संकटका साथी

संकटकालको त्रास थियो । मान्छे सम्साँझै घर पुग्थे । साँझ नहुदै धनगढी बजार सुनसान हुन्थ्यो । गोली चल्नु । मान्छे मर्नु । सामान्य भईसकेको थियो । कहिले पार्क मोडमा । कहिले चौराहामा । सुरक्षाकर्मी मारिन्थे । क्याम्पस क्षेत्रमा माओवादी र सुरक्षाफौजबीच भिडन्त हुन्थ्यो । माओवादीको निशानामा सबै थिए । राजनीतिकर्मी । सुरक्षाकर्मी । गैससकर्मी । जमिन्दार । कतिसम्म भने सुरक्षाकर्मी धनगढीमा डेराबाट निकालिन्थे । घरबेटी डरले सुरक्षाकर्मीलाई डेरा दिदैनथे । गैससका कार्यालयमा माओवादीले बम पड्काउथे । निशानामा अन्तर्राष्ट्रिय गै सरकारी संस्था पनि थिए ।
धनगढीमा जिल्ला प्रहरी कार्यालय पारी जाने सडकमा प्रहरीले काँडेतार बिछ्याउथे । राति आवातजावतमा रोक थियो ।
घरभित्रै मान्छे सुरक्षित थिएनन् । चौराहा पसलभित्र गोली लागेर एक जना मारिए । नगरपालिका अगाडि तरकारी पसलभित्र सुतेकै अवस्थामा एक बालिकाको गोली लागेर मृत्यु भयो । यस्ता अनगिन्ती घट्ना भए ।
सम्साँझै सबै पसल बन्द हुन्थे । व्यवसाय ठप्प । एउटा पसल, जसले कहिल्यै आफ्नो सेवा बन्द गरेन, त्यो थियो–सुदूर सञ्चार सेवा । सञ्चालक थिए, सुरेश थापा ।
२०२४ सालमा मोरङको बिराटनगरमा जन्मिएका थापा परिवारमा कान्छा थिए । उनी अघि तीन दाई र तीन दिदी । सरस्वती मावि तिनटोलियबाट एसएलसी गरेपछि उनी क्याम्पस भर्ना भए । २०४२ सालको कुरा हो । उनी महेन्द्र मोरङ क्याम्पसबाट प्रमाण पत्रको परीक्षा दिएपछि घुम्न धनगढी पुगे । उनकी दिदी यही थिईन् । दिदी भिनाजुको सल्लाहमा उनी बिराटनगर फर्किएनन । धनगढीमै काम गर्न थाले । शुरुवातमा रातोपुलमा कोल्ड स्टोर चलाए । त्यो काम छोडे । केही वर्ष सर्भिस सेन्टर चलाए । त्यो पनि छोडे । दुबै काम आठ वर्षजति गरे ।
एलएनचौकमा सटर भाडामा लिएर सुदूर सञ्चार सेवा(पीसीओ) शुरु गरे । शुरुवातमा उनीसंग एउटा टेलिफोन लाईन थियो । त्यही एउटा लाईन टेलिफोनका लागि पनि भनसुन गर्नुपथ्र्यो । पालो कुर्नुपथ्र्यो । पैसा डिपोजिट गर्नुपथ्र्यो । पसल चल्न थालेपछि उनी टेलिफोन लाईन थप्दै गए ।
मोवाईल आईसकेको थिएन् । ईन्टरनेटको सुविधा थिएन । कम्प्युटर, ल्यापटप भित्रिसकेको थिएन् । देशविदेश फोन गर्नु परे, त्यसको एउटै माध्यम थियो, टेलिफोन । र, त्यसका लागि भरपर्दो नाम थियो, सुदूर सञ्चार सेवा ।
उनी कहाँ टेलिफोन सेवा लिनेको घुईचो लाग्न थाल्यो । शनिवार त थेगिनसक्नु भीड हुन्थ्यो । ग्राहकहरु लाईन लाग्थे । पालो कुर्थे । उनलाई खाना खाने फुर्सद हुदैनथ्यो । उनले एक महिनामा एक लाख रुपैयासम्म टेलिफोनको बील तिर्थे ।
मुलुकमा माओवादी संशस्त्र संघर्ष उत्कर्षमा पुग्यो । संकटकाल लाग्यो । दिनदहाडै शहरभित्रै पसेर माओवादीले आक्रमण गर्न थाले । सुरक्षाकर्मी र माओवादीबीच दिनहूँ झडप र भिडन्त हुन थाल्यो ।
मान्छेहरु घर बाहिर निस्किन गाह्रो हुन थाल्यो । तर सञ्चार सुविधा नलिई नहुने । पीसीओसम्म पुग्न जोखिम ।
उनीमाथि निर्भर थिए, धनगढीका सञ्चारकर्मी । साथै थुप्रै व्यवसायी र ग्राहकहरु । फोन, फ्याक्सका लागि धनगढीमा भरपर्दो एउटै पसल थियो, सुदूर सञ्चार सेवा ।
उनका डेढ सयभन्दा बढि ग्राहक यस्ता थिए, जसलाई उनले कन्फ्रेन्स कलको सुविधा दिएका थिए । आफ्नो कोठाबाटै उनका ग्राहकहरुले सञ्चार सुविधा प्रयोग गर्थे । कन्फ्रेन्स कल मार्फत देश विदेश कल गर्थे ।
सबै व्यवसायीहरु सटर बन्द गरेर घर लाग्थे । उनी भने सटर पछाडिको कोठामा । सञ्चार सेवाबाट बञ्चित कोही हुनु नपरोस भनेर उनी राति पसल भित्रै बस्थे । संकटलकाल लागेपछि उनी घर जान छोडे । सटर भित्रै डेरा बनाए । पत्रकारहरु दिनभरी घट्नाहरुको सूचना संकलन गर्थे । साँझ समाचार तयार पारेर फ्याक्सका गर्न थापालाई झ्यालबाट दिन्थे । अहिले जस्तो ईमेल, ईन्टरनेटको सुविधा थिएन् । हातले एफोर कागजमा समाचार लेख्थे । त्यही समाचार फ्क्यास गरेर आफू कार्यरत मिडिया हाउसलाई पठाउँथे । र, त्यो पठाउने एउटै र भरपर्दो पसल थियो, सुदूर सञ्चार सेवा ।
सरकारी कार्यालय र गैर सरकारी संस्थासंग फ्याक्सको सुविधा थिएन । फ्याक्स पठाउन पनि सुदूर सञ्चार पुग्नु पथ्र्यो । बाहिरबाट सरकारी कार्यालय र अन्य व्यवसायीयक प्रतिष्ठानका फ्याक्स पनि सुदूर सञ्चारमै आउथे । उनी यति विश्वासिला र व्यवसायीयक थिए, एउटाको फ्याक्स अर्को व्यक्तिलाई कहिल्यै देखाएनन् । चाहे पत्रकारहरुको समाचार होस । चाहे सरकारी कार्यालयको होस् ।
थापाले दैनिक ५० भन्दा बढि पाना फ्याक्स गर्थे । एउटा पाना फ्याक्स गरेको २० रुपैया शुल्क लिन्थे । फ्याक्स आएको प्रति पानाको १० रुपैया लिन्थे । प्रति मिनेट एसटिडी कलको १५ रुपैया र भारतमा कल गरेको ४० रुपैया लिन्थे । अमेरिका कल गरेको प्रति मिनेटको १७० रुपैया शुल्क थियो । आम मान्छेको पहूँचमा टेलिफोन थिएन् । त्यसैले लोकल कलका लागि पनि ग्राहकहरु सुदूर सञ्चारमै आउथे ।
उनी संकटका साथी थिए । उनी जुन सुकै बेला पनि सञ्चार सुविधा दिन्थे ।
३२ वर्ष भएछ, सुदूर सञ्चार सेवा सञ्चालन गरेको छ, उनी भन्छिन्, थाहै नपाई यही जीवन कट्यो । बिराटनगरबाट घुम्न आएका थापाले पसल सञ्चालन गरेको दुई वर्षपछि बर्दियाबाट शोभा बिष्टसंग विवाह गरे । त्यसको दुई वर्षपछि छोरा सुशान्तको जन्म भयो । दुई वर्षपछि छोरी सृज्याको ।
छोरीको विवाह भईसक्यो । उनी थाईल्याण्डमा एमपीएचको पढाई पुरा गर्दैछिन् । छोरा बैंकमा जागीरे छन् ।
यस्तो समय पनि आयो, उनी टेलिफोनको व्यवसाय सञ्चालन गर्न पनि मोवाईल प्रयोग गर्न थाले । भन्छन्, मोवाईलको रिचार्ज र डाटाका लागि त मोवाईल चलाउनै पर्ने भयो ।
उनले सञ्चार सेवा शुरु गर्दा अहिलेजस्तो प्रविधिको विकास भईसकेको थिएन् । उनले टेलिफोनको लाईन लिन पालो कुरे । उनले हेर्दा हेर्दै मोवाईल आयो । हात हातमा मोवाईल भयो । टेलिफोन गर्नेहरु घटे । उनले पसलमा रिजार्च कार्ड थपे । फोटोकपी, लेमिनेशन र नक्सा प्रिन्ट गर्न गर्न थाले ।
रिचार्ज कार्ड पनि विस्तारै हराउदै गयो । ग्राहकहरु मोवाईलबाटै रिचार्ज गर्न थाले । उनले ईसेवा शुरु गरे । भन्छन्, सायद समय र प्रविधि आत्मसात नगरेको भए यो व्यवसाय उहिल्यै बन्द हुन्थ्यो ।
तर पछिल्ला केही वर्षमा भने व्यवसाय ओरालो लागेको उनी सुनाउछन् । कोभिडबाट ओरालो लागेको व्यवसाय आर्थिक मन्दीका क्रममा पनि यसरी सुस्ताएको थिएन । भन्छन्, बजार भत्किएपछि त बाँच्नै मुस्किल भयो । यस्तो अवस्था त कहिल्यै देखेन । उनी सुनाउछन्, एकातिर भाडा बढ्दै गयो । खर्चहरु थपिदै गए । अर्कोतिर आम्दानी कम हुदै गयो ।
यद्यपि उनको गुनासो छैन् । यही व्यवसायले उनले छोराछोरीलाई हुर्काए । पढाए । धनगढीमा पक्की घर बनाए । घरबाटै यो व्यवसाय सञ्चालन गर्ने सोचमा छु,भन्छन्, छोराले अव आराम गर्नु भन्दैछ ।
आफूले सेवा दिएका ग्राहकहरु सबैले प्रगती देख्दा उनी खुशी हुन्छन् । उनी धनगढीको विकासका साक्षी हुन् । र, धेरैको प्रगतीका सहयोगी पनि । पत्रकार हुन् वा व्यवसायी । कर्मचारी हुन् वा सर्वसाधारण ।
धनगढीमा उनलाई अधिकांशले मामा भन्छन् । यही धनगढीले नाम, पहिचान र सम्बन्ध र आत्मियता सबैथोक दियो, उनी भन्छन्, बाँकी जीवन पनि यही बिताउछु ।
सेवा हि परमोधर्म !