जनसम्पर्क समितिद्धारा अमेरिकाका दुई राज्यमा वाणिज्य दूतावास स्थापना गर्ने निर्णयको स्वागत

द एभरेष्ट पोष्ट
१० माघ २०८१ २३:३०
जनसम्पर्क समितिद्धारा अमेरिकाका दुई राज्यमा वाणिज्य दूतावास स्थापना गर्ने निर्णयको स्वागत

न्यूयोर्क, १० माघ ।
क्यालिफोर्नियाको सन् फ्रान्सिस्को र टेक्सासको डाल्लासमा वाणिज्य दूतावासको कार्यालय स्थापना गर्ने नेपाल सरकारको निर्णयलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ ।

नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द बिष्टले बिहीवार बिज्ञप्ति जारी गरी नेपाल सरकारको निर्णयको स्वागत गरेका हुन् ।

नेपालीहरुको जनघनत्व बढ्दै गएको अमेरिकाको पश्चिमी क्षेत्रको सन् फ्रान्सिस्को शहर र मध्य क्षेत्रको टेक्सासको डाल्लासमा वाणिज्य दूतावास स्थापनाका लागि विगत लामो समयदेखि नेपाली जनसम्पर्क समिति,अमेरिकाले नेपाली कांग्रेस र अन्य दलको नेतृत्वको सरकारसमक्ष निरन्तर माग गर्दै आएको थियो।

पछिल्लो समय संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आउनु भएको समय गत सेप्टेम्वर महिनामा न्यूयोर्कमा रहँदा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र माननीय परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउबाज्यूसंग नेपाली जनसम्पर्क समितिलगायत त्यस क्षेत्रका नेपाली समुदायका प्रतिनिधि साथीहरुको संयुक्त भेट मार्फत वाणिज्य दूतावास स्थापनाका लागि विशेष अनुरोध गरेका थियौं, सभापति बिष्टद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, हाम्रो भेटमा सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय परराष्ट्रमन्त्रीज्यूले हामीहरुको मागलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको भन्दै वाणिज्य दूतावास गठन गर्ने विश्वास दिलाउनु भएको स्मरण गर्न चाहन्छौं।

सभापति बिष्टले परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ डाक्टर देउवाले विभागीय मन्त्रालयमार्फत वाणिज्यदूतावास स्थापनाको प्रक्रियालाई तत्काल अगाडी बढाई मन्त्रीपरिषदसमक्ष प्रस्तुत गरेर कार्यान्वयन गर्ने चरणमा पुर्याई यसको नेतृत्व गर्नु भएकोमा आभार व्यक्त गरेका छन् । बिज्ञप्तिमा अगाडि भनिएको छ, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र सिंगो मन्त्रीपरिषदप्रति पनि धन्यवाद व्यक्त गर्दछौं।

सभापति बिष्टले वाणिज्यदूतावास स्थापनाका लागि समन्वय र सहयोग र पैरवी गरेकोमा दुवै राज्य र शहरका नेपाली जनसम्पर्क समितिका च्याप्टर नेतृत्व र अन्य स्थानीय संघ,संस्था प्रति पनि आभार व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका आदरणीय नेताहरुको विभिन्न समयमा भएको अमेरिका भ्रमणका क्रममा उहाँहरुले व्यक्त गर्नु भएको प्रतिवद्धताको पनि हामी सम्मान गर्न चाहन्छौं, सभापति बिष्टद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, यो हामी सबैको सामूहिक प्रयत्नको साझा उपलब्धि हो।

नेपाली जनसम्पर्क समिति नेपाली समुदायको हित र नेपाल सरकारका तर्फबाट आफ्ना नागरिकलाई प्रदान गरिने सेवा र सुविधा सहज रुपमा दिलाउनका लागि सधैं प्रतिवद्ध रहेको बिज्ञप्तिमा उल्लेख छ ।

हाम्रो प्राथमिकता नेपाल र अमेरिकामा रहेको नेपाली समुदायको बृहत्तर हितका लागि आवश्यक पहल गर्नु नै हो, बिज्ञप्तिमा बिष्ट भन्छन्, नेपाल सरकारबाट प्रदान गरिने सुबिधा सहज,सरल र कम झन्झटिलो बनाउनका लागि यो वाणिज्य दूतावास स्थापना महत्वपूर्ण हुने हाम्रो विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस