प्रकृति लम्साल मृत्य फेला प्रकरण : परराष्ट्रमन्त्री राणाद्वारा मुख्यमन्त्री माझीसँग फोनवार्ता

द एभरेष्ट पोष्ट
१० फागुन २०८१ १६:४४
प्रकृति लम्साल मृत्य फेला प्रकरण : परराष्ट्रमन्त्री राणाद्वारा मुख्यमन्त्री माझीसँग फोनवार्ता

काठमाण्डु – भारतको ओडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारका विषयमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोन वार्ता गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबूकबाट फोनवार्ताबारे जानकारी दिँदै मन्त्री राणाले दोषीमाथि कारवाही र विद्यार्थीको सुरक्षित पठनपाठनबारे कुराकानी भएको बताइन् ।

‘उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु । नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिशा सरकारले नै पहल गरिदिनका लागि मैले उहाँलाई आग्रह गरें,’ उनले भनिन्, ‘यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूतावास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकाले उहाँहरूको समन्वयका लागि पनि मैले मुख्यमन्त्री श्री माझीसँग आग्रह गरें । उहाँले यस घटनालाई ओडिशा राज्यले नै गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु गरिएको जानकारी मलाई गराउनुभयो ।’

मुख्यमन्त्री माझीले नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिशा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएका बताइएको छ । ‘यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले ओडिशा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्,’ मन्त्री राणाले भनिन् ।

विश्वविद्यालय प्रशासनको दुर्व्यवहारपछि सयौं विद्यार्थी स्वदेश फर्किएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस