टिकट महँगो भएकै बेला राष्ट्रिय ध्वजावाहक विमानहरू ‘ग्राउन्डेड’, सस्तो टिकट पाउँदा नेपालीहरू भारत हुँदै विदेश उड्न थाले

काठमाडौं । नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने अधिकांश विमानहरू ‘ग्राउन्डेड’ हुँदा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसहित विदेश जान लागेका हजारौँ नेपालीहरू प्रभावित हुन पुगेको व्यवसायीहरूले बताएका छन्।
ट्राभल एजेन्सी तथा म्यानपावर व्यवसायीहरूका अनुसार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू कटौती भएका बेला राष्ट्रिय ध्वजावाहकका विमानहरू नउड्दा त्यसको असर व्यापक देखिएको छ।
अहिले स्तरोन्नतिका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको समयलाई सीमित पार्दै उडानहरू कटौती गरिएको छ। त्यसका कारण अन्तर्राष्ट्रिय हवाई भाडादर महँगो हुनुका साथै टिकट नै नपाउने अवस्था उत्पन्न भएको बताइन्छ।
यसैबीच अहिले नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका चारमध्ये तीन विमानहरू “प्राविधिक” कारणले ‘ग्राउन्डेड’ हुँदा अवस्था जटिल बनेको व्यवसायीहरू बताउँछन्।
नेपाल वायुसेवा निगमका अधिकारीहरूले चाहिँ “प्राविधिक समस्या हल गर्ने तथा पार्टपुर्जा ल्याउने” कार्य जारी रहेको र चाँडै सबै विमानले नियमित सेवा दिने अपेक्षा गरेको बताएका छन्।
तस्बिरको क्याप्शन,फाइल तस्बिर
नेपाल वायु सेवा निगमका विमानमा कस्तो समस्या?
नेपाल वायुसेवा निगमले हाल दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी गरी कुल चार विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।
विभिन्न देशका १० गन्तव्यमा उडान गर्ने निगमका ती चारमध्ये दुवै न्यारोबडी र एउटा वाइडबडी गरी तीन जहाजहरू यसै साताको सुरुदेखि ‘ग्राउन्डेड’ भएको बताइएको छ।
ती जहाजहरू बिग्रिँदा टिकट लिइसकेका हजारौँ यात्रुहरू अलपत्र परेको निगमकै अधिकारीहरूले स्वीकार गरेका छन्। निगमका प्रवक्ता रमेश पौडेलले त्यस्ता यात्रुहरूलाई अन्य जहाजबाट पठाउने तथा होटल व्यवस्था गरेर राख्ने काम गरिएको बताए।
उनले “प्राविधिक समस्या देखिएपछि” सुरक्षाका लागि उडानहरू रद्द गर्नुपर्ने अवस्था आएको बताए।
उनका अनुसार ग्राउन्डेड विमानहरूमा “फरकफरक खालका समस्या” देखिएका छन्।
समस्या समाधान गर्ने प्रयास पनि भइरहेको उनले बताए।
बिग्रिएका विमान कहिलेदेखि सञ्चालनमा आउलान्?
पौडेलले जहाजहरू बनाउने तथा नेपालमा नपाइएका पार्टपुर्जाहरू झिकाउने काम भइरहेको बताए।
उनले बिहीवार बिहान बीबीसीसँग भने, “एउटा उडिरहेको छ। अर्को वाइडबडी पनि आज बन्दै छ र आजैदेखि त्यो उड्ने सम्भावना छ।”
“दुईवटा न्यारोबडीहरू पनि शनिवारसम्ममा उड्छन्। यो ‘मेकानिकल’ कुरा भएकाले यसपालि त्यस्तो भएको हो। चाँडै बनाएर उडाउने कोसिसमा छौँ।”
निगमले हाल १० गन्तव्यमा अन्तराष्ट्रिय उडानहरू गरिरहेको छ।
त्यसका लागि २७५ सीट क्षमताका दुईवटा एअरबसका वाइडबडी र १५७ सीट क्षमताका एयरबसकै न्यारोबडी जेट विमानहरू उसले उडाउँदै आएको छ।
त्रिभुवन विमानस्थलमा उडान कटौती
दैनिक २१ घण्टा खुला हुँदै आएको उक्त विमानस्थल गत कात्तिक २३ गतेदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुन थालेका थियो। त्यसले झन्डै ३० प्रतिशत उडान कटौतीमा परेको अधिकारीहरूले त्यस बेला बताएका थिए।
गत माघ १९ देखि दुई-दुई घण्टा समय थपिएपछि हाल दैनिक १६ घण्टा उडान भइरहेको त्यहाँका सूचना अधिकारी तेजबहादुर पौड्यालले बताए।
सुरुमा बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र उडान हुने व्यवस्था गरिएको थियो। अहिले भने बिहान ७ बजेदेखि राति ११ बजेसम्म उक्त विमानस्थलबाट उडान हुने गरेको छ।
आगामी चैत १९ गतेदेखि दुई घण्टा थप गरेर बिहान ६ बजेदेखि राति १२ बजेसम्म उडान गर्न मिल्ने व्यवस्था गरिने योजना रहेको उक्त विमानस्थलले जनाएको छ।
नेपालमा टिकट नपाएपछि भारतीय बाटो
तस्बिरको क्याप्शन,पोखरा विमानस्थल
गत कात्तिकदेखि नै नेपालबाट सीधै गन्तव्य मुलुक जाने टिकट नपाइने र पाइए पनि धेरै महँगो हुने भएपछि कैयौँ नेपालीहरूले भारत हुँदै तेस्रो मुलुक यात्रा गरिरहेको बताइएको छ।
नेपाल असोसिएशन अफ टूर्स एन्ड ट्राभल्स’ अर्थात् नाट्टाका अध्यक्ष कुमारमणि थपलिया भन्छन्, “गएको कात्तिक महिनायता यहाँबाट सीमावर्ती भारतीय सहरका विमानस्थल पुग्ने अनि त्यहाँबाट दिल्ली, मुम्बईजस्ता सहर हुँदै विदेश जाने धेरै बढेका छन्।”
“हाम्रो अनुमानमा यो अवधि (कात्तिकदेखि हालसम्म) करिब ५५,००० मानिस त्यसरी गएका छन्।”
उनका अनुसार नेपालबाट सीधै उड्दा लाग्ने भाडाभन्दा भारतबाट आधा सस्तोमा टिकट पाइएपछि धेरै मानिसहरू दिल्ली पुगेर गन्तव्य देशहरूमा गएका हुन्।
त्यसरी जानेमा अधिकांश विशेष गरी खाडी मुलुकहरूमा जाने नेपाली कामदार रहेको बताइएको छ।
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी भन्छन्, “टिकट धेरै नै सस्तो हुँदा भारतको बाटो हुँदै जानेहरू बढेका छन्। भारतीय बाटो असुरक्षित पनि छ र त्यहाँ अध्यागमनमा नेपालीहरूले दु:ख पनि पाउँछन् तर सरकारले यसमा चासो दिएको छैन।”
थपलिया पनि यस्तो प्रवृत्तिले नेपालको व्यापार भारततर्फ सरेको र सरकारले राजस्वसमेत गुमाएको बताए।
“सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले यस्तोमा बजार हस्तक्षेप गर्ने अवस्था बन्नुपर्नेमा उल्टै जहाजहरू ग्राउन्डेड भएका छन्। उडान रद्द हुँदा झन् त्यसमा टिकट काटेकाको चाप पनि अर्कोतिर पर्न गएको छ,” उनले भने।
भैरहवा र पोखरा विमानस्थलमा उडान नहुँदा समस्या
व्यवसायीहरू भैरहवा र पोखराबाट नियमित तथा प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय उडानहरू नहुँदा पनि समस्या उत्पन्न भएको बताउँछन्।
“कम्तीमा भैरहवाबाट हाम्रा श्रमिक जाने गन्तव्य मुलुकमा नियमित उडान भएमा र प्रभावकारी सेवा दिन सके समस्या हुँदैन थियो,” व्यवसायी भण्डारीले भने।
गौतमबुद्ध विमानस्थल भैरहवाबाट अहिले नेपाल वायुसेवा निगम, यूएईको फ्लाईदुबई, कुवेतको जजीरा र थाईल्यान्डको थाई एअर एशियाले उडानहरू गरिरहेको अधिकारीहरूले बताएका छन्।
पोखराबाट भने अझै नियमित उडान हुन सकेको छैन।
यी दुवै विमानस्थलबाट नियमित उडानहरू नभएको भन्दै व्यापक आलोचना भइरहेको छ।
सरकारले दुवै विमास्थलबाट उडान गर्दा छुटहरूको व्यवस्था गरे पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू खासै इच्छुक देखिएका छैनन्। –बीबीसी नेपाली