भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेमा चार जना नेपाली भएको पुष्टी

काठमाडौं । भारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन् । उनीहरुको ठेगाना भने खुलाइएको छैन ।
मुम्बईबाट ४०० किमी टाढा महाराष्ट्रको जलगाउँमा बुधबार साँझ ४ः४२ मा भएको रेल दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाईते भएका थिए।
मृत्यु हुनेमा लखनउबाट मुम्बई जाँदै गरेको १२५३३ नम्वरको पुष्पक एक्सप्रेसका यात्रुहरु रहेका छन् । पुष्पक एक्सप्रेसमा ब्रेक लगाउँदा पांग्राबाट धुवा निस्किएको थियो । जसका कारण आगलागीको हल्ला फैलियो र आतंकित यात्रीहरू रेलबाट हाम फाल्न थाले।
सेन्ट्रल रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतलाई उल्लेख गर्दै समाचारमा जनाइए अनुसार घुम्तीका कारण यात्रुहरूले अर्को ट्र्याकबाट आइरहेको रेल देख्न सकेनन्। र, उनीहरूले भटाभट हाम्फाले ।
ज्यान जोगाउन ट्र्याकमा हाम फालेकाहरुको यशवन्तपुरबाट हजरत निजामुद्दीनतर्फ १२६२९ नम्वरको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसले कुल्चेर मृत्यु भएको हो ।