अमेरिकी सेनाले ११६ अवैध भारतीय आप्रवासीलाई पिर्ता ल्यायो

द एभरेष्ट पोष्ट
२३ माघ २०८१ १६:१०
अमेरिकी सेनाले  ११६ अवैध भारतीय आप्रवासीलाई पिर्ता ल्यायो

एजेन्सी । अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासी बोकेको अमेरिकी सेनाको विमान पञ्जाब प्रान्तको अमृतसरस्थित श्री गुरू रामदास जी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

उक्त विमानमा १ सय १६ भारतीय आप्रवासी रहेको र स्थानीय सञ्चार माध्यमहरूका अनुसार, तीमध्ये २५ महिला र १२ बालबालिका रहेका छन्। विमानमा ११ चालक दलका सदस्य र ४५ अमेरिकी अधिकारीहरू पनि रहेका छन्।

बुधबार भारत ल्याइएका आप्रवासीहरू पञ्जाब, गुजरात, हरियाणा, उत्तर प्रदेश, र महाराष्ट्रका छन्। तीमध्ये सबैभन्दा धेरै ३३ जना गुजरातका र ३२ जना पञ्जाबका रहेका छन्। अन्य आप्रवासीहरू उत्तर प्रदेश र महाराष्ट्रका हुन्।

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बनेपछि, अमेरिकाले गैरकानुनी आप्रवासीहरूलाई उनीहरूको देश फर्काउने प्रक्रिया तीव्र बनाएको छ। ट्रम्पले पदभार ग्रहण गरेसँगै अवैध आप्रवासीलाई डिपोर्ट गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा अवैध रूपमा रहेका भारतीय नागरिकहरूको न्यायसंगत फिर्तीका लागि तयारी रहेको बताएका थिए। उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए कि अमेरिकामा रहेका अवैध नागरिकहरूलाई फिर्ता लिन तयार छन्।

पछिल्ला तथ्यांकहरू अनुसार, भारतले अमेरिकामा १७,९४० अवैध वा कागजात नभएका भारतीयलाई फिर्ता ल्याउन ट्रम्प प्रशासनसँग सहकार्य गरिरहेको छ। पिउ रिसर्च सेन्टरका अनुसार, अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीयको संख्या तेस्रो स्थानमा छ, र यहाँको अनुमानित कागजविहीन भारतीय आप्रवासीको संख्या ७ लाख २५ हजार छ। यो मेक्सिको र एल साल्भाडोरपछि तेस्रो ठूलो संख्या हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस