सरकार विपिन जोशीको परिवारलाई कति रुवाउछौ ?

७ अक्टोवर २०२२ मा ईजरायलबाट हमासले अपहरण गरी बेपत्ता पारेका विपिन जोशीका परिवारका आँखा त्यसयता ओभाएका छैनन् ।

कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन्। उनी इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरेल गएका थिए। उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।

कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा परेर मृत्यु भएको थियो। अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुईजना भने सकुशल थिए। त्यसयता उनको परिवार विपिनको बाटो कुरी बसेका छन् ।

बेलाबेला विपिन जीवितै रहेको कुटनीतिक नियोगका अधिकारी र सरकारका आधिकारिक व्यक्तिहरुले अभिव्यक्ति दिदा उनका परिवारजन उत्साही हुन्छन्, परिवारजनलाई लाग्छ, कतिखेर टुप्लुक्क आँगनमा आईपुग्छन्, विपिन ।

समाचार हेर्नु र त्यसैमा भर पर्नु बाहेक परिवाजनसंग अरु कुनै उपाय छैन । जहाँ सरकार निरुपाय छ । त्यहाँ एउटा निरीह परिवारले आफ्नो प्रियजनको उद्दार र खोजीका लागि के नै गर्न सक्छ ?

तर सरकारमा बस्नेहरु कति ढल्का ढंगले प्रस्तुत हुन्छन्, कहिले भन्छन्, विपिन जीवितै छन् । उनको उद्दार गर्छौ ।

कहिले त्यही सरकारका प्रतिनिधि भन्छन्, हमासले मुक्त गर्न भनिएकाको सूँचिमा विपिनको नाम छैन ।

आफू राजदूत भए ईजरायल र प्यालेष्ट्रायनको युद्ध रोक्छु भन्ने अभिव्यक्ति दिएर राजदूतको सुनुवाईका क्रममा रमाईलोका पात्र बनेका धन प्रसाद पण्डितले पछिल्लो पटक मिडियालाई भनिदिए, हमासले मुक्त गर्न भनिएकाको सूँचिमा विपिनको नाम छैन । राजदूतकै बोली पनि पटक पटक फेरिईएर मिडियामा आउनु दुर्भाग्य हो ।केही समयअघि हमासको कब्जाबाट मुक्त हुने भनिएका ५० जनाको समूहमा जोशी नपर्ने सम्भावना रहेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका थिए ।

यसैबीच इजरायलल र कतारस्थित नेपाली राजदूतहरूले मिडियालाई भने, विपिन जोशीको पछिल्लो अवस्थाबारे यथार्थ जानकारी पाउन सकिएको छैन ।

फेरि उनीहरूले “आवश्यक पहल भइरहेको र चाँडै उनी मुक्त हुने” आशामा आफूहरू बसेको बताए ।
पछिल्लो पटक हमासले मुक्त गर्ने भनिएका ३० जनाको सूँचीमा विपिन नरहेको ईजरायलस्थित नेपाली राजदूत पण्डितले बताएका छन् ।

बोल्न किन यति हतार गर्छन त्यो ओहोदामा बसेका मान्छेहरु ? उनीहरुका लागि विपिन संख्या मात्र हुन् सक्छ । उनीहरुलाई लाग्न सक्छ, फगत एक जना त हो भन्ने लाग्न सक्छ । विपिन जस्ता कति नागरिक दिनहूँ बेपत्ता हुन्छन्, हराउछन् ।

तर उनीहरु यो विर्सिन्छन्, विपिन उनको परिवारका लागि सबैथोक हुन् । आशा, खुशी, भरोसा, सपना । सर्वस्व ।

कति बोल्ने ? के बोल्ने ? बोल्दा त्यसको असर कसैको परिवारमा कति पर्छ ? त्यसको हेक्का अलिकति पनि राखेको पाईदैन ।
माने, सरकारले विपिनको सकुशल रिहाईका लागि हरसंभव प्रयत्न र पहलकदमी गरिरहेको छ । सरकारले त्यो विश्वास दिलाउनु पर्ने हो उनको परिवारलाई ।

विपिनका परिवारलाई अझै आस छ, उनी जीवितै छन् । एक दिन अवश्यक उनी घर आईपुग्ने छन् । तर सरकारमा बस्नेहरु किन यति गैर जिम्मेवार भए ? किन बुझ्दैनन्, विपिनका परिवारको भावना ? किन बोल्छन्, जथाभावी ? त्यसले उनको परिवारमा पर्ने मानसिक असरको किन राख्दैनन हेक्का ?

आस गरी बसेका परिवारलाई किन बनाउछन्, निरास । किन रुवाउछन्, पटक पटक उनको परिवारलाई ?

सरकारलाई आग्रह छ, कतारसंग कुरा गर वा हमाससंग । चाहे ईजरायल सरकारलाई सोध । सोधेका कुरा र टुंगा नलागी सकेका तथ्यलाई सार्वजनिक नगर । अव यो पनि भन्न छोडिदेऔ, कि पहल गरिरहेका छौ । परिवारलाई विपिन चाहिएको । त्यो पनि सकुशल ।

सरकारले पनि यस्ता अपुष्ट तथ्य सार्वजनिक गर्ने अधिकारीहरुलाई सजग गरोस । सचेत गरोस । र, त्यतिले नपुगे नसिहत देओस । संवदेनशीलताको ख्याल नगरी बोल्ने छुट कसैलाई छैन । अझ सरकारमा बस्नेलाई त्यो छुट कम्तिमा छैन ।
नवनियुक्त ईजरायली राजदूतले केही साता अघि भनिदिए, विपिन जीवतै रहेको जानकारी पाएका छौ ।

जवसम्म विपिनलाई उद्दार गरी ल्याउदैनौ, यो जानकारीले अर्थ राख्दैन । यो सूचनाले परिवारलाई दिने खुशी क्षणिक हो । विपिनका परिवारलाई पटक पटक रुवाउने काम सरकारले नगरोस ।

विपिनको रिहाई नहुदासम्म कम्तिमा यस्ता अपुष्ट कुरा सरकारले नबोलोस । रिहाई गरेर देखाओस । नतिजा बोलोस । सरकारले बोलिरहनै पर्दैन् ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ४५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपियाँ ६० पैसा, बिक्रीदर एक सय ७२ रुपियाँ ३६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ६४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ९१ पैसा र बिक्रीदर ८६ रुपियाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ६१ पैसा र बिक्रीदर ९६ रुपियाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपियाँ ५३ पैसा र बिक्रीदर १०० रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ६७ पैसा र बिक्रीदर आठ रुपियाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६८ पैसा र बिक्रीदर १८ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९७ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ५० पैसा र बिक्रीदर ३० रुपियाँ ६३ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ४२ पैसा र बिक्रीदर १२ रुपियाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ १० पैसा र बिक्रीदर १९ रुपियाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपियाँ ९३ पैसा र बिक्रीदर चार सय ४५ रुपियाँ ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपियाँ ०३ पैसा र बिक्रीदर तीन सय ६४ रुपियाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५५ रुपियाँ ४६ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ०२ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

अमेरिकामा संघर्षकी पर्याय बिजया

सफलताका कथा बेचिने समाजमा भूइमान्छेका संघर्षका कथाहरु बिरलै चर्चामा आउछन् । नेपालबाट हेर्दा सपनाको देश अमेरिकामा पुग्नेहरु भाग्यमानी हुन् । बर्तमान र भविश्यको चिन्तामा त्यही अमेरिकामा आफ्नै सपनाको मुन्तिर थिचिएर कतिखेर को डिप्रेशनमा  पुग्छ थाहै हुन्न । जसले आफूलाई बलियो बनाउन सक्यो । र, बलियो हुन सिक्यो, उ डिप्रेशनबाट बाहिर निस्किन्छ । बाँकीको जिन्दगी त्यही डिप्रेशन बनिदिन्छ ।

तिनैमध्ये एक हुन्, बिजया गिरी । सफलताको मानक घर, ग्याँस स्टेशन, रेष्टुरेण्टको संख्यालाई मान्ने हो भने उनी त्यसभित्र पर्दिनन् । उनले बाँचेको समय र त्यही सपनाको देशमा उनले फेरेको सास अरुभन्दा भिन्न छ । सास कसरी फरक हुन सक्छ ? हो, मान्छेको जीवन र उसले बाँचेको समयमा मान्छेहरुले फेर्ने सास पनि फरक हुन्छ । उसले कस्तो जिन्दगी बाँच्यो ? बैभवपूर्ण वा संघर्षपूर्ण ? कठिन वा सहज ? सकसपूर्ण वा शान्त ? बैभवपूर्ण बाँच्नेहरुले चैनले सास फेर्न पाउछन् । संघर्षपूर्ण जिन्दगी जिउनेहरुले सास पनि रोकेर फेर्ने गर्छन ।

लामो सुस्केरापछि उनले सुनाईन, सुखको खोजीमा अमेरिका पुग्नेहरु, जीवनभरी त्यसैकै मुन्तिर थिचिएर बाँच्छन् । सबै चिज छोडेर सुखको खोजीमा अमेरिका भासिएको २३ वर्ष बितेको पत्तै भएन । जीवनका उर्वर समय त्यही खोजमा बिताईन । यो अवधिमा उनले थुप्रै अनुभव बटुलिन । संगतले मान्छे चिनिन्छ । उनले मान्छेहरु चिनिन् । भन्छिन्, शिखरमा पुगेपछि भुई बिर्सिनेहरु कति भेटे, भेटे ।

उच्च ओहोदा र आलिशान महलमा पुगेपछि कतिपयलाई लाग्छ, अव मलाई कोही चाहिदैन । तर उसलाई कतिले सम्झिए त्यो त मृत्युमा मलामी कति आए, त्यसले निर्धारण गर्छ ।

‘पैसा कमाउने चक्करमा मलामी गुमाउनेहरुलाई लाग्दो हो, मरेपछि कोही किन चाहियो ? बाचुञ्जेल पैसाले म सबैचिज प्राप्त गर्न सक्छु ।’ पैसा कमाएपछि सबैचिज बिर्सिनेहरुप्रतिको उनको धारणा हो यो ।

उनको अनुभवले भन्छ, व्यवसायी भएपछि मित्र मित्र रहदैन । व्यवसायी मात्र हुन्छ । सायद व्यापार नै उसको धर्म हो । । र त, उ सम्बन्धमा पनि नाफा र घाटा हेर्छ ।

उनले हिडेको बाटो, बाँचेको जीवन र संगालेका अनुभव कुनै विश्वविद्यालयको कोर्षमा पढ्न पाईदैन् । तर उनको त्यो ज्ञान र अनुभवले सिकाउछ, बाँच्ने उपाय । जसले चिनाउछ, मान्छे । जसले देखाउछ, बाटो । जसले सिकाउछ, समस्यासंग जुध्न ।

उनी आफ्नैसंग जुधिन् । आफ्ना भनिनेहरुसंग जुधिन् । र, जुधिन् समयसंगै । सायद उनी बिचलित भएकी भए, आज उभिईरहने अवस्थामा हुने थिईनन् । उनी गलिनन् । गलेकी भए आज रहने थिईनन् । समाजले महिलालाई गलत देखाउछ । उनले त्यसको हिसाव गरिनन । को गलत ? को सही ? बस्, आफ्नो बाटो हिडिरहिन ।

बिजया गिरी पोखराको मालेपाटनमा जन्मिईन । त्यहीको प्राथमिक विद्यालयमा कखरा सिकिन् । बाराही माध्यमिक विद्यालयबाट एसएलसी पास भईन् । त्यसपछि पृथ्वी नारायण क्याम्पस पढिन् । बैंकमा काम गर्ने सोच थियो । पढिन्  शिक्षा । भईन शिक्षिका ।

उनी दुई भाईकी जेठी दिदी थिईन् । १९ वर्षमा बैबाहिक बन्धनमा बाँधिईन । उनका पतिको पोखरा लेकसाईडमा ट्राभल एजेन्सी थियो । बिबाहपछि बिजया पतिसंगै ट्राभल एजेन्सीमा काम गर्न थालिन् । मुलुकमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । देशै प्रभावित थियो, द्वन्द्वले । उनको व्यवसाय पनि प्रभावित गयो । ऋण लाग्यो । पैसा फस्यो । उठ्नु पर्ने पैसा उठेन । दिनु पर्ने पैसा नदिई सुख थिएन । घरसल्लाहमा उनका पतिले जापान जाने निधो गरे । त्यतिबेला नेपालबाट जापान जाने टे«न्ड चलेको थियो । संयोगले  उनका पतिको त्यही बेला अमेरिकाको भीसा लाग्यो । र पुगे, १९९८ मा अमेरिका । त्यसको एक वर्षपछि उनी अमेरिका आईन् ।

उनका अमेरिकन साथी, जो स्वामी बिबेकान्दको अनुयायी थिए । तिनै साथीले पठाएको निमन्त्रणमा लसएञ्जन्लन्समा एउटा कार्यक्रम सहभागी हुन उनी पहिलो पटक अमेरिकी आईपुगेकी थिईन् । छ महिनाको भीसा लागेको थियो । तीन महिना बसिन् । घुमिन् । र, नेपाल फर्किइन् ।

दोस्रो पटक, २००२ मा अमेरिका आईन । गन्तव्य थियो, मिलुवाकी । मिलुवाकीमा कठ्यांग्रिदो जाडो थियो । बाहिर निस्कनै मुस्किल । क्यालिफोर्नियाको साथीले पञ्जा, बुट र ज्याकेट पठाई दियो, भन्छिन्, जसले बाँच्न सहज भएको थियो ।

उनी अमेरिकामै बस्ने मुडमा थिईन् । ‘डोर टु डोर’ काम खोज्न गईन । प्रत्येक ग्याँस स्टेशनमा गएर कार्ड छोडेर आईन् । केही ठाउँबाट कामको अफर पनि आयो । तर जहाँबाट कामको अफर आयो, त्यो अत्यन्त डर लाग्दो ठाउँ थियो ।

एक्लै बाहिर निस्किन जोखिम । प्रहरीले उनीलाई कैयौ पटक कोठासम्म सुरक्षित पु¥याईदिएको सम्झना ताजै छ । त्यसपछि उनले काम छोडिन् ।

मिलुवाकीमा बुटवलको एक जना दाई भेट्दा भगवान भेटे जस्तो लाग्यो । उहाँले पिडालुको साग र भात दिनुभयो । भन्छिन्, पाँच दिनसम्म भात खान नपाएकी मलाई त्यही भातको नशा लाग्यो । यस्तो लाग्यो जिब्रोले वर्षौपछि भातको स्वाद पायो ।

परदेशमा पो देशको महत्व र माया थाह हुदो रहेछ, उनले सुनाईन, नेपाली देखेपछि बोलु बोलु लाग्ने । भारतीय स्टोर देख्दा खुशी लाग्ने । नेपाली झै भारतीय पनि आफ्नै दाजुभाई लाग्ने ।

नेपालमा छोरा भर्खरै स्कुल जादै थियो । कुखुराको मासु देखे उनलाई लाग्थ्यो–छोराले खान्थ्यो । अमेरिकाभन्दा उनलाई छोरा महत्वपूर्ण लाग्यो । पाँच महिना बसेर नेपाल फकिईन् ।

तेस्रो पटक २००३ जुनमा पाँच वर्षको छोरा सहित उनी अमेरिकाको शिकागो आईन् । त्यहाँबाट फेरि मिलुवाकी पुगिन्, उनका पति त्यही बस्थे । त्यसपछि उनी नेपाल फर्किईनन् ।

तेस्रो पटक आउदा उनलाई काम पाउन सजिलो भयो । कतिपय साथीहरु स्टोरका मालिक भईसकेका थिए । शुरुमा प्रति घण्टाको पाँच डलर मिल्यो । साहूँ उनको कामबाट प्रभावित भए । एक हप्तामै उनले प्रति घण्टाको पाँच डलर २५ सेण्ट पाउन थालिन्। एक महिनामा त्यसमा पनि बृद्धि भयो, र पाउन थालि प्रतिघण्टाको पाँच डलर ५० सेण्ट । तीन महिनापछि प्रति घण्टा सात डलर भयो । अरुले भन्थे, ओहो ! सात डलर । त्यो त्यतिबेलाको सबैभन्दा बढि पारिश्रमिक थियो । पछि भने त्यही पारिश्रमिकमा झण्डै १० वर्ष काम गर्नु प¥यो ।

उनले कागजी प्रकृयाको लामो पर्खाई झेलिन । तर बिचलित भईनन् । त्यही कारण १३ वर्षसम्म नेपाल फर्किन पाईनन् । अमेरिकाको बसाई बीट मारेर फर्किने तयारीमा थिईन् ।  नसोचेको कागजपत्र एक दिन आईपुग्यो । भन्छिन्, अमेरिकामा नसोचेको भईदिन्छ । सोचेको हुदैन ।

बिजया त एउटा प्रतिनिधि पात्र हुन् । अमेरिका भासिएका नेपालीहरुको कथाव्यथा र संघर्ष उस्तै छन् । उनले भोगेको कथा सबैसंग मेल खान्छ ।

कैयौंको जीवन कानूनी प्रकृया र कागजपत्रको आसैआसमा बित्छ । कागजपत्र नबन्ने । बनेपनि समय लाग्ने । झण्डैं दुई दशकसम्म कागजपत्र नबनेकाहरु सयौं छन् । उनीहरु न त नेपाल फर्किन सकेका छन् । न त त्यहाँ खुलेर बाँच्न पाएका छन् ।

कागजपत्र नहुदा काम पाईदैन । काम मिल्दा पारिश्रमिक राम्रो पाईदैन । कागजपत्र नभएको व्यक्तिलाई व्यवसायीले उचित ज्याला दिदैनन । आफूले कमाएको पैसा बैंकमा राख्न पाउदैनन् । कागजपत्र नभएकाहरुको यो साझा पीडा हो ।

जेठो छोरा नेपालमै जन्मिएको थियो । उसलाई पाँच वर्षको हुदा बोकेर ल्याएकी थिईन । अर्को छोरा २००५ मा मिलुवाकीमा जन्मियो । उनलाई हेल्थ केयर सिष्टम थाह थिएन । जानकारी दिने कोही नेपाली थिएनन । गर्भावस्थाको सबै उपचार निःशुल्क हुँदो रहेछ । प्रसुती सेवाको ४५ हजार डलर बील आएको थियो । त्यति ठूलो रकम तिर्न सक्ने अवस्था थिएन । स्टेटले तिरिदियो । भन्छिन्, थाह नपाउनु जस्तो संसारमा अर्को दुःख केही हुदो रहेनछ ।

सपनाको देशमा आफ्नै सपनाको मुन्तिर थिचिनु त भएन ? तिनै सपना भारी त भएनन ? सपना र तपाईसंगै हिड्नु भयो कि अलग अलग ? नदीका किनार जस्ता ? संगै छन्, संगै छैनन ? अमेरिकामा प्रेम, सपना र रहरहरु मर्छन कि संगै बाँच्छन ? यो पंक्तिकारले एकैसाथ यस्ता तमाम प्रश्नहरु गर्दा उनी घोरिईन, एकछिन चूप भईन् । मौनता तोड्दै भनिन्, सुखका लागि अमेरिका आएकाहरुको जिन्दगी त्यही सुखको आस आसैमा बित्छ ।

आगो र हिउँ उस्तै हुन् । जसको अन्तिम अंशमा पनि उसको गुण बाँकी रहन्छ । हिउँको टुक्रा जति सानो भएपनि उसभित्र चिसोपन रहीरहेको हुन्छ । त्यसैगरी आगोको कोईला जति सानो भएपनि उसले पोल्न छोड्दैन ।

आमा पनि त्यस्तै हुन्, जसको मातृत्व, जस्तै कठिन समयमा पनि कहिल्यै कमजोर हुदैन । मृत्युशैयामा रहदा पनि सन्तानको सुखद जीवनको कामना गर्ने आमा बाहेक अर्को हुदैन । उनी पनि त आमा हुन् । जोभित्र छ, मातृत्व । त्यही मातृत्व जो पर्याय हो, दया, करुणा र मायाको । आफू भोकै बसिन् । अभावमा बाँचिन् । सहेर हजार कष्ट, छोराहरुलाई भने फूलको जिन्दगी दिईन । पढाईन् । हुकाईन् ।

उनको अमेरिका आउनुको उद्देश्य थियो–पैसा कमाएर ऋण तिर्ने । र अर्को सपना थियो, नेपालमा एउटा घर बनाउने । जग्गा जोडिन् । घर बनाउने सपना अझै अधुरो छ ।

मान्छे खुशीको खोजीमा भौतारिन्छ । कहाँ पुगे, के होला ? उनी पनि त्यही आसले अमेरिका पुगिन । अमेरिकाबाट नेपाल फर्किदा लाग्छ, नेपाल बस्न पाए, हुन्थ्यो । तर नेपालीहरुको एउटै सपना छ–अमेरिका आउने ।

यहाँ त नाता, सम्बन्ध सबै बनावटी लाग्छन्, भन्छिन्,सामाजिक जीवन र सम्बन्धको महत्व नेपालमै छ । उनको बुझाईमा अमेरिका दलदल हो । यहाँ आएपछि सबै त्यसमा फस्छन् । ‘खुशी त परेको कुरा’, भन्छिन्, ‘गाडी र घरको किस्ता तिर्दैमा जिन्दगी बित्छ ।’

शरीर यहाँ । मन नेपालमा । चिन्ता नेपालकै । उनी पनि यही जीवन बाँचिरहेकी छन् । उनी भन्छिन्, नेपाली दुःखी छन् त यही कारण ।

जीवनको आधा बाटो हिडिन । भोलि कसले देखेको छ ? उनलाई बाँकी जीवन त्यही बिताउन मन छ, जहाँ बालापन बित्यो । फर्किन मन छ, तिनै डाँडापाखामा । सबचिज छोडेर यतै अमेरिकामा, हराउन मन छ स्वदेशमा सेवा र अध्यात्ममा । यो चेत त्यसै आएको होईन उनमा । अमेरिकाको सबै सुख सुबिधा भोगेर पनि खुशी नमिल्दो रहेछ । उनको भोगाईले भन्यो, भौतिक सुबिधा केही होईन रहेछ ।

उनी धर्ममा विश्वास गर्छिन । त्योभन्दा बढि कर्ममा । कर्म र सेवालाई उनी धर्म मान्छिन् । र त, जीवनमा कर्म गर्न कहिल्यै संकोच मानिनन् । उनले अमेरिका आएपछि नगरेको काम केही छैन । जुन काम पुरुषले गर्न कठिन ठान्थे । उनले त्यही काम पनि गरिन् । ग्याँस स्टेशनमा काम गरिन् । उवर चलाईन् । हाउस क्लिनिङको गरिनन् । बिगतमा लामो समयदेखि मिलुवाकीमा रेष्टुरेण्टमा काम गरिरहेकी छन् ।

समाजले के भन्छ ? त्यसको उनलाई छु मतलव । बस्, कर्म गरिरहिन् । समाज त महिला प्रति कहिले सहिष्णु र उदार रह्यो ? महिलाले लाएको र खाएको समाजले कहाँ देख्न सकेको छ ?

एकथरीले भन्छन्, अमेरिका पुगेको पुरुष स्वदेश फर्किन चाहन्छ । तर महिलाले फर्किन दिन्नन । त्यसको कारण,समानता र स्वतन्त्रता खोजेको दिन सम्बन्धमा तितोपना आउन सक्छ । जुन दिन महिलाहरुले सहन छोडे, त्यो दिन सम्बन्ध बिच्छेद छ । आर्थिक समानता छ । तर अरु स्वतन्त्रता छैन । सामाजिक मूल्य र मान्यताले महिलाहरु पीडा सहेर बसेका छन् । ममता भट्ट काफ्ले त्यसको उदाहरण हुन्, भन्छिन्, यसको अर्थ छोरा मान्छे पीडित छैन भन्ने होईन ।

अमेरिकामा सबै महिलाले स्वतन्त्रताको उपभोग गर्न नपाएको उनको बुझाई छ । यहाँ महिलाहरुलाई स्वतन्त्रता छ पनि, छैन पनि, भन्छिन्, परिवारको सोचमा भर पर्छ महिलाको स्वतन्त्रता । स्वतन्त्रता खोजेको दिन महिला र पुरुषको सम्बन्ध नै रहदैन ।
अमेरिका आएपनि सोच उही, संस्कार उही । पाईन्ट र मिनिस्कर्ट लगाउदैमा कहाँ हुन्छ ? यहाँ आएपनि महिलाहरुले महिनावारी बारेकै छन् । तिजमा निराहार ब्रत बसेकै छन् ।

आमाले भाईहरुलाई कहिल्यै खाना पकाउन सिकाउनु भएन । सासुआमाले श्रीमानलाई सिकाएन । पुरुषहरु त्यही सोच बोकेर यहाँ आउछन् । महिलाहरुले यहाँ आएर पनि चुलोचौको त सम्हाल्छन् नै । बाहिरको काम पनि गर्नुपर्छ, उनी भन्छिन्, पुरुष एक्लैले काम गरेर जीविका चल्दैन । महिलाले पनि काम गर्नैपर्छ ।

उनी महिलाहरुलाई नेपालबाट आउदा सीप सिकेर आउन सुझ्याउछिन । जसको हातमा सीप छ, भन्छिन्, अमेरिकामा त्यसैको जीवन सहज छ ।

नेपालको पद, शान, सम्मान सम्झिनेहरु यहाँ दुःखी हुन्छन् । यहाँ ती पदको कुनै अर्थ हुदैन । कामको अर्थ हुन्छ । नेपालबाट आउनेहरुलाई जस्तोसुकै काम गर्न सक्छु भन्ने सोच बनाएर आउन उनी सुझाव दिन्छिन्, भन्छिन्, नत्र मान्छे डिप्रेशनमा जान्छ ।

नेपालबाट प्लस टु पढेर आउने विद्यार्थीहरुले निकै कठिनाई झेल्नु परिरहेको उनले नजिकबाट देखेकी छन् । कतिपय संगतले बिग्रिएका पनि आँखाले देखेकी छन् । नेपालमा जति कमाउने अभिभावक भएपनि अमेरिकाको विश्वविद्यालयको खर्च थेग्न नसक्ने उनी सुनाउछिन् । यहाँ विद्यार्थीले काम गरेर पढाईको खर्च जुटाउन मुस्किल हुन्छ । कलेज पढ्ने विद्यार्थीले २० घण्टाभन्दा बढि काम गर्न पाउदैनन । त्यति घण्टा काम गरेर विद्यार्थीले रकम जोगाउनै सक्दैन, अभिभावकहरुलाई उनको सुझाव छ, खर्च धान्न सक्ने अवस्था छ भने मात्र सन्तान पठाउनु । कि यता सहयोग गर्ने नजिकको मान्छे भए पठाउनु ।

अमेरिकाको भीसा लाग्दा मिल्ने खुशी धेरै दिन टेक्दैन । प्लस टु पास गरेका विद्यार्थीहरु मानसिक रुपमा परिपक्व भएका हुदैनन । यहाँ काम नगरी बाँच्न कठिन हुन्छ, गिरी भन्छिन्, अमेरिकाको सपना देखेर आएका विद्यार्थीहरु नेपाली धरातमा बाँच्न खोज्दा सन्तुलन बिग्रिन्छ ।

सकभर अमेरिकामा मास्टर्स गर्न सन्तानहरु पठाउनु, अभिभावकहरुलाई उनको अर्को सुझाव छ, कि यहाँ आएपछि गर्नुपर्ने संघर्ष र दुःखका बारेमा जानकारी दिएर पठाउनु । देखासिकी र रहरमा अमेरिका सन्तानहरु पठाएर अभिभावकहरुले आफ्नै सन्तानको भविश्यमाथि खेलवाड गरिरहेका छन् ।

उनका यी टिप्सहरु अमेरिकामा आउने हरेक व्यक्तिका लागि अत्यन्तै उपयोगी छन् । जुन निमाका गेस पेपर वा कुनै गाईड बुकमा भेटिदैनन् । परीक्षामा पास हुनु सजिलो छ । जीवन त्यति सजिलो कहाँ छ र ?

अमेरिकामा आफ्नोपन छैन । यहाँको माटो, पानी र धरातलले मान्छेलाई स्वार्थी बनाउछ । सम्बन्ध र प्रियजनहरु गुमाएर मान्छेले पाउने आईफोन र टेस्ला हो । एक वर्षपछि त त्यही आईफोन पनि पुरानो हुन्छ । र, त्योसंग पनि मोहभंग हुन्छ ।

भन्नलाई सबैले भन्छन्, सन्तानको सुखद भविश्यका लागि यहाँ बसेको छु । तर जसको भविश्यका लागि यहाँ बसेको छु, भन्छन्, चाहिएको बेला तीनै छोरा छोरी साथमा हुदैनन् । बस्, एक्लोपन आफ्नो हुन्छ ।

उनको मनमा स्थायी मुकाम बनाएर नेपाल बसेको छ । तर उनले भने अमेरिकालाई स्थायीमुकाम बनाईन् । समय यसरी बित्यो थाहै भएन । हेर्दा हेर्दै अमेरिका स्थायी मुकाम भएको पनि २१ वर्ष भएछ, उनी नोष्टाल्जिक हुन्छिन्, अव बढिमा १० वर्ष बस्छु । अनि फर्किन्छु आफ्नै जन्मभूमि । त्यो दिन कहिले आउला पर्खेर बसेकी छु ।

 

माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १ बाट ६ महिना जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको छ ।

आइतबारबाट बसेको केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियानपछिको ६ महिना महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए ।

बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव सर्वसम्मत पारित भएको पनि उनले बताए ।

उनले केन्द्रीय कार्यालयको आर्थिक प्रस्ताव र केही समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिएको बताए ।

बैठकलाई सम्बोधन गर्दै ६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषण गरे ।

अभियानबाट व्यापकरूपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने स्पष्ट गरे ।

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ। समितिले चाडै एकता वार्ताको पहल गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको पार्टी रुपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको एतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।

काठमाडौं भुकम्प अपडेट: घरको छतबाट हाम फालेका व्यक्ति घाइते, ११ जना विद्यार्थी बेहोस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । नेपाल प्रहरीका अनुसार स्युचाटार निवासी ती व्यक्ति घाइते छन् । उनको मनमोहन अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । काठमाडौंबासी आत्तिएर घरबाहिर निस्किएका थिए ।
प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।

 

गेटामा आगामी असारदेखि एमबीबीएसको पढाइ सुरू हुनसक्छ : स्वास्थ्यमन्त्री पौडेल

धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा तीन सय शैयाको अस्पताल चलाएर आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिने बताएका छन् । मन्त्रालयको कार्यक्रमका सिलसिलामा सोमबार धनगढी पुगेका मन्त्री पौडेलले मंगलबार बिहानै गेटा अस्पतालको निरीक्षणका क्रममा यस्तो बताएका हुन्।

‘पछिल्लो समय सिंहदरबार पछि ठूलो लगानीमा गेटामा पूर्वाधार निर्माण भएका छन् । ७ अर्बका पूर्वाधार बनेपनि ती खाली छन् । त्यसैले चालु आर्थिक वर्षमा तीनसय शैयाको अस्पताल बनाएर आउँदो आर्थिक वर्षदेखि एमबीबीएसको पढाइ सुरू गर्न सकिन्छ,’उनले भने ।

चिकित्सा शिक्षाको अध्ययनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा पनि तीन वर्ष चलेको हुनुपर्ने प्रावधान छ तर उनले मुलुकका ६ प्रदेशमा चिकित्सा शिक्षाको अध्ययन सुरू भइसकेको र सुदूरपश्चिममा अहिलेसम्म पनि चिकित्सा शिक्षाको पढाइ सुरू नभएकाले त्यसका लागि विशेष निर्णय गरेर भएपनि एमबीबीएसको पढाइ गर्न सकिने बताए ।

‘सुदूरपश्चिममा एमबीबीएसको पढाइ सुरु भएको छैन । ६ प्रदेशमा भइसक्यो, चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै तीन सय शैयाको अस्पताल बन्ने वित्तिकै एमबीबीएसको पढाइ गर्न सकिने विशेष निर्णय गर्नसक्छ । मेरो प्रयास त्यसतर्फ रहेको छ,’उनले भने ।

उनले यस्तो निर्णयले सुदूरपश्चिमलाई पनि न्याय हुने र सरकारलाई पनि सबै प्रदेशमा एमबीबीएसको पढाइ भयो भनेर भन्न सकिने अवस्था आउने बताए । आफू मन्त्री हुनेवित्तिकै पार्टी सभापति शेरबहादुर देउवाले बोलाएर नै गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको पनि उनले स्मरण गराए । ‘म मन्त्री हुने वित्तिकै मेरो पार्टी सभापतिले बोलाएर मेरो प्रदेशमा मात्र एमबीबीएसको पढाइ  भएको छैन । गेटा र डडेल्धुरामा त्यो काम गर्नु भनेर निर्देशन गर्नु भएको थियो । म पार्टी सभापतिको निर्देशन अनुसार काममा खटिएको छु,’उनले भने ।

उनले मेडिकल विश्वविद्यालय बन्दैनन् भन्ने मानसिकता त्याग्न आग्रह समेत गरे । ‘तीन सय शैयाको अस्पताल पनि चल्दै गर्छ । चिकित्सा शिक्षाको पढाइ पनि हुँदै गर्छ । मेडिकल विश्वविद्यालयको आफ्नो प्रक्रिया छ, त्यो पनि अघि बढ्दै गर्छ, ‘उनले भने ।

उनले तीन सय ६ सय शैयाको अस्पताल चलेको ठाउँ, एमबीबीएस र एमडीको पढाइ भइरहेको ठाउँलाई विश्वविद्यालय बनाउन झन् सजिलो हुने भएकाले क्रमिक रुपमा हुने विकासमा शंका नगर्न आग्रह गरे । गेटामा बनेका पूर्वाधार संघीय शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयअन्तर्गत छन् ।

शिक्षाले अस्पतालका लागि मात्रै केही भवनहरूको भोगाधिकार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ । अहिले गेटामा सय शैया घोषणा भएपनि ५० शैयाको अस्पताल सञ्चालनमा छ । सेती प्रादेशीक अस्पतालमा दैनिक १४ सय बिरामीको घुइँचो भइरहेका बेला गेटामा जनशक्ति नभएका कारण दैनिक १५/२० जना बिरामी मात्रै आउने गरेका छन् ।  -अन्नपुर्णबाट

तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?

काठमाडौं । आज (मंगलबार) बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि भएको छ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो क्षति प्रारम्भिक विवरण मात्र हो। विस्तृत विवरण आउन बाँकी छ। उक्त भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो। आजको भूकम्पले नेपालमा पनि क्षति भएको अनुमान गरिएको छ। तर अहिलेसम्म क्षतिका विवरण आइसकेका छैनन्।

सबैलाई सुरक्षित रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, २३ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।

भूकम्प गएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली लेख्छन्, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौँ सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

काठमाण्डौंमा भुकम्पको ठूलो धक्का महशुस

काठमाडौँ,२३ पुस ।
काठमाण्डौंमा आज बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागले भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीलाई केन्द्र बनाएर ७.० म्याग्नीच्यूडको भुकम्प गएको  जनाएको छ।

तिब्बतको सिगात्सेबाट २८ किमीको दूरीलाई केन्द्र बनाएर गएको भूकम्पको धक्का चीनसंगै नेपाल, बंगलादेश, भारत र भुटानमा समेत महशुस गरिएको थियो ।

भूकम्पको धक्का काठमाण्डौं लगायतका जिल्लाहरुमा महशुस गरिएको थियो ।  काठमाण्डौंका कतिपय क्षेत्रमा मान्छेहरु भूकम्प आएपछि घरबाहिर निस्किएका थिए ।

 

गृहका १२ सहसचिव र उपसचिवको सरुवा, कैलाली प्रशासनबाट मिश्र जाने हमाल आउने

काठमाडौं । गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

सरुवा सूची अनुसार गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ रहेका जयनारायण आचार्यको मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि गृह यस्ते मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

हमासले मुक्त गर्न सक्ने ३४ बन्धकको सूचीमा छैन विपिन जोशीको नाम, नेपाली दूतावास के भन्छ ?

इजरेलसँग युद्धविराम भयो भने हमासले मुक्त गर्न लागेका भनिएका थप बन्धकहरूको सूचीमा नेपालका विपिन जोशी नभए पनि एक वर्षअघिसम्म उनी जीवित नै रहेको सूचना आफूहरूले पाएको तेल अभिभस्थित नेपाली राजदूतले बताएका छन्।

इजरेलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितले हमासले मुक्त गर्न लागेका ३४ जना बन्धकहरूको सूचीमा नेपाली बन्धक नरहेको जानकारी इजरेली पक्षले आफूलाई दिएको बताए।

हमासले मुक्त गर्न लागेका बन्धकहरूको बीबीसीले पाएको सूचीमा पनि विपिन जोशीको नाम समावेश छैन।

राजदूत नियुक्त भएर एक महिनाअघि इजरेल पुगेका पण्डितले सन् २०२३ को डिसेम्बरदेखि विपिन जोशीको अवस्था अज्ञात रहेको बताएका छन्।

“डिसेम्बरयता पक्का प्रमाण केही छैन भन्ने उनीहरूको भनाइ छ र खोजीनितीमा सम्पूर्ण संयन्त्र लागिपरेको छ,” राजदूत पण्डितले तेल अभिभबाट बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भने।

“पोहोर (२०२३)को नोभेम्बर अन्तिमसम्म उनी जीवित रहेको भिडिओ फुटेज यहाँको गुप्तचर र आईडीएफ (इजरेल डिफेन्स फोर्सेस)सँग छ,” उनले भने।

सन् २०२३ नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको इजरेली सेनाले जनाएको थियो। अक्टोबर ७ को उक्त भिडिओमा देखिएका व्यक्ति आफ्ना भाइ नै रहेको विपिनका दाजु किशोर जोशीले बीबीसी न्यूज नेपालीसँग बताएका थिए।

अल शिफा अस्पतालको दृश्य

तस्बिर स्रोत,ISRAEL DEFENSE FORCES/REUTERS

तस्बिरको क्याप्शन,इजरेलले हमासको केन्द्र भएको आरोपमा अल शिफा अस्पतालमाथि पनि आक्रमण गरेको छ

राजदूत पण्डितले त्यही समय आसपासमा एउटा बङ्करमा पनि हसमाले अन्तर्वार्ता लिँदा जोशी बोलेको भिडिओ आफूहरूले पाएको इजरेली पक्षले आफूलाई जानकारी दिएको बताए।

“अस्पताल र अर्को बङ्करको पनि फुटेज छ। बङ्करमा उहाँसँग अन्तर्वार्ता लिँदा अलि त्रसित अनुहार तर बोलेको देखिएको यिनीहरूले हसमाले आक्रमण गर्दा पाएको भिडिओ रेकर्डबाट झिकेको हो,” उनले भने।

अझैसम्म हमासको नियन्त्रणमा रहेका करिब १०० जनाको अवस्था इजरेलको सरकारलाई पनि थाहा नभएको नेपाली दूतावासले जनाएको छ।

जोशी छुट्ने नेपालको आशा कायमै

राजदूत धनबहादुर पण्डित

तस्बिर स्रोत,Nepali Embassy Israel

तस्बिरको क्याप्शन,प्रा. धनप्रसाद पण्डित करिब एक महिनाअघि मात्र राजदूतका रूपमा इजरेल पुगेका हुन्

राजदूत पण्डितले जोशी सकुशल मुक्त हुने आशा कायमै रहेको बताए।

“सकुशल अवस्थामा छन् भने मेरो विचारमा विपिन जोशी पनि छुट्न सक्छन् कि भन्ने आशा गर्न सक्छौँ तर त्यो सूचीमा कुनै पनि विदेशी बन्धकको नाम चाहिँ छैन,” राजदूतले भने।

उनका अनुसार हमासले इजरेलसँगको युद्धविरामका क्रममा मुक्त गर्न लागेका बन्धकहरूमा इजरेली नागरिकहरूको मात्रै नाम छ।

“हमासको र हाम्रो सीधा सम्पर्क छैन। हामीले आईडीएफ र इजरेलको गृह मन्त्रालयबाट जानकारी लिने हो। हामीले लिने आधिकारिक जानकारी त्यहाँबाटै हो,” उनले भने।

जोशी अपहरण परेको स्थानमा राजदूत पुगे

विपिन जोशीलाई सन् २०२२ को अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणका क्रममा गाजा नजिकैको इजरेली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो।

राजदूत पण्डितले चार दिनअघि आफू तेल अभिभ भन्दा करिब ११० किलोमिटर टाढाको उक्त स्थानमा अनुगमनका लागि पुगेको बताएका छन्।

“त्यहाँको क्याम्पसका प्रमुखलाई भेटेँ। उनले अपहरण गरेर लगिएको र अन्य १० जना विद्यार्थी मारिएको ठाउँ देखाए,” उनले भने।

“कलेजमा मारिएका विद्यार्थीहरू र छेउमा विपिनको तस्बिर ठूलो बनाएर राखिएको छ।”

राजदूत पण्डितले जोशी अध्ययनरत कलेजका सहपाठीहरू पनि उनको रिहाइको विषयलाई लिएर नेपालीहरू जत्तिकै चिन्तित देखिएको बताए।

नेपालले कस्तो कूटनीतिक पहल गरिरहेको छ?

राजदूत धनबहादुर पण्डित इजरेली अधिकारीहरूसँग

तस्बिर स्रोत,Nepali Embassy Tel Aviv

तस्बिरको क्याप्शन,राजदूत धनप्रसाद पण्डितले इजरेली प्रधानमन्त्री कार्यालयका ‘बन्धक तथा बेपत्ता पारिएकाहरुको संयोजक’ गल हर्स्चसँग भेट गरेका थिए

नेपाली दूतावासले विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेको दाबी गरेको छ।

“मध्यस्थताको काम गरिरहेका कतार र इजिप्ट अनि अरूमार्फत् पनि नेपाल सरकारले पहल गर्दा राम्रो हुन्छ भन्ने यहाँको सरकारको धारणा छ,” राजदूत पण्डित भन्छन्।

उनका अनुसार इजरेली अधिकारीले नेपाललाई विपिनको रिहाइबारे सिधै प्यालेस्टाइनसँग पनि कुरा गर्न सुझाव दिएका छन्।

“यहाँको सरकारको बन्धकसम्बन्धी हेर्ने प्रधानमन्त्रीको सल्लाहकारले ‘तपाईँको सम्बन्ध अरब विश्वसँग पनि छ। संयुक्त राष्ट्रसङ्घमा पनि ठूलो उपस्थिति र योगदान छ। उहाँहरूमार्फत् पनि विपिन जोशीको बारेमा कोसिस गर्नुस्’ भन्नुभयो,” उनले भने।

“‘कतिपय कुरा हाम्रो प्रयासबाट नभए त्यताबाट पनि हुन सक्छ’ भन्नुभयो।”

नेपालमा आफ्नो कार्यकाल सकेर हालै इजरेल फर्किएका नेपालका लागि इजरेली राजदूत हनान गोडर अहिले इजरेलको विदेश मन्त्रालयमा कार्यरत छन्।

गोडरले काठमाण्डूमा रहँदा जोशीको परिवारसँग नियमित सम्पर्क गर्ने गरेको विपिन जोशीका दाजु किशोर जोशीले यसअघि बीबीसीसँग बताएका थिए।

इजरेलका लागि नेपाली राजदूत पण्डितका अनुसार गोडरले पनि विपिनको रिहाइबारे चासो लिने गरेको छन्।

३४ बन्धक मुक्त गर्ने तयारी

हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गरिँदै

तस्बिर स्रोत,AFP

यसअघि प्यालेस्टिनी लडाकु समूह हमासले इजरेलसँग युद्धविराम भयो भने पहिलो चरणमा आफूले रिहा गर्ने ३४ बन्धकहरूको नाम भएको सूची बीबीसीलाई उपलब्ध गराएको थियो।

उक्त सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ पुरुष छन्। त्यसबाहेक यसअघि हमासले मृत्यु भइसकेको जनाएका केही बालबालिका पनि छन्।

सन् २०२२ को अक्टोबर ७ मा हमासले अप्रत्याशित आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी र अन्य देशका नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो। उक्त घटनामा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए।

तीमध्ये नेपालका विपिन जोशी पनि भएको ठानिएको थियो।

अहिलेसम्म १०० भन्दा बढी बन्धक मुक्त भइसकेका छन्। बाँकी बन्धकमध्ये कति जना जीवित छन् भन्ने हमासले खुलाएको छैन।

युद्धविरामका लागि कतारको दोहामा फेरि संवाद सुरु भएको छ। तर त्यसमा खासै प्रगति हुन नसकेको बुझिएको छ।

अशोक दाहाल, बीबीसी न्यूज नेपालीबाट ।

बिजापुरमा माओवादीको आक्रमणबाट नौ जना सुरक्षाकर्मीको मृत्यु

काठमाडौं– भारतको छत्तिसगढ राज्यमा पर्ने बिजापुरमा विद्रोही माओवादीको आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।  बिजापुरको कुटरू बेन्द्रे मार्गमा माओवादीले आक्रमण गर्दा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको हो ।

बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरको स्पेशल टास्क फोर्स र सीआरपीएफका जवानको टोली माओवादी अपरेशनबाट फर्किने क्रममा आक्रमण भएको बताएका छन् ।

उनका अनुसार आक्रमण विस्फोटका माध्यमबाट गरिएको थियो । विस्फोटमा परी  डिस्ट्रिक्ट रिजर्भ गार्डका ८ जवान र एक वाहन चालकको मृत्यु भएको बताइएको छ । -बीबीसी

विश्वको प्रतिष्ठित डान्स शो ‘डब्लुओडी’ अब नेपालमा

काठमाडौं– अमेरिकासहित विश्वका २५ देशहरुमा हुँदै आएको डान्सको चर्चित स्टेज वर्ल्ड अफ डान्स (डब्लुओडी) अब नेपालमा पनि हुने भएको छ । नृत्यमा भविष्य खोज्नेहरुका लागि उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्राएको हो । वर्ल्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीवार हुने आयोजकले जनाएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरि जुरी टिम, ट्रफिसँगै विजेताले पाउने पुरस्कार लगायतका विषयमा जानकारी गराइयो ।

यसमा सहभागी हुने टिमहरुलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टिम डिभिजन, यसमा जुनसुकै उमेर समुहका डान्सरले सहभागी लिन पाउने छन् । साथै यसमा एक जना, दुई जना, तीन जना अथवा चार जनासम्मको एक टिम बनेर डान्स गर्न पाउने छन् । दोस्रो सिनियर टिम डिभिजन, यसमा १८ वर्षभन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउने छन् । तेस्रो जुनियर टिम डिभिजन, यसमा १८ वा १८ वर्षभन्दा मुनिका डान्सरहरुले सहभागी हुन पाउनेछन् ।

सहभागी तीन डिभिजनकै विजेताले एक–एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । यस्तै अमेरिकामा हुने डब्लुओडीमा भने सिनियर र जुनियर टिम डिभिजनमा विजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि सहभागी जनाउन पाउने छ । सिनियर टिम डिभिजन र जुनियर टिम डिभिजनले मात्र अमेरिकामा हुने डब्लुओडीमा सहभागी हुन पाउने पाउने प्रावधान रहेको शोका नेशनल डिरेक्टर रोशन गहतराजले जानकारी दिए । गहतराजका अनुसार नेपालमा अहिलेसम्म नृत्यकै लागी भनेर यस्तो किसिमका शो नआएको र डब्लुओडी नेपाल नृत्यमा भविष्य बनाउन चाहनेहरुका लागि उत्कृष्ट शो बन्नेमा विश्वास दिलाए ।

यस्तै आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टलेकी सिईओ सजिना तामाङले नेपालमा डब्लुओडी जस्तो प्रतिष्ठित शोलाई नेपाल भित्राउन पाउँदा खुसी लागेको बताइन् । उनले नेपालबाट राम्रो डान्सर विश्वको ठुलो प्लेटफर्ममा पुगेर नेपाललाई चिनाउन लागेको भन्दै सम्पूर्ण प्रतियोगीहरुलाई शुभकामना दिइन् । शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेका छन् । शोको इभेन्ट कन्सल्टेन्टको रुपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् । प्रशान्तले पनि डान्सरहरुका लागि नेपालमा बल्ल उपयुक्त स्टेज आएको भन्दै सहभागीहरुलाई शुभकामना दिएका छन् ।

छ दशकअघि यस्तो थियो डोटी

धनगढी, २२ पुस ।
छ दशकभन्दा पहिले डोटी कस्तो थियो ? अहिलेको पुस्तालाई त्यो कौतुहलता हुन सक्छ ? जसले छ दशक पहिलेको डोटी देखे, उसलाई लाग्छ होला, ओहो ! डोटी यो छ दशकमा कति फेरिएछ ? तर अहिलेकालाई लाग्न सक्छ, डोटी फेरिन र समयको पद्चाप पछ्याउन अझै कति वर्ष लाग्छ होला ? किनकी डोटी शिक्षामा सबैको पहूँच अझै सुनिश्चित हुन सकेको छैन । बाटोघाटो, बिजुली सबै गाउँमा अझै पुग्न सकेको छैन । गुणस्तरीय स्वास्थ्यको कुरै छोडौ, कतिपय नागरिकले बिरामी हुदा सहजै सिटामोल पाउदैनन् ।

यो छ दशकमा डोटी नफेरिएको होईन ? मान्छेको आर्थिक, शैक्षिक, सामाजिक जीवनस्तरमा सुधार नभएको होईन ? तर जुन गतिले फेरिईनुपथ्र्यो, त्यो गतिले भने फेरिईन नसकेको सत्य हो ।

एक समय थियो, डोटीबाट मान्छेहरु सामान किन्न ब्रह्मदेव मण्डीसम्म पुग्थे । अझै कतिपय त्योभन्दा पनि पर काशीपुर पुग्थे । कन्टेनरमा घिउ लगेर जान्थे । र,त्यो घिउ बेचेर प्राप्त हुने रकमले नुन, तेल, कपडा किनेर ल्याउथे । ब्रह्मदेव गएकाहरु २० देखि २२ दिनमा सामान लिएर फर्किन्थे । सामान लिन उनीहरु समूहमा जान्थे । उनीहरु घरबाट निस्किदा गाउँमा रुवावासी हुन्थ्यो । औलोले कतिपयको ज्यान पनि जान्थ्यो । त्यही कारण आफ्नो प्रियजन फर्किने हो कि होईन भन्ने भय सबैका मनमा हुन्थ्यो ।
पाका मान्छेहरु सुनाउछन्, उनीहरुले बाटोमा लाग्ने समयका आधारमा रासनसंगै लिएर जान्थे । राति जुन धर्मशालामा बास बस्थे । त्यहा एक दिनको रासन छोडेर जान्थे । त्यसरी हरेक ठाउँमा रासन छोड्थे । फर्किदा त्यही राशन खान्थे । यसरी राशन छोड्न भारी कम हुन्थ्यो ।

धनगढीबाट डोटी पुग्न एक हप्ता लाग्थ्यो । त्यतिबेला धनगढी–डोटी जोड्ने सडक बनिसकेको थिएन । डोटीबाट धनगढी पुग्न कम्तिमा सात दिन लाग्थ्यो । सिलगढीबाट एकदिनमा कफल्लेकी वा नापानी । दोस्रो दिन मडे ओडार । महाभारतको लेक अन्तर्गत पर्ने त्यो ओडारमा मुर्दा ल्याउदा बास बस्ने हुनाले त्यसको नाम मडे ओडार राखिएको थियो । त्यहाँबाट चौथौ दिन खलबस्ता, गडसेरा । र, पाँचौ दिन जोरायल । छैठौ दिन खसरेको ओरालो । जो भासु नजिकै पथ्र्यो । सातौ दिन मछेलीको ओरोलो हुदै कोल्मुडा । आठौ दिन मालाखेती । र, साँझ खाना खाएर लडियामा रातभरी जंगलै जंगलको बाटो भएर बिहान ११ बजे धनगढी पुगिन्थ्यो ।

५८ वर्षअघि धनगढीबाट हिडेर अमेरिकीन पीसकोर दम्पत्ती (ड ह्याच) डोटी पुगेका थिए । न्यान्सी र डअले पद्म पब्लिक बहुउद्देश्यीय हाईस्कुलमा पढाए । दुई वर्ष सिलगढीमा पढाएका उनीहरुले त्यतिबेलाको रहनसहन, जीवनशैली र परिवेशलाई तस्वीरमा कैद गरेका थिए ।

सन १९६७ अर्थात आज भन्दा ५७ वर्षअघि तत्कालिन अमेरिकी राजदूत क्यारोल सी लेस डोटी पुगेकी थिईन । ह्याचले राजदूतको भ्रमण र स्वागतको तस्वीरहरु समेत क्यामेरामा कैद गरे ।

(यो समाचारमा समेटिएको तस्वीर पीसकोर फोटो ग्यालरीबाट साभार गरेका हौ । जुन तस्वीरहरु ड ह्याचले खिचेको हुन् ।)

कालाबारकी इकाइटे

हिक्मत थापा ।

जहाज अवतरण हुने क्रममा थियो । झ्यालबाट अनन्त फैलिएको घना–हरियो जङ्गल, बीचबीचमा शान्त र एक तमासले फैलिएका नदीहरू मानौँ गन्तव्य कुनै घना जङ्गलबीचको समुद्री टापुमा छ झैँ लगिरहेको थियो । नदी र जङ्गलसँगै घुम्ती लिँदै जहाज तल झर्यो । पातला जङ्गलबीच सुन्दर र चौडा सडक अनि बस्ती देखियो । क्रमशः हामी उत्रियौँ– मार्गराट इक्पो अन्तर्राष्ट्रिय विमानस्थलमा ।

रनवेमा जहाज रोकिएपछि ढोका खुल्नुअघि यात्रुहरू सबै उठ्न थाले । मेरो पछाडिको सिटबाट अगाडि आए आर्किटेक्चर सरारी, जो मेरा यस यात्रा मिसनका सहायक थिए । ‘इकाइटे इज वेटिङ फर अस… सी इज फ्रम अओर कालाबार अफिस ।’ उनले भने । ‘कालाबारकी इकाइटे ! नाम पनि गजबै रहेछ ।’ मैले मनमनै सोचेँ । आगमन कक्षमा पुगेपछि सदृश्य भइन् अग्ली, पातली, हिसी परेकी इकाइटे, जो हाम्रो स्वागतमा निकैबेरदेखि उभिएकी रहिछिन् । ‘यु आर वेलकम सर इन आवर ब्युटीफुल एन्ड हिस्टोरिकल सिटी कालाबार !’ हँसिलो मुस्कानसाथ इकाइटेले स्वागत गरिन् ।

गाडीबाट होटेलतर्फ जाँदैगर्दा मैले इकाइटेलाई सोधेँ– ‘आई फिल कालाबार इज ब्युटीफुल सिटी बट क्यान यु एक्स्प्लाइन मी हाउ कालाबार इज हिस्टोरिकल सिटी ?’ प्राकृतिक स्रोत र सम्पन्न संस्कृति रहेको यो क्षेत्रलाई इक्वा अक्पा भनिन्थ्यो । निजर नदी हुँदै आएका इफिक, इबिबो, इग्वो यहाँका रैथाने बासिन्दा हुन् । पन्ध्रौँ शताब्दीमा यहाँ पोर्चुगिज नाविक आएपछि उनीहरूले बिस्तारै हामीलाई नियन्त्रित गर्न थाले । सुरुमा पाम–आयल र काठ यताबाट निर्यात गरे । अनि बिस्तारै अल्पसङ्ख्यक जातिका र त्यसपछि अरू मानिसहरूलाई दासको रूपमा लग्न थाले । सुरुमा यताका मान्छेलाई कालाबार भन्न थाले र पछि यो ठाउँलाई नै कालाबार नामाकरण गरे ।

सत्रौँ शताब्दीसम्म त कालाबार मान्छेहरूलाई जबरजस्ती कब्जा गर्दै युरोपमा दासको रूपमा पठाउने यताको ठूलो बन्दरगाह बन्यो । दुई लाखभन्दा बढी हाम्रा पु्र्खाहरूलाई यही बन्दरगाहबाट कष्टकर रूपमा बन्दी बनाएर युरोप र क्यारिबियन टापुतिर लगेर दासका रूपमा बेचे तिनीहरूले । युरोपियनहरू अहिलेको नाइजेरिया भूभागमा कालाबारबाट पसेका थिए । यतैबाट उनीहरूले यो विशाल नाइजेरियाको पूर्व–पश्चिम, उत्तर–दक्षिण आफ्नो शक्ति र व्यापार फैलाए । पछि अठारौँ शताब्दीको सुरुतिर अङ्ग्रेजको नियन्त्रणमा गयो कालाबार । उनीहरूले सन् १८१५ मा दास व्यापार त बन्द गरे तर त्यसपछि सुरु गरे मिसनरी अभियान । गरिबी, अचेतना र भयका कारण हामी क्रिस्चियनियिटी ग्रहण गर्न बाध्य भयौँ । सीमितले उनीहरूको शिक्षा र स्वास्थ्य सुविधा पायौँ तर त्यो बेलासम्म हाम्रो उर्वर जल, जमिन, जङ्गल, राज्यशक्ति र सत्ता उनीहरूको कब्जामा गइसकेको थियो । हामी केवल बाँकी थियौँ उनीहरूका दास र कामदार भएर । कालाबारमा पहिलो मिसनरी थियो स्कटिस मिसनरी । पछि अरू पनि थपिए । उनीहरूले हाम्रो संस्कृति, प्रकृति पुजन परम्परा र धर्म–संस्कृतिलाई सैतानको अभ्यास भन्दै बन्द गर्न थाले । योसँगै व्यापार र शासनको केन्द्र कालाबार बनाए । कालाबारमै नाइजेरियाको पहिलो स्कुल, अस्पताल, पोस्ट–अफिस, ब्यारेक, रोड, गार्डेन, सङ्ग्रहालय बने । यसरी क्रिस्चियनियिटीको केन्द्र र आधुनिक सहरको रूपमा नाइजेरियाको पहिलो सहरको रूपमा विकसित हुँदै गयो कालाबार ।

इकाइटे सिद्धहस्त पर्यटक–गाइडझैँ बोल्दै गइन् । म जिपको झ्यालबाट दायाँबायाँ हरिया रुखका झ्याङभित्र लुकामारी खेलिरहेको कङ्क्रिटबाहुल्य शान्त र सुन्दर सहर कालाबार हेर्दै उनलाई सुन्दै गरिरहेँ । ‘त्यसपछि ?’ १९औँ शताब्दीको प्रारम्भमा पुग्दा अङ्ग्रेजहरूले आफ्नो शासन उत्तर कानो र सोकोटो अनि पश्चिममा लेगोसमा बिस्तार गरिसकेका थिए । लेगोस पनि उनीहरूको अर्को आवासीय सत्ताकेन्द्रको रूपमा स्थापित भइसकेको थियो ।

सुरुमा कालाबार र लेगोस दुवै सहरबाट र पछि लेगोसबाट उनीहरूले सरकार चलाउन थाले । उनी अगाडि भन्दै गइन्– अँ, अर्को प्रख्यात कुरो छ, सन् १९१४ देखि १९६० सम्म कालाबारबाट नियमित यात्रु बोक्ने स्टिमर पानीजहाज चल्थ्यो, बेलायतको लिभरपुलसम्म । बेलायतसम्म सोझै व्यापार र आवतजावतको केन्द्र पछिसम्मै रहिरह्यो कालाबार । पछि १९६७ देखि १९७० सम्मको बाइफ्रा युद्धले यसलाई पनि नराम्ररी प्रभावित गर्यो । तर अब फेरि आफ्नै लयमा फर्केको छ कालाबार ।

दास व्यापारको कङ्लक बिर्सेर सम्पन्न सांस्कृतिक इतिहास र अबको पर्यटन केन्द्रको रूपमा हरित सहरको पहिचान बनाएर । यत्तिमै गाडी होटेलमा पुग्यो । र हामीलाई रिसेप्सनमा दर्ताको काम सकिदिएर इकाइटेले त्यो दिनका लागि बिदा मागिन् । ‘इकाइटे, कालाबारको कथा बाँकी छ कि सिद्धियो ?’ मैले जिज्ञासा राखेँ । ‘यो सकिँदैन सर !’ उनले भनिन्, ‘यो नसकिने छ ।’ ‘बाँकी भोलि र पर्सि छँदै छ नि ! म भनुँला,’ भन्दै इकाइटे आफ्नो बाटो लागिन् ।

हामी होटेलको कोठाभित्र पस्यौँ । भोलिपल्ट बिहान आठ बजे नै होटेलको रिसेप्सनमा इकाइटे कुरिरहेकी थिइन् हामीलाई । हामी कालाबार नदी बायाँ पार्दै अगाडि हुइकियौँ । पारिपट्टि बाक्लो उष्ण प्रदेशीय जङ्गलवारिका ससाना पहाडी थुम्कामा फैलिएको कालाबार शान्त, स्निग्ध सहर । पोर्ट, बन्दरगाह क्षेत्र भएको हुँदा नदीकिनारमा भने उद्योगहरूका लाम थिए । उद्योगहरूलाई सामान आयात–निर्यात गर्न वा उत्पादित सामग्री ढुवानीका लागि पनि सहज हुने हुँदा उद्योगहरू पोर्टभित्रै स्थापना गरिँदो रहेछ । त्यही कालाबार पोर्टभित्रको एउटा कुनामा हाम्रो गाडी रोकियो ।

स्थानीय इन्जिनियरहरूको टोली पहिले नै पुगिसकेको थियो । एकछिनको विमर्शपछि उद्योग स्थापना सहयोगका लागि आएको स्थानीय प्राविधिकहरूको टोलीसँगै आर्किटेक्चर सरारी जमिन नापजोखमा लागे । म भने इकाइटेसँग कालाबार बुझ्न फेरि गफिएँ । ‘उहिले हामी इफिक जातिका अवासी नाम गरेका सर्वोच्च देवता थिए । उनले नै स्वर्ग र धरतीमा मानवको संरचना गरेका हुन् भन्ने मान्यता छ । अनासा, ओबुटन, उकोन एसोक, सन्कोलगायत सयभन्दा बढी देवता थिए ।

पानीका, आगोका, वनका, वर्षाका, खेती–किसानका छुट्टाछुट्टै मान्यदेवहरू थिए । इफिकहरू नाइजेरियाको कालाबार क्षेत्रमा मात्र नभई क्यामरुन, गुयानालगायत देशमा फैलिएका छन् । तर मिसनरी आएपछि इफिकहरू लगभग सबैजसो क्रिस्चियनमा बदलिए । कोही विभिन्न प्रलोभनमा, कोही कुप्रथामा सुधार गरेकोमा खुसी भएर र कोही जबरजस्ती ।

जाति रह्यो तर धर्म–संस्कृति नभएको अवस्थामा छन् इफिकहरू अहिले ।’ इकाइटे भन्दै गइन्, म सुन्दै रहेँ । ‘हो, कुप्रथा पनि साह्रै थियो । जुम्ल्याहा बच्चा जन्मिनेबित्तिकै मारिन्थ्यो । राजा–महाराजा मर्दा तिनीलाई स्वर्गमा पनि सहयोगी चाहिन्छ भनेर केही बालक र युवा खोजेर मारिन्थ्यो । मिसनरीले यस्तै विकृति निषेध गरे । सुधार गरे ।’ ‘तिमीहरूका राजा अझै छन् त ?’ ‘छन्,’ इकाइटेले भनिन्– ‘इफिक वंशको ७८औँ राजा इकिडेने इकोपो ओकोन अबासी ओटु पाँचौँ अहिले पनि छन् । सरलाई थाहै होला उपनिवेश सुरु भएपछि अहिलेसम्म राज्यले केही मान–सम्मान र सुरक्षा दिएर सांस्कृतिक राजाको रूपमा अन्य नाइजेरियन राजा र सुल्तान राखेको । हो, ओटु पाँचौँलाई पनि उसरी नै राखेको छ ।

इफिकहरू राजालाई एकदमै सम्मान गर्छन् र सर्वोच्च देवता अबासीको प्रतीक मान्छन् ।’ इकाइटेको कथा सकिएको थिएन । आर्किटेक्चर सरारी र उनको टिम फर्कियो । आजको काम सकियो भने उनले । एकछिनको विमर्शपछि हामी सहरतिर फर्कियौँ । दिन अझैँ बाँकी थियो । ‘यो दुई–तीन घण्टामा कालाबारमा हामीलाई कता घुमाउन सक्छ्यौ त इकाइटे ?’ मैले इकाइटेलाई सोधेँ ।

हामी कालाबारको पुरानो सरकार (अङ्ग्रेज गभर्नर) बस्ने घर पुग्यौँ । अहिले यसलाई ओल्ड रेसिस्डेन्सी म्युजियम भनिन्छ । सन् १८८४ मा रोयल नाइजर कम्पनीले यो घरका लागि सम्पूर्ण सामग्री बेलायतको ग्लास्गोमा निर्माण गरी यता ल्याएर उतैको नक्सामा बनाएको थियो । यही घरमा बेलायती गभर्नर बसेर नाइजेरियाभरी शासन चलाउँथे । अहिले यसलाई सरकारले व्यवस्थित रूपमा सङ्ग्रहालय बनाएको रहेछ । यस क्षेत्रको इतिहास, पुराना सरकारी कागज–पत्र, पुरातात्त्विक सामग्रीहरू, इतिहास झल्काउने हातहतियार र संस्कृति, घरायसी सामग्री, कलाकृति, मुद्रा, व्यापारमा प्रयोग गरिने सामग्री, युरोपियन गोराहरूको आगमन, दास व्यापार, अमानवीय तरिकाले तिनको बिक्री, ओसारपसार, प्रयोग भएका अन्य चित्र–सामग्रीहरू हामी एक–एक गर्दै हेर्दै गयौँ, इकाइटे अथ्र्याउँदै गइन् ।

गर्वलाग्दो इतिहास, वीरताका कथा र संस्कृति सुन्दै जाँदा अन्तिममा गोरा उपनिवेशको कब्जामा परी दास भएर बिक्री हुनुपर्दाको व्यथासम्म पुग्दा मेरा आँखा नजानिँदो किसिमले भिजे । मैले चिसमिरो भावसहित इकाइटेका आँखामा हेरेँ, उनका पनि परेला रसाइरहेका थिए । भोलिपल्ट हामीलाई फर्किनु थियो । खानामा कालाबारको प्रसिद्ध स्वादिष्ट भोजन नचाखी कसरी फर्किनु ? इकाइटेले कालाबारी खाना पाउने स्थानीय रेस्टुरेन्टमा लगिन् । थरी–थरीका माछाका सुप अथ्र्याउँदै गइन् । सुप माग्दा प्रशस्त माछाका टुक्रासहित सुप र साथमा तरुलको ढिँडो आउँदो रहेछ । माछाको सुप र तरुलको कालाबारी ढिँडो । नाइजेरियामा मेरो पहिलो रैथाने खान्की थियो । अविस्मरणीय स्वादिलो । धन्यवादसहित हामी इकाइटेबाट छुट्टियौँ त्यो दिन ।

भोलिपल्टको घमाइलो बिहान । २७ फेब्रुअरी २००७ । इकाइटेले विमानस्थलबाट हामीलाई बिदा गर्न लागिन् । लोकसंस्कृति र नाचको धनी कालाबारबारे उनले भन्न बाँकी नै रहेछ । ‘सर, डिसेम्बर महिनाभर कालाबार कार्निभल हुन्छ ।’ उनले भनिन्– ‘दिनहुँ कालाबारको संस्कृति र परम्परागत नाच सडकभरी प्रदर्शन हुन्छ । संसारभर फैलिएको कालाबारको डायस्पोरा र पर्यटकले यहाँका सडक भरिन्छन् त्यतिबेला । कालाबार बुझ्न त्यो नै सबैभन्दा उपयुक्त समय हो । आउनु है अबको डिसेम्बरमा ।’ उनको त्यही हार्दिकता बोकेर म र आर्किटेक्चर सरारी कालाबारबाट फर्कियौँ, नाइजेरियाको हालसम्म सञ्चालनमा रहेको पुरानो वायुसेवा एरो कन्ट्राक्टरको बोइङ चढेर ।

नाइजेरियाको पूर्व–दक्षिणस्थित सीमावर्ती ऐतिहासिक सहर कालाबारदेखि पूर्वराजधानी लेगोससम्मको हवाई–यात्रा दुरी एक घण्टाको छ । यो अवधिमा मनभरी, आँखाभरी कालाबारकी हँसिली इकाइटेको सम्झना झलझली भइरह्यो । र सम्झनाको तरेलीमा आज पनि उस्तै छ कालाबारको कथा । त्योबेला सजल आँखाको डिल पुछ्दै इकाइटेले छड्के–प्रश्न सोधेकी थिइन्– ‘सरले अफ्रिकाको बारेमा एउटा प्रसिद्ध भनाइ त सुन्नुभएकै होला ?’ ‘कुनचाहिँ ?’ मैले त्यसैमा टुक्रे–प्रश्न जोडेको थिएँ । ‘गोराहरू जब अफ्रिका आएका थिए उनीहरूको हातमा बाइबल थियो र अफ्रिकीहरूको हातमा जमिन । तर जब अफ्रिकीहरूले बाइबल पढिसिध्याए तब उनीहरूको हातमा बाइबल थियो र गोराहरूको हातमा जमिन,’ इकाइटेले भनेकी थिइन्, ‘हो, यो भनाइको पहिलो जीवन्त साक्षी हो कालाबार !’ …

लेगोस, नाइजेरिया । ( सौजन्य : किलिमन्जारो , दोश्रो संस्करण , २०२५ )

ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रमा अपेक्षित गति लिन नसकेको स्वीकार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएयता मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको बताएका छन् ।

एमाले केन्द्रीय कमिटीको आजको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमा उनले देशको अर्थतन्त्रमा सुधारमा सकारात्मक सङ्केत देखिए पनि त्यसले अपेक्षित गति लिन नसकेको उल्लेख गरेका हुन् । राजनीतिक स्थायित्व र सबल सरकार गठनसँगै निजी क्षेत्रको विश्वास बढेको, राजस्व, निर्यात, र पुँजीगत खर्चमा वृद्धि भएको तथा पुँजी बजारमा सुधार आएको प्रधानमन्त्रीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पहिलोपटक देशको सार्वभौम ‘क्रेडिट रेटिङ’बाट हाम्रो राष्ट्र दक्षिण एसियामा भारतपछिको दोस्रो लगानीयोग्य मुलुकका रुपमा परिचित भएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन‍् ।

सहकारीका बेथितिलाई सम्बोधन गर्न तथा अनियमिततामा संलग्नलाई कारबाही गर्ने, बचतकर्ताको रकम फिर्ता गर्ने, प्रभावकारी नियमनका लागि प्राधिकरण गठन एवं कानुनी संरचना निर्माणमा आवश्यक प्रयत्न भएको एमाले अध्यक्ष ओलीले बताएका छन् । ऊर्जा, व्यापार र पूर्वाधारमा सुधारका प्रयास भएका, किसानका समस्या समाधान, सरकारी सेवा प्रवाहमा क्रमिक सुधार आए पनि ती क्षेत्रमा चुनौती रहेका प्रधानमन्त्रीले औँल्याएका छन् । प्रतिवेदनमा सरकारका प्रयास सकारात्मक भए पनि अपेक्षित विकास र जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्नेमा जोड दिइएको छ ।

“मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ । राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ । वर्तमान सरकारले अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको छ । पुँजीबजारमा सकारात्मक सुधार हुँदै आएको छ । गत वर्षको यसै अवधिको तुलनामा राजस्वमा वृद्धि भएको छ, निर्यात तथा आयातमा सुधार भएको छ । पुँजीगत खर्च पनि वृद्धि भएको छ”, प्रतिवेदनमा भनिएको छ, “मुलुकको अर्थतन्त्रमा सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको छ । गत वर्षदेखि सिर्जित भुक्तानी दायित्व लगभग पूरा गरिएको छ । करिब एक दर्जन, नियमावली, कार्यविधि, निर्देशिकालगायत ऐनकानुन पारित भई कार्यान्वयनमा आएका छन् ।”

बिनाअध्ययन साना आयोजनामा छरिएको बजेटलाई राष्ट्रिय गौरवका रणनीतिक आयोजनामा केन्द्रित गर्न र अनुशासित कार्यप्रणाली कार्यान्वयन गर्न मितव्ययितामा जोड दिइएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । सरकारले गरेका विभिन्न प्रयासका कारण अर्थतन्त्र गतिशील हुने आधार तयार भएको प्रतिवेदनमा उल्लेख छ । “अर्थतन्त्रको बाह्य अवस्थामा तुलनात्मक रुपमा अनुकूल अवस्था छ । बैङ्कमा लगानीयोग्य पुँजीको दायरा र विप्रेषण आप्रवाह विस्तार भएको छ । ब्याजदर एकल विन्दुमा झरेको छ । मूल्यवृद्धि र मुद्रास्फीति नियन्त्रणको सीमामा छ”, पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने ।

सहकारीका बेथिति अन्त्यका लागि मुख्य चारवटा कार्य तत्काल गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन् । “अनियमिततामा संलग्नहरूलाई बिनामोलाहिजा कारबाही गर्ने, बचतकर्ताहरूको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकारसम्पन्न प्राधिकरण गठन गर्ने र भविष्यमा बचतकर्ताहरूको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ”, ओलीले भनेका छन् ।

नागरिकहरूको बचत रकम हिनामिना गर्ने कसैलाई पनि छुट दिनु हुँदैन र दोषीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा वर्तमान सरकार स्पष्ट रहेको पनि उनले बताए । “कतिपय पार्टी या व्यक्तिहरूले चालु अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्ने एवं आफूहरूप्रतिको पूर्वाग्रह या प्रतिशोध करार गर्ने प्रयत्न गरिहेका छन् । तर यस प्रक्रियामा सत्तारूढ पार्टीहरू सम्बद्ध कतिपय व्यक्तिहरू समेत अनुसन्धानमा तानिएको, थुनामा परेको या मुद्दा खेपिरहेका घटनाक्रमले त्यस्तो आरोपलाई मिथ्या प्रमाणित गरिसकेको छ”, उनले भने, “आफूले गल्ती गरिएको छैन भने कोही पनि न्यायिक प्रक्रियाबाट तर्सिनु पर्दैन । गल्ती गरेको भए सडक अदालतले उन्मुक्ति दिन सक्दैन भन्ने कुरा सबैले बुझ्नु पर्छ ।”

हालसम्म सरकारले समस्याग्रस्त घोषणा गरेका २२ वटा सहकारीका ६९ हजार बचतकर्ता मध्येबाट तीनवटा सहकारीका छ हजार बचतकर्ताहरूको करिब रु एक अर्ब ५५ करोड रकम फिर्ता भइसकेको प्रधानमन्त्री ओलीले बताए । उनले अन्य सहकारीका करिब आठ हजार बचतकर्ताको ७० प्रतिशत र दुई हजार बचतकर्ताको ५० प्रतिशत बचत फिर्ता भइसकेको जानकारी दिए ।

अधिक तरल, अस्थिर र अनिश्चयपूर्ण राजनीतिक अवस्थाले मुलुकको विकास निर्माणको काममा गम्भीर व्यवधान पुगेको प्रधानमन्त्रीले प्रतिवेदनमा स्वीकार्नु भएको छ । पूर्ववर्ती सरकारको पालामा तस्करी, भ्रष्टाचार र सरकारी रकम अपचलनलाई संरक्षण दिँदा मुलुकमा एक किसिमको समानान्तर अर्थतन्त्र चलायमान भएको, अपेक्षित राजस्व नउठेको, विदेशी अनुदान, सहायता र लगानी अपेक्षा गरिएअनुरुप नभित्रिने स्थिति सिर्जना भएको आरोप पनि प्रतिवेदनमा लगाइएको छ ।

“निर्माणाधीन परियोजना समयमा सम्पन्न नहुने र निर्माण सम्पन्न भएका आयोजनामा निर्माण व्यवसायीहरूले भुक्तानी नपाउने जस्ता बेथिति देखा परे । निश्चित राजनीतिक स्वार्थका लागि जथाभावी योजना थप्दै जाँदा मन्त्रालयहरू त्यस्ता टुक्रे योजनाहरूको बोझ र स्रोत सुनिश्चितताका नाममा प्रतिबद्धता गरिएका दायित्वले थिचिएको अवस्था छ । यस्तो बेथितिलाई अन्त्य गर्दै हाम्रो विकास निर्माणको समग्र ‘इकोसिस्टम’ मै ठूलो रुपान्तरण आवश्यक भएको छ”, प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन‍् ।

अर्थतन्त्र सुधारका लागि वर्तमान सरकारका काम सकारात्मक भए पनि ती पर्याप्त नभएका उनले बताए । “दुई मुख्य दलको साझेदारी र अन्य दलहरू समेतको सहभागितामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र ‘डेलिभरी’को अपेक्षा गरिरहेका छन् । एक वर्ष बितिसक्दा पनि जाजरकोट र पश्चिम रुकुम पुनर्निर्माणको काम थालनी नहुनु र असोज दोस्रो साताको बाढीबाट पीडितहरूको पुनःस्थापनामा ढिलाइ हुनु सोचनीय विषय हो”, अध्यक्ष ओलीले प्रतिवेदनमा भनेका छन्, “आफूले उत्पादन गरेका वस्तुहरूको उचित बजार र मूल्य नपाउने किसानहरूको समस्या समाधान हुन नसक्नु, विकास –निर्माणमा अपेक्षित गति नआउनु र सरकारी सेवा प्रवाह, लगानी र व्यावसायिक वातावरणमा अपेक्षित सुधार नआउनु सरकारका सामु तेर्सिएका मुख्य चुनौती हुन् ।”

 

एमाले केन्द्रीय बैठकमा भीम रावलमाथिको कारबाही फिर्ता लिन माग

काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासन गर्ने पार्टी निर्णयको बिरोधमा आवाज उठेको छ ।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यद्वय प्रकाश शाह र झपट रावलले पार्टी सचिवालयको सो निर्णय फिर्ता लिनुपर्ने माग राखेका छन् । आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा आफ्नो विचार राख्दै शाहले नेता रावलमाथिको कारबाहीको प्रभाव सुदूरपश्चिमको संगठनमा पर्नसक्ने बताएका छन् । ‘पार्टी निर्माणमा भीम रावलको पनि योगदान छ । उहाँलाई निष्कासन गर्ने निर्णयको प्रभाव ग्रासरुटमा पर्नसक्छ’, बैठकमा उनले भने, ‘सुदूरपश्चिममा पार्टीको प्रभावक्षेत्र बिग्रिनसक्छ । त्यसैले कारबाही फिर्ता लिनुपर्छ ।’

शाहले जति प्रष्ट नभने पनि अर्का केन्द्रीय सदस्य रावलले पार्टीमा भएका समस्याको समाधान सहज ढंगले निकाल्नुपर्ने बताए । उनले पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाहीले एमालेबारे राम्रो सन्देश नगएको भन्दै सो निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्यहरूले कारबाही फिर्ता लिनुपर्ने माग गरे पनि सचिवालयका निर्णयहरू केन्द्रीय कमिटी बैठकले सुरुमै अनुमोदन गरिसकेको थियो । सोही क्रमममा रावल, पाण्डे र तिम्सिनामाथि भएको कारबाहीको निर्णयसमेत बैठकले अनुमोदन गरिसकेको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले विचार राख्ने क्रम जारी छ । आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले बोलेका छन् । बैठकमा केन्द्रीय सदस्यलाई बोल्न तीन–तीन मिनेटको समय दिइएको छ ।

सुदूरपश्चिम र जाजरकोट भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने सरकारको निर्णय

काठमाण्डौ – सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन ९डीडीए० गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले सुदूरपश्चिम र जाजरकोटमा बाढी र भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले बैठकले गएको असोजमा काठमाण्डौलगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन ९डीडीए० गर्ने निर्णयसमेत गरेको बताए । उनले डीडीए सम्पन्न भइसकेका क्षेत्रहरूमा सरकारले बनाएको मापदण्ड अनुसार पुनर्निर्माणको काम प्रारम्भ गर्ने निर्णय भएको समेत दिए।

उनकाअनुसार बैठकमा बझाङ, बाजुरा र जाजरकोटमा गएको भूकम्पले गरेको क्षति र त्यसको पूनर्निर्माणका लागि आवश्यक कानूनी एवम् आर्थिक विषयमा पनि छलफल भएको छ ।

गृहमन्त्री लेखकले यी निर्णयहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेश गर्ने बताए। राष्ट्रिय परिषद्को बैठकबाट सदर भएपछि यी निर्णयहरू कार्यान्वयनको चरणमा जाने उनको भनाइ छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आजै बेलुका ७ बजे बालुवाटारमा बस्दैछ ।

 

सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

“तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, उनले भने, “बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।”

पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

काठमाडौँको न्यूनतम तापक्रम बढ्यो

शनिबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव दुई डिग्री सेल्सियस मापन भएको छ । शनिबार पाँच दशमलव नौ डिग्री सेल्सियस मापन भएको थियो ।

राति काठमाडौँको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले जानकारी दिए । न्यूनतम तापक्रम बढेकाले काठमाडौँमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महसुस भएको छ । गत मङ्सिर २९ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

 

सहकारी ठगी प्रकरणः रविसहितका प्रतिवादीहरूको थुनछेक बहस आज पनि

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाई र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाई र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताए ।

यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको बताइन् ।

‘प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ’, उनले भनिन् । थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको  जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।

छ दशकअघि यस्तो थियो धनगढी 

धनगढी, २१ पुस ।
छ दशकभन्दा पहिले धनगढी कस्तो थियो ? अहिलेको पुस्तालाई त्यो कौतुहलता हुन सक्छ ? जसले छ दशक पहिलेको धनगढी देखे, उसलाई लाग्छ होला, ओहो ! धनगढी यो छ दशकमा कति फेरिएछ ?

राणा शासन कालमा कैलाली र कञ्चनपुर एउटा गोश्वारा थियो । जिल्ला भईसकेका थिएनन । कैलाली कञ्चनपुर गोश्वाराको सदरमुकाम बेलौरी थियो । त्यही कारण त्यतिबेलाको प्रशासनिक केन्द्र बेलौरी थियो । वि.स.१९९७ मा सदरमुकाम धनगढी सारियो । र धनगढीमा बेलौरीबाट सरकारी कार्यालयहरु पनि सार्नेक्रम त्यही बेला शुरु भयो ।

कैलाली र कञ्चनपुर गोश्वाराको जनसंख्या ५० हजार जति थियो । २०१५ सालको निर्वाचनमा यहाँबाट लोकेन्द्र बहादुर शाहले चुनाव जिते । २०१९ सालमा जिल्ला बिभाजन भयो । कैलाली र कञ्चनपुर अलग भए ।

२०२० सालतिर धनगढीमा पाँचवटा मात्र घर पक्की थिए । जताततै जंगल थियो । अस्पतालका दुई वटा साना पक्की भवन थिए । गोश्वारा, अञ्चलाधिशको आवास, कारागार, वन बिभागको एउटा घर र माल अड्डा (मालपोत कार्यालय) का गरी जम्मा पाँच वटा पक्की घर थिए । केही फुसका घर थिए । जताततै जंगल । रुख काटेर चार खामा गाड्यो । माथि फुसले छायो । घर तयार भयो । घरको छाना नाम मात्रको हुन्थ्यो । भित्ता हुन्थेन । बिजुली वत्तीको त कसैले कल्पना पनि गर्थेन । मट्टितेल हालेर टुकी बाल्यो । बिजुली पनि होला भन्ने सोचेका पनि थिएनन । अहिलेको व्यस्त धनगढीको मुल सडकमा त्यतिबेला दिउसो एक्लो हिड्न डर हुन्थ्यो । अस्पताल नाम मात्रको थियो । जहाँ उपचारका लागि जानु भनेको मर्नु थियो । उपचार गर्न ल्याईएकाहरु पनि अन्तिम अवस्थामा ल्याइएका हुन्थ्यो । अस्पतालमै अधिकांशको मृत्यु हुन्थ्यो । मृत्यु भएपछि गाड्न धेरै टाढा पनि लग्थेनन । जताततै लाश गाडिएका हुन्थे । अहिलेका कतिपय वस्ती उहिले चिहानघर थिए । गाँउबाट लडियामा बिरामी आउथे । जमिन्दारहरु हात्तीमा चढ्थे । उनीहरुको सामान लडियामा आउथ्यो । मोहना नदी तर्न हात्ती पर्खिनु पथ्र्यो । हात्तीको तर्ने बेला मोहना पुग्नुपथ्र्यो । जो त्यो बेला पुग्यो, उ हात्तीमा तरेर पारी जान्थ्यो । बर्खामा मोहना नदी तरेर पारी जान सकिदैनथ्यो ।

धनगढी बजार अहिले जस्तो थिएन । सडकको ट्रयाक खोलिसकेको थिएन । बाटोमा जताततै खाल्डाखुल्डी । बर्खामा हिलो । हिउँदमा धुलो । जताततै जंगल भएका कारण धनगढीकै एक ठाउबाट अर्को ठाउ जादा डर हुन्थ्यो । धनगढीमा छ दशकअघि नैनादेवी भगवतीको पक्की मन्दिर थियो । मन्दिरको भित्तामा बाघमाथि चढ्की भगवतीको मूर्ति कुँदिएको थियो ।

धनगढीको पुरानो बजार हालको मस्जिद र शिवमन्दिर क्षेत्र हो । मस्जिदको गल्लीमा मुसलमान व्यापारी थिए । र शिवमन्दिरको गल्लीमा हिन्दु व्यापारी । पछि त्यहाँबाट बजार विस्तार हुदै गयो । उनी भन्छन्, अहिलेको चौराहा त त्यतिबेला केही थिएन । धनगढीमा मान्छे थिएनन । मान्छे नभएपछि व्यापार हुने कुरै भएन । एक जना भारतीय व्यापारीको सानो पसल थियो, उनी ३० को दशक सम्झना सुनाउछन्, उनले बरेलीबाट चामल, आटा र अरु सामान ल्याउथे । उनले पसल खोले सामान पाईन्थ्यो, नत्र पाईदैन थियो । शिव मन्दिरको छेउमा एक लालाको पसल थियो । जो हप्तामा एक दिन लखनउ जान्थे । र त्यहाँबाट ल्याउथे,दुई टोकरी फलफुल र तरकारी । धनगढीमा त्यही एउटा पसल थियो । तरकारी र फलफुल पाउने । तरकारी पनि हप्तामा एक दिन मात्र खान पाईन्थ्यो ।

तरकारी झै दुध पनि दुर्लभ थियो । धनगढीमा एउटा गोरे होटल थियो । डडेल्धुराबाट झरेका गोरेले एउटा भैसी पालेका थिए । दुध दही त्यतिबेला कोही खादैनथे । दुध खाए मलेरिया हुन्छ भन्ने डर थियो । दुध चियाका लागि मात्र प्रयोग हुन्थ्यो । र चियाका लागि दुध किन्नु परे गोरेको घरमा पुग्थे । दुध किन्ने त थपिए । तर गोरेको भैसी थपिएन । पछि धनगढीमा उनकै सिको गरेर अरुहरुले पनि भैसी पाल्न थाले । जसलाई गोरेले नै पहाडबाट धनगढी ल्याएर बसाएका थिए । यसरी धनगढीमा भैसी पाल्ने र दुध बिक्री गर्ने चलनको शुरुवात भयो ।

जुगेडा, फुलवारी पनि घनघोर जंगल थियो । लालझाडी चारकोशे झाडी । धनगढीमा वस्ती बस्न शुरु भयो,२०२४र२५ सालतिर । २०३६ सालतिर पहाडमा भोकमरी भयो । धमाधाम मान्छेहरु तराई झर्न थाले । पूर्वबाट पनि आए । आसाम र बर्माबाट लखेटिएर नेपालीहरु आए । त्यसपछि जंगल फाड्ने क्रम तिब्र भयो । पुनर्वास गरिएका जनतालाई सरकारले दुई वर्षसम्म पौष्टिक आहार दिएर पाल्यो ।

उहिले मान्छेसंग साईकल हुन्थेन । रेडियो सिमित व्यक्तिसंग हुन्थ्यो । रेडियोका लागि पनि लाईसेन्स लिनुपथ्र्यो । त्यतिबेला टिभीको त कसैले पनि कल्पना गरेका थिएनन । तर मान्छेले अहिले मोटरसाईकल,कार, हेलिकोप्टर हुदै प्लेन समेत किनि सकेका छन् । ५० को दशकमा मैले टेलिभिजन किने । महाभारत र रामायण हेर्न मेरो घरमा सिनेमा हलमा झै भीड लाग्थ्यो । छिमेकी र बजारका मान्छे महाभारत र रामायण हेर्न आउथे ।

२०२४/२५ सालतिर डेढ सय रुपैयामा एक तोला सुन पाईन्थ्यो । २०३० सालसम्म ८० रुपैयामा एक हजार ईटा पाइन्थ्यो । प्रति क्विन्टल सरियाको मूल्य ८० रुपैया पथ्र्यो । र प्रति बोरा सिमेण्ट १५ रुपैयामा पाईन्थ्यो । २०१८ सालमा १० बिगाहा जग्गा मैले पाँच हजार रुपैयामा किनेको हूँ । अहिले धनगढीमा जग्गाको मूल्य छोई नसक्नु छ ।

४० को दशकसम्म कैलालीका बिभिन्न भागमा जमिन्दारको शासन चल्थ्यो । जमिन्दारले जे चाह्यो, त्यो गर्थे । नियम,कानुन, प्रहरी, प्रशासन उनीहरुका अगाडि नाम मात्रका थिए । यद्दपि केही जमिन्दारहरु राम्रा पनि थिए । धनगढीमा डिल्लीराज भण्डारी,श्रीपुरमा चेतराज पन्त,बसौटीमा देशराज महतो, छिमानन्द महतो कहलिएका जमिन्दार थिए । कतिपय जमिन्दारको नाम उनी बिर्सिसके । अधिकांश जमिन्दारसंग हात्ती थिए । उनीहरु कही जानु पर्दा हात्तीमा जान्थे । कतिसम्म भने, देशराज महतो र छिमानन्द महतो दुधुवा नेशनल पार्कमा जादा रेल रोकिन्थ्यो । देशराजले उर्दी गर्थे, गार्ड से कहेदेना रेल दो घण्टा लेट चलेगी । यस्ता थुप्रै किस्सा छन्, जमिन्दारहरुका ।  देशराज महतोको चर्चा लखनउसम्म हुन्थ्यो । धनगढी र आसपासका थारु गाँउहरुमा महाजन हुन्थे । हरेक गाँउमा एक महाजन । जो भारतीय मुसलमान थिए । उनीहरु व्यापारका लागि वस्ती–वस्तीमा पसेका थिए । वर्षभरी उनीहरुले जमिन्दार तथा किसानलाई भने जति सामान दिन्थे । र एकै पटक पैसा उठाउथे । पैसा दिन नसक्नेले उनीहरुलाई आफ्नो जमीन दिन्थे । त्यो जमिन अरुलाई बेचेर उनीहरु आफ्नो पैसा असुल गर्थे । ती महाजनहरु भूमि सुधार लागु भएपछि फिर्ता भए ।

अंग्रेजले सुदूरपश्चिमको जोगबुढासम्म रेलको लिक पु¥याएका थिए । यहाँको सालको काठ ओसार्न रेलको लिक बिछ्याईएको थियो । धनगढीमा पनि रेलको लिक थियो । भारतबाट अंग्रेजीहरु लखेटिएपछि यहाँको रेलको लिक हटाईएको थियो ।

 

( डा. शिवदत्त जोशीसंगको कुराकानीका आधारमा तयार पारिएको यो लेखमा समावेश  प्रयोग गरिएका तस्वीरहरु अमेरिकी पीसकोरको फोटो ग्यालरीबाट साभार गरिएका हुन् । यी तस्वीरहरु पीस कोर ड ह्याचले सन १९६६ मा खिचेका हुन् ।)

६७ वर्ष पहिले हवाई सेवा शुरु भएको थियो धनगढीमा

धनगढी, २१ पुस ।

राजा महेन्द्रले वि.स.२०१४ सालमा सुदूर पश्चिम भ्रमणको ईच्छा जाहेर गरे । धनगढीमा बिमानस्थल थिएन । राजाको सवारी कसरी चलाउने ? दरबारलाई सकस भयो ।

दरवारको आँखामा सयौ बिगाहाका मालिक डिल्लीराज भण्डारीको जग्गा प¥यो । दरबारको आदेशमा भण्डारीको ३५ बिगाहा जग्गा अधिग्रहण भयो । र शुरु भयो, बिमानस्थल बनाउने कार्य । देशभरीबाट हात्तिहरु धनगढी झिकाईए ।

लडिया (गोरु गाडा) मा रातदिन त्यहाँ ढुंगा खसालियो । हात्तीलाई हिडाएर जमिन समथर बनाउन लगाईयो । दुई तलाको टर्मिनल भवन बन्यो । त्यहीमाथि टावर राखियो । केही महिनामै ५००० फिट लम्बाईको धावन मार्ग तयार भयो ।

यसरी केही महिनामा धनगढी बिमानस्थल सञ्चालनमा आयो । सडक सञ्जालमा २०५१ पछि जोडिएको सुदूरपश्चिमलाई त्यही बिमानस्थलले ६ दशकअघि काठमाण्डौंसंग जोडेको थियो । नागरिक उड्डयन प्राधिकरणको रेकर्डमा धनगढी बिमानस्थल सन १९५८ जुलाई ६ मा सञ्चालनमा आएको उल्लेख छ ।

राजा महेन्द्रको सवारीका लागि निर्माण भएको त्यही बिमानस्थलको विकसित रुप नै हालको धनगढी बिमानस्थल हो । २०३७ सालसम्म धनगढीमा सञ्चालन भएको बिमानस्थल त्यसपछि भने गेटामा सारियो । यता बिमानस्थलको जग्गा संरक्षण गर्नुको साटो बेचियो । अतिक्रमण गरियो । हालको कभर्डहलबाट सुदूरपश्चिमाञ्चल साहित्य समाजसम्मको क्षेत्रमा बिमानस्थल सञ्चालनमा थियो । जसको अहिले नामोनिशान छैन ।

राजाको सवारी हुने भएपछि केही महिनामै बिमानस्थल तयार गरिएको हो । बिमानस्थल निर्माणका लागि देशभरीबाट हात्ती ल्याइएका थिए ।

शुरुवाती वर्षहरुमा नेपाल वायु सेवा निगमको डेकोटा चल्थ्यो,  पछि ट्विनेटर चल्न थाल्यो ।

धनगढी भएर काठमाण्डौं जानेहरु बडाहाकिम, अञ्चलाधिश, नेपाली सेनाका अफिसर, पञ्चायत समर्थकहरु हुन्थे, ९५ वर्षीय शिवदत्त जोशी सम्झिन्छन्, सर्वसाधारण त मुस्किलले जहाज चढथे ।

जोशीका अनुसार शुरुवाती वर्षहरुमा धनगढीबाट काठमाण्डौंसम्म जहाजको भाडा एक सय ७५ रुपैया थियो । पछि बढेर ती सय ७० रुपैया पुगेको थियो ।

धनगढीबाट उडेको जहाज नेपालगञ्जमा ईन्धन भथ्र्यो, जोशी भन्छन्, र त्यहाँबाट समेत यात्रु चढाउथ्यो । अनि काठमाण्डौंका लागि उड्थ्यो ।

क्याप्टेन बेद उप्रेतीका अनुसार धनगढी बिमानस्थल सञ्चालनमा आएको केही वर्ष धनगढीबाट नेपालगञ्ज हुदै काठमाण्डौं उड्ने गरेको भएपनि महेन्द्रनगरमा बिमानस्थल सञ्चालनमा आएपछि काठमाण्डौंबाट उडेका जहाज नेपालगञ्ज, धनगढी हुदै महेन्द्रनगर सम्म उड्थ्यो । र महेन्द्रनगरबाट यात्रु बोकेर त्यसैगरी काठमाण्डौं पुग्थ्यो ।

२०३८ साल माघ २० गते गेटा बिमानस्थलबाट दुई सय ५० रुपैयाको टिकट काटेर  जहाजबाट काठमाण्डौं पुगेको अमेरिकाको मेरिल्याण्डमा रहेका दमन बिक्रम शाहको अनुभव छ । बयस्कको पाँच सय रुपैया टिकट थियो । १०वर्ष मुनीका बच्चाको आधा टिकट लाग्थ्यो, शाहले सुनाए, धनगढीबाट उडेको जहाज डोटी पुग्थ्यो । डोटीबाट नेपालगञ्ज । नेपालगञ्जमा जहाज परिवर्तन हुन्थ्यो । नेपालगञ्जबाट उडेको जहाज भैरहवा अवतरण हुन्थ्यो । र भैरहवाबाट काठमाडौं जान्थ्यो । यसरी धनगढीबाट बिहान ११ बजे उडेर साँझ ६ बजे काठमाडौं पुग्थ्यौ ।

डा. गणेश बहादुर सिंहसंग काठमाण्डौंबाट धनगढी, महेन्द्रनगर हुदै बझाङ उडेको अनुभव छ । भन्छन्, काठमाण्डौंबाट सोझै बझाङ जहाज चल्थेन । जहाज काठमाण्डौंबाट धनगढी, महेन्द्रनगर हुदै बझाङ जान्थ्यो ।

धनगढीबाट सेनाको स्काई भ्यानले पहाडी जिल्लामा चामल ढुवानी गथ्र्यो । सेनाको टोली झिसमिसेमै पहाडी जिल्लामा खाद्यान्न ढुवानीका लागि तयार भईसकेको हुन्थ्यो, उप्रेती अझै सम्झिन्छन्, हामी बिहान स्कुल जाने बेलासम्म त सेनाको स्काई भ्यान उडिसकेको हुन्थ्यो ।

पाईलटले जे गरेपनि कसैले केही भन्न सक्थेनन । बिमानस्थलको सुरक्षामा सेना खटिएको थियो । एक साँझ अचानक धनगढीको आकाशमा जहाज उड्यो । आकाशमा फन्को लगाएर एकछिन पछि बिमानस्थलमा अवतरण भयो ।

सेनाका अफिसरले सोधेछन, किन उडाएको ? पाईलटले जवाफ दिएछन्, मनलाग्यो उडाए । खासमा पाईलट बिमानस्थल छेउमा निस्किएका रहेछन् । त्यहाँ फलफुल किन्दै गर्दा छेउमा रहेकी दुई महिलाले यो प्लेनमा चढ्न पाए हुन्थ्यो भनेछन । पाईलटले केही छिनमै प्लेनमा राखेर धनगढीको आकाशमा एक फन्को लगाएर अवतरण गराएछन् । पाईलटलाई लिएर यस्ता तमाम किस्सा पाका मान्छेहरुबाट सुन्नमा आउछन् ।

दरबारले भण्डारीको जग्गा अधिग्रहण गरेपछि भण्डारीले जग्गा फिर्ता गरिदिन पटक पटक दरवारमा बिन्ति पत्र हालेका थिए रे ? तर दरवार आफैमा कानुन थियो । र संबिधान पनि । भण्डारीको आग्रह सुनुवाई भएन ।
(अमेरिकी पीसकोरको फोटो ग्यालरीबाट साभार गरिएको यो तस्वीर पीसकोर ड ह्याचले सन १९६६ मा खिचेका हुन् । )

सामूदायिक प्रशिक्षकको जिम्मेवारीले दिएको सन्तुष्टी

कैलालीको टिकापुर बजार नजिकै छ शक्तिनगर टोल। यो पूर्व कमैयाँहरुको बस्ती हो । कमैयाँ मुक्तिको घोषणापछि निकै संघर्ष गरेर उनीहरुले यहाँ टाउको लुकाउने ठाउँ पाएका थिए। यो टोलका हरेक घरसँग संघर्षका आफ्नै कथा छन्। यहीँ छ हेमा चौधरीको घर ।

आँगनमा एउटा बोरा झुण्डिएको छ ।

बोरामा के छ ?

अलिकति पराल, अलिकति भुस यस्तै खित्रिकमित्रिक चीजबीज !

किन राखेको ?

छोरीले लात्ता हानोस् भनेर !

हेमाले हाँस्दै जवाफ फर्काइन् – ‘म सानो छँदा मेरो बुवाले पनि घर छेउमा यसैगरि बोरा झुन्डाइदिनुभएको थियो । ट्वाइलेट जाँदा होस् कि बारीमा मेरो काम चाहिँ त्यो बोरालाई लात्ता हान्ने ।’

हरेक विहान हेमा आमाबाट एकैछिनका लागि कराँतेकी गुरुआमा बन्छिन्। अनि केही समय छोरीसँगै आफ्नो बाल्यकाल बाँच्छिन् । उनका बुवा गाउँले केटाहरु बटुलेर कोम्फु सिकाउँथे। हेमा दाजुहरुको सिको गरेर लात्ता उचाल्ने र हात झड्काल्ने गर्थिन्। उनको रुची देखेर बुवाले कराँते सिकाए । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा पनि प्रतिस्पर्धा गरिन् । थुप्रै मेडल जितिन् ।

हेमाका बुवाले छोरीलाई खेलाडी बनाउन होइन परिआउँदा हात खुट्टा उठाउन सक्ने हुनुपर्छ भनेर कराँते सिकाएका थिए। तर त्यस्ता बुझ्झकी बुवाबाटै एक समय उनकी आमाले हिंसा सहनु पर्‍यो। ‘घरमा दिनहुँ झगडा हुन्थ्यो ।’ टोलछिमेकका लागि यस्ता घटना सामान्य थियो । किनकी टोलमा मदिराले मातेका केटाहरु श्रीमतिमाथि दिनहुँ हातपात गर्थे। त्यसको विरुद्धमा आवाज उठाउने र लड्ने सामर्थ्य आमा काकीहरूसँग थिएन।

हेमा सानैदेखि दृढ स्वभावकी थिइन् । बुवाले लड्न सिकाएका थिए । तर आफ्नै बाबुहरु विरूद्वको आमा काकीहरूको यो लडाईंमा कसरी साथ दिनु ! यो लडाईं लात्ता बजारेर जित्न सकिन्न भन्ने हेक्का थियो हेमालाई । त्यसैले आफ्नै घरपरिवार र टोल छिमेकको भोगाईमा आधारित नाटक लेखेर चाडवाडको छेको पारी गाउँमा सडक नाटक देखाइन् । नाटकले महिलाहरुको त मन छोयो नै पुरुषहरुलाई पनि जोरले धक्का लाग्यो । यो एउटा नाटकले उनको बुवाले मात्र होइन गाउँका केही युवाहरुले मदिरा छोडे ।

त्यस यता हेमाको जिन्दगीमा धेरै उतारचढाव आए । लामो जिन्दगीको कथा छोट्टोमा – १२ कक्षासम्म पढिन् । विहे भयो । कमाउन मुग्लान पसेका श्रीमानसँगै भारत गइन् । दुवैले एउटा पार्कमा बच्चाहरुलाई कराँते सिकाउने काम गरे । कमाइ राम्रै थियो । कमैया मुक्तिको घोषणासँगै सरकारले दिएको एक टुक्रा जमिनमा पक्की घरको जग हाले । तर कोरोनाले आम्दानीको जगै भत्कादियो। भारतमा ८ वर्ष बसेपनि त्यो ठाउँ कहिल्यै आफ्नो भएन । कोरोनामा गरिखान गाह्रो भएपछि ‘जे त होला’ आफ्नै देशमा गरिखाने भनेर हेमा छोरी लिएर गाउँ फर्किइन्। गाउँ समाज उनले छोडेभन्दा धेरै फरक थिएन ।

गाउँ फर्किएपछि के गर्ने ?

त्यहीबेला सामुदायिक प्रशिक्षकका लागि आवेदन खुला गरिएको रहेछ । फाराम भरिन्, लिखित, अन्तर्वार्ता सबै चरण पार गर्दै अन्नत: उनी सहकर्मी समाजको सामुदायिक प्रशिक्षकमा छनोट भइन् । तालिम कडा थियो । गाउँ समुदायमा काम गर्ने विभिन्न काइदाबारे यही तालिमले उनलाई सिकायो । अब पालो थियो आफूले सिकेको कुरा आफ्नै टोलसमाजसम्म पुर्याउने ।

सुरूसुरूमा त हेमालाई अप्ठ्यारो लागेको थियो । छिमेकी मुलुकका पार्कहरूमा केटाकेटीलाई कराँते सिकाइरहँदा कुनै दिन गाउँ फर्केर यस्तो काम गर्छु भन्ने उनले सोचेकै थिइनन् । हेमा धेरै वर्ष गाउँसमाजबाट टाढा थिइन् । त्यसैले आफ्नै गाउँ ठाउँ उनको लागि नौलो थियो । आफ्नै आँगन बाहिरको संसार बिरानो थियो । वल्लो पल्लो गाउँका मान्छेसँग खासै बोलचाल थिएन। घुलमिल थिएन । उनको परिचय श्रीमानको नामसँग जोडिएको थियो – ‘फलानोकी जहान फलानोको बुहारी वा भाउजू भनेपछि मात्र टोल छिमेकले चिन्थे।’ आफ्नै परिचय दिनु पर्दा पनि गाउँका चल्तापुर्जा देवरको नामबाट आफुलाई चिनाउँथिन् । उनलाई आफ्नै नाम फिक्का लाग्थ्यो।

तर किशोरी छँदा रहरैरहरमा सडक नाटक गरेर आफूले ल्याएको सानो परिवर्तनको कथा हेमाको मनमा गढेर बसेको थियो । समाज परिवर्तनका लागि इमान्दार भएर काम गरे राम्रै प्रभाव पार्न सकिन्छ भन्ने कुरा उनले आफ्नै अनुभवबाट सिकेकी थिइन् ।

सामुदायिक प्रशिक्षक भएर गाउँ गाउँ पुग्दा उनले गर्ने पहिलो काम हुन्थ्यो टोल विकास संस्था बनाउने । ‘सुरुमा मान्छेहरुलाई संगठित बनाउनै गाह्रो । मान्छेहरुले पनि पत्याएनन् । कस्ता कस्ता नेताले त केही गर्न सकेनन् तिमीले के गरौली र भन्थे !’

आफ्नो काँधमा आएको नयाँ जिम्मेवारीबाट हेमा अलिकति पनि हच्किइनन् । गाउँठाउँमा घुलमिल हुँदै गएपछि हेमाले समाजको समस्या अझै राम्रोसँग बुझिन् ।

‘हामी आफ्नै घर अगाडिको खाल्टोमा दुई बोरा माटो हाल्न सक्दैनौं तर सरकारले बाटो बनाएन भनेर गनगन गर्छौं ।आफ्नै वरपरका झाडीहरु सफा गर्दैनौं अनि लामखुट्टेले टोकेर बिरामी हुन्छौं ।’ आफ्नो समुदायका लागि के आवश्यक छ भनेर कहिल्यै छलफल नगर्ने तर सरकारले गरिदिएन भनेर गुनासो मात्रै गर्ने।’ समाजको यो चरित्र बुझेपछि हेमालाई काम गर्न झनै सजिलो भयो । सधैँ गुनासो मात्रै गरिरहने कि परिवर्तनको सुरुवात आफैबाट गर्ने ! हेमा यही सन्देश बोकेर समुदायमा गठन भएका टोल विकास संस्था र आमा समूहहरुसम्म पुगिन् ।

घरघरै पुगेर सुख र दुख दुबैको साझेदार बनिन्। घर झगडा, हिंसा, पिडा र वेदनाले मन भक्कानिँदा अनि टाउको गरुङ्गो हुँदा सम्झना आउने ओखति बनिन्। उनी महिलाहरुलाई पीडा पर्दा टाउको अड्याउने आड मात्र बन्दिनन्। कानून र अधिकारबारे पनि सम्झाउँछिन् । आफ्नो अधिकार प्राप्तीको लडाई लड्न ढाडस दिन्छिन्। गाउँसमाजमा आइपर्ने हरेक नयाँ समस्या उनका लागि नयाँ सिकाइ हुन्छ ।

व्यक्तिका मात्र होइन टोल छिमेकका साना साना समस्यामा छलफल चलाएर समुदायबाटै समाधान खोज्न सघाउँछिन्। आफ्नो आवश्यकता छनोट गरेर वडामा विकास मागे पो हामीले भनेजस्तो विकास हुन्छ भनेर उनले टोल विकास संस्थाका सदस्यहरुलाई सम्झाइ बुझाइ गर्छिन् । आफू सहभागी भएर, आफैले माग गरेर बनाएको बाटो, धारो, स्कूलको यसै पनि माया लाग्ने रैछ । यो कुरा गाउँलेलाई बुझाउन समय लाग्यो । तर जब यो कुरा गाउँलेले बुझे अहिले बजेट छलफल र योजना छनोटका बेला साह्रा गाउँ नगरपालिकामा भेला हुन्छ । ‘अहिले त पुरूष मात्र हैन महिला पनि यस्ता छलफलमा आएको देख्छु । राम्रो लाग्छ’ –  हेमा भन्छिन् ।

टोल विकास संस्थाका सदस्यहरु मिलेर अघिल्लो हप्ता टोलसफाइ गरे । आफ्नो टोलको लागि छुट्याएको बजेट कता खर्च गर्ने भनेर सल्लाहमै सहमती गरे । प्राथमिकतामा स्कूलको भत्किन लागेको पर्खाल पर्यो । हालसालै गाउँलेहरुले सधैँ ट्र्याक्टर फसिरहने गाउँको मूलबाटो बनाउन श्रमदान गरे र आगामी योजनामा यही बाटोको स्तरोन्नतीको लागि आग्रह गर्ने निर्णय गरे । गाउँघरमा हुने यस्ता साना ठूला काममा हेमा सधैँ सहयोगी बनिन् ।

समुदायको यस्तो सहभागिताले स्थानीय सरकारलाई थप जिम्मेवार बनाउन सघाएको छ भने  विकास निर्माणका काम थप प्रभावकारी बन्न थालेको उनको अनुभव छ । स्थानीय सरकार, टोलका बडघर र नागरिकबीच सम्बन्ध सेतुको काम गर्दा सबैको स्याबासी हेमाको भागमा परिरहेको छ। शक्तिनगरका बडघर रामबहादुर थारु हेमाले गर्दा बडघरको काम सजिलो भएको सुनाउँछन् । उनी हेमालाई गाउँकै अगुवा मान्छन् । उनी भन्छन् – ‘गाउँमा केही समस्या पर्यो भने हामी उहाँसँगै सल्लाह लिन्छौं । यहाँ धेरै पढेलेखेका मान्छे छैनन् । सरकारी मान्छेहरुसँग कसरी कुरा गर्ने हामीलाई आउँदैन । उहाँले राम्रोसँग हाम्रो कुरा राख्नुहुन्छ । हेमा जीले बडघरको काम धेरै सजिलो बनाइदिनुभएको छ’ ।

वडा र नगरपालिकाका मान्छेहरुले समेत ‘हेमा म्याडम’ भनेर बोलाउँदा हेमा आफैमाथि गर्ब गर्छिन् –  कतिपयले त आउने चुनावमा वडाध्यक्ष नै बन्नुपर्छ पनि भन्नुहुन्छ । तर मलाई राजनीति गरूम् भन्ने चाहिँ लाग्दैन ।’ यो सबै माया र प्रशंशाको जस उनी सामुदायिक प्रशिक्षकको जिम्मेवारीलाई दिन्छिन्।

(यो श्रृंखला अष्ट्रेलियन सरकार वैदेशिक मामिला तथा व्यापार विभागको  द एशिया फाउण्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमको “नेतृत्वमा महिला” पहल अन्तर्गत पर्दछ।)

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

एजेन्सी– विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया शहरले शनिबार घोषणा गरेको छ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी शहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए।

उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो। स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो।

पहिलो पटक अत्याधुनिक लीडार प्रविधिबाट हिमाली वन मापन

काठमाडौं– कास्की र मुस्ताङमा पहिलोपटक अत्याधुनिक प्रविधि लाइट डिटेक्सन एन्ड ¥याङ्गिङ (लीडार)बाट हिमाली वनको मापन गरिएको छ ।

जर्मनीको यूनिर्भसिटी अफ गोटिङ्गेनमा वनविज्ञानमा विद्यावारिधि गर्दै आइरहेका किशोरप्रसाद भट्टको समूहले हालै कास्की र मुस्ताङमा लीडार प्रविधिबाट हिमाली वनको मापन गरेको हो ।

लीडार प्रविधिअन्तर्गत ‘मोबाइल लेजर स्क्यानिङ’को प्रयोग गरेर रुखहरूको मापन गरिन्छ । भट्टले दुई जिल्लामा ९० वटा प्लटमा रुखहरू मापन गरिएको जानकारी दिए ।

उनका अनुसार कास्की र मुस्ताङका ९० वटा प्लटमा झण्डै ६ हजार ५ सय रुखहरू मापन गरिएको छ । ‘एउटा ५०० वर्गमिटरको प्लट नाप्न बढीमा १० मिनेट लाग्छ । सो यन्त्र समातेर प्लट भरी एउटा चक्र बनाएर घुमायो भने छोटो समयमा प्लट भित्रका सबै रुख नाप्न सकिन्छ,’ भट्टले भने, ‘हामीले ३६ सयदेखि ४१ सय मिटरमा अवस्थित हिमाली वन नापेका हौँ ।’

उनका अनुसार यो प्रविधिबाट सहज रुपमा छोटो समयमा वन मापन गरि वन सम्बन्धिका तथ्याङकहरु उपलब्ध हुने भएकाले नेपालले जस्तो भौगोलिक जटिलता भएको मुलुकमा यो प्रविधि अत्यन्तै उपयोगी र वन मापन पनि आर्थिक हिसाबले सस्तो पर्ने देखिन्छ ।

भट्टले यूनिर्भसिटी अफ गोटिङ्गेन, रुफर्ड ग्रान्ट यूकेको प्राविधिक तथा आर्थिक सहयोग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्थलगत सहयोगमा सम्पन्न भएको बताए ।

वन स्रोतहरूको मूल्याङ्कन, दीगो वन व्यवस्थापन, जैविक विविधताको संरक्षण र वैज्ञानिक अनुसन्धानका लागि वन मापन अपरिहार्य मानिन्छ । नेपालको हिमालि क्षेत्र करिब ३० प्रतिशत क्षेत्रफल ओगटेको हिमाली वन जलवायु परिवर्तनका कारण बढी संवेदनशील छन् ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको काठमाडौंको बबरमहलस्थित वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले विगत केही वर्षदेखि अत्याधुनिक प्रविधिकहरू जीआईएस म्यापिङ, टेरिस्टियल लेजर स्क्यानिङ आदि प्रयोग गर्दै वन मापन गर्दै आएको छ ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले लीडार प्रविधिअन्तर्गत टेरिस्टियल लेजर स्क्यानिङ प्रविधि तराईका वनमा प्रयोग गरिरहेको भए पनि मोबाइल लेजर स्क्यानिङ हिमाली क्षेत्रमा पहिलो पटक प्रयोग भएको भट्टले बताए ।

यसअघि नेपालमा ठूलो मानवीय जनशक्ति खर्च गरी आयातन टेप, भरटेक्स, सुन्टो कम्पास, डेन्सियोमिटर जस्ता यन्त्र प्रयोग गरेर वन मापन हुदै आएको थियो ।

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान

काठमाडौ, २० पुस ।
विश्व हिन्दू महासंघले सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान गरेको छ ।

विश्व हिन्दू महासंघद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा पूर्व मन्त्री आलेलाई हिन्दू धर्म संरक्षण एवं सम्बर्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दू महासंघका पदाधिकारीहरुले हिन्दू रत्न अवार्ड प्रदान गरेका हुन् ।

विश्व हिन्दू महासंघले यो अवार्ड हरेक पाँच बर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दू धर्मको संरक्षण र सम्बर्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदान गर्ने गर्दछ ।

हिन्दू धर्मको संरक्षण र सम्बर्धनका साथै सनातन हिन्दू धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ठ योगदान गरेकाले पूर्वमन्त्री आलेसहित भारत तथा विश्वका विभिन्न देशका वरिष्ठ व्यक्तित्वहरुलाई यो अवार्ड प्रदान गरिएको हो ।

शुक्रबार आयोजित सो विशेष समारोहमा विश्वहिन्दू महासंघका अन्तर्राष्ट्रिय पदाधिकारीहरु, भारतका वरिष्ठ समाजसेवीहरु, नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिहरुसहितका विशिष्ट अतिथिहरुको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो ।

सो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरुमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरु एसएस अग्रवाल र निता अम्बानी, प्रसिद्ध भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका स्कोन धर्म गुरु स्वामी जय पतका, भारतका प्रसिद्ध समाजसेवी भगवान गंगाराम पाण्डे, भारतका प्रसिद्ध समाजसेवी राजश्री बिरला, श्रीलंकाका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिंगापुरका अध्यक्ष ओमप्रकाश राई रहेका छन् ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री आलेले आफूलाई विश्वका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुसहित अवार्ड प्रदान गरेकोमा विश्व हिन्दू महासंघलाई विशेष धन्यवाद ज्ञापन गर्दै उक्त प्रसिद्ध अवार्डले आफूलाई निकै खुसी लागेको बताए ।

उनले आगामी दिनमा पनि आफू हिन्दू सनातन धर्मको रक्षा तथा सम्बर्धनमा लागि पर्ने प्रतिबद्धता गरे ।

समारोहमा भारतको समाजवादी पार्टीका महासचिव हेमानन्द गिरी, विश्व हिन्दू महासंघका अध्यक्ष एवं भारतका पूर्वमन्त्री डा आजय सिंहले राजनीति, समाजसेवा तथा आध्यात्मिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्न पाएकामा उक्त महासंघ तथा खाटु श्याम दिल्ली धामका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

देशभर एकै साथ जलपंछी गणना गरिँदै

कैलाली । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ। हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ।

जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए।

उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलनकार्य हुनेछ। गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिएको थियो।

‘यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिइने लक्ष्य राखेका छौँ’ उनले भने, ‘गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणनाकार्य हुन सकेको छैन, यी ताल र अन्य संभावित सिमसार क्षेत्रमा चरा अबलोकनमा जानेको विवरण माग गरेका छौँ इच्छुक जो सुकैले जान सक्छन्।’

विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिने उनले बताए। भारतीय महादिपमा एशियाली जलपंछी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले शुरु गरेको हो। यो कार्य शुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो।

सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपंछी गणनाकार्य नियमितरुपमा हँुदै आएको छ। नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यस पछि गणनाकार्य निरन्तररुपमा जारी रहेको छ।

यस कार्यबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन्को अवस्था र जलवायू परिवर्तनको अवस्था बारे जानकारी पाउन सकिने उनी बताउँछन्। जलपंछी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझन, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको उनको भनाइ छ।

यसले रामसार महासन्धी, प्रवासी प्रजातीसम्बन्धी महासन्धी, जैविक विविधताको महत्वपूर्ण पंछी क्षेत्र कार्यक्रम, आइसियुएन रेड लिष्ट कार्यक्रम र वेटल्याण्ड्स इन्टरनेशनलको जलपंछी सङ्ख्या अनुमान कार्यक्रमजस्ता विभिन्न अन्र्तराष्ट्रिय सन्धि तथा अभियानको कार्यान्वयनमा पनि सहयोग पुरयाउने उनको बुझाइ छ।

गत वर्ष सन् २०२४मा गरिएको जलपंछी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्र्तगत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९ प्रजातीका ६३ हजार नौ सय जलपंछी रेकर्ड गरेका थिए।यीमध्ये छ वटा रामसारमा सूचिकृत सिमसार क्षेत्र पनि थिए। बरिष्ठ पछीविद पौडयालका अनुसार यस वर्षको गणनाप्रारम्भीक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसको अबसरमा सार्वजनिक गरिने छ।

विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ गते देखि ७ गतेसम्म मनाइने बन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने छ। गत विगत वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययनबाट जलपंछीको सङ्ख्या, विवरण र सिमसारको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

स्थानीयरुपमा जलपंछी गणनाकार्य गर्नका लागि स्वयंसेवकको रुपमा देशभर २४ जनालाई साईट–कोअर्डिनेटरका रुपमा खटाइएको छ। उत्तरी धुव्र रुस, चिन, मङ्गोलियालगायतका अत्यधिक चिसो हुने क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनूकुल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालका विभिन्न ताल, तलैया, नदी र वनजङगल क्षेत्रमा आउने गर्दछन्।

उत्तरी धु्रवमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चरा बाँच्नका लागि अनुकूल तापक्रमको खोजिमा नेपालमा आउने गर्दछन्। यहाँका ताल तलैया, नदीमा माछा, किराफटयाङ्ग्राजस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रमा शिकारीबाट बच्नेकार्य सँगै सुरक्षित बासस्थान उपलव्ध हुने भएकाले चराका लागि अनुकूल वातावरण रहने गर्दछ। नेपालमा हिउँदमा बसाइँसराई गरी आउने जलपछीमा हाँसका विभिन्न प्रजाती, जलेवा, गङ्गाचीललगायत रहने गर्दछन।

राष्ट्रपतिमा शपथ लिनुअघि ट्रम्पलाई फेरि अदालती झमेला

एजेन्सी । अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा दुई हप्ताअघि डोनाल्ड ट्रम्पले फेरि एउटा अदालती प्रक्रिया झेल्नु पर्ने भएको छ। न्यूयोर्कको एक अदालतले ट्रम्पविरुद्ध ‘हश मनि’ मामिला अर्थात् आफूविरुद्ध नबोल्न पैसा दिएको एक मुद्दामा सजाय सुनाउने भएको हो।

१० जनवरीमा यो फैसला आउने छ। राष्ट्रपति निर्वाचित भइसकेकाले ट्रम्पविरुद्धको मुद्दामा जेल सजाय हुने सम्भावना भने न्यून छ। न्यायाधीश जुआन मर्चानले ट्रम्पविरुद्ध जरिवाना हुन सक्ने संकेत गरेका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प आफूविरुद्धको मुद्दामा फैसला सुनाउने क्रममा व्यक्तिगत रूपमा वा भिडियो कन्फ्रेन्सिङ मार्फत् अदालतमा उपस्थित हुने ठानिएको छ।

यसअघि ट्रम्पले आफूविरुद्धको उक्त मुद्दा खारेज गर्न आफ्नो चुनावी जितलाई प्रयोग गर्ने प्रयास गरेका थिए। गत वर्षको मे महिनामा ट्रम्प एक पोर्न स्टार स्टोर्मी ड्यानियललाई चुप लाग्न पैसा दिएको अर्थात् हश मनीको मुद्दामा दोषी ठहर भएका थिए। तर उहाँविरुद्धको सजाय भने सुनाइएको थिएन। ट्रम्पले आगामी २० जनवरीमा अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन्।

 

खोज्नुहोस