सम्झनामा टीकापुर स्कुल : स्मृतिका केही टिपोटहरु

हिक्मत थापा

२०३६ को हिउँदको महिना । उमेरले एघार बर्षको र कदले पनि सानै थिए । घाम लागेको दिन थियो । पिताजीको पछि पछि लागेर म तत्कालको टीकापुर आवाशिय माविमा कक्षा ८ को भर्नाको लागि परीक्षा दिन गएको थिए । कटासेबाट चक्रराज भाट दाइ र म गएका थियौं । हामी दुबैले भर्खर धर्मापुरको महेन्द्र शिशु निमाबि बाट कक्षा ७ उत्तीर्ण गरेका थियौ । दुईतिर मिलाएर बनाएका काठका टहराका कक्षा कोठाहरु , ठूलो चौर, अर्कोतिर छात्रबास , कार्यालय र हेडसरको आवास भएको त्यतिबेलाको नाम चलेको र भर्ना पाउन मुश्किल पर्ने बिधालय अबको मेरो अगाडिको पढाईको लक्ष्य थियो ।

हामी दुबैको नाम निस्कियो । संभवत पिताजी र मेरालागि मेरो भविष्य प्रतिको पहिलो पडावको त्यो सफलताको पहिलो खुशी थियो । गणित र अंग्रेजीमा कमजोर मलाई संयोगले हाम्रै परिवारिक नाताका स्कुलका संस्थापक प्रधानाध्यापक र शिक्षक बलबहादुर रावलसरको घरमा डेराको प्रवन्ध भयो । म सितापुर उहाँको घरमा बसेर पढन थाले । वास्तवमा मेरो अध्ययनको त्यो ठूलो टर्निङ प्वाइन्ट भयो । बलबहादुर रावल अंकलले मेरो अध्ययन प्रतिको रुचि र स्तरलाई नै कालान्तर सम्मकै लागि उभो लगाई दिनु भयो ।

-उमेर र अग्लाईले पनि सबै भन्दा सानो भएकोले कक्षामा म सबैको भाइ भए । त्यसमा पनि सबै दिदीहरुले “सानोभाइ” भनेर बोलाउन थाले । आज पर्यन्त समेत म कक्षा र स्कुलको सानोभाइ नै भइरहेको छु । मेरो संभवत त्यो नाम स्कुल जिवनकै स्मरणय योग्य प्रिय सम्बोधन अझै लागि रहन्छ । लहरै कक्षा ८,९ र १० कक्षा कोठाहरु थिए । कक्षा कोठामा हेडसर थोमस वर्गिस भुगोल पढाउन आउनु हुन्थ्यो । पिन ड्रोप साइलेन्स हुन्थ्यो ।

उहाँले लिथो मेसिनमा स्कुलमा प्रीन्ट गरेका मानचित्रमा पढाउनु र लेखाउनु हुने सहर र देशका नापनक्सा अझै पनि दुरुस्तै याद छन । एकदिन सोर्य मण्डलको परिक्रमा पढाउदा मलाई अगाडि बोलाएर फनफनी घुमाउनु भयो , ग्रहका परिक्रमा सम्झाउन । संभवत म बिद्यार्थी हुँदा सबैभन्दा डराएको त्यै दिन थियो ।

बहुदल र निर्दलको घोषणा भएको बर्ष थियो । नबुझे पनि कक्षामा हामी पहेलो र निलो रङ्गमा बिभाजित थियौ । खाली पिरियडमा दाइहरुले कक्षा भित्रै मतदानको खेल खेलाउनु हुन्थ्यो । कहिले पहेलो जित्थ्यो कहिले निलो । अभिभावकको बिचार अनुसार हामी बिभाजित हुन्थ्यौ । जनमत संग्रहका बेला हामी ८ कक्षामा थियौं ।

धनन्जय तिमिल्सिनासर नेपाली , रत्नप्रसाद संज्यालसर गणित , शेरबहादुर रावलसर बिज्ञान पढाउनु हुन्थ्यो हामीलाई । अंग्रेजी पढाउन मानबहादुर रावलसर भर्खर बम्बैबाट कलेज पढेर आउनु भएको थियो । अंग्रेजीको प्रारम्भिक ब्याकरण उहांबाटै कक्षा ८ मा सिकियो । अन्नखेती व्यावसायिक पाठ्यक्रम थियो । कुलराज पंथीसर चितवन बाट भर्खरै कृषि पढेर आउनु भएको थियो । मन्त्रमुग्ध हुने गरि पढाउनु हुन्थ्यो उहाँ । भुगोलमा पछि श्रीबास्तब सर आउनुभयो ।उहाँको शैली अझ विशेष थियो । जो पछि सम्म पनि यादगार रहिरहयो । केहिसमय काठमाडौंमा बिएससी पढेर आएका मनोज शाह सरले पनि बायोलोजी पढाएको याद छ । ऋषिकेश पन्डित सरले पनि बायोलोजी साइन्सका केही कक्षा लिनु भयो ।कक्षा ८ को सरस्वती पूजाको बेला सांस्कृतिक कार्यक्रम भएको थियो । त्यसमा कोहि किन बर्बाद होस नाटकमा सानो भुमिका खेलेको थिए । के थियो , ठ्याक्कै बिर्सिए    अहिले ।

स्कुलको गेटनेर सानो पसल थियो । चिम्सा आँखा भएका जेम्स दाइको। कपी , सिसाकलम चाहिए त्यही किन्थ्यौ । ससाना मिठाई टफीहरु किन्न पाइन्थ्यो । चौरमा टफीका प्लास्टिक फ्याक्नु हुन्न भन्नेमा सचेत हुन्थ्यौ । डर हेडसरकै हुन्थ्यो । जो चौरमा भेटिएका प्लास्टिक आफैं टिपेर हिडेको देख्थ्यौ । नयाँ स्कुल भवन ( अहिलेको भवन ) बन्ने भयो । अनि हामीलाई अहिलेको अस्पताल भएको भवनमा सारियो । हामीले कक्षा ९ र १० पढेको त्यही हो । प्राबि पुरानै ( अहिलेको ) ठाउँमा र निमावि देखि माबि नयाँ भवन ( अहिलेको ) अस्पताल भवनमा पढाइ हुन थाल्यो । सबै भन्दा पुर्वतिरको ब्लकमा कक्षा ८,९ र १० अनि एकातिर शिक्षकको अफिस र अर्कोतिर हेडसरको अफिस थियो ।

हामी १० कक्षा सम्म पुग्दा २० जना जति बिद्यार्थी थियौ ।जगत टमटा , भोला शाह, हेमन्त रावल , गंगा शाह , टीकाराम रेग्मी , कटक सेट्ठी , चन्द्रमान चौधरी , भास्कर खडका , गोबिन्द उपाध्याय , मोतीलाल चौधरी , भरत सुनार ,दिलिप शाह , दामिदर पण्डित , हिक्मत ठकुल्ला , सावित्री त्रीपाठी , रजनी सिहंपाल , रामु आले , जानकी रावल, ललिता दास , दुर्गा उप्रेती , मैयाँ खतिवडा र म ।( कसैलाई बिर्से भने क्षमा प्राथी छु )। भेट नभए पनि धेरै संग सम्पर्कमा छु । हालखबर प्रत्यक्ष अप्रत्यक्ष बुझिरहेको हुन्छु ।

पढनमा सावित्री त्रिपाठी दिदी सधै अगाडि । कोहि छेउसम्म पुग्न सकेनौ । अनवरत कक्षा फस्ट भइरहनु भयो । त्यसपछि पछि रजनी दिदी , जगत टमट्टा , भोला शाहदाइहरु । म भने कक्षा ८ मा साधारण पास हुँदै , ९ मा आठौ स्थान , टेस्टमा तेश्रोमा र बोर्डसम्म दोश्रो स्थानमा सुटुक्क पुगे , कक्षामा ।

खेलकुदमा नेतृत्व गर्थ्यो हाम्रो कक्षाले । भलिबलमा हेमन्तदाइ स्कुलको कप्तान , चन्द्रमान र जगत दाइ त्यस्तै बलिया खेलाडी । दौड र अन्यमा पनि दिदीहरु र अरु दाइहरु अगाडि । बिरेन्द्र शिल्डमा हाम्रै कक्षाको जबर्जस्त उपस्थिति हुन्थ्यो । हसुलियामा भएको बिरेन्द्र शिल्डमा खेलाडी नभए पनि उहाँहरुको पछि लागेर म पनि गएको थिए । दिनभर ट्राक्टरमा बसेर भजनी हुँदै रात्री हसुलिया स्कुल पुगेका थियौ । हाम्रो बिधालय जिल्लामा पहिलो भएर बिरेन्द्र शिल्ड जितेको थियो । कक्षा बाहेक सितापुरमा डम्बर ( उपमा ) फूपू , मोहन रावल अंकल , मकर केसी दाइ , चक्र बिष्ट दाइ कटासेका प्रेम गिरी , ललित कुँवर लगाएत थुप्रै स्वजनका मित्रवत सम्झना छन , त्यसकालका ।

नयाँ कक्षा चढदा किताब किन्न राजापुर गएको र कक्षा आठमा र दशमा एसएलसीको फर्म भर्न फोटो खिच्न तिकुनिया जानु पर्थ्यो । साइकलमा सरर पुगिन्थ्यो । तिकुनियामा फोटो खिचेको ! रेल हेरेको सम्झना अझै ताजा छन ।

धनगढी एसएलसी दिन जाने हामी अन्तिम ब्याज ( बि. सं. २०३९ ) थियौ । हाम्रै जाचँको बेला , गणितको दिन बिद्यार्थी र प्रहरी बिच झडप भइ गणितको जाँच स्थगित भयो । पछि बैशाखमा त्यो जाँच दिन गइयो । पंचोदय स्कुल हाम्रो परीक्षा केन्द्र थियो धनगढीमा । त्यस बर्षको झडपले २०४० देखि पुर्वी कैलालीका लागि टीकापुर केन्द्र कायम भयो । एसएलसी जाँच दिन धनगढी धाउनु पर्ने दु:ख यस क्षेत्रका विद्यार्थीका लागि सदाका लागि अन्त भयो ।

०४० सालको श्रावणमा हाम्रो रिजल्ट आएको रेडियोबाट थाहा पायौं । बर्षातको महिना थियो । बाटोघाटा सबै बन्द थिए । तेश्रो हो वा चौथो दिनमा राजापुरमा स्कुलको हेडसरकोमा गोरखापत्र पुगेको थाहा पायौं। हामी ४/५ जना हिडेर दौलतपुर घाटमा डुगां चढेर राजापुर पुग्यौ । गोरखापत्र पुगेको रहेछ ।हामी ८ जना पास भएका थियौ । सावित्री दिदी प्रथम र बाकी हामी दोश्रो डिभिजनमा पास भयौ । म चाहिँ दोश्रोमा रहेछु । पछि थाहा भयो ५८.६ % रहेछ मेरो मार्क । थोरैले प्रथम डिभिजन आउन पाईन । यसरी १४ बर्षमा मैले एसएलसी पास गरे , टीकापुर आवाशिय माविबाट ।

थुप्रै अन्य औपचारिक अनौपचारिक झझल्का स्मृतिमा अझै छन बिधालयका । सबै सम्झन सकिएन । सम्झेका पनि लिपिबद्द गर्न सकिएन । केही स्मृतिहरु कोरे । स्कुल भन्दा करिब दशहजार किलोमीटर पर अफ्रिकाको पश्चिमी कुनोबाट ।

सम्झनामा आएका नआएका सबै गुरुहरु जसले मलाई चेतना भर्नु भयो , स्नेह दिनु भयो र आशिष । सबैमा नतमस्तक छु । साथीभाई , सिनियरहरु, दाजु दिदीहरु सबै सबै प्रति कृतज्ञ छु । अझ सबैभन्दा बढी मेरो टीकापुर बिद्यार्थीकालका अभिभावक र गुरुमा पनि अब्बल गुरु जसले साझँभर लालटिनको धिपधिपे उज्यालोमा दिउँसोको स्कुलका पाठ घोकाई घोकाई मलाई तिखारनु भयो आदरणीय बलबहादुर रावलसरमा लाखौलाख कृतज्ञ छु ।

( प्रस्तुत संस्मरण बीरेन्द्र बिधामन्दिर माविको स्वर्ण जयन्तीमा भर्खरै प्रकाशित स्मारिका बाट साभार गरिएको हो । )

विपिनबारे यथार्थ जानकारी पाइएन : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिई शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल गरिरहेको बताएकी हुन् ।

हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उनले बताइन् । विपिन जोशीको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरेको उल्लेख गरिन् ।

त्यस्तै उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिइन् । मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालको प्रतिविद्धताका विषयमा जानकारी गराइएको उनले बताइन् ।

उनले जेनेभामा रहँदा विभिन्न देशका बिदेशमन्त्रीहरुसँग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन् । मन्त्री डा देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् ।  

बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० जनाको उद्धार

एजेन्सी – भारतको उत्तराखण्डको चमोली जिल्ला स्थित बद्रीनाथ मन्द्रिर क्षेत्रमा  शुक्रबार ठूलो हिमपहिरो जाँदा ठूलो संख्यामा कामदार फसेका छन् ।  सडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका १० जनालाई उद्धार गरिएको छ । भने अन्यको उद्दार कार्य जारी छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, “सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति  हिउभित्र फसेका छन् । उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन् ।” प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको बताए ।

“मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक सङ्गठनको शिविर नजिकै ठूलो हिमपहिरो खसेको छ जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका र तीमध्ये १० जना कामदारलाई उद्धार गरी गम्भीर अवस्थामा माना नजिकैको सेनाको क्याम्पमा पठाइएको छ,” प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले एएनआईसँग बताए ।
यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए । उनले भने, “तीनदेखि चारवटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ,” बीआरओका कार्यकारी इञ्जिनियरले भने । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारत–तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको बताए ।

लोकतन्त्रको विकल्प कुनै तानाशाही व्यवस्था हुन सक्दैनः गृहमन्त्री लेखक

काठमाडौं, १६ फागुन । गृहमन्त्री रमेश लेखकले संघीय संसद्मा विचाराधीन शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो पारित गराउन सरकार लागिपरेको बताएका छन् । आज (शुक्रबार) नेशनल प्याव्सको महाधिवेशनमालाई सम्बोधन गर्दै उनले शिक्षा विधेयकलाई सन्तुलित बनाएर पास गरिने बताए । विधेयकमा विद्यार्थी, अभिभावक र शिक्षकको सर्वोत्तम हितलाई ध्यानमा राखेर शिक्षा विधेयक पारित गरिने उनले बताए । शिक्षा विधेयक पारित गराउने सन्दर्भमा प्रतिपक्षी दलहरु पनि सहमत रहेको उनले बताए ।

वर्तमान सरकार केही मानिसलाई मन्त्री र कोही मान्छे प्रधानमन्त्री बनोस् भनेर नबनेको उनको दाबी छ । सरकार देशमा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको उनको दाबी छ ।

साथै, वर्तमान व्यवस्थाको विकल्प अर्को कुनै व्यवस्था हुन नसक्ने उनको दाबी छ । मन्त्री लेखकले लोकतन्त्रको विकल्पमा अर्को कुनै तन्त्र आएपछि सबै कुरा ठीक हुन्छ भन्नु बेठीक रहेको बताए । ‘लोकतन्त्रको विकल्प कुनै तानाशाही व्यवस्था हुन सक्दैन । यो संसारको यथार्थताले देखाइसकेको कुरा हो । लोकतन्त्रको एउटा विकल्प हो, लोकतन्त्र । केही कुराहरुको कमी भएको छ, त्यसलाई राम्रो गर्नुपर्यो । अगाडि बढाउनुपर्यो । केही कुरा भएका छन्, धेरै कुरा गर्नुपर्यो । तर, लोकतन्त्रमा हुन सकेन, अर्को कुनै तन्त्र आएपछि हुन्छ भन्नु त्यो बेठीक हो,’– उनले भने ।

चिन माथि थप दश प्रतिसत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । साथै उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताएका छन् ।

विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ ।

अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले यस महिना क्यानडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरे । तर एक महिना लामो विश्राम मंगलबार समाप्त हुँदै छ ।

अर्को हप्ता शुल्कमा अगाडि बढ्ने योजना छ कि छैन भन्ने पत्रकारहरूको प्रश्नपछि ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा जबसम्म फेन्टानिलको समस्या बन्द हुँदैन ‘वा गम्भीर रूपमा सीमित हुँदैन’ प्रस्तावित शुल्कहरू निर्धारित रूपमा हुने लेखेका छन् ।

‘चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ’, उनले मार्च ४ को सन्दर्भमा भने ।

यस महिनाको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गरे। यसबाट बेइजिङलाई जवाफी कारबाही गर्न उत्प्रेरित गर्‍यो ।

एक अमेरिकी अधिकारीले फेन्टानिलका कारण लगाइएको अवस्थित शुल्कमा नयाँ १० प्रतिशत शुल्क थपिएको पुष्टि गर्दै लागूपदार्थ मामिलामा ‘अपर्याप्त प्रगति’ भएको बताएका छन् ।

फेन्टानिल मुद्दालाई सम्बोधन गर्न वासिङ्टनले तीन वटै देशविरुद्ध कारबाही गर्नुपर्ने अधिकारीले बताए । चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले बिहीबार वासिङ्टनको अघिल्लो १० प्रतिशत शुल्कप्रति चिन्ता व्यक्त गरे ।

‘चीन यसको दृढतापूर्वक विरोध गर्दछ र सम्बन्धित जवाफी कदमहरू चालेको छ’, नवनियुक्त अमेरिकी व्यापार प्रतिनिधि (युएसटिआर) जेमिसन ग्रिरलाई लेखेको पत्रमा वाङले भने ।

ट्रम्पको खतराबाट आफ्नो अर्थतन्त्रलाई जोगाउने योजना बनाउन चिनियाँ नेतृत्वको बैठक अर्को हप्ता बस्ने भएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार ट्रम्पको धम्की शुल्कबाट बच्न उहाँसँग कुरा गर्ने आशा गरेको बताए।

एक उच्चस्तरीय मेक्सिकाली प्रतिनिधिमण्डल सम्झौताको खोजीमा वासिङ्टनमा छ । साथै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अधिकारीहरूले अमेरिकी करहरू रोक्न चौबीसै घण्टा काम गरिरहेको तर अर्को हप्ता उपायहरू लागु भएमा ‘तत्काल’ प्रतिक्रिया हुने बताए।

संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने फेन्टानिल र कागजातविहीन आप्रवासीहरूको एक प्रतिशतभन्दा कम क्यानाडाको सीमाबाट आउने कुरामा ट्रुडोले बारम्बार जोड दिए । ट्रम्पको धम्कीले प्रमुख निर्यातका= देशहरूमा कम्पन पैदा गरेको छ ।

टोकियोमा केही समयका लागि तीन प्रतिशतको गिरावटसँगै शुक्रबारको सुरुमा एसियाली बजारहरू रातो रङमा थिए ।

क्रिकिट्या गाउँको बाध्यता : चार कक्षाभन्दा माथि अध्ययन गर्न मुस्किल

बझाङ, १६ फागुन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तलकोट गाउँपालिका– ३ को दुर्गम बस्ती क्रिकिट्या गाउँका नागरिक स्वास्थ्य सेवाबाट मात्रै नभएर शिक्षाबाट समेत बन्चित हुनुपरेको छ । १८ परिवार बसोबास गर्ने यहाँका नागरिकका बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेका छन् ।

पालिकाको बिकट बस्तीका रुपमा रहेको क्रिकिट्या गाउँमा शिशु कक्षादेखि ३ कक्षासम्म अध्यायन गर्नका लागि गाउँमा नै विद्यालय रहेको भए पनि ३ कक्षा पास भएपछी भने बालबालिकालाई अध्यायन गर्न मुस्किल हुने गरेको स्थानीयले दुखेसो छ ।

गाउँमा रहेको शैनकालिका आधारभूत विद्यालयमा अहिले ३० जना बालबालिका अध्यनरत छन् । तर बालबालिकालाई बस्नका लागि उचित ठाउँ नहुँदा स्थानीयको घर भाडामा लिएर लामो समयदेखि पढन पाठन हुँदै आएको स्थानीयको भनाइ छ ।

शैनकालिका आधारभूत विद्यालयमा अध्ययन गर्ने अधिकांश बालिबालिका कक्षा ३ सम्म मात्रै अध्ययन गर्ने गरेका र पछि बिचमै पढाई छोड्नु पर्ने बाध्यता रहेको छ । गाउँ नजिकै अर्को विद्यालय नभएका कारण कक्षा ३ सम्म मात्रै अध्ययन गरेर छोड्नु परेको स्थानीय दिनेश बोहराले बताए ।

उनले भने, ‘‘यस गाउँबाट अर्को विद्यालयसम्म पुग्नका लागि ३ घण्टा पैदल यात्रा गर्नुपर्छ । फेरी बाटो जङ्गलको भएका कारण बालबालिकाहरुलाई एक्लै पठाउन जस्तो पनि हुदैन । जङ्गलको बाटोमा बाघ भालु तथा अन्य जङ्गली जनावरको समेत डर हुने भएका कारण गाउँकै विद्यालयमा आफ्ना छोराछोरीलाई ३ कक्षासम्म मात्रै अध्यायन गराउने गरेका छौं । माथिल्लो कक्षा धेरै जस्तो बालबालिकाले अध्यायन गर्न पाएका छैनन् ।’’

उनका अनुसार गाउँका केही स्थानीय बासिन्दाहरु वडा नम्बर ३ को अमर निमाविमा पठाउने गरेका छन् । उनीहरु घर नआएर उतै आफन्तकोमै बसेर पढाउने गरेको समेत बोहराको भनाइ छ  । तर आयस्रोत नभएका परिवारहरुले भने गाउँकै विद्यालयमा ३ कक्षासम्म पढाउने र त्यसपछि बालबालिकाहरुलाई विद्यालय नपठाउने गरेको समेत बुझिएको छ ।

स्थानीय सुर्ति बोहराले आफ्ना तीन जना छोराछोरीलाई कक्षा ३ सम्म गाउँकै विद्यालयमा पढाएको र  त्यसपछिको रुपातोलामा फुपुको घरमा डेरा गराएर पढाइरहेको जानकारी दिए। अन्य अभिभावकले पनि आफ्ना छोराछोरी गाउँकै विद्यालयमा पढाउने र पछि टाढाको विद्यालय नभएका कारण विद्यालय जानबाट बन्चित गराउने गरेको उनको भनाइ छ ।

यो गाउँमा कक्षा ३ सम्म अध्ययन गरे विद्यालय छोडेका १३–१४ जना भन्दा बढी बालबालिका रहेको स्थानीय बोहराले बताए ।

नाम मात्रैको विद्यालय

गाउँमै रहेको शैनकालिका आधारभूत विद्यालय नाम मात्रैको रहेको यहाँका स्थानीयको भनाइ छ । ३० जना अध्ययनरत यस विद्यालयमा सामान्य साईनबोर्ड समेत छैन । गाउँकै व्यक्तिको घर भाडामा लिएर विद्यालय सञ्चालनमा रहेको छ । यस विद्यालयमा दुई जना शिक्षक रहेका छन् ।

विद्यार्थीका लागि ताक्लकोट सडकखण्ड निर्माण गर्ने क्रममा स्काइभेटर लगाएर सामान्य खेल मैदान निर्माण गरिएको भएपनि बालबालिकालाई खेल्न उचित मैदान समेत नभएको अविभावको भनाइ छ ।

ढुङ्गा नै ढुङ्गा रहेको यस विद्यालमा अध्ययनरत बालबालिकाहरुका लागि दुई कोठे टिनको टहरा पालिकाको पहलमा निर्माण गरिएको छ ।

त्यस्तै, शिक्षकको तलब समेत गाउँलेहरुले चन्दा सङ्कलन गरेर दिनुपरेको छ । मासिक दश हजार दिने गरी शिक्षकले बालबालिकालाई अध्यापन गराउने र उक्त शिक्षकको तलब विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अविभावले चन्दा सङ्कलन गरी दिनुपरेको दुखेसो स्थानीय सुर्ति बोहराले बताए ।

यता तलकोट गाउँपालिकाका शिक्षा अधिकृत हरिन्द्र उपाध्यायले गाउँमा स–साना बालबालिकाहरुका लागि पालिकाले बाल कक्षाको अनुमति गत वगर्ष मात्रै दिएको बताए । उनले गत वर्ष डेढ लाख बजेट विनियोजन गरी टिनकको टहरा निर्माण गरेर अध्यापन गराउन पालिकाले निर्णय गरेको समेत जानकारी दिए ।

सभापति देउवाले बोलाए पार्टीका शीर्ष नेताको बैठक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएपछि सभापति देउवाले पार्टीमा छलफलका लागि दिउँसो ४ बजे निजी निवास बुढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएका हुन् ।

बैठकमा संसद्मा पेस भएका अध्यादेश र पार्टीको भातृ संगठनको अधिवेशन लगायतका विषयमा छलफल हुने एजेन्डा रहेको बताइएको छ ।

सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि अलपत्र रहेको अवस्थामा सत्ता पक्षले छलफललाई तीव्रता दिएका छन् ।

एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेले गरे आह्वान

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले संसारभरि रहेका गैर आवासीय नेपालीहरूलाई आउँदो मे महिनामा काठमाडौँमा भेला भएर संस्थालाई एकजुट बनाउन र नयाँ विधान पारित गर्न आग्रह गरेका छन् ।

उच्चस्तरीय समितिद्वारा बिहीबार भर्चुएल माध्यमद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै घलेले संघको इतिहासमा आगामी अधिवेशन एक कोशे ढुंगा हुने बताए । “यो एनआरएनएको जग हाल्ने अवसर हो। हाम्रो संस्थालाई रुपान्तरण गर्ने अवसर हो। हामीले अधिवेशनबाट नयाँ विधान बनाउने छौं। यो कमिटिको एकदमै बलियो म्यान्डेट छ। कसैलाई दोष दिनु भन्दा पनि ऐतिहासिक उपलब्धिको रुपमा लिएर कहिल्यै पनि विवाद नहुने गरी अगाडी बढ्ने अवसर हो,” उनले भने ।
” हाम्रो संस्था अहिले सम्म (२२ वर्ष सम्म) टप डाउन रुपमा चलेको छ। समस्या सदस्यतामा छ। समस्या प्रतिनिधि छनोटमा छ। सर्वोच्चले समस्या पहिल्यायो। त्यसैले हामीले सबैलाई डेलिगेट्स बन्न खुला ग-यौं। अब नयाँ विधानमा यो कुरा राख्नु प-यो। बढीभन्दाबढी साथीहरु काठमाडौँमा आउनु भयो भने ठूलो सफलता हुने छ। तपाईंहरुको सहभागिता विना यो सम्भव छैन,” उनले भने ।

अध्यक्ष घलेले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले परराष्ट्र मन्त्रालयबाट पत्र पाएपछि अहिले सम्म १० ओटा बैठक गरिसकेको बताए । “अब (एकता महाधिवेशनका लागि) झन्डै २ महिना बाँकी छ। रात दिन काम गरौँ। हामीले कति दुख ग-यौं आफ्नै भवन बनाउन, तर अहिले उक्त भवन अहिले भाडामा लगाएको छ। त्यो लिजमा दिने, मुनाफा गर्ने ठाउँ होइन। हामीलाई आफ्नै भवनमा बैठक गर्न नदिए पछि हामीले क्याफेमा, होटेलमा गएर पनि बैठक ग-यौं। अब पछाडी सर्दैनौं, अब कसैले पनि हामीलाई रोक्न सक्दैन,” उनले भने ।

आफ्नो स्वागत मन्तव्यमा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले आफुहरुले हिजो पनि एकता गर्नु पर्छ भनेर प्रयास गरेको र तत्कालिन प्रधानमंत्रीको रोहबरमा पनि एकताका लागि प्रयास गरेको बताए । “हाम्रो एकता नहुँदा गैर आवासीय नेपाली नागरिकताको हालत कस्तो भएको छ? सामाजिक सुरक्षा कोषमा हामीले गरेको सहकार्यका कारण विदेशमा निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउने व्यवस्था भै रहेको छ। अब सर्वोच्चको फैसला र परराष्ट्रको निर्देशन अनुसार एकताको सूत्रमा जोडिन म आग्रह गर्छु,” उनले भने ।

उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले कतिपय राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले अप्रिल महिनाभित्रै अधिवेशन गर्न समस्या भै रहेको जनाएको बताए। “तपाईंहरुको केही समस्या छ भने हामीलाई जानकारी दिनोस्। राम्रोसंग टीओआर हेर्नोस् । हामीहरुसंग एमओयु गर्नोस्,” कुँवरले भने । उहाँले परराष्ट्र मन्त्रालयले बनाएको क्राइटेरिया पुरा गर्ने जो कोही एनआरएनएको पंजीकृत सदस्य नेपाल आएर डेलिगेट्स बन्न सक्ने र मतदान गर्न सक्ने बताए । उनले एनसीसीको आफ्नो पोर्टलमा वा उच्चस्तरीय समितिको पोर्टल (www.nrnahlc.com) मा गएर सदस्य बन्न पनि आग्रह गरे ।

उच्चस्तरीय समितिकी सदस्य जानकी गुरुङले उच्चस्तरीय समितिको पोर्टलमा सदस्यताको लागि निवेदन आइरहेको र समितिले छानबिन गरी सदस्यता दिने काम सुरु गरि सकेको जनाइन् । उनले आवेदकहरुलाई भिसा भएको पासपोर्टको फोटो अपलोड गर्न पनि अनुरोध गरिन् ।
उच्चस्तरीय समितिकी सदस्य रबिना थापाले एकताको लागि समितिले निकै प्रयास गरिरहेको जनाउँदै आगामी मे महिनामा काठमाडौँमा हुन गइ रहेको अधिवेशन नै एकमात्र वैधानिक अधिवेशन भएको बताइन् । उनले संस्थामा लामो समयदेखि चलिरहेको विवादलाई समाधान गरी एकताबद्ध एनआरएनए बनाउन सबैलाई अपिल पनि गरिन् ।

अन्तरक्रियामा सहभागी एनआरएन अगुवा तथा पदाधिकारीहरुले एनआरएनएका सबै पक्षलाई एकता अधिवेशनमा भाग लिन र सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन अनुरुप संघको केन्द्रीय सचिवालयको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई बुझाउन आग्रह गरेका थिए । उनीहरुले सदस्यता निवेदनका लागि बुझाइएका कागजातहरु गोप्य र सुरक्षित रहने व्यवस्था गर्न पनि आग्रह गरे। सहभागीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष घलेले जवाफ दिएका थिए । कार्यक्रमको संचालन उच्चस्तरीय समितिका सदस्यद्वय रबीना थापा तथा जानकी गुरुङले गरेका थिए ।

सर्वोच्च अदालतको फैसला अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिले अहिलेसम्म गरेका कामकारवाही तथा आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना हुन गैरहेको एकता महाधिवेशनको तयारीको बारेमा जानकारी दिन जुम बैठक आयोजना गरेको थियो।

जीवनको रहस्य -दार्शनिक खोज

प्रेम राज अवस्थी

यदि हामी विचार मग्न भएर चिन्तन गर्ने हो भने, हाम्रो मनमा धेरै प्रश्नहरू उठ्छन्। जस्तो कि “हामी को हौँ?”, “हाम्रो जीवनको उद्देश्य के हो?” र “यो संसार किन यस्तो छ?”। यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास नै जीवनको रहस्य बुझ्ने प्रयास हो। हजारौँ वर्षदेखि साधु-सन्त, दार्शनिक विचारक, र वैज्ञानिकहरू अनवरत रूपमा यी यक्ष प्रश्नहरूको उत्तर खोजिरहेका छन्। उनीहरूका विचार, जीवनको परिभाषा, र विवेचनाहरूले हामीलाई सधैँ मोहित पारिराखेको हुन्छ।

विज्ञानले जीवनका भौतिक प्रमाणहरू दिए पनि मानव अस्तित्वको गहिरो बुझाइको लागि वेद, दर्शन, र आध्यात्मिक ग्रन्थहरूको अध्ययन अपरिहार्य छ। उदाहरणका लागि, खप्तड बाबाको शिक्षाले “हामी को हौँ?” र “हाम्रो जीवनको उद्देश्य के हो?” भन्ने प्रश्नहरूको गहिरो उत्तर दिन्छ। त्यही रूपमा, भगवद-गीताले जीवन, जगत् र आत्म जागरणको लागि गहिरो आध्यात्मिक दृष्टिकोण प्रदान गर्दछ। साथै, सुकरात, प्लेटो, अरिस्टोटल, कन्फ्युसियस, इमानुएल कान्ट, गौतम बुद्ध, र परमहंस योगानन्दका दर्शनहरूले जीवनका रहस्यहरू उजागर गरेका छन्।भगवद-गीताबाट प्रभावित खप्तड बाबाले मानव केवल भौतिक अस्तित्व मात्र नभएर शरीर, मन, र आत्माको संयोजन भएको बताएका छन्। गीताका अनुसार आत्मा अजर, अमर, र शाश्वत हुन्छ तर भौतिक शरीर अस्थायी हो, जुन हामीले लगाउने वस्त्र जस्तै परिवर्तनशील छ।

हाम्रो जीवन केवल खानपान र मनोरञ्जनमा मात्र सीमित छैन, हामी सँगै गहिराइमा गएर सोच्न सक्ने अद्वितीय क्षमता छ। यही जिज्ञासाले मानव अस्तित्वको रहस्य बुझ्न प्रेरित गरेको छ, जसका लागि विभिन्न दार्शनिक र वैज्ञानिकहरूले व्याख्या गरेका छन्। भगवद्-गीताका अनुसार सबै प्राणीहरू परम चेतनाका अंश हुन् र तिनीहरू कर्म तथा पुनर्जन्मको नियमद्वारा बाँधिएका छन्। यसै सन्दर्भमा, परमहंस योगानन्दले आत्माको उत्पत्तिबारे भिन्न दृष्टिकोण प्रस्तुत गरेका छन्। उनका अनुसार, आत्मा दिव्य ऊर्जाबाट उत्पन्न हुन्छ र आत्म-बोधमार्फत पुनः त्यही मूल स्रोतमा फर्किन्छ। यी विचारहरूले जीवनको गहिरो अर्थ खोज्न प्रेरित गर्दै, भौतिक संसारभन्दा परको सत्यलाई बुझ्न मद्दत गरेको छ।

भगवद-गीता रचिएको लगभग २००० वर्षपछि प्लेटोले जीवनको बारेमा दार्शनिक दृष्टिकोण प्रस्तुत गरेका थिए। भिन्न सांस्कृतिक र आध्यात्मिक परिप्रेक्ष्य भए पनि केही दृष्टिकोणमा समानता पाइन्छ। निस्वार्थ रूपमा कार्य गर, परिणाममा धेरै ध्यान नदेऊ भन्ने गीताको उपदेश सँगै मिल्दो जुल्दो, उता प्लेटो जीवन बुझ्नका लागि भौतिक सुख-सयलभन्दा माथि उठ्नुपर्ने तर्क गर्दछन्। दुवै दृष्टिकोणले आत्मज्ञानलाई प्राथमिकता दिए पनि, प्लेटोको दृष्टिकोण मुख्यतः तर्कमा केन्द्रित छ भने, गीताको दृष्टिकोण भक्ति र आध्यात्मिक मार्गमा आधारित छ। सुकरातले आत्म-ज्ञानलाई बुद्धिको प्रमुख तत्त्व मानेर आत्म-बोधको मार्ग देखाएका छन्। अरिस्टोटलले आत्मालाई शरीरसँग अविभाज्य मानेर मानव अस्तित्वलाई तर्कशीलताको आधारमा परिभाषित गरेका छन्। अरिस्टोटल भने पुनर्जन्मको धारणा अस्वीकार गर्छन्। अर्कोतर्फ, इमानुएल कान्टको विचार अनुसार, संसारको वास्तविकता हामीले देख्ने, महसुस गर्ने, र बुझ्ने सीमाभन्दा परको कुरा हो। हाम्रो ज्ञान मुख्यतः इन्द्रियहरूले ग्रहण गर्ने अनुभवमा निर्भर गर्दछ, किनकि हाम्रा विचारहरू इन्द्रियहरूको सीमाभित्र मात्रै रहन्छन्, त्यसैले हामी भौतिक संसारको गहिरो सत्यलाई पूर्ण रूपमा बुझ्न असमर्थ छौँ।

यो भौतिक संसार माया मात्र हो, जसले मानवलाई स्थायित्वको भ्रममा पार्छ भन्ने भगवद्-गीता को अवधारणा प्लेटोको “अलिगोरी अफ द केभ” सँग मेल खान्छ, जहाँ उनले मानिसहरू इन्द्रिय अनुभवलाई नै सत्य ठान्छन् भनेका छन्, जबकि वास्तविकता त्यसभन्दा पर छ। अरिस्टोटल भने प्लेटोको परिकल्पनालाई अस्वीकार गर्दै, ज्ञानको स्रोत अवलोकन र तर्क हुनुपर्छ भनी तर्क गर्छन्। कान्टले यसै प्रसङ्गमा सत्यको अनुभूति सीमित रहेको बताउँदै, हाम्रो ज्ञान इन्द्रियहरूको दायराभन्दा बाहिर जान नसक्ने धारणा प्रस्तुत गर्छन्। बुद्धको दृष्टिकोणअनुसार, दुःखको मुख्य कारण मानिसको “सबै कुरा स्थिर र अपरिवर्तनीय छन्” भन्ने भ्रम हो। वास्तवमा, संसार निरन्तर परिवर्तनशील छ, र जब हामी त्यसलाई बुझ्न असमर्थ हुन्छौँ, तब दुःख उत्पन्न हुन्छ। बुद्धले ध्यान, सचेतता, र इच्छाबाट मुक्तिलाई सत्यको मूल सूत्र ठानेका छन्। 

भगवद्-गीताले आत्म-अनुशासन, ध्यान, र आशक्तिबाट मुक्तिलाई परम सत्यको मार्ग मानेको छ। त्यसै गरि सुकरातले आत्म-जिज्ञासालाई ज्ञानको आधार मान्दै, प्रश्न गर्ने बानीलाई सत्यको खोजीका लागि अनिवार्य ठानेका छन्। प्लेटोले तर्कसङ्गत विचारलाई प्राथमिकता दिँदै सत्य भौतिक संसारभन्दा पर रहेको बताएका छन्, जबकि अरिस्टोटलले अनुभवजन्य ज्ञान र तार्किक विश्लेषणलाई सत्यको खोजीको प्रमुख आधार मानेका छन्। अर्कोतर्फ, इमानुएल कान्टको विचार अनुसार, संसारको वास्तविकता हामीले देख्ने, महसुस गर्ने, र बुझ्ने सीमाभन्दा परको कुरा हो। हाम्रो ज्ञान मुख्यतः इन्द्रियहरूले गर्ने अनुभवमा निर्भर गर्दछ र हाम्रा विचारहरू इन्द्रियहरूको सीमाभित्र मात्रै रहन्छन्, त्यसैले हामी भौतिक संसारको गहिरो सत्यलाई पूर्ण रूपमा बुझ्न असमर्थ छौँ। तर, योगानन्द र खप्तड बाबाका अनुसार सत्य केवल बौद्धिक चिन्तनको विषय होइन; गहिरो ध्यानद्वारा प्रत्यक्ष अनुभूत गर्नु पर्ने रहस्य हो। बुद्धको दर्शन जीवनमा पीडा किन हुन्छ र त्यसबाट मुक्ति पाउने उपाय के हो भन्ने विषयमा केन्द्रित छ। उनका शिक्षाले करुणा र शान्तिको मार्ग देखाउँदै, मानसिक तथा आत्मिक मुक्तिको उपाय सुझाउँछन्। यता, प्लेटोले आत्मा जन्मनु अघि नै एक परिपूर्ण र सुन्दर संसारमा अस्तित्वमा रहेको थियो भनी तर्क गर्छन्। उनका अनुसार, जब आत्मा भौतिक शरीरमा प्रवेश गर्छ, त्यसले पहिले देखेका विचारहरूलाई सम्झन खोज्छ, तर, भौतिक संसारका सीमितता तथा भ्रमहरूका कारण ती विचारहरू स्पष्ट रूपमा सम्झन कठिन हुन्छ। अरिस्टोटल भने पुनर्जन्मको धारणा स्वीकार गर्दैनन्। यसरी, विभिन्न दार्शनिक तथा आध्यात्मिक परम्पराहरूले सत्यको खोजीलाई फरक कोणबाट व्याख्या गरेका छन्, तर तिनको सार चेतनाको उच्चतम अनुभूतिसँग अन्ततः जोडिन्छ।

हरेक व्यक्तिको जीवनको उद्देश्य फरक हुन सक्छ। कोही ज्ञानको खोजी गर्छन्, कोही सङ्गीतमा रमाउँछन्, कोही खेलकुदमा समर्पित हुन्छन्, त कोही धन र शक्ति प्राप्त गर्न अभिप्रेरित रहन्छन्। तर, जीवनमा कुनै पनि मार्ग रोजे पनि, सबैका लागि महत्त्वपूर्ण कुरा शुद्ध हृदय हो। सच्चा जीवन केवल बाह्य सफलता वा उपलब्धिमा सीमित हुँदैन; बरु, दया, करुणा, र सत्यको मार्ग अवलम्बन नै जीवनको उच्चतम मूल्य हो। जीवन एक अद्भुत यात्रा हो, जहाँ सुख र दुःख दुवै अपरिहार्य छन्। यदि हामी सकारात्मक सोचका साथ ज्ञानको मार्ग तर्फ अग्रसर हुन्छौँ भने, जीवनको गुह्य रहस्य क्रमशः उद्घाटन हुँदै जान्छ। जीवनको वास्तविक सार स्नेह, दया, करुणा, र सत्यमा निहित रही आत्म-बोध र गहिरो चिन्तनद्वारा जीवनलाई अझ राम्रोसँग बुझ्ने अभ्यास गरौँ। 

विभिन्न दार्शनिक, सनातनी परम्परा, र योगीहरूको विचारमा भिन्नता भए तापनि, केही साझा धारणा छन्। सबैमा वास्तविकता सतही वा भौतिक दृष्टिकोणभन्दा गहिरो र व्यापक छ भन्ने कुरामा सहमति छ। अधिकांश चिन्तकहरू आत्म-ज्ञान जीवनको रहस्य बुझ्नका लागि अपरिहार्य छ भन्ने स्वीकार गर्छन्। यसै सन्दर्भमा, भगवद्-गीता, बुद्धका शिक्षा, र योगानन्द र खप्तड बाबाका उपदेशहरू आत्म-बोधमा केन्द्रित छन्, जसले जीवनको गहिरो अर्थ बुझ्न मद्दत पुर्‍याउँदछन्। अर्कोतर्फ, सुकरात, प्लेटो, र कान्ट जस्ता पश्चिमी दार्शनिकहरूले तर्कशील विचार र तात्त्विक विश्लेषण जीवनको सत्य खोज्न महत्त्वपूर्ण माध्यम हुन्। यद्यपि यी चिन्तकहरूको विधि फरक भए पनि सबैको साझा उद्देश्य भनेको जीवनको सत्यको खोजी नै हो। यस कारणले, जीवनको रहस्य बुझ्न दर्शन अध्ययन अत्यन्त आवश्यक छ। विशेष गरी, ग्रन्थहरू जस्तै भगवद्-गीता, वेद, र बुद्धका शिक्षामा गहिरो ज्ञान छ, जसले आत्म-चिन्तन, र जीवनको वास्तविक उद्देश्य बुझ्नमा मार्गदर्शन गर्दछन्। आत्मज्ञान र दार्शनिक चिन्तनले मानिसलाई गहिरो अस्तित्व र जीवनको सत्यतर्फ उन्मुख गराउँदछ र जीवनको साँचो अर्थ तब खुल्छ जब हामी आन्तरिक बोध र चिन्तनको मार्गमा अग्रसर हुन्छौ।

टिकट महँगो भएकै बेला राष्ट्रिय ध्वजावाहक विमानहरू ‘ग्राउन्डेड’, सस्तो टिकट पाउँदा नेपालीहरू भारत हुँदै विदेश उड्न थाले

काठमाडौं । नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने अधिकांश विमानहरू ‘ग्राउन्डेड’ हुँदा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसहित विदेश जान लागेका हजारौँ नेपालीहरू प्रभावित हुन पुगेको व्यवसायीहरूले बताएका छन्।

ट्राभल एजेन्सी तथा म्यानपावर व्यवसायीहरूका अनुसार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू कटौती भएका बेला राष्ट्रिय ध्वजावाहकका विमानहरू नउड्दा त्यसको असर व्यापक देखिएको छ।

अहिले स्तरोन्नतिका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको समयलाई सीमित पार्दै उडानहरू कटौती गरिएको छ। त्यसका कारण अन्तर्राष्ट्रिय हवाई भाडादर महँगो हुनुका साथै टिकट नै नपाउने अवस्था उत्पन्न भएको बताइन्छ।

यसैबीच अहिले नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका चारमध्ये तीन विमानहरू “प्राविधिक” कारणले ‘ग्राउन्डेड’ हुँदा अवस्था जटिल बनेको व्यवसायीहरू बताउँछन्।

नेपाल वायुसेवा निगमका अधिकारीहरूले चाहिँ “प्राविधिक समस्या हल गर्ने तथा पार्टपुर्जा ल्याउने” कार्य जारी रहेको र चाँडै सबै विमानले नियमित सेवा दिने अपेक्षा गरेको बताएका छन्।

विदेश जान लागेका नेपाली

तस्बिरको क्याप्शन,फाइल तस्बिर

नेपाल वायु सेवा निगमका विमानमा कस्तो समस्या?

नेपाल वायुसेवा निगमले हाल दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी गरी कुल चार विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

विभिन्न देशका १० गन्तव्यमा उडान गर्ने निगमका ती चारमध्ये दुवै न्यारोबडी र एउटा वाइडबडी गरी तीन जहाजहरू यसै साताको सुरुदेखि ‘ग्राउन्डेड’ भएको बताइएको छ।

ती जहाजहरू बिग्रिँदा टिकट लिइसकेका हजारौँ यात्रुहरू अलपत्र परेको निगमकै अधिकारीहरूले स्वीकार गरेका छन्। निगमका प्रवक्ता रमेश पौडेलले त्यस्ता यात्रुहरूलाई अन्य जहाजबाट पठाउने तथा होटल व्यवस्था गरेर राख्ने काम गरिएको बताए।

त्रिभुवन विमानस्थलमा नेपाल वायु सेवा निगमको विमान

उनले “प्राविधिक समस्या देखिएपछि” सुरक्षाका लागि उडानहरू रद्द गर्नुपर्ने अवस्था आएको बताए।

उनका अनुसार ग्राउन्डेड विमानहरूमा “फरकफरक खालका समस्या” देखिएका छन्।

समस्या समाधान गर्ने प्रयास पनि भइरहेको उनले बताए।

बिग्रिएका विमान कहिलेदेखि सञ्चालनमा आउलान्?

पौडेलले जहाजहरू बनाउने तथा नेपालमा नपाइएका पार्टपुर्जाहरू झिकाउने काम भइरहेको बताए।

उनले बिहीवार बिहान बीबीसीसँग भने, “एउटा उडिरहेको छ। अर्को वाइडबडी पनि आज बन्दै छ र आजैदेखि त्यो उड्ने सम्भावना छ।”

“दुईवटा न्यारोबडीहरू पनि शनिवारसम्ममा उड्छन्। यो ‘मेकानिकल’ कुरा भएकाले यसपालि त्यस्तो भएको हो। चाँडै बनाएर उडाउने कोसिसमा छौँ।”

निगमले हाल १० गन्तव्यमा अन्तराष्ट्रिय उडानहरू गरिरहेको छ।

त्यसका लागि २७५ सीट क्षमताका दुईवटा एअरबसका वाइडबडी र १५७ सीट क्षमताका एयरबसकै न्यारोबडी जेट विमानहरू उसले उडाउँदै आएको छ।

त्रिभुवन विमानस्थलमा उडान कटौती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएका रेडार

दैनिक २१ घण्टा खुला हुँदै आएको उक्त विमानस्थल गत कात्तिक २३ गतेदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुन थालेका थियो। त्यसले झन्डै ३० प्रतिशत उडान कटौतीमा परेको अधिकारीहरूले त्यस बेला बताएका थिए।

गत माघ १९ देखि दुई-दुई घण्टा समय थपिएपछि हाल दैनिक १६ घण्टा उडान भइरहेको त्यहाँका सूचना अधिकारी तेजबहादुर पौड्यालले बताए।

सुरुमा बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र उडान हुने व्यवस्था गरिएको थियो। अहिले भने बिहान ७ बजेदेखि राति ११ बजेसम्म उक्त विमानस्थलबाट उडान हुने गरेको छ।

आगामी चैत १९ गतेदेखि दुई घण्टा थप गरेर बिहान ६ बजेदेखि राति १२ बजेसम्म उडान गर्न मिल्ने व्यवस्था गरिने योजना रहेको उक्त विमानस्थलले जनाएको छ।

नेपालमा टिकट नपाएपछि भारतीय बाटो

पोखरा विमानस्थल

तस्बिरको क्याप्शन,पोखरा विमानस्थल

गत कात्तिकदेखि नै नेपालबाट सीधै गन्तव्य मुलुक जाने टिकट नपाइने र पाइए पनि धेरै महँगो हुने भएपछि कैयौँ नेपालीहरूले भारत हुँदै तेस्रो मुलुक यात्रा गरिरहेको बताइएको छ।

नेपाल असोसिएशन अफ टूर्स एन्ड ट्राभल्स’ अर्थात् नाट्टाका अध्यक्ष कुमारमणि थपलिया भन्छन्, “गएको कात्तिक महिनायता यहाँबाट सीमावर्ती भारतीय सहरका विमानस्थल पुग्ने अनि त्यहाँबाट दिल्ली, मुम्बईजस्ता सहर हुँदै विदेश जाने धेरै बढेका छन्।”

“हाम्रो अनुमानमा यो अवधि (कात्तिकदेखि हालसम्म) करिब ५५,००० मानिस त्यसरी गएका छन्।”

उनका अनुसार नेपालबाट सीधै उड्दा लाग्ने भाडाभन्दा भारतबाट आधा सस्तोमा टिकट पाइएपछि धेरै मानिसहरू दिल्ली पुगेर गन्तव्य देशहरूमा गएका हुन्।

त्यसरी जानेमा अधिकांश विशेष गरी खाडी मुलुकहरूमा जाने नेपाली कामदार रहेको बताइएको छ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी भन्छन्, “टिकट धेरै नै सस्तो हुँदा भारतको बाटो हुँदै जानेहरू बढेका छन्। भारतीय बाटो असुरक्षित पनि छ र त्यहाँ अध्यागमनमा नेपालीहरूले दु:ख पनि पाउँछन् तर सरकारले यसमा चासो दिएको छैन।”

थपलिया पनि यस्तो प्रवृत्तिले नेपालको व्यापार भारततर्फ सरेको र सरकारले राजस्वसमेत गुमाएको बताए।

“सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले यस्तोमा बजार हस्तक्षेप गर्ने अवस्था बन्नुपर्नेमा उल्टै जहाजहरू ग्राउन्डेड भएका छन्। उडान रद्द हुँदा झन् त्यसमा टिकट काटेकाको चाप पनि अर्कोतिर पर्न गएको छ,” उनले भने।

भैरहवा र पोखरा विमानस्थलमा उडान नहुँदा समस्या

व्यवसायीहरू भैरहवा र पोखराबाट नियमित तथा प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय उडानहरू नहुँदा पनि समस्या उत्पन्न भएको बताउँछन्।

“कम्तीमा भैरहवाबाट हाम्रा श्रमिक जाने गन्तव्य मुलुकमा नियमित उडान भएमा र प्रभावकारी सेवा दिन सके समस्या हुँदैन थियो,” व्यवसायी भण्डारीले भने।

गौतमबुद्ध विमानस्थल भैरहवाबाट अहिले नेपाल वायुसेवा निगम, यूएईको फ्लाईदुबई, कुवेतको जजीरा र थाईल्यान्डको थाई एअर एशियाले उडानहरू गरिरहेको अधिकारीहरूले बताएका छन्।

पोखराबाट भने अझै नियमित उडान हुन सकेको छैन।

यी दुवै विमानस्थलबाट नियमित उडानहरू नभएको भन्दै व्यापक आलोचना भइरहेको छ।

सरकारले दुवै विमास्थलबाट उडान गर्दा छुटहरूको व्यवस्था गरे पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू खासै इच्छुक देखिएका छैनन्। –बीबीसी नेपाली

हलिउड अभिनेता जीन ह्याकम्यान दम्पती मृत फेला

काठमाडौं । अस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती बेट्सी अराकावा मृत अवस्थामा फेला परेका छन् ।

न्यू मेक्सिकोको सान्ता फेस्थित आफ्नै घरमा उनीहरु मृत फेला परेको बीबीसीले जनाएको छ ।

न्यु मेक्सिकोको सान्ता फे काउन्टी शेरिफको एक विज्ञप्तिमा भनिएको छ, “हामी पुष्टि गर्न सक्छौँ कि जीन ह्याकम्यान र उनकी श्रीमती दुवै बुधबार दिउँसो सनसेट ट्रेलमा रहेको उनीहरूको निवासमा मृत फेला परेका थिए।”

सान्ता फे काउन्टी शेरिफको कार्यालयले भन्यो, “२६ फेब्रुअरी, २०२५ मा लगभग १:४५ बजे सान्ता फे काउन्टी शेरिफका डेपुटीहरूलाई हाइड पार्कको ओल्ड सनसेट ट्रेलमा रहेको ठेगानामा पठाइएको थियो, जहाँ ९५ वर्षीय जीन ह्याकम्यान र उनकी श्रीमती ६४ वर्षीया बेट्सी अराकावा र एउटा कुकुर मृत अवस्थामा फेला परेका थिए।”

घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

छ दशकभन्दा लामो फिल्मी करियरमा ह्याकम्यानले द फ्रेन्च कनेक्सन र द अनफर्गिभनमा आफ्नो कामको लागि दुईवटा एकेडेमी अवार्ड प्राप्त गरेका थिए ।

उनले विलियम फ्राइडकिनको सन् १९७१ को थ्रिलर फिल्म द फ्रेन्च कनेक्सनमा जिमी ‘पोपे’ डोयलको भूमिकाको लागि उत्कृष्ट अभिनेताको ओस्कार जितेका थिए भने सन् १९९२ मा क्लिन्ट इस्टवुडको वेस्टर्न फिल्म अनफर्गिभनमा लिटिल बिल ड्यागेटको भूमिकाको लागि उत्कृष्ट सहायक अभिनेताको लागि अर्को पुरस्कार जिते।

नेपाललाई मानवअधिकार परिषद्को सदस्य बनाउन परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यताका लागि नेपाललाई मतदान गर्न आग्रह गरेकी छिन्।

जेनेभामा जारी परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले नेपालले मानवअधिकार प्रवर्द्धनमा गरेको योगदानका आधारमा समर्थन गर्न अनुरोध गरिन्।

जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा आयोजित स्वागत समारोहमा उनले नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानवअधिकार प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको उल्लेख गरिन्। उनले शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय, समावेशीता र राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रतालाई प्राथमिकता दिने बताइन्।

परिषद्को सत्रमा विभिन्न देशका प्रतिनिधिहरू सहभागी थिए। मन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार जेनेभा पुगेको थियो र उनको शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रयागराज महाकुम्भमा ६६ करोड श्रद्धालु सहभागी

काठमाडौं। भारतको उत्तर प्रदेश, प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला समापन भएको छ। पुस २९ गते शुरू भएको मेला हिजो महाशिवरात्रिको दिन समापन भएको हो। मेला औपचारिक रुपमा समापन भए पनि श्रद्धालुहरु पुग्ने क्रम जारी छ।

यो अवधिमा ६६ करोड जनाभन्दा धेरै मानिसले गङ्गामा स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। महाकुम्भको अन्तिम दिन हिजो मात्रै डेढ करोड जनाभन्दा धेरैले स्नान गरेका थिए। उत्तर प्रदेश सरकारले मेलामा ४० करोड जना मानिस सहभागी हुने अनुमान गरेको थियो।

कुम्भमेलालाई विश्वकै सबैभन्दा धेरै मानिस जमघट हुने पर्व मानिन्छ। संयुक्त राष्ट्रसङ्घले यो मेलालाई मानव जातिको ‘अमूर्त सम्पदा’ का रूपमा उल्लेख गरेको छ।

कुम्भमेला भारतका चार वटा शहरमा हरेक १२ वर्षमा मनाइन्छ। दुई कुम्भमेलाको बीचको अवधिमा अर्धकुम्भमेला पनि आयोजना हुने गरेको छ। प्रयागराजमा आयोजित हुनेलाई सबैभन्दा ठूलो महाकुम्भ मानिन्छ।

पूर्व राजालाई मैले कुनै महत्व दिएको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै महत्व नदिएको बताएका छन् ।

विराटनगरमा बुधबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको विचारलाई आफूले कुनै महत्व नदिएको बताएका हुन् । उनले जनताको चेतना, आन्दोलन र परिस्थिति धेरै अगाडि बढिसकेको भन्दै उनले अब देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई कसैले बोल्न लगाएको हुनसक्ने बताउदै प्रचण्डले भने, ‘छैन, पूर्व राजालाई मैले कुनै महत्व दिएको पनि छैन, उनले बोले, मानिसहरुले प्रतिक्रिया दिइरहेका छन् । किनभने इतिहास अगाडि बढिसक्यो, जनताको चेतना, आन्दोलन, परिस्थिति अगाडि बढिसक्यो, कसैले बोल्न लगाएको होला, नजिक बसेर केही पाउँला भन्ने हिसाबले केही बोल्न लगाएका होलान् । त्यसको कुनै अर्थ छैन, यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा सम्भव ।’

निकुञ्ज क्षेत्रबाहिर एक हजार ८६३ जलपन्छी

धनगढी, फागुन १४ गते । कञ्चनपुरमा संरक्षित क्षेत्रबाहिर विभिन्न प्रजातिका एक हजार ८६३ जलपन्छीको अभिलेख भएको छ । यसवर्ष हिउँदमा गणना गर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाहिर रहेका सिमसार क्षेत्रमा सो संख्यामा जलपन्छी भेटिएका हुन् । गत जनवरीमा जलपन्छीको गणना गरिएको थियो ।

बेलौरी नगरपालिका –६ स्थित पुरैनी तालमा ७६३ जलपन्छी अभिलेख गरिएको छ । यस्तै, सोही पालिकाको वडा ७ मा रहेको नकैया सिमसार क्षेत्रमा ६१ वटा जलपन्छी अभिलेख गरिएको छ । नकैया क्षेत्रमा यसैवर्ष सारस पनि देखिएका थिए ।

बेलौरी नगरपालिका –१, २ र ३ मा पर्ने बन्दा तालमा ४२० वटा जलपन्छी भेटिएको जनाइएको छ । त्यस्तै, बेलडाँडी गाउँपालिकामा रहेको रतनपुर फार्म ल्याण्ड क्षेत्रमा विभिन्न प्रजातिका ४८० वटा जलपन्छी अभिलेख भएको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए।

जाडो छल्न उत्तरी ध्रुवबाट यहाँका सिमसारमा विभिन्न प्रजातिका पाहुना जलपन्छी पुगेको बेला हरेक वर्ष जलपन्छीको गणना गर्ने गरिन्छ । विगतको तुलनामा जलपन्छी घटेको पाइएको डङ्गौराले बताए । चराको प्राकृतिक वासस्थानको विनाश र मानवीय हस्तक्षेपका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको उनको भनाइ छ ।

 

परराष्ट्रमन्त्री राणाको मानवअधिकार उच्चायुक्तसँग भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा. देउवाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा. देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा विश्वकै उदाहरणीय एवं पथ प्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपाल प्रतिबद्ध रही आएको बताइन् ।

मन्त्री डा. देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् । उक्त भेटमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा प्रमुख राजेन्द्र थापालगायत थिए ।

एलन मस्कको क्यानडेली नागरिकता खारेजीको माग

ओट्टावा – अमेरिकी खर्बपति व्यवसायी एलन मस्कको क्यानडेली नागरिकता खारेज गर्न माग गर्दै २ लाख ५० हजारभन्दा बढी क्यानडेली नागरिक र स्थायी बासिन्दाहरूले संसदीय याचिकामा हस्ताक्षर गरेका छन्।

याचिकाकर्ताहरूका अनुसार मस्क अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्, जसले क्यानडाको राष्ट्रिय सुरक्षामा चुनौती उत्पन्न गराएको छ। उनीहरूले मस्कसँगको क्यानडेली नागरिकता र पासपोर्ट खारेज गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोलाई आग्रह गरेका छन्।

यसैबीच, अमेरिका आउँदो महिनादेखि क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने तयारीमा छ। साथै, ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने प्रस्ताव गरेका थिए, जसलाई लिएर क्यानडामा व्यापक असन्तुष्टि देखिएको छ।

याचिकामा मस्कको ट्रम्पसँगको निकटता क्यानडाको स्वायत्ततामाथि असर पार्न सक्ने दाबी गरिएको छ। ट्रम्प अमेरिकी राष्ट्रपति पुनः निर्वाचित भइसकेपछि मस्क उनको सबैभन्दा नजिकका सहयोगीमध्ये एक मानिएका छन्। याचिकामा उल्लेख भएअनुसार, “मस्कले आफ्नो सम्पत्ति र शक्ति प्रयोग गरी हाम्रो राजनीतिक प्रणालीलाई प्रभावित पार्ने प्रयास गरेका छन्।”

याचिकाको प्रतिक्रियामा मस्कले ‘क्यानडा साँच्चिकै देश होइन’ भनेर एक्स (Twitter) मा टिप्पणी गरेका थिए, जसले झन् विवाद निम्त्याएको छ। अब यो विषयमा क्यानडेली सरकार कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।

 

 

विश्वकप विजेता बुफोन नेपाल आउने

काठमाडौं । इटालीका विश्वकप विजेता गोलरक्षक जियानजुइजी बुफोन केपी ओली कप फुटबलको फाइनल खेलमा आउने भएका छन् ।

युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न र नेपालका विभिन्न स्थानको भम्रण गर्न बुफोन नेपाल आउने तयारीमा रहेको जनाइएको छ । स्रोतअनुसार बुफोनको म्यानेजमेन्ट टोलीले ३ लाख अमेरिकी डलर मागेको तर, पछि १ लाख डलरसम्ममा आउन राजी भएका हुन् ।

हालको विनिमय दरअनुसार १ लाख डलर बराबर नेपाली १ करोड ३८ लाख रुपियाँ हुन्छ । बुफोनलाई नेपाल ल्याउन हवाइ टिकट तथा बस्ने खर्चसहित करिब डेढ करोड रुपियाँ खर्च हुनेछ ।

 

द्वन्द्वकालका विस्थापित बाइस वर्षपछि फर्के घर

दार्चुला, फागुन १४ गते । माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ वर्षपछि घर पुगेका छन् । २०५९ सालमा बेपत्ता भएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किएका हुन ।

देव २२ वर्षअघि १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरूले निर्घात कुटपिट गरेपछि गाउँबाट भागेर भारत पसेका थिए । “मलाई राम्रोसँग याद छैन, सुराकी कि के गरेको भन्थ्यो, गोकुलेमा बन्द कोठामा कुट्दाकुट्दै मर्‍यो भनेर छोडेको थियो,” देवले भने, “माओवादी लडाकुको कुटाइले म चल्न सक्ने अवस्थामा थिइन, एक जना माओवादीले मरिसक्यो यसको व्यवस्था भोलि बिहान गरौँला भनेर मलाई त्यही अवस्थामा छोडेर गएका थिए ।”

माओवादीले मरिसक्यो भनेर छोडेका देव चौलानी नदी पार गरी बैतडी हुँदै भारत पुगेको बताउछन् । उनलाई कहाँबाट कहाँ पुगे भन्ने यकिन छैन । लुकीछिपी भारत पुगेपछि उनले भारतका विभिन्न ठाउँमा काम गरेर गुजारा गरेको बताए । बजार क्षेत्रमा माओवादी आइहाल्छन् कि भन्ने लागेपछि भारतको सिमलाको विभिन्न गाउँमा लुकेर बसेको धामीले बताए । “अहिले पनि देशमा शान्ति भइसक्यो भन्ने कुरा थाहा थिएन । घर आउन मन त लाग्थ्यो तर माओवादीको कुटाइ सम्झिँदा सबै कुरा बिर्सन्थे, त्यहाँ ९सिमला० बस्दा पनि कतै माओवादी आइहाल्छन् कि भनेर बजार जाँदा डर हुन्थ्यो, दुर्गम गाउँमा लुकेरै बसेको थिएँ,” उनले भने ।

उनको मनमा अहिले पनि माओवादीको त्रास बाँकी नै छ । भारतको सिमलाबाट नेपाल आउन २२ वर्षदेखि हिम्मत जुटाएका देव अहिले छोराको विद्यालय भर्ना नहुने भए पछि जे भए नि सहुला भनेर नेपाल आएको बताउछन् । “मलाई नेपालमा युद्ध नै चलिरहेको छ भन्ने लागेको थियो, बाटोमा पनि डर नै थियो, अरूलाई सोध्दै, अनुहार लुकाउँदै घर पुगे, यहाँ पुगेपछि सबैले अब शान्ति भयो अहिले युद्ध छैन भनेपछि बल्ल मन शान्त भयो,” उनले भने ।

सिमलामा बस्दै आएका देवले केही वर्षपहिले उतै बिहे गर्नुभएको थियो । उनको छोराको उमेर पाँच वर्ष भयो,  विद्यालय भर्ना गर्न जन्मदर्ता चाहिने भएपछि उनि नेपाल आएका । सिमलामा मजदुरी गर्दै आएका उनलाई अब भारत जानेभन्दा पनि सबैले सहयोग गरे गाउँमै बस्न मन छ । “मलाई यताको बारेमा केही जानकारी छैन । म यताबाट गएको २२र२३ वर्ष भयो, अहिले धेरै फरक छ, सबैले सहयोग गरे यतै बस्ने गरी परिवार नै लिएर आउँछु,” उनले भने।

शैल्यशिखर नगरपालिका–१ का वडाध्यक्ष भरतबहादुर खडायतले पनि देवलाई यतै बस्ने व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए । “उहाँले धेरै दुःख पाउनुभएको छ । अब यतै बस्ने व्यवस्था गर्न हामी सबैले सहयोग गर्छौं,” वडाध्यक्ष खडायतले भने । देवका बुवा र एक भाइ कैलाली बसाइँ सरेर गइसकेका छन् । अहिले गाउँमा कान्छा भाइ छन् । अलिकति जमिन पनि छ, यतै बस्छन् भने हामी सबै गाउँले पनि सहयोग गर्न तयार छौँ, देवका छिमेकी परमा खडायतले भने ।

देवकी आमाको पहिले नै मृत्यु भएको र बुवा बहादुर धामी कैलालीमा बस्दै आएको वडाध्यक्ष खडायतले बताए । वडा कार्यालयले ४३ वर्षीय देवको जन्मदर्ता बनाइदिएको छ । सोमबार वडा कार्यालयमै देवको २०३८ साल वैशाख १० गतेको जन्मदर्ता गरिएको वडाध्यक्ष खडायतले बताए । २२ वर्षपछि पहिलो पटक गाउँ फर्किएका देवलाई गाउँमा जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका छन् । वडा परिवारले पनि देवलाई २२ वर्षसम्म भोगेका अनेकौँ दुःख बिर्सेर नयाँ जीवनको सुरुवात गर्न शुभकामना दिँदै गाउँमै बस्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् ।

देवको जन्मदर्ता गरिएको र नागरिकतालगायत आवश्यक प्रमाणपत्र बनाउन वडा कार्यालयको तर्फबाट सबै सहयोग गर्ने वडाध्यक्ष खडायतले प्रतिबद्धता गरे । बेपत्ता देवको परिवारले राज्यबाट अहिलेसम्म कुनै सहयोग नपाएको वडाध्यक्ष खडायतले बताए।  -गोरखापत्र

धनगढीकी बिख्मा राना महाकुम्भ मेलामा सम्पर्क विहीन

धनगढीः कैलालीको धनगढीकी एक महिला भारतको प्रयागराज महाकुम्भ मेलामा सम्पर्क विहीन भएकी छिन्।

धनगढी उपमहानगरपालिका-१० घुयाघाटका राधेश्याम रानाकी श्रीमती ४५ वर्षीया बिख्मा राना सोमवारबाट सम्पर्क विहीन भएकी हुन्। पानी लिन जान्छु भनेर गएकी राना सम्पर्क विहीन भएको प्रकाश रानाले बताएका छन्। उनलाई कसैले देखे +९१९९८०४५९४०२ र +९१७४८३४५७०११ मा सम्पर्क गर्न प्रकाश रानाले अनुरोध गरेका छन्।

राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि नेकपा एमाले र माओवादी केन्द्रका सांसदले आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलका क्रममा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित विधेयक अध्ययन नै नगरी आएको आरोप लगाए।

उनले वैदेशिक लगानी सम्बन्धी ऐनले आम सञ्चार क्षेत्रमा वैदेशिक लगानी निषेध गरेको भए पनि विधेयकमा त्यसलाई खुला गरिएको भन्दै प्रश्न उठाए। ूयत्तिसम्म पनि अध्ययन गरेर नआउने हो भने राष्ट्रिय सभालाई वृद्धाश्रम नभनेर के भन्ने ? भन्दै उनले टिप्पणी गरे।

शाहीको यो भनाइप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र एमाले सांसद रघुजी पन्तले आपत्ति जनाए।

राष्ट्रिय सभाबारे गरिएको टिप्पणी अनुचित भएको बताउँदै पाण्डेले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए। एमाले सांसद पन्तले पनि शाहीको अभिव्यक्तिलाई अस्वीकार्य भन्दै विरोध जनाए।

साथीको कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिवको मृत्यु

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारका क्रममा मृत्यु भएको छ।

धादिङको धुनीबेसी नगरपालिका(९ घर भएका ३६ वर्षीय थापा काठमाडौंको कलंकीस्थित साथीको कोठामा अचेत अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो, जहाँ सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

थापा धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलंकीमा कोठा लिई बस्ने शिव कुँवरको कोठामा अचेत भेटिएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

ओली सरकारबाट जनताको कहिले भलो भएन : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसद्मा उठाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शाहीले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको प्रति आपत्ति जनाउँदै संघीय सरकारको आलोचना गरेका हुन् ।

‘गाउँ–गाउँमा सिंह गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिले पनि भलो भएन,’ सांसद शाहीले भने, ‘काठमाडौं महानगरपालिकासहित देशका धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्बन्धित स्थानीय तहबाट हुने सेवा प्रवाहमा असर परेको उनले बताए । शाहीले तलब रोकिँदा शिक्षक र कर्मचारी पनि समस्यामा परेको बताए ।

‘काठमाडौं महानगरपालिकामा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई त्यसको पाप लाग्ला,’ शाहीले भने । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीले पनि तलब पाउन नसकेको भन्दै उनले ओली सरकारको आलोचना गरे ।

‘८३ हजार ५५८ निजामती कर्मचारी नेताको घरमा चाकडी गर्न र उनीहरूको घरदैलो अभियानका लागि नियुक्ति गरेको हो रु,’ सांसद शाहीले प्रश्न गरे ।

दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

काभ्रेभञ्ज्याङमा आज भएको बस दुर्घटनाको विषय पनि उनले संसद्मा उठाए । यस्तै ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन र सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सांसद खतिवडाले संसद्मार्फत सरकारसँग माग गरे ।

यस्तै सांसद देवेन्द्र पौडेलले विभिन्न सडक दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग गरे । दुर्घटनामा कमी ल्याउन सडक सुरक्षा प्रभावकारी बनाउने र ट्राफिक नियमको पालनामा कडाइ गर्नुपर्ने उनको सुझाव छ । राति दुर्घटना हुँदा घाइतेको उद्धार गर्न राज्यसँग ‘नाइटभिजन’ हेलिकोप्टर नहुनु दुःखद भएको सांसद पौडेलको भनाइ छ ।

सांसद ज्ञानबहादुर शाहीले सरकारले अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकेको र कतिपय पालिकाका कर्मचारीले तलब पाउन नसकेको विषय संसद्मा उठाए । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत स्थानीय तहका लागि विनियोजन भएको वित्तीय समानीकरण अनुदान अर्धवार्षिक समीक्षापछि कटौती गरिएकामा उनले आपत्ति जनाए ।

सांसद अनिता देवीले कर्मचारीलाई जनप्रतिनिधिले सहयोग नगरेको विषय संसद्मा उठाइन । त्यस्तै, पाथीभरा क्षेत्रमा भएको विवादलाई समाधान गर्न सरकारले भूमिका खेल्नुपर्ने उनले बताइ्न ।

सांसद लालवीर चौधरीले जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या दिनानुदिन बढिरहेको उल्लेख गर्दै उक्त  समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । राष्ट्रिय निकुञ्ज, वन क्षेत्र र भारतीय सीमा क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढेको उनले बताए ।

सांसद डा. अमरेशकुमार सिंहले विभिन्न धार्मिक सम्प्रदायबीच वैमनस्यता उत्पन्न हुने र सामाजिक सद्भाव बिग्रिने गरी सामाजिक सञ्जालमा आउने अभिव्यक्तिमाथि निगरानी र नियन्त्रण आवश्यक रहेको बताए ।

जडीबुटीकै भरमा बिरामी

बझाङ । बझाङको उत्तरी भेगको एउटा दुर्गम गाउँ छ, जहाँ अहिलेसम्म पनि जडीबुटीकै भरमा उपचार गराउनुपर्ने बाध्यता छ । सामान्यदेखि जटिल बिरामी हुँदासम्म पनि गाउँमा कोहि बिरामी भयो की जटिबुटीको खोजी सुरु हुन्छ ।

तलकोट गाउँपालिका–३ को कृकिट्ने गाउँमा नत स्वास्थ्य चौकी छ । नत स्वास्थ्यकर्मी छन् । स्वास्थ्य उचारका लागि मान्छे बिरामी भयो की स्वास्थ्य चौकी भन्दा पनि जङ्गलमा जडीबुटी खोज्न जानु पर्ने कृकिट्टे गाउँवासीको रहर होइन बाध्यता हो । कृकिट्टे गाउँमा जम्मा १८ परिवारको मात्रै बसोवास रहेको छ ।

ज्वरो, पखाला, रुघाखोकी, आँउ आदी लागेको खण्डमा वन जङ्गलमा पाइने, लालीगुँरासको फुल, गनाल्दो, कटुकी, टिमुर पानी आदी खाएर उपचार गर्नुपर्ने अवस्था कृकिट्टे गाउँको रहेको स्थानीय बताउँछन् ।

घर परिवारमा कोहि बिरामी भएमा जडीबुटी गरेर नै ठिक पार्नु पर्छ । यदी स्वास्थ्यमा जटिल समस्या आएको खण्डमा मात्रै ४ घण्टाको जङ्गलको बाटो भएर वडा नम्बर ३ कै अर्को गाउँ रूपातोला सम्म पुग्नु पर्छ । गाउँमा एउटा स्टेचर सम्म पनी छैन । गाउँलेहरुले बिरामीलाई डोको काटेर पिठ्ठीउमा बोकेर नै स्वास्थ्य चौकीसम्म बोकेर लिनु पर्छ ।

पाँच वर्षअघि २०७६ सालमा तलकोट गाउँपालिकाको पहलमा एउटा सामान्य प्राथमिक स्वास्थ्य उपचार दिनका लागि टिनको टहरा निर्माण गरी कृकिट्टे स्वास्थ्य क्लिनिक स्थापना गरी उक्त क्लिनिकमा स्वास्थ्यका सामाग्रीहरू समेत उपलब्ध गराएको थियो । तर स्वास्थ्यकर्मी नभएकै कारण उक्त औषधी तथा उपकरण पनी सडेर खेर गएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । गाउँलेहरूले हरेक महिनाको १८ गते स्वास्थ्यकर्मी गाउँमा आएर गाउँलेहरूको रेखदेख तथा औषधी उपचार सम्म गर्ने भन्ने निर्णय समेत गरेको थिए । तर उक्त कार्य गर्नु र नगर्नुको अर्थ नै भएन । बिरामी कती बेला हुन्छन् रु पत्तो हुँदैन । महिनाको १८ गते स्वास्थ्यकर्मी आए नआएको अर्थ नै नहुने यहाँका स्थानीयको भनाइ छ ।

यहाँका नागरीकहरूको आय आर्जनको स्रोत केहि पनि नभएका कारण आर्थिक रूपमा पनी कमजोर छन् । स्थानीय अस्मिता बोहराले भने, “सडक गाउँमा पुगेको छ । गाउँमा कोहि बिरामी भएर जीपलाई बोलाएर बुकिङ गर्नु परे १० हजारभन्दा बढी भाडा तिर्नु पर्छ । त्यत्रो रकम तिर्न सक्ने क्षमता गाउँमा कसैको पनि छैन । त्यसैले गाउँमा कोहि धेरै भैहाल्यो भने डोकोमा नै बोकेर स्वास्थ्य चौकीसम्म लिनु पर्ने बाध्यता यहाँको छ । यस विषयमा सबै जनप्रतिनिधी, कर्मचारी जानकार नै छन् । तर समस्या समाधानका लागि पहन सम्म गरेको पाईदैन ।

हामी दुखी गरिबहरूको समस्या कस्ले बुझि दिने रु”। उनि सँगै रहेकी जुनादेवि बोहराले मत माग्दा खेरी गाउँमा पुग्ने जनप्रतिनिधीहरू पछि गाँउमा फर्केर समेत नहेर्ने गरेको गुनासो समेत सुनाए ।

उनले एकोहोरो हुँदै भनिन्, “गाउँमा स्वास्थ्यको मात्रै समस्या नभई खानेपानीको पनि हाहाकार हुन्छ । ताक्लाकोट सडक खण्ड कटान गर्ने ठेकेदारले पाइप दिएर खानेपानी खान पाएका छौं । त्यो पनि बिहान र बेलुकी मात्रै उपलब्ध हुन्छ । खानेपानी दुनिबन खोला बाट ल्याएका छौं । कहिले त सडकमा काम गर्नेहरू सडकमा नै पानी चाहिने भएका कारण पानी दिन नै मान्दैनन् । पहिला गाउँ नजिकै खानेपानीको मुहान थियो । अहिले सडकले उक्त मुहान पुर्ण रूपमा क्षती गरेका कारण खानेपानीको हाहाकार भएको हो । यो समस्याको समाधानका लागी बोली दिने मानिससम्म छैनन् । गाउँका सबै जान सोझा साझा छन् । आफ्नै खेतबारीमा उब्जाएको अन्न र काम र मजदुरी गरेर जीविका चलाउनु पर्ने अवस्था यस गाउँको छ । ”

यता तलकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नरजीत खड्काले उक्त गाउँ निकै दुर्गम रहेको बताउँदै यहाँका नागरीकहरूले रूपातोला आधारभुत स्वास्थ्य सेवा केन्द्र धाउनुपर्ने समस्या रहेको स्वीकार गरे । त्यताबाट पनि ठिक नभएको खण्डमा यहाँका नागरिकहरू धमेना स्वास्थ्य चौकीमा पुग्नुपर्छ ।

भौगोलिक हिसाबले निकै दुर्गम भएका कारण गाउँघर क्लिनिक आफूहरूले चलाउँदै आएको समेत उनको भनाइ छ । यस्ता समस्याहरू आमा समुहको बैठकमा पनी छलफल गर्ने गरेको खड्काले बताए । उनले इस्टेचर र अन्य समस्याका बारेमा आफूलाई जानकारी नआएको बताउँदै खड्काले उक्त गाउँमा स्टेचर उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

साथै उनले यस गाउँको समस्या समाधानका लागि पालिकामा छलफल गरी अघि बढ्ने बताए ।  -गोरखापत्र

पत्रकारको पारिश्रमिक निर्धारणका लागि कानुन संशोधनमाथि छलफल

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनमाथि छलफल भएकाे ।

आयोजित कार्यक्रममा संञ्चार तथा सूचना प्रविधि मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरूङले ऐन संशोधनमा जान मन्त्रालय प्रतिबद्ध रहेकाे भन्दै प्रेस स्वतन्त्रता जोगाउन आफु अडिग रहेको बताएका छन् ।

मन्त्री सुब्बाले ३० बर्ष देखि कानून परिवर्तन नभएको र गणतन्त्रनै नआएको मन्त्रालयय संचार तथा सूचना प्रविधि मन्त्रालय छ । श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिकका बिषयमा ६ बर्ष देखि कुनै तलब बढेको छैन । यस बिषयमा कानूनमै परिमार्जन गर्नुपर्ने भएकाले घनिभूत रुपमा पत्रकार, व्यवस्थापक, प्रकाशक, सम्पादकसहित न्यूनतम पारिश्रमिक निर्धारण समिति, संचार मन्त्रालय, सरकारका सरोकारवाला निकालयकाबीच छलफल गरि आवश्यकता अनुसार ऐन संशोधन गर्न आफु तयार रहेको र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई निर्देशन समेत दिएकाे बताएका छन् ।

उनले सामाजिक सद्भाव खलबलिनु हुन्न । नेपाल सामाजिक सद्भाव भएको मुलुक हो । सामाजिक संजाल, टिकटक, युटुबमा आएका अभिव्यक्तिहरुलाई नियन्त्रणका लागि कानून ल्याउन लागेको भएपनि प्रेस स्वतन्त्रताको विरुद्धमा नभएको बताउँदै लोकतन्त्रको विकल्प अराजकता नभएकाे बताएका छन् ।

मन्त्री सुब्बाले कुनै समूहले नेपाललाई टुक्याउन खोज्दैछन । यस्तो बिषयमा राज्य चुप लागेर बस्दैन । धर्मका नाममा मुलुक टुक्रयाउने दुस्प्रयास भएकोछ । हाम्रो देश अनुपम धर्म मान्ने देश हो । नेपालमा हिन्दु, बुद्धिष्ट, मुस्लिम मिलेर सबै धर्मको सम्मान गर्दै मान्छौ । हामी सबै धर्मालम्बीहरु दही जस्तै जमेको देख्न नसक्ने तत्वले देश टुक्र्याउँने खेल खेल्दैछन । यस्ता तत्वलाई कानूनी रुपमै कारवाही गर्नुपर्छ उनकाे भनाइ छ ।

सोही अवसरमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले पत्रकारको न्यूनतम पारिश्रमिकको बिषयले कम महत्व पाएको थियो । यो छलफलले श्रमजीवी पत्रकारको पारिश्रमिक निर्धारण गर्न बनेको समितिले अधिकार स्थापित गर्न सामाजिक सुरक्षाकोषले उठाएका बिषय महत्वपूर्ण रहेको र मन्त्रालयका तर्फबाट श्रमजीवी र संचार प्रतिष्ठान, व्यवस्थापन, संचार मन्त्रालय, संचार रजिष्टारको कार्यालयसँग समन्वय गरि न्यूनतम पारिश्रमिक निर्धारण समितिले २०८० मा पेश गरेर श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागु गर्न ऐन संशोधन र कार्यान्वयनका लागि गम्भीर हुनुपर्छ । कानून परिमार्जन मन्त्रालयको प्राथमिकतामा रहेकोछ । श्रमजीवी पत्रकार र श्रमिकलाई सम्बोधन गर्न संचार प्रतिष्ठान गम्भीर हुनु जरुरी छ भने ।

सोही अवसरमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पहिलो अध्यक्ष तथा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले न्यूनतम पारिश्रमिक निर्धारण समितिको नाम परिवर्तन गरि पत्रकार पारिश्रमिक निर्धारण समिति बनाएर फराकिलो दृष्टिकोण सहित अनुगमन र कार्यान्वयनको अधिकार सहित निरन्तरता दिनुपर्ने बताए ।

त्यसैगरि न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष तथा सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टले ऐन कार्यान्वयनमा इच्छा शक्ति र कानूननमा जटिलता छ । ऐन कार्यान्वयन गराउँनका लागि संशोधन जरुरीछ भन्नुभयो । सोही अवसरमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले यो अत्यन्तै महत्वपूर्ण कार्यक्रम हो । २०५१ साल देखि अहिले सम्म टुंगो लाग्न सकेको छैन । यसको टुंगो लगाउँन प्रकाशकहरु पनि छलफलमा जुट्नुपर्छ भनेका छन् ।

त्यस्तै सामाजिक सुरक्षा कोषका कार्याकारी निर्देशक कविराज अधिकारीले कोषमा २० लाख भन्दा बढी आवद्ध भएका छन् । १ खर्ब ६ अर्ब रकम जम्मा भैसकेको र १३ अर्ब सुविधा गैसकेको छ । यसले स्वास्थ्य उपचारमा पनि निकै मदत गरेकोछ । ऐनमा व्यवस्था भएकाले कार्यान्वयन गर्दा संचार प्रतिष्ठान र श्रमिक दुबै जिम्मेवार बन्नुका साथै भविष्य सुनिश्चित हुन्छ । यस्को जिम्मेवारी संचार प्रतिष्ठान र संचार मन्त्रालयले लिनुपर्छ बताए।

वरिष्ठ पत्रकार बविता बस्नेतले संचार प्रतिष्ठानको आर्थिक अवस्था खलबलिएको बेला छ । यतिबेला सामाजिक सुरक्षा कोष लागु गर्दा प्रतिष्ठान, श्रमिक र न्यूनतम पारिश्रमिक निर्धारण समिति सबैको महत्व बढ्ने रहेछ । पारिश्रमिकका कारण पत्रकारिताको गुणस्तर खस्कदो अवस्थामा छ सामाजिक सुरक्षाका बिषयमा नेपाल पत्रकार महासंघले सबै प्रतिष्ठानलाई बुझाउँन पहल गरोस । यो बिषय प्रदेश र जिल्लामा पनि पुर्याएर मिडियाको महत्व र जिम्मेवार बुझाउँनु जरुरी छ भइन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको पारिश्रमिक नै कार्यान्वयन भएको छैन । यस बिषयमा संचार मन्त्रालयले ध्यान दिनुपर्छ । महासंघले समन्वयात्मक भूमिका खेल्न सधै तत्पर रहनेछ । आर्थिक कारणले नै मिडिया माथी अविस्वास बढ्दोछ । आज काम गरेको श्रमिकले भोलीदेखि प्रतिष्ठानले विदा गर्दा रित्तो हात फर्कनुपर्ने अवस्था छ । व्यवसायीक पत्रकारितामा विश्वसनीयताको खाँचो छ । पत्रकारको पारिश्रमिक एउटा अधिकृत सरहको हुनुपर्छ । काममा धेरै खट्ने पारिश्रमिक चित्तबुझ्दो नपाउँदा विश्वस्नीयतामा कमी आउनु स्वभाविक हो ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले हाल सम्मको अवस्था र कार्यान्वयनमा आएका समस्याका बारेमा प्रष्ट पारिन् । त्यसैगरि सामाजिक सुरक्षा कोषका उपमहानिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषका बारेमा संविधानको धारा ३४ मा व्यवस्था भएको र कतिले कार्यान्वयन गर्दै आएको र कतिले नगरेको अवस्थाका बारेमा प्रष्ट्याए । उनले श्रमजीवी पत्रकार ऐन राम्रोछ तर कार्यान्वयनमै अलमलिएकोछ भने ।

सामाजिक सुरक्षा कोषले संचार प्रतिष्ठानलाई र श्रमिक दुबैलाई ठूलो आर्थिक सहयोग पुग्ने उनले बताए । सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार लगायतका वक्ताले पत्रकारको न्यूनतम पारिश्रमिकका बिषयमा गम्भिर भएर कार्यान्वयनमा लानुपर्ने बताएका थिए । सहभागीहरुले विद्यमान अवस्था र समाधानका उपायका बारेमा पनि सुझाव दिएका थिए ।

यूएसएडका १६ सय कर्मचारी बर्खास्त

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) ले संयुक्त राज्य अमेरिकामा १ हजार ६ सय कर्मचारीहरूलाई बर्खास्त गर्ने भएको छ । बाँकी रहेका अधिकांश कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्नेछ ।

विदेशी कर्मचारीहरूका लागि स्वैच्छिक एजेन्सी–वित्त पोषित फिर्ता यात्रा कार्यक्रम र अन्य सुविधाहरूको लागि योजना बनाएको छ । एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागद्वारा सरकारी सुधारको लागि एक प्रमुख लक्ष्य भएको बताइएको छ ।

अमेरिकी मिडियाबाट अघिल्ला रिपोर्टहरू अनुसार ट्रम्प प्रशासनको लक्ष्य युएसएर्आइडीको विश्वव्यापी कार्यदललाई १० हजार भन्दा बढीबाट ३०० भन्दा कममा घटाउनु थियो । जुन ९७ प्रतिशतले कमी हो ।

 

यूएसएआईडीका साढे पाँच हजार बढी कर्मचारी बिदामा

अमेरिकामा ट्रम्प प्रशासनले यूएसएआईडीका अधिकांश कर्मचारीलाई बिदामा पठाएको छ ।

युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)का ४ हजार २ सय कर्मचारीलाई बिदामा पठाइएको बीबीसीले जनाएको छ ।

यसबाहेक कम्तीमा एक हजार ६ सय कर्मचारीलाई जागिरबाट निकालिएको समाचारमा उल्लेख छ ।  तीमध्ये कतिजना कर्मचारीलाई फिर्ता गर्ने भन्ने टुंगो छैन ।ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन एलन मस्कको सरकारी दक्षता विभाग वा डज योजनाअन्तर्गत संघीय कर्मचारीको संख्या घटाउने प्रयास गरिरहेको छ।

यूएसएआईडी सन् १९६१ मा स्थापना भएको थियो । जसमा लागत कटौतीसम्म करिब १० हजार कर्मचारी कार्यरत थिए ।

खोज्नुहोस