अमेरिकामा शृंखलाबद्ध विमान दुर्घटना : अलास्कामा १० जनाको मृत्यु

द एभरेष्ट पोष्ट
२६ माघ २०८१ ७:४६
अमेरिकामा शृंखलाबद्ध विमान दुर्घटना : अलास्कामा १० जनाको मृत्यु

अमेरिकाको पश्चिमी अलास्काको नोमतर्फ जाँदै गरेको एक सानो यात्रुवाहक विमान स्थानीय समयानुसार बिहीबार दुर्घटनामा परेको थियो। सो विमान शुक्रबार समुन्द्री बरफमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

उक्त दुर्घटनामा सवार सबै (१० जना) को मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्। बेरिङ एयरको सिंगल-इन्जिन टर्बोप्रप विमान, जुन सेस्ना कारभान थियो, बिहीबार दिउँसो २:३७ बजे उनालाक्लीटबाट उडेको थियो। त्यसमा नौ जना यात्रु र एक पाइलट थिए। एक घण्टा नबित्दै, अधिकारीहरूसँग विमानको सम्पर्क टुटेको थियो।

अमेरिकी तटरक्षक दलका प्रवक्ता माइक सालेर्नोले उद्धारकर्ताहरूले विमानको अन्तिम ज्ञात स्थान नजिकै हेलिकप्टरबाट खोजी गर्दा विमानको भग्नावशेष फेला पारेको जानकारी दिए। दुर्घटनास्थलमा अनुसन्धान गर्न दुई उद्धार पौडीबाजहरूलाई झारिएको थियो। विमानको राडार डाटाले दिउँसो ३:१८ बजेतिर उचाइ र गतिमा द्रुत कमी भएको देखाउँछ, जसले एउटा अनपेक्षित घटना संकेत गर्छ। तर, उक्त घटनाको प्रकृति र कारण अझै अनुमान लगाउन सकिएको छैन।

विमानमा संकट संकेत ट्रान्समिटर (ईएलटी) हुन्छ, जुन समुद्री पानीमा आएमा संकट संकेत पठाउँछ। तर तटरक्षकले यस्तो कुनै सन्देश प्राप्त नगरेको पुष्टि गरेको छ। यो दुर्घटना अमेरिकामा हालैका दिनहरूमा भएका उड्डयन दुर्घटनाहरूको शृंखलाको निरन्तरता हो।

जनवरी २९ मा अमेरिकाको राजधानी नजिकै एक व्यावसायिक विमान र सेनाको हेलिकप्टर ठोक्किएर ६७ जनाको मृत्यु भएको थियो। त्यसपछि जनवरी ३१ मा फिलाडेल्फियामा एक चिकित्सा यातायात विमान दुर्घटनाग्रस्त हुँदा सवार छ जना र जमिनमा अर्का एक व्यक्तिको मृत्यु भएको थियो।

बेरिङ एयरले पश्चिमी अलास्काका ३२ गाउँहरूमा नोम, कोटजेब्यु र उनालाक्लीटका केन्द्रहरूबाट सेवा प्रदान गर्दछ, जहाँ सडक सञ्जाल नभएकाले हवाई यातायात मुख्य यातायातको साधन हो। विमान कम्पनीले दिएको विवरण अनुसार यो आफ्नो अधिकतम यात्रु क्षमतामा सञ्चालन भइरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस