भारतको कुम्भमेलामा भागदौड, कैयौँ हताहत भएको आशङ्का

द एभरेष्ट पोष्ट
१६ माघ २०८१ ८:२१
भारतको कुम्भमेलामा भागदौड, कैयौँ हताहत भएको आशङ्का

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा बुधवार बिहान करिब १:३० बजे एउटा घाटमा भागदौड मच्चिएको छ। त्यस क्रममा धेरै मानिसहरू हताहत भएको ठानिएको छ।

प्रयागराजका एक चिकित्सकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा समाचारसंस्था एएफपीलाई उक्त घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएका छन्।

यद्यपि प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन।

कुन बेला भयो घटना?

बुधवार मौनी अमावस्याका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।

प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएकाले भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन्। घाइतेहरूको उपचार भइरहेको उनले बताइन्।

भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ पोस्ट गरेको छ। त्यसमा घाइतेहरूलाई सेक्टर २४ स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ।

कुम्भमेला

तस्बिर स्रोत,Getty Images

मौनी अमावस्याको स्नान ‘रद्द’

कुम्भमेला

तस्बिर स्रोत,Getty Images

उक्त घटनापछि सबै अखाडाहरूले मौनी अमावस्याको स्नान कार्यक्रम रद्द गरेको सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले बुधवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भागदौडका कारण कार्यक्रम रद्द गरिएको बताएका छन्।

उनले बिहानका राति भएको घटनालाई दृष्टिगत गरी कार्यक्रम नगर्ने निर्णय गरिएको बताएका हुन्।

उनले भने, “मौनी अमावस्यामा स्नान गर्न सबै साधुसन्तहरू तयार अवस्थामा थिए तर उक्त घटनालाई ध्यानमा राख्दै जनहितका लागि स्नान नगर्ने निर्णय गरियो।”

बीबीसीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस