नेपालमा मानव अधिकार उल्लङ्घनको अबस्था, एक वर्षमा १० हजार भन्दा बढी पीडित

द एभरेष्ट पोष्ट
७ फागुन २०८१ १९:३४
नेपालमा मानव अधिकार उल्लङ्घनको अबस्था, एक वर्षमा १० हजार भन्दा बढी पीडित

धनगढी। नेपालमा मानव अधिकार घटना बढेका छन् । इन्सेकले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२५ अनुसार १० हजार ७ सय ३४ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएका छन्। पुस्तकका अनुसार मानव अधिकार उल्लङ्घनका घटनामा ४ सय ५८ जना (११४ महिला, ३४४ पुरुष) पीडित भएका छन् ।

यस्तै ज्यादतीका घटनामा १० हजार २ सय ७६ जना (९ हजार ५ सय ७२ महिला, ७ सय ४ पुरुष) प्रभावित भएका छन्। यो संख्या गत वर्षको तुलनामा   १ हजार ३ सय ४६ घटनाले बढी हो । इन्सेकको तथ्याकं अनुसार राज्यपक्षबाट भएका घटनाहरूमा १ जनाको हत्या, ३७ जनाको गिरफ्तारी र ४७ जना माथि कुटपिट भएको छ ।

दोहोरो झडपमा परेर ४३ जना घाइते, गोली लागेर ६ जना घाइते र धारिलो हतियारबाट ११ जना घाइते भएका छन्। जातीय विभेद अन्तर्गत सार्वजनिक स्थल प्रवेशमा रोक लगाइएका १ जना तथा भेला तथा संगठित हुने अधिकारमा १५६ जना पीडित भएका छन्। कारागारमा ६० जना ९४ महिला सहित० र प्रहरी हिरासतमा ५ जनाको मृत्यु भएको छ।

सन् २०२४ मा महिलामाथि हुने हिंसाका घटनामा ७ हजार ५ सय ८३ जना पीडित भएका छन्। घरेलु हिंसामा ५ हजार ८ सय ७६, कथित बोक्सी आरोपमा २९, बलात्कारमा ६सय ६४, बलात्कार प्रयासमा १ सय ४४, यौन दुर्व्यवहारमा ३१, दाइजो जन्य हिंसामा २सय १२, बलात्कारपछि हत्या घटनामा ७ र परिवारजनबाट हत्या घटनामा १ जना पीडित भएका छन्।

बालबालिकामाथि हुने हिंसाका घटनामा १ हजार ७ सय ५८ जना बालबालिका पीडित भएका छन्। बलात्कारमा ९ सय ३६, हाडनाताकरणी बलात्कारमा ६२, सामूहिक बलात्कारमा ४९, साइबर अपराधमा २०३, विद्यालयमा हुने शारीरिक यातनामा २६, नवजात शिशु हत्या घटनामा ८, बलात्कारपछि हत्या घटनामा १, यौन दुर्व्यवहारमा ३६८ जना पीडित भएका छन्।

सुदूरपश्चिममा मानव अधिकार अबस्था

सुदूरपश्चिम प्रदेशमा २०२४ मा १ हजार ९९ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएका छन्। ११ घटनामा १ महिला र १० पुरुष तथा ज्याजतिका १ हजार ७० घटनामा १ हजार ५४ महिला र ३४ पुरुष गरी १ हजार ८८ जना पीडित भएका छन्। यो संख्या गत वर्षको तुलनामा १ सय २ ले घटेको छ।

राज्यपक्षबाट कुटपिटमा २ जना, गिरफ्तारीमा ६ जना, जेलमा मृत्यु भएका १ जना, हिरासतमा मृत्यु भएका १ जना तथा अमानवीय व्यवहार घटनामा १ जना पीडित भएका छन्।

यस वर्ष महिलामाथि हुने हिंसाका घटनामा ९ सय ४७ जना पीडित भएका छन्। घरेलु हिंसामा ८ सय ३२, बलात्कारमा ६३, बलात्कार प्रयासमा १३, यौन दुर्व्यवहारमा ४, बलात्कारपछि हत्या घटनामा १, सामूहिक बलात्कारमा ५, वैवाहिक बलात्कारमा ११, बेचबिखन तथा ओसारपोसार प्रयासमा २, बेचबिखन तथा ओसारपोसार घटनामा ५, साइबर अपराधमा २, बोक्सी आरोपमा २ र परिवारजनबाट हत्या घटनामा ७ जना महिला पीडित भएका छन्।

बाल अधिकार उल्लङ्घनका घटनामा १ सय ५ जना पीडित भएका छन्। बलात्कारमा ५८, सामूहिक बलात्कारमा ६, यौन दुर्व्यवहारमा २४, बलात्कारपछि हत्या घटनामा १, व्यभिचारमा ८, बालविवाहमा २, बेचबिखन तथा ओसारपोसार घटनामा ४, शारीरिक यातना घटनामा २ जना पीडित भएका छन्।

सुदूरपश्चिमका कारागारमा ५ सय ४५ जना क्षमताभन्दा दोब्बर बढी १ हजार ६६ जना कैदीबन्दी रहेका छन्। बाल सुधार गृह डोटीमा २५ जनाको क्षमता भए पनि ६१ जना राखिएका छन्।

इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीका अनुसार घरेलु हिंसाका उजुरीहरू बढ्दै गइरहेका छन्। धेरैजसो घटनाहरू गुपचुप मिलाइने वा पीडित महिलालाई दोषी देखाएर आरोपितलाई उन्मुक्ति दिने प्रवृत्ति कायमै रहेको उनले बताए। उनका अनुसार घरेलु हिंसा नियन्त्रणका लागि कानुन कार्यान्वयन प्रभावकारी नभएकाले समस्या ज्यूँका त्यूँ रहेको छ।

इन्सेकले जिल्लामा वातावरणीय अधिकार उल्लङ्घनको अवस्थाको पनि अनुगमन गरेको छ। बसाइँसराइ, खाद्य संकट, वायु प्रदूषण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी अभावका कारण धेरै नागरिक प्रभावित भइरहेका छन्।

संक्रमणकालीन न्यायको विषयमा सरकार गम्भीर नबनेको भन्दै जोशीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पुनर्गठन भए पनि प्रभावकारी काम नभएको र संक्रमणकालीन न्यायका मुद्दाहरू राजनीतिक लेनदेनमा सीमित भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस