समाजसेवी डा. शिवदत्त जोशीको निधन

धनगढी, २५ माघ ।
सुदूर पश्चिमका कहलिएका समाजसेवी डा. शिवदत्त जोशीको ९३ वर्षको उमेरमा शुक्रवार धनगढीमा निधन भएको छ ।
वि.स. १९८८ मंसिर २३ गते बैतडीको दशरथचन्द नगरपालिका शेरामा जन्मिएका जोशीको शुक्रवार बिहान ७ः ३० बजे धनगढी मटियारीस्थित घरमा निधन भएको हो ।
कोलोम्बो प्लान अन्तर्गत भारतको झाँसीबाट आयुर्वेदाचार्य व्याचलर अफ मेडिकल सर्जरी गरेका जोशी सरकारी दरबन्दीमा २०१७ सालमा गुल्मीको रिडी पुगे । त्यहाँ केही वर्ष काम गरे । र, सरकारी जागीर छोडेर २०२४ सालमा धनगढीमा जोशी मेडिकल सञ्चालनमा ल्याए ।
चार पुस्ताका डाक्टरका रुपमा चिनिने जोशीको अगुवाईमा धनगढीमा अधिकांश सामाजिक संघसंस्था खुलेका हुन् ।
नेपाल रेडक्रस सोसाईटी कैलाली शाखा उनकै अगुवाईमा २०२७ सालमा खुल्यो । जसको सभापति उनी २०३७ सम्म रहे ।
२०३७ सालमा कैलाली बहुमुखी क्याम्पस स्थापना भयो । जसको उनी सहकोषाध्यक्ष थिए । र कोषाध्यक्ष थिए, तोलाराम दुगड । दुगड यहाँका ठूला गल्ला व्यापारी थिए । दुगड कोषाध्यक्ष भएपनि कोषाध्यक्षको काम उनले नै गरे । पछि उनी कोषाध्यक्ष भए । र २०६२ सालदेखि २०७० सम्म कैलाली बहुमुखी क्याम्पसको अध्यक्षका रुपमा समेत उनले जिम्मेवारी निर्वाह गरे ।
उनकै नेतृत्वमा २०४२ सालमा अपांग संघ खुल्यो । खेमराज शाही त्यसको पहिलो सभापति रहे । शाही जिल्ला पञ्चायतका सदस्य थिए । सामाजिक संस्थामा पञ्चायती व्यवस्थाका सहयोगी बाहेक अरुले नेतृत्व गर्न पाउथेनन । उनको पृष्ठभूमि पञ्चायती व्यवस्थाको सहयोगी थिएन । तर पछि त्यसको नेतृत्व उनले करीव १० वर्ष ९२०५३ साल० सम्म गरे । उनकै नेतृत्वमा कैलालीमा नेत्रज्योती संघको २०५० सालमा स्थापना भएको हो । उनी संघको प्रथम अध्यक्ष हुन् । २०६६ सालमा उनी संघको केन्द्रीय सदस्य समेत भए ।
भारतको काञ्चीकामाकोठी पीठका पीठाधिश जगतगुरु शंकराचार्यले धनगढी स्थापना गर्ने भनिएको मेडिकल कलेजमा पनि उनी सदस्य रहेर काम गरे ।
२०६७ सालमा उनी सेती अञ्चल अस्पतालका अध्यक्ष समेत भए । उनले सुदूर पश्चिमको स्वास्थ्य र समाजसेवाका क्षेत्रमा पु¥याएको योगदान स्मरणीय छ ।
उनको दाहसंस्कार आजै कञ्चनपुरमा महाकाली घाटमा नदीमा गरिने बताईएको छ ।