भमा महिलाहरू कपडा फेर्दै गर्दा र नुहाउँदा चोरी-छिपी खिचिएका भिडिओहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाइएको विषयमा भारतीय सञ्चार माध्यम इन्डिया टुडेले लेखेको छ ।  टेलिग्राम जस्ता प्लेटफर्महरूमा पूरा भिडिओहरू किन्न प्रयोगकर्ताहरूलाई लोभ्याउन महाकुम्भ मेलामा नुहाइरहेको दृश्यलाई  ‘टिजर’ को रूपमा प्रयोग गरिएको पाइएको थियो।

फेसबुक पेजहरूले यस्ता आपत्तिजनक सामग्री प्रचार गर्न #mahakumbh2025, #gangasnan, र #prayagrajkumbh जस्ता ह्यासट्यागहरू प्रयोग गरिरहेका थिए। साथै, विभिन्न टेलिग्राम च्यानलहरू “Ganga River Open Bathing Group” र “Hidden Bath Videos Group” जस्ता प्राइभेट ग्रुपहरूको पहुँच उपलब्ध गराउँदै थिए।

उत्तर प्रदेश प्रहरी महानिर्देशक (डीजीपी) प्रशान्त कुमारको निर्देशनमा सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रामक र आपत्तिजनक सामग्री फैलाउने व्यक्तिहरूको पहिचान गर्न र उनीहरू विरुद्ध कडा कारबाही गर्ने अभियानलाई तीव्र बनाएको बताइएको छ ।

हाल भारतको प्रयागराजमा हरेक १२ वर्षमा आउने कुम्भ मेला चलिरहेको छ । १४४ वर्षमा आउने महाकुम्भ मेला परेकाले यस पटक करोडौँले प्रयागराजमा पुगेर डुबुल्की मारेका छन् । फेब्रुअरी २६ मा महाकुम्भ मेला सकिँदैछ । हालसम्म ५० करोडभन्दा बढीले महाकुम्भ मेलामा पुगेर डुबुल्की मारिसकेको बताइएको छ । -टेकपानाबाट

त्रिविले सार्वजनिक गर्यो स्ववियु निर्वाचन तालिका (सूचीसहित)

काठमाडौं, ९ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ-संगठन -समूह दर्ता, २ज्ञ गते मतदाता सूची प्रकाशित र २५ गते दिनको १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय छुट्याइएको छ । सोही दिन बेलुका ५ बजेसम्म मतदाता सूचीउपरको दाबी विरोधमा छानविन गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘त्यतिबेला टिकटकलाई किन प्रतिबन्ध लगाएको ? ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन चुनौतीको विषय बनेको बताएका छन् ।

शुक्रवार व्यवसायी ‘राजेशकाजी श्रेष्ठ : व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासको गति अघि बढाउन खोजेको भन्दै न्यायसम्मत कानुन र कानुन सम्मत शासन हुनुपर्ने भन्दै सुशासन चुनौती बनेको बताएका हुन् ।

‘न्याय दिने अनुरूपका कानुन बनाउनुपर्दछ र कानुन बमोजिम सबैले चल्नुपर्दछ’, प्रधानमन्त्रीले भने, ‘कानुनको राज र सुशासन देशमा हुनुपर्छ भनेर हामी मान्छौ ।’ उनले सुशासनबाट मात्र समृद्धिमा पुग्न सकिने र त्यो गम्भीर चुनौतिका रूपमा रहेको बताए । छिटो छरितो कानुन बनाउने काममा सरकार लागेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘केही मान्छेहरूले हिजो आफैले कानुनको मस्यौदा गरेका हुन् । मसँगै बसेर मस्यौदा गरेका हुन् हिजो’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल विधेयकमा हल्ला र चर्का कुरा गरेर उफ्रने माओवादी लगायतका पार्टीहरूले हिजो टिकटकमा प्रतिबन्ध नै लगाएको बताए ।

‘अहिले तिनै हिमायती निस्केका छन् फेरि । जे पनि बोल्न पाउनुपर्छ भनेर उफ्रेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिवेला ?’

उनले जे पनि बोल्ने नभई ठिक कुरा बोल्नुपर्ने भन्दै देशको शान्ति सुरक्षा खलबल्याउने, चिन्दै नचिनेको ठाउँमा मानिस भड्काउने र जथाभावी बोल्ने प्रवृत्ति रहेको बताए । सामाजिक सञ्जाल विधेयकमार्फत बोल्न पाउने अधिकार नमिचिने कानुन बनाउने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफूले स्विजरल्याण्डको बैंकमा पैसा राखेको भनेर अफवाह फैलाएको भन्दै आफूलाई त्यत्रो पैसा नचाहिने बताए । ‘एउटा रोटी र तरकारी खान्छु, मेरो किचेन र बेडरुम खुला हुन्छ, मानिसहरू गइरहेका हुन्छन्, लुकाएको केही छैन’, प्रधानमन्त्रीले भने, ‘जेसुकै बोल्ने, अपमान र अफवाह फैलाउने हाम्रो सभ्यता त्यो होइन । त्यो सभ्यता भत्काउनु हुँदैन ।’

उनले ‘तिमी’ भनेर गर्ने गरेको सम्बोधनप्रति असन्तुष्टि जनाउँदै मर्यादित भाषा प्रयोग गर्नुपर्ने बताए । ‘बाउलाई बोलाउँदा ‘ओ ड्याड कम ह्यर’ जस्तो होइन हाम्रो भाषा । बुबाज्यु यता आउनुहुन्छ कि ! भन्नुपर्छ ।’

अमेरिकाबाट निष्काशित नेपालीसहित तीन सय आप्रवासी पनामामा कैद

काठमाडौं । अमेरिकाले तीन सय गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गरेर पानामामा राखेको छ । यहाँ यी मानिसहरूलाई होटलमा हिरासतमा राखिएको छ । भारत बाहेक यी आप्रवासीहरूमा नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका मानिसहरू छन् ।

यी मानिसहरू आफ्नो देश फर्कन तयार छैनन् । यी मानिसहरू होटलको झ्यालबाट सहयोगको लागि याचना गरिरहेका छन् । केही मानिसहरूले कागजमा ‘हामीलाई मद्दत गर्नुहोस्’ र ‘हामीलाई बचाउनुहोस्’ लेखेर झ्यालबाट देखाइरहेका छन् । अमेरिकाले अवैध आप्रवासीहरूलाई निकाला गरेर उनीहरूको देश पठाउनका लागि पानामा राख्ने गरिरहेको छ। यसका लागि पानामा बाहेक ग्वाटेमाला र कोस्टारिकासँग पनि सम्झौताहरू भएका छन् ।

पनामाको होटल डेकापोलिस, जहाँ संयुक्त राज्य अमेरिकाबाट निर्वासित अवैध आप्रवासीहरूलाई थुनामा राखिएको छ। न्युयोर्क टाइम्सले रिपोर्ट अनुसार आप्रवासीहरूको मोबाइल फोन खोसिएको थियो र होटलमा थुनिएको थियो । यी मानिसहरू आफ्ना वकिलहरूलाई पनि भेट्न सक्दैनन् । एक आप्रवासीले होटलमा आत्महत्या गर्ने प्रयास पनि गरे, जबकि अर्कोले भाग्ने प्रयास गर्दा आफ्नो खुट्टा भाँचे । पानामाका सुरक्षा मन्त्री फ्रान्क अब्रेगोले सुरक्षा कारणले गर्दा आप्रवासीहरूलाई हिरासतमा लिइएको बताएका छन् । उनीहरूलाई आवश्यक पर्ने सबै स्वास्थ्य उपचार र खाना दिइँदैछ ।

 

महाकुम्भ आउने–जाने क्रममा दुर्घटना: १४ जनाको मृत्यु

काठमाडौँ :  दुई दुर्घटनामा मानिसहरू महाकुम्भमा स्नान गरेर फर्किरहेका थिए । एउटामा भने एक परिवार स्नान गर्न गइरहेको थियो ।

महाकुम्भ मेलाबाट बिहारको भोजपुर फर्किरहेको कार ट्रकको पछाडि ठोक्किएको छ । यसमा ६ जनाको मृत्यु भयो । यीमध्ये चार जना एउटै परिवारका थिए ।

वाराणसीको प्रयागराज राजमार्गमा भक्तजनहरू बोकेको कार पार्क गरिएको ट्रकसँग ठोक्किएको थियो ।  यो कारका मानिसहरू महाकुम्भमा स्नान गर्न जाँदै थिए ।

उत्तर प्रदेशको गाजीपुरमा भने महाकुम्भबाट फर्किरहेको कार वाराणसी–गोरखपुर राजमार्गमा पार्क गरिएको ट्रलीसँग ठोक्कियो । यसमा ४ जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्री राणा स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ५८औं नियमित सत्रमा भाग लिनको लागि स्वीट्जरल्याण्ड जाने भएकी छिन् । हालै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राणाको उक्त भ्रमण स्वीकृत गरेको हो ।

मन्त्री राणाले फागुन १२ गतेदेखि फागुन १४ गतेसम्म जेनेभामा आयोजना हुने हाइलेभल सेग्मेन्टमा सहभागिता जनाउनेछिन् । उनी हालै ओमान भ्रमणबाट फर्किएकी हुन् । पछिल्लो समय उनको व्यस्तता बढ्दो छ ।

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले विश्व महिला संजाल (ग्लोबल महिला नेटवर्क) को घोषणा गर्न लागेको छ ।

नेपाली काँग्रेसकी सह -महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को प्रमुख आतिथ्यमा फाउन्डेसनले घोषणा कार्यक्रम आयोजना गर्न लागेको हो । भर्चुएल रुपमा आयोजना गर्न लगिएको घोषणा कार्यक्रममा उपस्थितिका लागि फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले अनुरोध गरेका छन् ।

यस अगाडि अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन भने ग्लोबल नलेज नेटवर्क, ग्लोबल युथ नेटवर्क पनि गठन भैसकेका छन् । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने प्रवासमा रहेका सबै नेपालीहरूलाई संगठित गरी आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको हो । नेपालमा सिंहदरबारको पूर्वी गेट छेउमा संस्थाको सम्पर्क कार्यालय रहेको छ।

कार्यक्रममा जोडिनको लागि जुम लिंक :
जुम आईडि: ९३८ २५२९ ७१०९
कोड: २०२५

समय:
नेपाली समय: फेब्रुअरी २८, २०२५ साँझ ०८:०० बजे
न्युयोर्क समय: फेब्रुअरी २८, २०२५ बिहान ०९:१५ बजे
टेक्सस समय: फेब्रुअरी २८, २०२५ बिहान ०८:१५ बजे
क्यालिफोर्निया समय: फेब्रुअरी २८, २०२५ बिहान ०६:१५ बजे
बेलायत समय: फेब्रुअरी २८, २०२५ दिउसो ०२:१५ बजे

देउवाको भारत भ्रमण अचानक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुष्टि गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा सहभागी हुन जान लागेका थिए ।

दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने समय नपाएपछि उनको भ्रमण रद्द भएको स्रोतले बतायो ।

अजयमेरु कोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न सुझाव

डडेलधुरा । पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं पुरातत्त्वविद् भास्कर ज्ञवालीले ऐतिहासिक तथा प्राचीन अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न आवश्यक रहेको बताएका छन्।

जिल्ला समन्वय समितिको समन्वय र अजयमेरु गाउँपालिकाको आयोजनामा बुधबार कोट क्षेत्रमै आयोजना गरिएको प्रजातन्त्र दिवसका अवसरमा उनले अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरूभन्दा फरक रहेको बताए ।

अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा ९० लाख रुपियाँ विनियोजन गरेपछि उनिसहित पुरातत्त्व विभागको एक टोलीले  अजयमेरुकोट क्षेत्रमा पहिलो पटक उत्खनन र अध्ययन गरिरहेको छ ।

उनका अनुसार यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र नै हो । यहाँ बिचमा मण्डप बनाएर दायाँ बायाँ देवल बनाउने शैली छ । उनले भने, बैठक कक्ष र नाउलाहरु विशिष्ट किसिमका छन् । यो नेपालकै उत्कृष्ट कलाकृतिका रूपमा रहेको छ ।

पुरातत्त्व विभागले यसैको महत्वलाई ध्यानमा राखेर २०६५र०६६ मै यसलाई ‘क’ वर्षको वर्गीकरणमा  सूचीकरण गरेको उनले बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका जति पनि सम्पदा, मनोमेन्टहरु छन्, ती भन्दा यो क्षेत्रका महत्त्वपूर्ण रहेको उनले बताए ।

म परियोजनाको प्रमुख भइसकेपछि २०६५र०६६ देखि २०७०र०७१ सम्म देवल, मण्डलीहरूको पुनः निर्माणको काम अघि बढाएको थिए ,उनले भन्नुभयो, पुनः निर्माण पनि गरेको थिए । पुरातत्त्व विभागको टोलीले राम्रो काम पनि गरेको थियो । तर स्थानीय निर्माण व्यवसायीहरूले काम गर्दा गुणस्तर गतिलो नभएपछि पुरातत्त्व विभागले काम रोकेको हो ।

उहाँका अनुसार अजयमेरुकोट थुप्रै किसिमका १३ औँ, १४ औँ शताब्दीका कोटदेखि लिएर किल्लाको रूपमा रहेको छ । अजयमेरुकोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरू, डबलीहरू, सुरक्षा गर्न बनाइएका टावरहरू, रानी गुफा, कुवाहरू राजदरबारसँग सम्बन्धित थुप्रै संरचनाहरू उत्खनन गरेको स्थानमा रहेको उनले बताए ।

यसैसँग जोडिएको हाट गाउँमा ढुङ्गे देवलहरू, मण्डली र नाउलाहरु रहेका छन् । कोट आफैमा सार्वजनिक स्वामित्वमा रहेको छ । तर हाट गाउँमा रहेका ढुङ्गे देवलहरू, नाउला र मण्डलीहरू नीति स्वामित्वमा रहेका छन् ।

निरय पाल र नागी मल्लको अभिलेख नै पाइएको छ । उनले भने, पहिले नपढिएका केही अभिलेखहरू अहिले हामीले उतार गरेका छौ । यसको क्रस चेक गर्छौ । विषय विज्ञहरूसँग बसेर अध्ययन गर्छौ । यहाँ १३ औँ शताब्दीका संरचनाहरू यत्रतत्र छरिएर रहेका छन् ।

अहिलेसम्म गरिएको उत्खनन र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको उनले बताए । बिचमा गल्ली, एकातिर तीन र अर्कोतिर चार कोठा गरेर भुईँ तलामा सात र माथि जाने ढुङ्गाको सिँढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मुख्य दरबार रहेको हुनसक्ने खुलेको उनले बताए ।

मुख्य दरबार क्षेत्रमा दरबारसँगै एक तले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरी १० वटा ढुङ्गे संरचना भएको भेटिएको उनले बताए ।

एक त यो क्षेत्र विश्व सम्पदा सूचीमा सबैभन्दा पहिलो राख्नु पर्ने क्षेत्रका रूपमा रहेको छ । उनले भने, योभन्दा कमजोर क्षेत्र दैलेखको घुर्तिघाह आजभन्दा झण्डै २६ वर्ष अगाडी १९९६ मा नै विश्व सम्पदा समायोजन सूचीमा परेको छ । यो कुनै पनि हालतमा विश्व सम्पदाको सम्भावित सूचिमा सूचिकृत गर्न योग्य ठाउँ हो । पुरातत्त्व विभागको विश्व सम्पदा शाखाबाट चालु आर्थिक वर्षमा नै यसको अध्यायका लागि साथीहरू आउँदै छन् ।a

बुढीगङ्गाले प्रदेशमै फिर्ता गर्‍यो प्रदेशबाट आएका योजना

बाजुरा । बाजुराको  बुढीगङ्गा नगरपालिकाले ससर्त अनुदानका निर्माण कार्ययोजना फिर्ता पठाएको छ । आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको पाइएको छ । गत पुस २५ गते नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना निर्माण गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको छ ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरू लालबहादुर थापा, प्रकाशबहादुर  शाह, पूर्वप्रदेश प्रमुख देवराज जोशीको गृहपालिकाबाटै योजनाहरू कार्यान्वयन गर्न नसक्दा फिर्ता गरिएका हुन् । बुढीगङ्गा नगरपालिकका प्रमुख रामबहादुर बानियाँले यहाँको विकासमुखी योजना नभएका कारण प्रदेशलाई नै फिर्ता पठाएको बताए ।

उनले भने, “बुढीगङ्गामा सडक पूर्वाधार, शिक्षा, खानेपानी, स्वास्थ्य, सञ्चारको आवश्यकता हो तर प्रदेश सरकारले आवश्यकताबेगर योजनाहरू छनोट गरेको छ, कार्यकर्ता पोस्ने र व्यक्तिपिच्छे योजना दिएको हुँदा प्रदेश सरकारलाई नै योजना फिर्ता गरिएको हो ।”

उनका अनुसार बुढीगङ्गा नगरपालिकाले १० लाख रुपियाँभन्दामाथिका निर्माण योजना ठेक्कामार्फत निर्माण गर्ने पालिकाको नीति छ तर यसमा उपभोक्ताले ठेक्का अनुसार काम गर्न नमानेपछि स्वयम् प्रदेश सरकारलाई नै योजना बुझाएको उनले बताए । प्रदेश सरकाले बुढीगङ्गा नगरपालिकामा २५ लाख रुपियाँ बराबरका धेरै योजना छनोट गरेको थियो ।

हमासले आज गाजामा मृत्यु भएका ४ बन्धकको शव फिर्ता गर्ने

काठमाडौँ, ८ फागुनः हमासले आज गाजामा मृत्यु भएका बन्धकहरुको शव इजरायललाई फिर्ता गर्ने भएको छ। इजरायली अखबार टाइम्स अफ इजरायलका अनुसार बिहीबार साँझसम्म हमासले ४ बन्धकको शव फिर्ता गर्न लागेको हो।

ती बन्धकहरूको नाम बुधबार नै हमासले इजरायललाई पठाएको थियो। ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको शव हमासले छाड्नेछ।

केफिर हमासले बन्धक बनाएर गजा पुर्‍याउँदा ९ महिनाका मात्रै थिए। उनी सबैभन्दा कम उमेरका  केफिरको शव हमासले बन्धकमुक्त गर्ने भनेपछि गुलाबी रङको खेलौना हात्ती समातेर दाँत नभएको मुस्कानका साथ सिधै क्यामेरामा हेरिरहेको उनको तस्बिर विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ।

अमेरिका र युक्रेनबीच दूरी बढ्दै, जेलेन्स्की ‘निरङ्कुश’ भएको डोनल्ड ट्रम्पको आरोप

संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच दूरी बढिरहेको समयमा ट्रम्पले जेलेन्स्कीलाई “निरङ्कुश”को सङ्ज्ञा दिएका छन्।

अमेरिका र रुसबीच साउदी अरबमा मङ्गलवार भएको प्रत्यक्ष वार्ताप्रति असन्तुष्टि जनाउँदै जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रुसी दुष्प्रचारबाट प्रभावित भएको बताएका थिए।

त्यसको प्रतिक्रियामा ट्रम्पले जेलेन्स्कीको थप आलोचना गरेका छन्। अमेरिकाको फ्लोरिडामा साउदी अरबको आयोजनामा भएको लगानी सम्मेलनमा ट्रम्पले जेलेन्स्कीले यसअघिका अमेरिकी राष्ट्रपति जो बाइडनलाई “प्रभावमा पारेको” आरोप लगाए।

ट्रम्पको “निरङ्कुश” भन्ने टिप्पणीको युरोपेली नेताहरूले तत्कालै आलोचना गरेका थिए। जर्मनीका चान्सलर ओलाफ शोल्ट्सले “राष्ट्रपति जेलेन्स्कीको प्रजातान्त्रिक वैधानिकता अस्वीकार गर्नु गलत र खतरनाक” भएको टिप्पणी गरे।

यूकेका प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई टेलिफोन सम्पर्क गरेर आफूले उनलाई समर्थन गर्ने स्पष्ट पारे। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटका प्रवक्ताले किअरलाई उद्धृत गर्दै उनले “युक्रेनमा प्रजातान्त्रिक विधिबाट निर्वाचित नेताको रूपमा जेलेन्स्कीलाई आफ्नो समर्थन रहेको” बताएका छन्।

यूकेले पनि दोस्रो विश्वयुद्धका क्रममा निर्वाचन स्थगित गरेको उदाहरण दिँदै उनले युद्धका समयमा निर्वाचन रोक्नु व्यावहारिक भएको किअरले बताएको प्रवक्ताले जानकारी गराएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भेट हुँदाको तस्बिर

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,फाइल तस्बिर

जेलेन्स्कीको पाँचवर्षे कार्यकाल सन् २०२४ को मेसम्म थियो। तर सन् २०२२को फेब्रुअरीमा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता युक्रेनमा सैनिक शासन लागु गरिएको छ। त्यहाँ निर्वाचन स्थगित गरिएको छ।

स्वीडनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पनि ट्रम्पले जेलेन्स्कीबारे गरेको टिप्पणीको आलोचना गरे। जर्मनीकी विदेशमन्त्री आनालेना बेअरबोकले ट्रम्पको प्रतिक्रिया “हास्यास्पद” भएको बताइन्।

“वास्तविक युरोपमा हेर्नुभयो भने कुन देशका मानिसहरू तानाशाही शासनमा बस्नुपरिरहेको छ भन्ने थाहा पाउनुहुन्छ। रुसका मानिसहरू, बेलारुसका मानिसहरू,” उनले जेडडीएफ प्रसारकसँग भनिन्।

सामाजिक सञ्जाल ‘ट्रूथ’मा जेलेन्स्कीलाई “निरङ्कुश” भन्ने टिप्पणी गरेको केही घण्टामै ट्रम्पले फ्लोरिडामा भएको कार्यक्रममा पनि त्यही शब्द दोहोर्‍याएका थिए।

“उनी चुनाव गर्न मान्दैनन्। युक्रेनमा वास्तविक मत सर्वेक्षणहरूमा उनी अलोकप्रिय छन्। प्रत्येक सहर ध्वस्त भइरहँदा उनी लोकप्रिय पनि कसरी रहन सक्छन्?” ट्रम्पले भने।

युक्रेनबाट ‘रेअर अर्थ’ वर्गमा पर्ने दुर्लभ खनिज पदार्थहतू अमेरिका ल्याउने आफ्नो प्रस्तावको सन्दर्भ उल्लेख गर्दै ट्रम्पले जेलेन्स्कीले सहमति तोडेको आरोप लगाए।

उनको सम्बोधन केही समयअघि ‘ट्रूथ’मा गरिएको पोस्टसँग मेल खाने किसिमको थियो। ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीबारे लेखेका थिएः “उनले डरलाग्दो काम गरेका छन्। उनको देश ध्वस्त भएको छ र अनावश्यक रूपमा दशौँ लाख मानिसले ज्यान गुमाएका छन्।”

ह्वाइट हाउसका एक प्रवक्ताले जेलेन्स्कीले ट्रम्प रुसी मिथ्या सूचनाको भ्रममा परेको आरोप लगाएपछि ट्रम्पले त्यसको सीधा जबाफ दिएको बताए।

युक्रेनका पूर्वप्रधानमन्त्री आर्सेनी यात्सेन्यूकले ट्रम्पको प्रतिक्रियापछि रुसमा खुसीयाली छाएको बताए।

“भोलोदिमिर जेलेन्स्की पूर्णतः वैधानिक राष्ट्रपति हुन्,” उनले भने। “हामी सैन्य कानुन लागु भएको समयमा चुनाव गर्न सक्दैनौँ।”

मार-ए-लागोमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले जेलेन्स्कीको लोकप्रियताको ‘रेटिङ’ ४ प्रतिशतमा झरेको भनेपछि दुई नेताले एकअर्काको आलोचना गर्न थालेका छन्।

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले  कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक गरेको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो। परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ।

कार्यालयले साधारणतर्फ रजिष्ट्रेसन नम्बरमा शुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ शुरुका दुई अंक ७३ देखि ७८ हुने  परीक्षार्थीको परीक्षा तालिका सार्वजनिक गरेको हो।

हेर्नुहोस् परीक्षाको समयतालिका-

 

सांसद र मन्त्रीको प्राथमिकतामा परेन प्रजातन्त्र दिवस

भानुभक्त आचार्य

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार राष्ट्रिय प्रजातन्त्र दिवस भव्य समारोहकाबीच मनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय भएको कार्यक्रममा अध्यक्षता सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका थिए । प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाँ थिए ।
प्रदेश सरकारले नै मनाएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री र सांसदहरूको भने झिनो उपस्थिति रहेको थियो । सभामुख भीम भण्डारी कार्यक्रममा सहभागी हुँदा उपसभामुख कोइली देवी चौधरी देखिइनन् ।
एमालेका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा र अन्तरिक मामिला मन्त्री सहभागी हुँदा कांग्रेस र नागरिक उन्मुक्ति पार्टी कुनै पनि मन्त्री र राज्यमन्त्री कार्यक्रममा सहभागी भएनन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको तर्फबाट आर्थिक मामिला मन्त्री बहादुर थापा, सामाजिक विकास मन्त्री  मेघराज खड्का सहभागी छन् । उनीहरु दुबै मन्त्री कार्यक्रममा आएनन् । त्यस्तै कांग्रेसको तर्फबाट अर्थ राज्यमन्त्री भएका प्रकाश बम र  सामाजिक राज्यमन्त्री भएकी सरस्वती खड्का पनि कार्यक्रममा आइनन् ।
काङ्ग्रेसबाट मुख्यमन्त्री भएका शाहकै अध्यक्षतामा आयोजना भएको प्रदेश सरकारको कार्यक्रममा काङ्ग्रेसकै सबै मन्त्री अनुपस्थितिको विषयले अहिले चर्चा पाएको छ । मुख्यमन्त्री निकट स्रोतले भने मन्त्रीहरूको अन्य कार्यक्रम भएको हुँदा प्रजातन्त्र दिवसको कार्यक्रममा उपस्थित हुन नसकेको जनाएको छ ।
‘सामाजिक विकास मन्त्री  ज्यू अछामको कार्यक्रममा र राज्यमन्त्री ज्यू डडेल्धुराको कार्यक्रममा हुनुहुन्छ ’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने, ‘अर्थमन्त्री ज्यूको बुवा बिरामी र अर्थ राज्यमन्त्री ज्यू आफै बिरामी भएको हुँदा आउन नसक्नु भएको हो । ’

कार्यक्रममा भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद पनि आइनन् । उनले आफू जिल्लाको कार्यक्रमको लागि डोटी आएको हुँदा कार्यक्रममा उपस्थित हुन नसकेको बताइन्

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी पनि सरकारमा छन् । तर, उनी पनि कार्यक्रममा आएनन् । ‘म काठमाडौँबाट ढिलो आए त्यहि भएर कार्यक्रममा पुग्न सकिन ’ उनले भने ।
सुदूरपश्चिम सरकारका मन्त्री मात्रै होइन कार्यक्रममा प्रदेश सभा सदस्यहरूको पनि उपस्थिति निकै कमजोर रहेको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेकोमध्ये कार्यक्रममा चार सांसद मात्रै थिए ।  पाँच वटा विषयगत समिति मध्ये एक जना मात्रै सभापति कार्यक्रममा उपस्थित थिए ।

५३ जना मध्ये विशेषाधिकार समिति सभापति समेत रहेकी कांग्रेस सांसद तुलसी देवकोटा, एमालेकी जानकी ऐर बम , माओवादी जानकी देवी कुवर कार्यक्रममा उपस्थित थिइन् । ढिलो गरेर एमाले सांसद दमन भण्डारी पनि कार्यक्रममा उपस्थित भएका थिए ।

पूर्व मुख्यमन्त्री मध्ये राजेन्द्रसिंह रावल मात्रै कार्यक्रममा थिए । दीर्घ सोडारी र त्रिलोचन भट्ट कार्यक्रममा आएनन् । कार्यक्रममा जनप्रतिनिधि भन्दा कर्मचारीको संख्या निकै बढि थियो ।
प्रजातन्त्र स्थापनाको अवसर प्रदेशमा आयोजना गरिएको महत्त्वपूर्ण कार्यक्रममा सरकारकै अधिकांश मन्त्री र सांसद उपस्थित नभएपछि अहिले मन्त्री र सांसदले प्रजातन्त्र दिवसलाई महत्त्व नदिएका हुन् कि भन्ने विषय पनि उठ्न थालेको छ ।

‘प्रतिपक्षको कुनै नेता देखिएन । हतारिएर दिवस मनाउनु हुँदैन’ नेकपा एमाले संसदीय दला नेता समेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल भन्छन्, ‘प्रभात फेरि गरेर कर्मचारी जम्मा भएर पुरानै पञ्चायती ढङ्गको कार्यक्रम गर्नु हुँदैन । सहिदहरूको स्मरण गर्नु पर्ने थियो । आज ती विषयहरू खड्किएका थिए । ’
उनले कार्यक्रममा सरकारको तर्फबाट पर्याप्त मन्त्रीहरूको उपस्थित नहुँदा र सांसदहरू पनि पर्याप्त नआउँदा प्रजातन्त्र दिवसलाई महत्त्व नदिएको झल्को देखिएको बताए ।

‘सूचना नपाउँदा वा अन्य कार्यक्रमले गर्दा पनि उपस्थिति कम भएको हुनसक्छ’ उनले भने ‘मुख्यमन्त्री नै अध्यक्षता ग्रहण गर्ने कार्यक्रमलाई अझै तयारी गरेर, छलफल गरेर गर्नु पर्छ । ’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रीहरूलाई समयमै जानकारी गराएको जनाएको छ ।

‘बिहानको कार्यक्रममा सबै मन्त्री ज्यूहरूलाई निमन्त्रणा गरिएको थियो ।  राज्यमन्त्री ज्यूहरूलाई पनि जानकारी गराएर निमन्त्रण गरेका थियौँ तर, उहाँहरूको उपस्थिति निकै कम देखियो ’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले भने, ‘प्रदेश सभा सदस्य ज्यूहरूलाई कार्यक्रममा उपस्थित गराइदिन भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएका थियौँ ।

प्रदेश सभा सचिवालयले पनि सबै सांसदहरूलाई समयै जानकारी गराइएको बताएको छ । ‘सबै सांसदहरूलाई एसएमएस  मार्फत जानकारी गराउन भनेको थिए’ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले भने ।

मुख्यमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन मूल आयोजक समिति गठन गरिएको थियो । सभामुख, उपसभामुख, सबै मन्त्री , राज्यमन्त्री र प्रदेश सभा सदस्य त्यसको सदस्य थिए । तर, बुधबारको कार्यक्रममा अधिकांश सदस्य नै उपस्थित भएनन् ।

प्रकृति लम्सालको शव नेपाल ल्याइयो

काठमाडौं । भारतको उडिसा राज्यस्थित भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनामा मृत्यु भएकी प्रकृति लम्सालको शव नेपाल पठाइएको छ । दिल्लीबाट घटना भएको विश्वविद्यालयमा पुगेका कन्सुलर तथा प्रहरी वरिष्ठ उपरीक्षक सञ्जीव शर्माका अनुसार भारतको गोरखपुरस्थित विमानस्थल हुँदै शव नेपालस्थित घर पठाइएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक शर्माले विद्यार्थीका सबै माग कलेजले स्वीकार गरेपछि अहिले त्यहाँको वातावरण सामान्य बनेको बताए । उनले भने, ‘अहिले अवस्था सामान्य भएको छ । नेपाली विद्यार्थी कलेज फर्कने क्रममा छन् । कति आइसकेका छन् । नेपाल पुगेका विद्यार्थीको हकमा केही दिन लाग्न सक्छ । तर कलेजले विद्यार्थीलाई सुरक्षित वातावरण दिने प्रतिवद्धता जनाएको छ ।’

कलेजले बुधबार नै सबै विद्यार्थीलाई जोडेर जुम मिटिङ गर्ने जनाएको प्रहरी वरिष्ठ उपरीक्षक शर्माले भने, ‘कलेजले पनि आजै विद्यार्थीहरुलाई सम्बोधन गर्ने गरी जुम मिटिङ गर्नेछ । त्यसले पनि वातावरणलाई थप सहज बनाउने अपेक्षा छ। कलेजले घटनमा संलग्नहरुलाई कारबाही गरिसकेको र नेपाली विद्यार्थीहरुको हकमा शान्ति सुरक्षाको प्रतिवद्धता जनाएको छ । यस विषयमा त्यहाँस्थित चिफ सेक्रेटरी, शिक्षा मन्त्री तथा स्वास्थ्य मन्त्रीसँग समेत वार्ता भएको छ ।’

 

खोज्नुहोस