पत्रकार घनश्याम खड्काको ‘आनन्द संहिता’ पुस्तक माथि विमर्श

धनगढी । वरिष्ठ पत्रकार तथा लेखक घनश्याम खड्काद्वारा लिखित पुस्तक ‘आनन्द संहिता’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ कैलालीको आयोजनामा धनगढीमा कार्यक्रम सम्पन्न भएको हो ।
पुस्तकमा समावेश जीवन उपयोगी सन्देशहरू उजागर गर्दै समाजमा मानसिक शान्ति र सकारात्मक सोचको महत्वबारे कार्यक्रममा छलफल भएको थियो । पुस्तकका लेखक खड्काले सकारात्मक दृष्टिकोणको महत्वबारे चर्चा गर्दै मनलाई संयमित राख्ने कला सिक्न आवश्यक रहेको बताए ।
“संसारभरका मानिसले सबैभन्दा धेरै खोज्ने कुरा आनन्द हो। तर यो एकदम कम मान्छेले मात्र पाइरहेका हुन्छन् । आनन्द पाउन कतै टाढा जानु पर्दैन । हामि भित्रको नकारात्मकतालाई हटाउन सक्यौ भने हामि आनन्दित हुन्छौ । ” खड्काले आनन्द संहिता पुस्तकले सकारात्मक सोच र मनलाई संयमित राख्ने कला सिकाउने भएकाले हरेक मानिसले पुस्तक पढ्न पर्ने बताए ।
पुस्तक अध्ययन गरिसकेकी अनुसन्धानकर्ता निलम शर्माले पुस्तकलाई बालबालिकाको पाठ्यक्रममा समावेश गर्नुपर्ने कुरामा जोड दिइन। उनले भनिन्, “ पुस्तकमा मानिस कसरी खुसी हुन सक्छ भन्ने कुरा उपाय सहित सरल ढङ्गले प्रस्तुत गरिएको छ । यो पुस्तक विद्यालय स्तरको पाठ्य पुस्तकमा राख्न सकियो भने यसले सानै उमेरदेखि जीवन व्यवस्थापन सिकाएर भविष्यमा तनाव र निराशाबाट जोगिन सहयोग गर्ने छ।”
प्रदेश सभा सदस्य धर्मराज पाठकले अरूको पीडामा सहभागी हुनु नै साँचो खुसी भएको बताए । उनले खुसी प्राप्त गर्न दुःखको सामना गर्न सक्ने क्षमता हुनु पर्ने बताए।
विमर्श कार्यक्रममा पुस्तकका लेखक घनश्याम खड्का, प्रदेशसभा सदस्य नरेश शाही, पदम बहादुर शाही, धर्मराज पाठक, जानकी कुँवर, प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा र वरिष्ठ पत्रकार दिर्घराज उपाध्यायको विशेष सहभागिता रहेको थियो । साथै विभिन्न सङ्घसंस्था तथा विभिन्न क्षेत्रका व्यतिहरुको पनि उपस्थिति रहेको थियो ।
वक्ताहरूले आनन्द संहिता लाई हरेक वर्गका मानिसका लागि उपयोगी कृति भन्दै यसलाई व्यापक रूपमा अध्ययन र प्रचार गर्नुपर्नेमा जोड दिए। साथै पुस्तकलाई वर्तमान समाजमा मानसिक शान्ति, जीवन व्यवस्थापन, र खुसीका लागि मार्गदर्शक पुस्तकका रूपमा चर्चा गरेका थिए।