अमेरिका विमान दुर्घटनामा ‘कोही नबाँचेको हुन सक्ने’, २८ शव फेला परे

द एभरेष्ट पोष्ट
१७ माघ २०८१ २१:०५
अमेरिका विमान दुर्घटनामा ‘कोही नबाँचेको हुन सक्ने’, २८ शव फेला परे

संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको छ।

दुर्घटनाबारे जारी अनुसन्धानबारे जानकारी राख्ने एक अधिकारीले विमान खसेको स्थानबाट कम्तीमा २८ वटा शव निकालिएको स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जन डनेलीले बताएका छन्।

उनले थप जीवित मानिसहरू फेला पर्ने सम्भावना नरहेको बताएका छन्।

यद्यपि बीबीसीको साझेदार सञ्चारमाध्यम सीबीएसले आपत्कालीन उद्धारकर्मीहरूलाई उद्धृत गर्दै कम्तीमा ३० ओटा शव निकालिएको बताएको छ।

गोताखोर र उद्धारकर्मीहरू सवार डुङ्गाहरूले न्यूनतम बिन्दुमा पुगेको तापक्रमका माझ नदीमा खोजी तथा उद्धारकार्य गरिरहेका छन्। अधिकारीहरूले अँध्यारो, तीव्र वेगको हुरी र चिसोका कारण उद्धारकार्य प्रभावित भएको बताएका छन्।

क्यान्सस राज्यबाट उडेको उक्त जेट विमान अमेरिकाको राजधानीको मध्यभागमा अवस्थित रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो।

विमानमा चालकदलका सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन सैनिक रहेको बताइएको छ।

सेनाको हेलिकप्टर प्रशिक्षण उडानमा रहेको सेनाका एक अधिकारीले बताएका छन्।

पोटोम्याक नदीमा कठ्याङ्ग्रिने जाडोमा उद्धारकार्य जारी छ

तस्बिर स्रोत,Getty Images, तस्बिरको क्याप्शन,कठ्याङ्ग्रिने जाडोमा उद्धारकार्य भइरहेको छ

‘दुर्घटना टार्न सकिन्थ्यो’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले परिस्थितिको निगरानी गरिरहेको बताउँदै आपत्कालीन उद्धारकर्मीहरूलाई उनीहरूको कामका लागि धन्यवाद दिएका छन्। तर उनले दुर्घटना टार्न सकिने खालको थियो भन्दै कसरी त्यसो हुन गयो भनेर प्रश्न गरेका छन्।

उड्डयनविज्ञहरूले रेगन विमानस्थल व्यस्तमध्येमा पर्ने र त्यहाँ राजधानीमाथिको हवाईमार्गमा प्रायः विमानहरूको चाप रहने गरेको बताएका छन्।

अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

एफएएले उक्त विमान रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको जानकारी सीबीएस न्यूजलाई दिएको छ।

रेगन विमानस्थलनजिकै विमान र हेलिकप्टर ठोकिएपछि पोटोम्याक नदीमा खोजी तथा उद्धारकार्य जारी छ

तस्बिर स्रोत,EPA

उद्धारकर्ताहरूले पोटोम्याक नदीमा खोजी तथा उद्धार‍ अभियान सुरु गरेका छन्

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,उद्धारकर्ताहरूले पोटोम्याक नदीमा खोजी तथा उद्धार‍ अभियान सुरु गरेका छन्

विमान दुई टुक्रा, हेलिकप्टर उत्तानो

अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ भने डुङ्गा र गोताखोरहरूले विमान र हेलिकप्टरमा सवार मानिसहरूको खोजी गरिरहेका छन्।

दुर्घटनाग्रस्त हेलिकप्टर सग्लो नै रहेको तर पानीमा उत्तानो परेर खसेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

डीसीस्थित आपत्कालीन उद्धारकार्य गर्ने निकायका प्रमुखले अहिलेसम्म कोही व्यक्ति जीवित भए नभएको थाहा नभएको बताएका छन्। जोन डनेलीका अनुसार उद्धारकर्ताहरूको प्राथमिकता जीवित व्यक्ति खोज्नु हो।

रेगन विमानस्थल बिहीवार बिहान ११ बजेसम्मका लागि बन्द गरिएको छ

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,रेगन विमानस्थलले बिहीवार बिहानसम्म कुनै उडान नहुने सूचना प्रकाशित गरेको छ

विमानमा को थिए

अमेरिकन एअरलाइन्सले फ्लाइट ५३४२ मा चालकदलका चार सदस्य र ६० यात्रु गरी कुल ६४ जना सवार रहेको जानकारी दिएको छ।

फिगर स्केटिङको अमेरिकी नियामक निकाय ‘यूएस फिगर स्केटिङ’का अनुसार सो विमानमा केही स्केटिङ खेलाडी, प्रशिक्षक र तिनका आफन्तहरू चढेको पुष्टि गरेको छ।

उनीहरू विचिटामा आयोजित एउटा कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा रहेको सो संस्थाले एउटा विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

रुसी समाचारसंस्था टीएएसएसका अनुसार सो विमानमा रुसका दुई फिगर स्केटर र प्रशिक्षक पनि थिए।

रेगन विमानस्थलनजिकै दुर्घटनास्थलमा उद्धारका लागि खटेका सुरक्षाकर्मीहरू

तस्बिर स्रोत,EPA

विमानस्थल बन्द

बीबीसी संवाददाताहरूका अनुसार रेगन विमानस्थलभन्दा पछाडिपट्टि रहेको भागमा खोजी तथा उद्धारकार्य भइरहेको छ। उक्त अभियानमा स्थानीय प्रहरी, सङ्घीय अधिकारीहरू र अन्य विभिन्न निकाय संलग्न छन्।

पोटोम्याक नदीमा खोजी तथा उद्धारकार्यका क्रममा बत्ती बलेको देखिन्छ तर विमानस्थल चाहिँ चकमन्न छ। दुर्घटनास्थलको हवाईगस्ती गर्दै गरेको एउटा हेलिकप्टरबाहेक आकाशमा अरू कुनै विमान छैन।

उक्त विमानस्थलतिर आउन लागेका विमानहरूलाई डलस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ। हवाईयात्रुलाई सुविधा प्रदान गर्न डीसीको मेट्रो रेल राति अवेरसम्म चल्ने भएको छ।

दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाउने भएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाएको छ।

सन् २००९ पछिको ठूलो दुर्घटना

यो दुर्घटनालाई संयुक्त राज्य अमेरिकामा सन् २००९ पछि व्यावसायिक विमानमा भएको सबैभन्दा ठूलो मानिएको छ। उक्त वर्ष फेब्रुअरी महिामा नेवार्क, न्यूजर्सीबाट उडेको कन्टिनेन्टल एअरलाइन्सको एउटा यात्रुवाहक विमान बफेलो, न्यूयोर्कस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा घरमा गएर जोतिएको थियो।

उक्त दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो।

सन् २००१ को नोभेम्बर महिनामा जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकन एअरलाइन्सको विमान उड्नेबित्तिकै दुर्घटनामा पर्दा २६५ जनाको मृत्यु भएको थियो। उक्त विमान डोमिनिकन रिपब्लिकको सान्टो डोमिनिगोका लागि प्रस्थान गरेको थियो।

सन् २००९ मा यूएस एअरवेजको एअरबस ए३२० ले आफ्ना दुइटै इन्जिन उड्ने बित्तिक‍ै चराहरूको बथानका कारण बिग्रिएपछि न्यूयोर्कमा आकस्मिक अवतरण गरेको थियो। विमानचालकले विमानलाई नजिकै रहेको हड्सन नदीमा अवतरण गराउँदा विमानमा सवार १५५ जनाको ज्यान जोगिएको थियो।

‘चेतावनी दिँदा हेलिकप्टर चालकले कुनै प्रतिक्रिया जनाएनन्’

सीएनएनका अनुसार रेगन विमानस्थलमाथि दुर्घटना हुनुभन्दा केही बेरअघि एक एअर ट्राफिक कन्ट्रोलरले सेनाको ब्ल्याक हक हेलिकप्टरलाई अमेरिकन एअरलाइन्सको यात्रुवाहक जेट देखिएको छ कि छैन भनेर प्रश्न गरेका थिए।

एअर ट्राफिक कन्ट्रोलले फेरि उक्त हेलिकप्टरले अर्को चेतावनी दिएको थियो। तर त्यसको केही सेकन्डमै हेलिकप्टर र विमान ठोकिए।

एअर ट्राफिक कन्ट्रोलरले हेलिकप्टर चालकलाई प्रश्न सोधेको सुनिने अडिओ ‘लाइभ एटीसी’ले सार्वजनिक गरेको छ। उक्त अडिओको आधिकारिकता बीबीसीले पुष्टि गरेको छैन।

उक्त अडिओमा एअर ट्राफिक कन्ट्रोलले दिएको चेतावनीपछि हेलिकप्टर चालकले कुनै प्रतिक्रिया दिएको सुनिँदैन।

बीबीसीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस