ओली सरकारबाट जनताको कहिले भलो भएन : ज्ञानेन्द्र शाही

द एभरेष्ट पोष्ट
१३ फागुन २०८१ १४:४५
ओली सरकारबाट जनताको कहिले भलो भएन : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसद्मा उठाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शाहीले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको प्रति आपत्ति जनाउँदै संघीय सरकारको आलोचना गरेका हुन् ।

‘गाउँ–गाउँमा सिंह गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिले पनि भलो भएन,’ सांसद शाहीले भने, ‘काठमाडौं महानगरपालिकासहित देशका धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्बन्धित स्थानीय तहबाट हुने सेवा प्रवाहमा असर परेको उनले बताए । शाहीले तलब रोकिँदा शिक्षक र कर्मचारी पनि समस्यामा परेको बताए ।

‘काठमाडौं महानगरपालिकामा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई त्यसको पाप लाग्ला,’ शाहीले भने । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीले पनि तलब पाउन नसकेको भन्दै उनले ओली सरकारको आलोचना गरे ।

‘८३ हजार ५५८ निजामती कर्मचारी नेताको घरमा चाकडी गर्न र उनीहरूको घरदैलो अभियानका लागि नियुक्ति गरेको हो रु,’ सांसद शाहीले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस